१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

व्यंग्य : चुनाव र भ्रष्टाचारी

सत्तारूढ पार्टी नेपाली कांग्रेसका श्रद्धेय सांसद यति बेला अत्यन्त क्रुद्ध मुडमा छन्। त्यो पनि एकजना, दुईजना वा तीनजना होइन, सबै सबै नै। यसको कारण हो, हालै सदनमा आएको एउटा विधेयक। अब भ्रष्टाचार मुद्दामा परेका कुनै पनि व्यक्तिले चुनाव लड्न नपाइने रे। यसैका लागि विधेयक आएको रहेछ। त्यसमा कांग्रेसका सबै सांसदले विरोध गरे। भ्रष्टाचारीलाई चुनाव लड्न नदिने कानुनप्रति कांग्रेसले विरोध गरेको रहेछ।

कांग्रेसको यो विरोध देखेर मानिस चकित छन्। जस्तो कि म चकित भएँ। कांग्रेसजस्तो पार्टी किन भ्रष्टाचारीको पक्षमा उभिँदै छ? के भयो कांग्रेसलाई? सोध्न त पार्टी सभापति शेरबहादुर देउवालाई नै सोध्ने मन थियो यो प्रश्न। तर अहिले उहाँ देशमा उपलब्ध हुनुहुन्न। उहाँ यतिबेला आफ्नो पूरा कार्यभार केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सुम्पेर भारत भ्रमणमा जानुभएको छ। अतः मैले कांग्रेसकै अर्का एक जिम्मेवार नेतासँग सोधेँ, 'यो के गर्नुभएको नेताजी? भ्रष्टाचारीलाई चुनाव लड्न नदिने विधेयकको किन विरोध गर्नुभएको?'

नेताजी पत्रिका पढ्न व्यस्त हुनुहुन्थ्यो। मेरो ठाडो प्रश्नले उहाँको ध्यान खलबल हुन पुग्यो। उहाँ क्रोधित हुनै लाग्नुभएको थियो तर बीचैमा के सम्झेर हो कुन्नि, उहाँले आफ्नो क्रोधमाथि नियन्त्रण गर्नुभयो। व्यक्त हुन पाएन। उहाँले आफ्ना चस्माको सिसाबाट नजर निकाल्दै मतिर हेर्नुभयो। बिस्तारै मलाई बस्ने इसारा गर्नुभयो, हातले। म अगाडिको मुढा तानेर बसेँ।

त्यसपछि उहाँको वाणी सुरु भयो, 'हेर्नुस्, नेपाली कांग्रेस सुरुदेखि नै लोकतन्त्रका लागि लड्दै आइरहेको पार्टी हो। सन्तानब्बे साल, सात साल, सत्र साल, सतचालीस साल... कुन साल छ, जसमा नेपाली कांग्रेसले नलडेको होस्!'

उहाँले आफ्नो वाणीमा थोरै 'पज' दिनुभयो। र, पुनः सुरु गर्नुभयो, 'हेर्नुस्, लोकतन्त्रका लागि लड्दालड्दा अब त हामीलाई लड्ने बानी नै परिसक्यो। अहिले हामी कोही पाएनौँ भने पार्टीभित्र एकापसमै लडिरहेका हुन्छौँ। यो हामीलाई लोकतन्त्रले सिकाएको हो।'

'तर भ्रष्टाचारसँग त कहिल्यै लड्नुभएन क्या रे!' मैले प्याच्चै बोलिदिएँ।

'कसरी लड्ने? लड्नलाई पहिले फुर्सद पनि हुनुपर्‍यो। त्यो फुर्सदमा लड्ने हो। तर लोकतन्त्रमा साँच्चै लड्ने भनेको त चुनाव हो। चुनाव भनेको लोकतन्त्रको मेरुदण्ड हो। बु‰नुभयो, मेरुदण्ड! तर अहिले यो लोकतन्त्रको मेरुदण्डै भाँच्नै प्रयास भइरहेको छ देशमा। हामी त्यसप्रति बहुत सचेत छौँ।' उहाँ गम्भीर हुन थाल्नुभयो।

मैले भनेँ, 'भ्रष्टाचारीलाई चुनाव लडाएपछि मेरुदण्ड भाँच्ने भइहाल्यो नि।'

उहाँको अघिको गम्भीरतामा अर्को एक मात्रा गम्भीरता थपियो। आँखा ट्वाल्ल पार्दै उहाँले भन्नुभयो, 'हेर्नुस्, भ्रष्टाचारीलाई चुनाव लडाउँदिनँ भन्नु नै लोकतन्त्रको मेरुदण्ड भाँच्ने प्रयास हो, बु‰नुभयो?'

'कसरी? भ्रष्टाचारीलाई चुनाव नलडाउँदैमा कसरी लोकतन्त्रको मेरुदण्ड भाँँचिन्छ नेताज्यू?' अहिले भने मेरो आँखा ट्वाल्ल भयो।

उहाँले आफ्नो गम्भीरतालाई पुनः एक 'पज' दिनुभयो। अनि भन्नुभयो, 'हेर्नुस्, तपाईंले भ्रष्टाचारीलाई चुनाव लड्न दिन्न त भन्नुभयो। तर यो देशमा भ्रष्टाचारीले पनि चुनाव लडेन भने चुनाव लड्ने को त? कसले लड्छ चुनाव?'

बडो अनौठो प्रश्न गर्नुभयो नेताज्यूले। म अवाक् भएँ। दिमागमा अर्को प्रश्न आउन बन्द भयो। तर उत्तर उहाँ आफैँले दिनुभयो, 'भ्रष्टाचारीले चुनाव लड्दैन भने अरु कसले लड्छ त? अहिले देशमा चुनाव कति महँगो भइसक्यो थाहा छ तपाईंलाई? सारा घरबार बेचे पनि एउटा चुनाव लड्न मुस्किल छ। त्यो पनि जित्ने ग्यारेन्टी छैन। भ्रष्टाचार नगर्नेले चुनाव लड्नै सक्दैन। अनि भ्रष्टाचार गर्नेलाई चुनाव लड्नै नदिने हो भने चुनाव कसरी हुन्छ?'

'हैन, चुनाव त जसरी पनि भइहाल्छ नि। यो के प्रश्न भयो र नेताज्यू?' मैले असहमति प्रकट गरेँ।

तर उहाँको प्रश्न जारी नै थियो, 'चुनाव हुनलाई सबैभन्दा पहिले चुनाव लड्नेहरू पनि त हुनुपर्‍यो नि। चुनाव लड्ने नै कोही भएन भने चुनाव हुन्छ कसरी? अनि चुनावै भएन भने लोकतन्त्र चल्छ कसरी? लोकतन्त्र चलाउन चुनाव हुनुपर्‍यो। चुनाव हुनलाई उम्मेदवार हुनुपर्‍यो। उम्मेदवार हुनलाई भ्रष्टाचार गर्नैपर्‍यो। भ्रष्टाचारीबाहेक अरुले त अब चुनाव लड्नै सक्दैन। अब तपाईं भन्नुस्, भ्रष्टाचारीलाई नै रोकेर चुनाव कसरी सम्पन्न गर्न सकिन्छ?'

'होइन, यो त चुनाव महँगो भएकाले यस्तो भएको हो। चुनावलाई महँगो बनाउनुभएन। त्यतातिर लाग्नुस् न तपाईंकहरू,' मैले सुझाव दिने शैलीमा भनेँ।

उहाँले अस्वीकार गर्ने शैलीमा भन्नुभयो, 'के तपाईंले लोकतन्त्रलाई सस्तो वस्तु ठान्नुभएको छ? के लोकतन्त्र बजारमा पाइने सस्तो सामान हो? यो लोकतन्त्र त हामीले ठूलो मूल्य चुकाएर ल्याएका हाँै। त्यसै सितिमिती कसैले बक्सिस दिएर पाएको लोकतन्त्र होइन हो। यस्तो मूल्यवान लोकतन्त्रको चुनाव कसरी सस्तो हुन सक्छ हाँ? चुनावलाई सस्तो सामान्य कुरा ठान्नुहुन्छ तपाईं? लोकतन्त्र महँगोमा ल्याएपछि चुनाव पनि महँगो नै हुन्छ। यस्तो महँगो चुनाव तपाईं लड्न सक्नुहुन्छ?'

मबाट उत्तर नआएपछि पुनः नेताज्यूले नै बोल्नुभयो, 'त्यसैले हेर्नुस्, भ्रष्टाचारीलाई चुनाव लड्न नदिने भनेकै लोकतन्त्र समाप्त गर्ने खेल हो। यस्तो खेलविरुद्ध हामी लड्ने छाँै। लडी नै रहनेछाँै। अघि भनी नै हालेँ नि, लड्ने त हामीलाई बानी नै परिसक्यो।' 

प्रकाशित: १० भाद्र २०७४ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App