यसरी सुरु भएको थियो, ह्वाट्सएप

शनिबार, १७ भदौ २०७४, ०९ : ४३ शिक्षा रिसाल  | @RisalShiksha


यान कम विश्वविख्यात मोबाइल मेसेन्जिङ एप ह्वाट्सएपका सहसंस्थापक तथा सिइओ थिए । सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई २२ बिलियन अमेरिकी डलरमा खरिद गरेपछि ४१ वर्षीय उनी अहिले फेसबुकको बोर्डमा बस्दै आएका छन् ।

जीवनमा प्रेरणा खोज्नेका लागि ह्वाट्सएप र यसका संस्थापकको कथा एक जीवन्त उदाहरण हो । यानका लागि असफलता कुनै नौलो कुरा थिएन ।

त्यतिबेलाका साथी ब्रायन एक्टनले यानलाई एक्लोपनासँग लड्न निकै सहयोग गरे । यी दुई साथीले याहुमा सँगसँगै नौ वर्ष बिताए । उनीहरूले निकै ज्ञान र अनुभव बटुले । उनीहरूले धेरैपटक याहु तल–माथि भइरहेको देखे । अन्ततः २००७ सेप्टेम्बरमा उनीहरुले याहु छाडे ।

सन् २००९ मा ह्वाट्सएप स्थापना गर्नुअघि उनले करिब नौ वर्ष याहुमा काम गरेका थिए । फोब्र्सका अनुसार, कमको अहिलेको सम्पत्ति करिब १० बिलियन अमेरिकी डलर छ । यी अर्बपति अहिले संसारका सबैभन्दा धनीमध्ये १४०औँ नम्बरमा पर्छन् भने अमेरिकाका सबैभन्दा धनीमध्ये ४९औँ नम्बरमा ।

कम कुनै घरानियाँ परिवारमा जन्मेका होइनन् । १६ वर्षको उमेरमा उनी आमा र हजुरआमासँग युक्रेनबाट अमेरिकाको क्यालिफोर्नियामा बसाइँ सरेका थिए । अमेरिका गएपछि उनले जीविका चलाउन भुइँ बढार्ने काम समेत गरे ।

युक्रेनको एउटा गाउँमा जन्मेका उनलाई यहुदी भएकाले पनि बाल्यकाल सहज भएन । उनी बिजुली नभएको घरमा बस्थे । चिसो ठाउँमा बसे पनि उनको परिवारले तातोपानी प्रयोग गर्न समेत पाउँदैनथ्यो । सरकारले निगरानी गर्ने भएकाले उनको परिवारले फोनको प्रयोग समेत गरेन । यस्ता विविध कारण उनको बाल्यकाल सहज बनेन । त्यसमाथि आर्थिक संकट थियो नै ।

अमेरिका गएपछि उनीहरूलाई एउटा सामाजिक संस्थाले बस्ने व्यवस्था मिलाइदियो । त्यहाँ बस्दा उनले सेकेन्डह्यान्ड पुस्तक पसलबाट किनेको म्यानुअल पढेर कम्प्युटर नेटवर्किंङ सिके । उनकी आमाले बेबिसिटरको काम गर्दा उनले ग्रोसरी पसलमा सफाइको काम गर्न थाले ।

जब अमेरिकामा जीवन सामान्य हुन थाल्यो, उनको जीवनमा अर्को दुःख आइलाग्यो । उनकी आमालाई क्यान्सर भएको पत्ता लाग्यो । त्यतिबेलासम्म उनी बलियो भइसकेका थिए । जीवनमा जति दुःख हुँदै जान्छ, त्यति नै बलियो भइन्छ भन्ने उनले महसुस गरिसकेका थिए ।

अर्को दुई वर्षमा उनले आफूलाई कम्प्युटर नेटवर्किंङमा दक्ष बनाइसकेका थिए । उनलाई प्रोग्रामिङमा रुचि हुन थाल्यो । उनी सान जोस स्टेट युनिभर्सिटीमा भर्ना भए सँगसँगै अर्नेस्ट एन्ड योङमा सेक्युरिटी टेस्टरका रूपमा काम गर्न थाले ।

लगभग ६ महिनाजति त्यहाँ काम गरेपछि उनको जीवनको सबैभन्दा ठूलो अवसर पाए, याहुमा इन्फ्रास्टक्चर इन्जिनियरका रूपमा काम गर्ने । त्यसबेलासम्म पनि उनी सान जोस स्टेट युनिभर्सिटीमा अध्ययन गरिरहेका थिए ।

उनी प्रवेश गर्दा याहु एउटा स्टार्टअप कम्पनी मात्र थियो । यान प्रोग्रामिङ छाडेर याहुसँगै अगाडि बढे ।

सन् १९९७ मा उनको बुबाको मृत्यु भयो भने उनकी आमाको पनि सन् २००० मा क्यान्सरका कारण मृत्यु भयो । २४ वर्षको उमेरमै उनी टुहुरो भए । त्यतिबेलाका साथी ब्रायन एक्टनले यानलाई एक्लोपनासँग लड्न निकै सहयोग गरे ।

यी दुई साथीले याहुमा सँगसँगै नौ वर्ष बिताए । उनीहरूले निकै ज्ञान र अनुभव बटुले । उनीहरूले धेरैपटक याहु तल–माथि भइरहेको देखे । अन्ततः २००७ सेप्टेम्बरमा उनीहरुले याहु छाडे ।

२००९ जनवरीमा यानले आइफोन किने । त्यहीबेला सात महिना पुरानो एप्पलको एप स्टोरले नयाँ एपहरू लन्च गर्न लागेको थाहा पाए । त्यसले उनलाई एउटा गजबको आइडिया दियो ।

यानले तत्काल वेस्ट सान जोसमा रहेका उनका साथी एलेक्स फिसम्यानलाई भेटे र आफ्नो आइडियामा घन्टौँ छलफल गरे । छलफलको निष्कर्ष थियो, एकजना आइफोन डेभलपरविना अगाडि बढ्न सम्भव छैन ।

आइडिया निकै सूक्ष्म हुँदाहुँदै पनि उनीहरू तीन कुरामा स्पष्ट थिए, सेवामा विज्ञापन हुनेछैन, सन्तोषजनक अनुभव हुनेछ र प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै म्यासेज भण्डारण गरिनेछैन ।

ती सबै कुरामा स्पष्ट भएपछि यानले क्यालिफोर्नियामा यो उत्पादनको नाम ह्वाट्सएप राखे ।

काम हुँदै जाँदा उनीहरूले ह्वाट्सएप क्रास भइरहने र कुनै निश्चित ठाउँमा पुगेपछि रोकिने भइरह्यो । यो लामो समयसम्म चलिरह्यो, जसले गर्दा उनीहरुमा निकै निराशा पनि उत्पन्न भयो । यानले एक ठाउँमा सबै आशा गुमाए र यसलाई छाडेर नयाँ जागिर खोज्नेसम्म सोचे । तर ब्रायनले उनलाई प्रेरणा दिइरहे । केही महिनापछि, एप्पलले पनि सहयोग ग¥यो । एप्पलले उनीहरूको पुस नोटिफिकेसन लन्च ग¥यो, जसले डेभलपरलाई प्रयोगकर्ताले एप प्रयोग नगर्दा पनि पिङ गर्ने सुविधा दियो । यानले ह्वाट्सएपलाई त्यसअनुसार अपडेट गरे ।

त्यसपछि ह्वाट्सएपको दोस्रो संस्करण सार्वजनिक भयो । यसले ह्वाट्सएपलाई इन्सटेन्ट मेसेन्जर बनायो, किनभने यसमा मेसेज गर्न सक्ने विशेषता थियो । केही क्षणमै ह्वाट्सएपको साढे दुई लाख सक्रिय प्रयोगकर्ता भए । उनलाई सहयोग चाहिने भयो ।

यतिबेलासम्म ब्रायन बेरोजगार थिए र आफ्नै अर्को असफल स्टार्टअप सुरु गर्ने प्रयास गर्दै थिए । यानले उनलाई मनाए अनि ब्रायनले ह्वाट्सएप ज्वाइन गरे ।

यसपछि ह्वाट्सएपका प्रयोगकर्ता बढ्दै गए । उनीहरूको यो चर्चाले फेसबुकको ध्यान तान्यो ।

मार्क जुकरबर्गले यानलाई सन् २०१२ मा पहिलोपल्ट सम्पर्क गरे । उनीहरूले सिलिकन भ्यालीमा पटकपटक बैठक गरे । त्यसको एक महिनापछि जुकरबर्गले औपचारिक रूपमा डिलको प्रस्ताव राखे र यानलाई फेसबुकको बोर्डमा बस्न भने ।

अन्ततः  २०१४ को फेब्रुअरीमा फेसबुकले ह्वाट्सएप खरिद गरेको घोषणा ग¥यो । उनीहरूले नगद, फेसबुकको सेयर पाए पनि ह्वाट्सएप स्वतन्त्र रहने र यान र ब्रायनले नै यसलाई व्यवस्थापन गर्ने सहमति भयो ।

यो खरिद–बिक्री पूरा भएपछि यानले एक मिलियन डलर द फ्री बिएसडी फाउन्डेसन र पाँच सय ५६ मिलियन डलर सिलिकन भ्याली कम्युनिटी फाउन्डेसनलाई नोभेम्बर २०१४ मा चन्दा दिए । त्यसपछि ह्वाट्सएपले भ्वाइस कल, ह्वाट्सएप वेबलगायत नयाँ–नयाँ विशेषता सुरु ग¥यो । अहिले संसारभर ह्वाट्सएपका एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन् ।

(एजेन्सीको सहयोगमा )







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...

सोलमा सुनिँदै नेपथ्य

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज...

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख...