१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रदर्शनीमा बिक्री भए महँगा चित्र

चितवन- प्रकृतिसँग सम्बन्धित चित्रकलाको प्रदर्शनी सुरु हुँदा आयोजक भीमप्रसाद शर्माको मनमा एक खालको डर थियो। प्रदर्शनीमा राखेका चित्र बिक्री होला वा नहोला भन्ने आशंका उनमा थियो। त्यस्तै, प्रदर्शनी अवलोकन गर्न पनि कति मान्छे आउने हुन् भन्ने भय पनि उनमा उत्तिकै थियो। यही धरमरबीच भदौ ३ गते नवलपरासीको गैंडाकोटमा 'अन्तर्राष्ट्रिय प्रकृति कला प्रदर्शनी' सुरु भयो। बुधबार प्रदर्शनी सकिँदा शर्मा खुसीले गद्गद् थिए।

'प्रदर्शनीको अवलोकन गर्न दर्शकहरू पनि आए। चित्र पनि बिक्यो,' शर्माले भने। शर्मा संस्थापक रहेको गंैडाकोटको कलावति आर्ट काउन्सिल र गैंडाकोट रोटरी क्लबले प्रदर्शनी आयोजना गरेको थियो। प्रदर्शनीमा प्रवेश निःशुल्क भए पनि प्रदर्शनीमा राखिएका चित्रहरूको मूल्य भने ६ हजारदेखि ७० हजार रुपैयाँ थिए। बढी मूल्यकै चित्र बिक्री हुँदा शर्मा उत्साहित देखिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्ययाले प्रदर्शनीको उद्घाटन गरेकी थिइन्। उनका चित्रहरू पनि प्रदर्शनीमा थिए। उनको चित्रको सबैभन्दा धेरै ७० हजार रुपैयाँ मूल्य थियो। सोही चित्र नै बिक्री भयो। चित्र नारायणगढका उद्योगी अरुण पियाले किने। पियाले त्यसबाहेक थप तीन चित्र किने।

उनी एक्लैले एक लाख ६० हजार रुपैयाँका चित्रहरू किनेको शर्माले बताए। कलाकृति हेर्न आउनेहरूले किनेका कारण ५० वटा चित्र बिक्री भएको शर्माले जनाए। प्रदर्शनी हेर्न आएका गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले नगरपालिकाको तर्फबाट छवटा चित्र किने। स्कुलहरूले पनि चित्र किने। प्रदर्शनीमा १ सय ४० वटा चित्र थिए। जसमध्ये ५० वटा बिक्री भएको शर्माले जानकारी दिए।

जर्मनी, अष्ट्रिया, भारत, बंगलादेशका नौजना चित्रकारहरु र नेपालका २२ जना चित्रकारहरूको चित्र प्रदर्शनीमा थिए। कलावति आर्ट काउन्सिलले गत चैत्रमा गैंडाकोटको अमरापुरीमा अन्तर्राष्ट्रिय कला उत्सव आयोजना गरेको थियो। सोही अवसरमा तयार गरिएका चित्र प्रदर्शनीमा राखिएका हुन्। बिक्रीबाट आएको रकम चित्रकारले पनि पाउने छन् भने केही रकम रोटरीको सामाजिक कोषमा जाने शर्माले बताए।

'राजधानीमा यस्ता प्रदर्शनीहरू लगातार हुन्छन्। कला पारखीहरु पनि प्रशस्तै छन्। तर राजधानी बाहिर गर्दा पनि जे जति आए त्यो कम थिएन। बिक्री त झनै उत्साहप्रद भयो। महंगा भनिएका चित्रहरू पनि बिक्री भए। यहाँ पनि कला पारखीहरु रहेछन्' शर्माले भने। प्रदर्शनीले आफूलाई निकै नै ऊर्जा प्राप्त भएका र थप केही नौलो कार्यक्रम गर्ने सोच बनाएको शर्माले बताए।

प्रकाशित: ८ भाद्र २०७४ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App