६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल समूहविजेता बन्न असफल

काठमाडौं- साफ यु–१५ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेताका लागि बुधबार भएको खेलमा  नेपालले भारतलाई २–१ को नतिजा सुम्पिएको  छ । माल्दिभ्सलाई दुवै टोलीले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसके पनि समूह विजेताका लागि भएको भिडन्तमा भारतले बाजी मारेको हो।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भारतको जितमा कप्तान विक्रमप्रताप सिंह र रविबहादुर रानाले समान एक गोल गरे। नेपालका कप्तान रोशन रानामगरले सान्त्वना गोल गर्न सफल भए। जितसँगै भारत ६ अंकका साथ समूहविजेता बनेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० ले हराएको थियो। पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपालले ३ अंक जोड्यो। नेपालले फाइनल प्रवेशका लागि शुक्रबार समूह ‘ए’ को विजेता बंगलादेशसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल्नेछ। भारतले शुक्रबारै समूह ‘ए’ को उपविजेता भुटानसँग सशस्त्र प्रहरी हलचोक मैदानमा प्रतिस्पर्धा गर्नेछ। नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले टोलीले बनाएको रणनीति सफल नहँुदा पराजय भोग्नुपरेको बताए।

‘हामीले भारतको अघिल्लो खेल र अभ्यासलाई अध्ययन गर्दै सट पास खेल्ने रणनीति बनाएका थियांै, तर हामी सफल हुन सकेनांै,’ श्रेष्ठले भने, ‘उनीहरू शारीरिक रूपमा हामीभन्दा माथि भएकाले कठिन भयो। पहिलो हाफको तुलनामा हामीले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्‍यौं। हाम्रो मिडफिल्ड चलन सकेन। खेलाडीहरूले मिहिनेत गरे पनि सफल परिणाम ल्याउन सकेनन्।’

प्रशिक्षक श्रेष्ठले अन्तिम १५ मिनेटको खेलमा हाबी भए पनि उनीहरूको रक्षापंक्ति तोड्न नसकेको बताए। उनले थपे, ‘पेनाल्टीमा गोल गर्दै खेलमा फर्के पनि पहिलो हाफको प्रदर्शन बिर्सन लायक रह्यो। गोलकिपर विशाल सुनारले सिल्ली गोल खाएपछि सुरुमै दबाबमा पर्‍यौ।’

उनले टोलीमा रक्षक रोशन दोङको अभाव खड्किएको तर उनको स्थानमा खेलाइएका रक्षक असीम गुरुङले राम्रो प्रदर्शन गरेकाले सेमिफाइनलमा केही सहज हुने विश्वास व्यक्त गरे।  दोङ माल्दिभ्सविरुद्धको खेलमा रातो कार्डको दर्शन गदर्ैै मैदानबाट बाहिरिएका थिए।

‘टोलीमा रोशनको अभाव खड्कियो। तर उनको स्थानमा ल्याएका असीमले पनि राम्रो प्रदर्शन गरेकाले बंगलादेशविरुद्धको सेमिफाइनलमा हामीलाई केही सहज हुनेछ,’ सेमिफाइनलमा हामी रक्षापंक्तिका साथै मिडफिल्डमा विशेष ध्यान दिनेछांै।’

२७औं  मिनेटमा कप्तान विक्रमप्रताप सिंहले गरेको गोलमा भारतले अग्रता लिएको थियो। स्ट्राइकर बिके ओरामले गरेको प्रहार नेपालका गोलकिपर विशाल सुनारले नियन्त्रण लिन नसक्दा प्राप्त बललाई सिंहले पोस्टको दिशा दिएका थिए।

४१औं मिनेटमा कप्तान रानामगरले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। पहिलो प्रहार भारतका गोलकिपर लालविखलवा जोङतेले रोके पनि रिबाउन्डमा प्राप्त बललाई उनले जाली चुमाएका थिए। भारतका रक्षक मोइराङथेम थोइबा सिंहले स्ट्राइकर आकाश बुढामगरलाई पेनाल्टी बक्समा लडाउँदा नेपालले पेनाल्टीको अवसर पाएको थियो।

६३औं मिनेटमा रबिबहादुर रानाले गोल गर्दै भारतको जित पक्का गरेका थिए। उनले स्ट्राइकर गिभसोन सिंह मोइराङथेमको फ्रि–किकलाई हेड गर्दै जाली चुमाएका थिए। भारतका प्रशिक्षक बियाबानो फर्नान्डेजले नेपाललाई घरेलु मैदानमा पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइल प्रवेश गर्न पाउँदा खुसी लागेको बताए।

‘नेपाल कठिन प्रतिद्वन्द्वी हो। पहिलो हाफमा नियन्त्रण गुमाए पनि नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै हामीलाई दबाबमा राख्यो,’ भारतका प्रशिक्षक फर्नान्डेजले भने, ‘घरेलु टोलीसँग खेल्नु सधैं कठिन हुने गर्दछ।’

प्रतियोगिताका सबै खेललाई गम्भीर रूपमा लिएको भन्दै फर्नान्डेजले फाइनलमा पनि नेपाललाई प्रतिद्वन्द्वीका रूपमा हेर्न चाहेको बताए।

‘हामीले कुनै पनि टोलीलाई कमजोर रूपमा लिएका छैनांै। हामीले सबै खेललाई फाइनल सरह लिएका छौ,’ उनले भने, ‘भुटानविरुद्धको सेमिफाइनलमा पनि हामी आजको जस्तै प्रदर्शन गर्नेछांै। हामी अघिल्लो चुनौतीका लागि तयार छौं। हामी फाइनलमा नेपाल प्रतिद्वन्द्वी भएको हेर्न चाहन्छांै।’

सोमबार दोस्रो खेलमा नेपालसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपछि माल्दिभ्सका प्रशिक्षक मोहमद साज्लेले आफूहरू कठिन समूहमा परेको र भारतले बढी उमेरका खेलाडी खेलाएको आरोप लगाएका थिए। तर, प्रशिक्षक फर्नान्डेजले त्यसको खण्डन गरे।

‘कुनै पनि प्रतियोगिता खेल्नुअघि त्यसमा कस्तो टोलीले सहभागिता जनाउँदै छन् भन्ने जानकार हुन जरुरी छ र तयारी पनि त्यहीअनुसारको गर्नुपर्छ,’ फर्नान्डेजले भने, ‘भारतीय फुटबल संघले युवा खेलाडी उत्पादनमा ध्यान दिइरहेको छ र यो त्यसकै परिणाम हो। यो टोली विगत १७ महिनादेखि संगै अभ्यासमा छन्। त्यसैले हामीमाथि बढी उमेरको खेलाडी खेलायो भन्दै लगाइएको आरोपमा कुनै तथ्य छैन।’

भारतले १९औं मिनेटमा गोल गर्ने मौका खेर फालेको थियो। मिडफिल्डर रामबहादुर रानाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार अकासिएको थियो। ३९औं मिनेटमा रक्षक लाल रोकिमाको प्रहार पोस्टमा लागेर फर्कंदा भारतले अग्रता बढाउने मौका खेर फालेको थियो।

७५औं मिनेटमा भारतले गोलअन्तर बढाउने सुनौलो मौका खेर फालेको थियो। मिडफिल्डर अनियाम ग्राफेनबर्ग जेरुवा खाली पोस्टमा गोल गर्न चुके। पेनाल्टी बक्सबाहिरबाट तीन नेपाली रक्षकलाई छक्याउँदै बल अघि बढाएका जेरुवा गोलकिपर बिट भए पनि बललाई पोस्टको दिशा दिन सकेनन्। उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

४७औं मिनेटमा कप्तान रानामगरले गरेको प्रहार भारतीय गोलकिपर जोङ्तीले रोक्दा नेपालले अग्रता बढाउनेमा सुनौलो मौका खेर फालेको थियो। त्यस्तै ८८औं मिनेटमा दर्शन गुरुङको फ्रि–किक बाहिरिँदा नेपालले खेलमा फर्कने मौका गुमाएको थियो।

प्रकाशित: ८ भाद्र २०७४ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App