१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

इन्द्रजात्राको संकेत दिने नाच

तस्बिर सौजन्य : नरेन्द्र महर्जन

इन्द्रचोकको चर्चित लस्सी भण्डारबाट करिब पाँच मिनेट पैदल दूरीमा पर्छ, योगवीरसिंह मार्ग। योगवीरसिंह मार्गबाट दायाँतर्फ सानो गल्लीभित्र छिरेपछि भेटिन्छ, ढुंगा ओछ्याएको एउटा फराकिलो आँगन। आँगनबाट अर्को गल्लीतर्फ करिब सय पाइला चाल्दा पुगिन्छ, किलागलस्थित ननिको डबली, जहाँ अचेल हरेक साँझ मुखुन्डो र घुँगुरा लगाएर नाचिरहेका हुन्छन्, एक हुल नर्तकी।

कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिन्छ। उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ। देवी नाचमा भने पराजित भएको दैत्य भागेर जान्छ, उसको वध हुँदैन।

तीजको भोलिपल्ट (भाद्र शुक्ल चतुर्थी)देखि ननिको डबलीमा सुरु भएको यो नाच जारी रहनेछ, इन्द्रजात्राको अन्तिम दिनसम्म। देवी, देवता, दानव र मानव कंकालको मुखुन्डो लगाएर नाचिने नाचले त्यस बेलासम्म पार गर्नेछ, थुप्रै चरण। हरेक चरणमा थपिँदै जान्छन्, केही नयाँ विधि पनि।

किलागलमा भाद्र शुक्ल चतुर्थीदेखि सुरु भएको यो नाच हो, दीप्याखं अर्थात् देवीनाच। सात ताल, सात बाजा, सात सुर र सातै पात्रलगायत सातको संयोगयुक्त देवीनाचलाई इन्द्रजात्राको संकेत गर्ने नाच मानिन्छ। 'देवीनाच सुरु भएपछि इन्द्रजात्रा आउन लाग्यो भन्ने संकेत मिल्छ,' देवी नाच एक परिचय पुस्तकका लेखक एवं नृत्यगुरु नरेन्द्र महर्जन भन्छन्, 'काया अष्टमी (भाद्र शुक्ल अष्टमी)देखि टोलटोलमा यो नाच देखाइन्छ, त्यसले इन्द्रजात्रा आउँदै छ भन्ने टोलवासीलाई जानकारी हुन्छ।'

अहिले किलागलस्थित ननिको डबलीमा देखाइँदै गरेको नाच भाद्र शुक्ल अष्टमी (मंगलबार)देखि भने किलागल, जैसिदेवल, वसन्तपुर, इन्द्रचोकलगायत विभिन्न सातवटा डबलीमा देखाउन सुरु गरिन्छ। इन्द्रजात्राका अवसरमा कुमारीको रथ सहरको दक्षिणतर्फ तान्दै ल्याउने क्रममा जैसिदेवल आइपुग्दा रथ रोकेरै कुमारीलाई देवीनाच देखाउने चलन समेत छ।

उपत्यकाभित्रका विभिन्न नाचमध्ये देवीनाचको भिन्नै विशेषता रहेको दाबी गर्छन्, नाचका नाइके तथा मुख्य गुरु इन्द्र महर्जन। 'यसमा जस्तो सातको संयोग अरू नाचमा छैन,' उनले भने, 'यस्तो खालको नाच भेट्न मुस्किलै छ।'

देवीनाचको मुख्य विशेषता भनेकै सातको संयोग हो। यसमा सुर, ताल, बाजा मात्र होइन, गुरु पनि सातैजना हुन्छन्। नियमअनुसार नाच समेत सात घन्टा नै देखाउनुपर्छ। नाच देखाउने डबली पनि सातवटै छन्। देवीनाचमा कुमारी, भैरव, चण्डी, दैत्य, कवः (कंकाल), वेताः र ख्याःको भेषमा सजिएका पात्रले विभिन्न भावमा नृत्य प्रस्तुत गर्छन्।

नृत्यका क्रममा कवःलाई कुमारी, वेतालाई भैरव र ख्याःलाई चण्डीको वाहनका रूपमा प्रस्तुत गरिन्छ भने दैत्यलाई असुर शक्तिका रूपमा देखाइन्छ। कुमारीले दैत्यलाई युद्धमा पराजित गरेर दैत्य भागेपछि नाच सकिन्छ। उपत्यका अरु नाचमा दैत्यको वध गरिन्छ। देवीनाचमा भने पराजित भएको दैत्य भागेर जान्छ, उसको वध हुँदैन।

यो नाच राजा गुण कामदेवले सुरु गरेको विश्वास गरिन्छ। देवीनाचका गीतमा समेत गुण कामदेवको उल्लेख भएकाले त्यसलाई पुष्टि गर्ने संस्कृतिविद् सत्यमोहन जोशीको तर्क छ। देवीनाचको प्रतालमा गाउने गरिएको भैरवकोे चर्चा गीत 'नेपालया भुवन पति, श्री गुणकर राजा, जुगंजुग जिवय् भुक्तिमुक्ति'मा उल्लेख गरिएका राजा गुण कामदेव नै हुन सक्ने उनले लेखेका छन्।

'देवीनाच एक परिचय' पुस्तकको भूमिकामा उनले सोही गीतलाई उल्लेख गर्दै लेखेका छन्, 'यसमा उल्लेख गरिएको गुणकर राजा भनेको सम्भवतः नेपाल देशको वंशावलीमा अत्यन्त प्रख्यात गुण कामदेव राजा नै हुन सक्छ।'

ऐतिहासिक महŒव बोकेको भए पनि देवीनाचको तान्त्रिक पूजाका लागि आफ्नै मन्दिर वा पूजाघर छैन। अहिले भने निजी घरमा पूजा गर्दै आएको महर्जनले बताए। 'घरमूलीले अहिले बिक्री गर्न लागेका छन्,' उनले भने, 'घर बिक्री भयो भने कहाँ पूजा गर्ने, कसरी नाच बचाउने?'

किंवदन्ती

देवीनाचसम्बन्धी दुई किंवदन्ती छन्। पहिलो, कुनै बेला हनुमानढोका दरबार परिसरस्थित कालभैरवअगाडि देवी स्वरूपमा हरेक रात ईश्वरीय शक्ति प्रकट हुने गर्थ्यो। त्यस्तो शक्तिले हरेक दिन एक–एक जनाका दरले मानिसको भोग खान थाल्यो। प्रजाको संख्या घट्दै गएपछि राजा चिन्तित भए। एक रात सपनामा उनलाई भगवान्ले कालभैरवअगाडि देखिने ईश्वरीय शक्तिकै भेषमा नाच देखाए, समस्या हल हुने आज्ञा गरे। सोही आज्ञाअनुसार राजाले देवीनाच सुरु गराए। त्यसपछि विपत्ति टर्‍यो।

अर्को किंवदन्तीअनुसार कुनैबेला उपत्यकामा ठूलो महामारी फैलियो। धेरै मानिस मरे। प्रजा सकिँदै गएपछि राजालाई चिन्ता पर्‍यो। उनले एक रात देवीनाच देखाए महामारी रोकिने सपना देखे। नभन्दै नाच देखाएपछि महामारी रोकिए। राजाले हरेक वर्ष नाचको प्रचलन चलाए।

प्रकाशित: १२ भाद्र २०७४ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App