सहरी बाढी र क्षति न्यूनीकरणका उपाय

आइतबार, ११ भदौ २०७४, १० : ०१ मन्दिरा श्रेष्ठ


२०७४ साल असार ३१ गतेका दैनिक पत्रिकामा समाचार छापिएको थियो– केवल दुई घण्टाको अविरल वर्षाका कारण काठमाडौँको सामाखुसीमा आएको ढलको बाढीमा परेर स्कुलबाट फर्किरहेकी १० वर्षकी बालिकाको मृत्यु भयो भने अर्की १३ वर्षिया बालिका मुस्किलले बाँच्न सफल भइन् । गत साउन २८ गते कर्मनाशा तथा नख्खु खोलामा आएको बाढीले हात्तीवन तथा नख्खु क्षेत्रका थुप्रै घर डुबानमा परे । अब यहाँ प्रश्न उठ्छ– देशको मुटु राजधानीमै किन यस्तो घटना हुन्छ ? किन हरेक वर्षायामसँगै ठाउँठाउँमा बाढी र पहिरोमा हजारौंले ज्यान गुमाउनुपर्छ भने हजारौं विस्थापित हुन पुग्छन् ? नेपालमा सरदररूपमा वार्षिक २५० भन्दा बढी व्यक्तिले बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुपरेको यथार्थ छ जुन एकदम उच्च हो । 

बाढीको प्रकोप मूलतः भौगोलिक बनावट, वर्षाको मात्रा तथा जमिनको उपयोगमा आधारित हुन्छ । वर्षाको मात्रा एकै भएता पनि सहरी तथा ग्रामीण क्षेत्रमा बाढीको स्वरूप तथा प्रभाव फरक भएको देखिन्छ । सहरी क्षेत्रको जमिनमा प्रायः अग्ला–अग्ला घर निर्माण हुने तथा पक्की सडकका कारण अनि विभिन्न भौतिक पूर्वाधारले वर्षाको पानी सिधै जमिनले सोसेर लिन नसक्दा पानीको बहाव सतहमा आउँदा बाढी जस्तो देखिन्छ । पहाडमा भिरालोका कारण ठूलो वर्षा हँुदा भलका रूपमा आकस्मिक बाढी आउने र त्यस्तो भल बगेर जाने हँुदा एकै क्षणमा त्यसले विनाश सिर्जना गर्न सक्छ भने तराई जस्तो समथर क्षेत्रमा कैयौँ दिनसम्म त्यस्तो पानीभित्र बस्ती डुबानमा पर्ने गरेका छन् । सहरी क्षेत्रमा यस्तो अवस्था आउनुकोे कारण के हो र समाधानका उपाय के हुन् ? केही चर्चा गर्न खोजिएको छ। 

बाढीका कारण
क) जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा औसत तापक्रम गत ६० वर्षमा १.५ डिग्री सेल्सियसले वृद्धि भएको छ जुन विश्वको औसत तापक्रमभन्दा २.५ गुणा बढी देखिन्छ । यसको कारणले कुनै–कुनै ठाउँमा अत्यधिक वर्षा हुन गइरहेको छ भने कुनै–कुनै ठाउँमा सुक्खा हुन गएको छ । यस्तो अवस्थालाई खण्डवृष्टिका रूपमा लिइन्छ । केही छोटो समयका लागि भए पनि अत्यधिक वर्षाका कारण निम्त्याएको बाढीले धेरै धनजनको क्षति हुुन गएको छ । चार वर्षअगाडि भारतको उत्तराखण्ड प्रदेशको केदारनाथ मन्दिर क्षेत्रमा यही हुन गएको थियो । यसबाट हामीले नसोचेको क्षति हुन गयो।

ख) सहरी क्षेत्रमा बढ्दो जनघनत्वका कारण बस्ती विकास दु्रत गतिले भइरहेको छ । खुला जमिन पक्की घर तथा बाटोमा परिवर्तित भएका छन् । जमिनको उपयोगमा आएको यस्ता बदलिँदो अवस्थाले सहरी क्षेत्रमा पानी सतहमा बढी बग्ने र भेल आउने गरेको छ।  

ग) नेपालमा बसाइँ सराइको अवस्था तिब्र छ । जनता स्वास्थ्य, शिक्षा र अन्य कुनै न कुनै बहानामा विस्थापित भएर सहर पस्ने गरेका छन् । यसबाट बढ्दो जनसंख्याका कारण अव्यवस्थित सहरीकरण हुन गएको छ । नदीनालाले बनाएको बगर च्यापेर घर, टहरा निर्माण हुने गरेका छन् । नदीको बहावको क्षेत्र संकुचित बनाइएको छ । हिउँदमा खोलानालामा पानीको मात्रा कम हुँदा  त ठीकठाकै देखिन्छ तर वर्षायाममा तिनै खोलानाला बढ्दा काल बन्न गएका छन् र ठूलो विनाश निम्त्याएको छ।  

घ) प्लास्टिक र प्लास्टिकले बनेका वस्तुहरू कुनै न कुनैरूपमा प्रयोग भइरहेका छन् । तिनको समुचित व्यवस्थापन तथा पुनः प्रयोगको नीति नहुँदा पनि यत्रतत्र प्लास्टिकका कागजात, ब्याग, बोतल आदि बाहिर सडकमा फ्याँकिदिने गर्नाले वर्षात्को पानीसँग बगेर ती चिज ढलमा मिसिन जाने र नकुहिने हुनाले ढल नै बन्द गरिदिने र त्यसको सरसफाइ नहँुदा पनि यदाकदा सहरी सडकमा भेल आउने देखिएको छ। 

ङ) हाम्रा विकासका योजना एकापसमा तारतम्य मिलाएर अगाडि बढाउन नसक्दा पनि जल–उत्पन्न प्रकोपको सिकार जनता हुनुपरेको छ । उदाहरणका लागि, ढल निर्माण, बिजुली तथा टेलिफोनको अन्डरग्राउन्ड तार जडान, खानेपानीको पाइप बिछ्याउने, सडक चौडा पार्ने जस्ता निर्माण कार्य एकापसमा समन्वयात्मक सूचना तथा योजनाको आधारमा हुनुपर्नेे थियो । तर त्यसो नगरिँदा एकै खण्डको सडक पनि विभिन्न प्रयोजनका लागि वर्षभरि नै खन्ने/भत्काउने कार्य हुने गरेको देखिन्छ । यसले गर्दा सानोतिनो झरी तथा वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ । 

च) कतिपय परियोजना समयमा सम्पन्न हुन नसकेको र ठेकेदारले बीचैमा काम त्याग्ने वा बढी समय लाग्ने आमसमस्याका रूपमा देखापरेको छ । वर्षायामको समयमा आएर यस्तो कार्यबाट हुने ढिलाइ र अलपत्र छाडेको सडकका खाल्डाखुल्डीमा परेर ज्यान गुमाउने अवस्था पनि छ।

समाधानका उपाय 
क) सर्वप्रथम बाढीजन्य क्षति न्यूनीकरण गर्न सरकारले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउन जरुरी छ । नेपालका लागि यो प्रमुख चुनौतीका रूपमा छ । कहाँ बाटोघाटो बनाउने, कहाँ सार्वजनिक स्थान तथा उद्यान बनाउने, कहाँ कलकारखाना तथा उद्योग राख्ने, कहाँ व्यापारिक तथा प्रशासनिक निकायहरू राख्ने, कहाँ शैक्षिक तथा मनोरञ्जन आदि क्षेत्र विकास गर्ने, सरकारले हरेक बस्ती विकास गर्नुभन्दा अगावै त्यस्तो नीति, कार्यक्रम र ऐन नियमको व्यवस्था गर्नु जरुरी छ । वन क्षेत्रको विनाश तथा रुख कटान आदि रोकिनुपर्छ । जलाधार संरक्षणमा जोड दिनुपर्छ । व्यवस्थित सहरीकरणको योजना लागु गरिनु अत्यन्य जरुरी छ। 

ख) सरकारी तथा गैरसरकारी निकायबीच पनि बस्ती विकासका लागि समन्वय हुनु जरुरी छ । उदाहरणका लागि ढल निकास, बिजुली, सडक, पानी तथा टेलिफोन सेवाप्रदायक संस्थाबीच आपसी समन्वय गरी काम गर्न जरुरी देखिएको छ । भत्काइएको वा उप्काइएको सडकको मर्मत तथा सुधार कुन निकायबाट गर्ने भन्ने अन्योल हटाउनु आवश्यक छ। 
ग) खण्ड–खण्डका आधारमा गरिने लगानीले सहरी ढलको पूर्वाधार चाहेजस्तो वैज्ञानिक नहुन सक्छ । अर्को शब्दमा भविष्यको जनसंख्या र बस्ती वृद्धिलाई आकलन नगरी गरिएको त्यस्तो भौतिक पूर्वाधार लगानी व्यर्थ हुन सक्छ। फलस्वरूप त्यस्तो ढल कालान्तरमा साँघुरो हुनाले वर्षायाममा ढल बन्द भएर बाढी आउन सक्छ । यसका लागि सरकारी–स्तरमा सम्बन्धित नगरपालिका, उपमहानगरपालिका, तथा महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन गर्ने गरी योजना बनाउन जरुरी छ। 

घ) जलवायु परिवर्तनले निम्त्याउने अनिश्चित अत्यधिक वर्षासँग अनुकूल हुने गरी र अधिकतम् पानीको बहावलाई थेग्न सक्ने हिसाबले इन्जिनियरिङ डिजाइन गर्न जरुरी छ । क्षति न्यूनीकरण गर्न विपत् पूर्वतयारीतर्फ पनि ध्यान दिनुपर्छ ।
ङ) सहरी क्षेत्रमा वर्षायामको आकाशे पानी संकलन गर्ने र साथै हरितक्षेत्रको विकास गर्नेतर्फ प्राथमिकता दिनुपर्छ । सहरी क्षेत्रमा भएका पोखरी पानी संकलन गर्न उपयोगी हुन्छन् जसबाट जमिनमा पानी रिचार्ज हुन्छ र साथै सहरी बाढीको व्यवस्थापनतर्फ मद्दत पुग्ने देखिन्छ ।

च) जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । प्लास्टिक, सिसा तथा अन्य वस्तु ढलमा पठाउन नहुने, समय–समयमा ढल सरसफाइ गर्नुपर्ने र वातावरणीय क्षति न्यूनीकरण गर्न के गर्ने भनी प्रशिक्षण पनि दिन सकिन्छ। 
जलस्रोत विशेषज्ञ, एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)...

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

‘ब्याडम्यान’ मार्फत नेपाल हलिउडमा जोडिदै

भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल...

मैथिलीमा ‘राज्जा रानी’

मैथिलीमा ‘राज्जा रानी’

दाइजो प्रथाको विषयलाई उठान गरिएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि प्रदर्शन हुने भएको छ। आगामी पुस २१ गतेबाट देशैभर...

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...