१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महानगरमा छैनन् प्राविधिक, एउटैले हेर्छन् तीन वडा

काठमाडौं महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार तथा अन्य विकासे कार्यक्रमका लागि पर्याप्त जनशक्ति नखटाएको पाइएको छ । समयमा प्राविधिक÷इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ । वडामा पर्याप्त जनशक्ति नहुँदा विकास निर्माणका योजनाको लागत तथा इस्टिमेट तयार पार्नै मुस्किल भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

‘वडामा इन्जिनियर तथा प्राविधिक नहुँदा विकास निर्माणको काम प्रत्यक्ष प्रभावित भइरहेको छ,’ कामनपा वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘महानगरजस्तो ठाउँमा एउटै प्राविधिकले तीन वटा वडाको विकास निर्माण कसरी हेर्न सक्छ ।’ उनका अनुसार नगरपरिषद्बाट पहिलो चरणमा वडाको विकास बजेट ५० लाख रूपैयाँ आएको छ ।
‘महानगरपालिकाले समयमा नै वडाका लागि प्राविधिक÷इन्जिनियर नपठाउँदा विकास निर्माणमा प्रत्यक्ष प्रभावित भइरहेको छ,’ उनले भने, ‘प्राविधिक नहुँदा विकास निर्माणको योजना तथा लागत स्टिमेट तयार पार्न सकिरहेका छैनौं । यसले विकास नै रोकिने सम्भावना बढेको छ ।’ काठमाडौं महानगरपालिकामा ३२ वडा कार्यालय रहेका छन् । वडा कार्यालयमा प्राविधिक र इन्जिनियरको दरबन्दी नहुँदा विकास निर्माण प्रभावित भएको हो । महानगरपालिकाका इन्जिनियर शारदा डंगोलले वडा नं १६, १७ र २६ को जिम्मेवारी पाएको बताइन् । ‘एक्लैले तीन वडाको विकास निर्माणको कामको डिजाइन तथा लागत स्टिमेट तयार गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘सबै वडामा पर्याप्त समय दिन पाइँदैन । त्यसैले जनगुनासा धेरै नै आइरहेका हुन्छन् ।’ वडामा खटिने प्राविधिक÷इन्जिनियरले नक्सा पास, विकास निर्माणको योजना, जग्गामा हुने झैझगडा मिलाउनेदेखि विकास निर्माणको डिजाइन र स्टिमेट समेत तयार पार्नुपर्ने हुन्छ ।
वडापिच्छे नै प्राविधिक÷इन्जिनियर नहुँदा वडाको विकास निर्माण काममा ढिलाई भइरहेको कामनपा वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘एउटा वडाको लागि एउटा प्राविधिक आवश्यक पर्छ । तर, यहाँ प्राविधिकले तीन वडा धानिरहेका छन्,’ उनले भने, ‘महानगरपलिकामा वडापिच्छे नै प्राविधिक खटाउन बारम्बार अनुरोध गरिसक्यौं । अहिलेसम्म कार्यान्वयन नै भएको छैन ।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले वडामा इन्जिनियर÷प्राविधिकको संख्या अति नै न्यून भएको बताए । ‘३२ वडामा करिव २० भन्दा कम प्राविधिक रहेका छन् । जसका कारणले वडाको योजना र डिजाइन गर्न समस्या आइराखेको छ,’ उनले भने, ‘वडाको लागि आवश्यक पर्ने प्राविधिकको दरबन्दी खुलाएर करारमा नियुक्ति गरेर भए पनि सेवा सुचारु गर्ने तयारीमा लागेका छौं ।’ काठमाडौं महानगरपालिकामा ३२ वडा रहेका छन् । महानगरपालिकामा प्राविधिक तथा इन्जिनियर गरेर जम्मा ७० जना रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा ३२ वटै वडाको लागि कूल ५८ करोड ४७ लाख ८० हजार बजेट विनियोजन गरेको छ । महानगरले चालू आवका लागि ३२ वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको हो । वडास्तरीय भौतिक पूर्वाधार विकासका लागि १५ ठूला वडालाई दुई करोड २५ लाख रूपैयाँका दरले ३३ करोड ७५ लाख रूपैयाँ छुट्याएकोे छ ।  मझौला वडाका लागि प्रत्येकलाई एक करोड ५० लाख रूपैयाँ छुट्याएको छ । महानगरभित्र मझौला वडा १० वटा छन् । यसैगरी साना वडाका लागि प्रत्येकलाई एक करोड पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ । महानगरमा साना वडा सात वटा छन् ।

 

प्रकाशित: १९ भाद्र २०७४ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App