१०० दिनले हजार दिनको संकेत गर्छ

सोमबार, २६ भदौ २०७४, १० : ३४ रन्जु दर्शना


‘एक वाक्यमा भन्नुस् त, तपाईं काठमाडौँलाई कस्तो बनाउन चाहनुहुन्छ ?’ एकजना पत्रकारले काठमाडौँको मेयर पदमा उम्मेदवारी दर्ता गर्न जाँदा राष्ट्रिय सभागृहको प्राङ्गणमा सोध्नुभयो । मेरो सरल उत्तर थियो, ‘काठमाडौँ महानगरपालिकालाई महानगरपालिकाजस्तै बनाउन चाहन्छु । पहिलाको जस्तो सम्पदाले भरिभराउ, नागरिकहरूलाई सहज तथा सुविधा हुने काठमाडौँ बनाउन चाहन्छु ।’

२० वर्षसम्म जनप्रतिनिधि नपाएको काठमाडौँले भर्खर मेयर अनि उपमेयर तथा निर्वाचित अन्य पदाधिकारीहरूलाई अभिभावकका रूपमा पाएको छ । प्रायः सबै क्षेत्र जीर्ण अवस्थामा रहेकाले पनि निर्वाचितहरूले काम प्रभावकारी ढङ्गले गर्लान् भन्ने आम नागरिकहरूको अपेक्षा थियो । तर मेयरज्यूको ‘१०० दिनमा १०१ काम’ कुनै जादूगरको ‘चमत्कार’भन्दा फरक देखिएन । हाम्रो चिन्ता शपथ ग्रहण गरेको १०० दिनभित्र सकाउने भनेर मेयरले वाचा गर्नुभएका १०१ काममध्ये कति सम्पन्न गर्नुभएन भन्ने भन्दा पनि उहाँले गर्न सक्नेभन्दा बढी काम गर्छु भन्नुभयो तर काम गर्ने संकेत नै देखाउनुभएन भन्ने हो । 

अबको पाँच वर्षमा पनि उहाँको नेतृत्वमा काठमाडौँलाई न्यूनतम अवस्थामा पनि प¥ुयाउन सक्नुभएन भने यो उहाँ तथा उहाँको पार्टीको राजनैतिक असफलता मात्रै होइन, काठमाडौँबासीप्रति बेइमानी, धोका हुनेछ र यहाँका बासिन्दालाई एउटा ठूलो पाठ पनि । 

सार्वजनिक बसमा एकजना प्रौढ महिलाले मलाई काठमाडौँकी एक उम्मेदवार भन्ने चिनेर भन्नुभयो, ‘खोइ त ? तीन महिना भइसक्यो मेयर आएको ! काठमाडौँ त अझ फोहोर र अस्तव्यस्त ! सास फेर्न नि सकेको छैन !’ भनेँ, ‘हो आन्टी, निकै गाह्रो छ, अहिल्यै निराश नहौँ, उहाँलाई समय दिऔँ र आफ्नो ठाउँबाट पनि सघाऔँ ।’ म भन्न चाहन्छु, ‘मेयरज्यू ! तपाईं सफल हुनुहोस्, म र हाम्रो संगठनले कसरी सहयोग गर्न सक्छ, सहयोग माग्नुहोस्, हामी सहयोग गर्न सधैँ तयार, तत्पर, इच्छुक अनि प्रतिबद्ध छौँ ।’ 

कहाँ चुक्यो नेतृत्व ? 
सर्वप्रथम त विद्यासुन्दरजी जुन राजनैतिक संस्कारबाट आउनुभयो त्यसले उहाँको उत्तरदायित्व, जवाफदेहिताको स्तर यस्तै हुन्छ भन्ने प्रस्टै थियो । यो १०० दिनमा वृद्धभत्ता वितरणबाहेक ‘देखिने स्तरको’ केही पनि काम भएको छैन । विद्यासुन्दरजीले हालैको एक अन्तर्वार्तामा, ‘सडक आज एउटाले खन्छ, भोलि अर्कोले ! रातारात कसले खनिरहेको छ भन्ने कुरा मलाई नै थाहा हुँदैन’ भन्नुभएको थियो । म यहीँनेर काठमाडौँका मेयरलाई उहाँको प्रतिबद्धताको २४ नम्बर बुँदा सम्झाउन चाहन्छु, ‘सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने ।’

यति छोटो अवधिमा उहाँको अभिव्यक्तिमा आएको परिवर्तनले दुइटा कुरातर्फ संकेत गर्छ । कि त उहाँ घोषणापत्र तयार गर्ने बेला गम्भीर हुनुहुन्न थियो वा उहाँसँग कार्यान्वयन क्षमता छैन । हामी उहाँको समस्या पहिलो होस् भन्ने कामना गर्दछौँ । काम गर्छु भनेर पदमा पुगेपछि महानगरको सबभन्दा ऊर्जावान् व्यक्ति हुनुपर्नेमा खालि राजनैतिक सन्तुलनमै व्यस्त रहनुभएको जस्तो देखिन्छ । उहाँले यो १०० दिनमा १०१ भन्दा बढी त सम्मान कार्यक्रममै उपस्थिति जनाउनुभएको होला । ‘पहिलो १०० दिनमा मैले काम गरी सबैलाई मेरो लक्ष्यबारे बुझाउन चाहन्छु त्यसैले मलाई अहिले सम्मान कार्यक्रममा नबोलाउनुहोला, मलाई अत्यधिक भोट दिएर सबैभन्दा ठूलो सम्मान त दिइसक्नुभयो । अब तपाईंहरूको मान राख्न मैले धेरैभन्दा धेरै काम गर्नुछ’ भन्न सक्नुहुन्थ्यो । योसँगै, केही काम नै नदेखिरहेको अवस्थामा एकाएक मोबाइल किन्नेदेखि करोडौँको बिलासी गाडी किन्ने कुरामा जनअपेक्षाको कठघरामा असफल ठहरिनुभयो । उहाँ पार्टीकै मेयरमा सीमित रहनुभयो, जनताको मेयर बन्न सक्नुभएको छैन । यसमा कडा मिहिनेत चाहिएको छ अब । राम्रो काम गर्दै गए जनताले माया पनि त गर्दै जान्छन् ।

कसो गर्दा ठीक होला ?  
मेयरले आफ्नो कार्यकाल सफल बनाउने हो भने सबभन्दा पहिला त आफूलाई सबै काठमाडौँबासीको मेयरका रूपमा ठान्नुपर्छ र उनीहरूप्रति जवाफदेही हुनुपर्छ । अनि आफ्ना योजना कार्यान्वयनका लागि एउटा प्रभावकारी विज्ञ टोलीको साथ लिएर अगाडि बढ्नुपर्छ । स्थानीय नागरिकलाई सहयोगीका रूपमा लिनुपर्छ न कि प्रतिस्पर्धी । उहाँकै प्रतिबद्धताको बुँदा नम्बर ४० मा ‘काष्ठमण्डप पुनर्निर्माणमा स्थानीयको सहभागिता गराउने’ लेखिएको छ । तर अहिले उहाँ आफ्नै प्रतिबद्धता विपरीत काम गर्दै हुनुहुन्छ । त्यसैले काष्ठमण्डपलगायतका सांस्कृतिक सम्पदाको पुनर्निर्माण अनि सम्पदा संरक्षणको नेतृत्व लिई स्थानीयलाई संलग्न गराउनुपर्छ । 

काठमाडौँमा मेट्रो÷मोनो रेलभन्दा पहिले काठमाडौँलाई कसरी साइकलमैत्री अनि काठमाडौँमा खुला स्थान उपलब्ध गराउने भनेर काम थाल्नुपर्छ । काठमाडौँलाई हरियाली भएको सहर बनाउने अनि यहाँको अस्तव्यस्त ट्राफिक अनि यातायातमा महानगरले भूमिका खेल्न सक्नुपर्छ । अब काठमाडौँका मानिसले परिणाम खोज्दै छन् । त्यसैले आफूले निर्णय गरेसँगै त्यसको कार्यान्वयनतिर पनि मेयरले अग्रसरता लिनुपर्छ ।

स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न संसद्ले आवश्यक कानुनको तर्जुमा नगरेकाले संविधानमा उल्लिखित भूमिकाहरूमा स्थानीय तहले देखिने नतिजा दिन सकेका छैनन्, दैनिक कार्य सञ्चालनका लागि आवश्यक कर्मचारी पाएका छैनन् भन्ने गुनासो कैयौँपटक मेयरज्यूबाट आएको हो तर यस विषयमा पनि उहाँको नेतृत्व क्षमता राजधानीबासीले देख्न पाएनन् ।

यदि नेतृत्व आफैँले आफ्नो कुरामा विश्वास राख्न सक्दैन भने उसले अरूलाई उक्त उद्देश्यमा लगाउन सक्दैन । मेयरज्यू, त्यसैले पहिला आफ्नो प्रतिबद्धता अनि योजनामा आफैँ विश्वास गर्नुपर्छ अनि मात्र कर्मचारी अनि अन्य व्यक्तिहरूले तपाईंलाई साथ दिनेछन् । 

केहि कामहरू गर्न ऐन नहुँदा पनि सकिन्छ । संविधानको अनुसूची ७ मा रहेको स्थानीय तहको शासन, सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले संसद्बाट पास नभएको हुँदा ऐनको रूप लिन पाएको छैन । यद्यपि काठमाडौँमा रहिआएका अनगन्ती समस्यामध्येका केहीको समाधान निकाल्न ऐन नहुँदा पनि सकिन्छ । जस्तैः केही समयअघि स्कुल बसहरू ८ः३० बजे सम्म स्कुल पसिसक्नुपर्ने निर्देशनले केही हदसम्म ट्राफिक कन्ट्रोलमा मद्दत पु¥याएको थियो तर अहिले फेरि यो पुरानै अवस्थामा आएको देखिन्छ । यसैगरी, पानी ट्यांकर र अरू ठूला ट्रकहरूका लागि दिनको एउटा समय यति बजेदेखि यति बजेसम्म भनेर छुटाउन सकिन्छ ।
पर्यावरणको अवस्था नाजुक हुँदै गएको अवस्थामा, एक घर एक रुख (ठाउँ नभएको अवस्थामा गमलामा बिरुवाहरू पनि रोप्न सकिन्छ) भनेर मेयरले सम्पूर्ण महनागरवासीलाई अपिलसँगैसँगै बिरुवा नै उपलब्ध गराउन पनि सकिन्थ्यो ।

हामी के गर्दैछौँ ? 
हामीले ‘नगरको साथी अनि महानगरको पहरेदार’को भूमिका निर्वाह गरिरहेका छौँ । सामाखुसीको सडक किनारामा रहेको नालीमा बच्चा बगाउँदा आम नागरिकसँगै उक्त घटनाको विरोधमा अग्रसरता लिनेदेखि सम्पदा संरक्षणमा हाम्रो महानगरीय टोली निरन्तर खटिरह्यो । स्वास्थ्य सम्बन्धित कार्यक्रम होस् वा उद्यमशीलताका कार्यक्रम लिएर हामी वडावडामा पुग्यौँ । साथै, हामीले यो १०० दिनमा परिणाम दिन सक्ने नेतृत्व तयारीमा समेत समय खर्च गर्‍यौँ । 

स्थानीय तहमा हामीले तेस्रो स्थान हासिल गरेसँगै हामीले हामी पहिलो हुन नसक्नुको कारणबारे छलफल गर्‍यौँ । हामीले यसपटक जित्न नसक्नुमा हाम्रो संगठन नयाँ रहेको र तुलनात्मक रूपमा अरू पार्टीभन्दा कमजोर रहेको महसुस गर्‍यौँ । विवेकशील साझा पार्टीले जुन सुसंस्कृत राजनीतिको थालनी गरेको छ त्यसलाई जराजरामा पुर्‍याउन जरुरी रहेको निष्कर्षसँगै हामीले व्यापक संगठन विस्तारमा काम निरन्तर गरिरहेका छौँ।

अन्त्यमा,
केही दिनअघि मात्रै सार्वजनिक बसमा एकजना प्रौढ महिलाले मलाई काठमाडौँकी एक उम्मेदवार भन्ने चिनेर आफ्नो गुनासो पोख्नुभयो, ‘खोइ त ? तीन महिना भइसक्यो मेयर आएको पनि ! काठमाडौँ त जस्ताको त्यस्तै मात्र हैन, अझ बिग्रेको छ ! सास फेर्न नि सकेको छैन ! यसै मरिन्छ कि क्या हो ?’ मैले भनेँ, ‘हो आन्टी ! निकै गाह्रो छ, तर हामी अहिले निराश नहौँ, उहाँलाई अझ समय दिऔँ र आफ्नो ठाउँबाट पनि काम गरौँ पाँच वर्षमा यस्ता समस्या समाधान गर्न ।’ नागरिक स्तरमा यस्ता निराशाजनक भावना धेरै बढ्नुले १०० दिनको मूल्यांकन गर्दा मेयर फेल भएको प्रस्ट नै देखिन्छ । यो १०० दिनले जुन संकेत गरेको छ त्यसले अबको एक हजार दिनमा पनि काम नहुने संकेत गरेको छ तर पूरक परीक्षा दिने समय भनेर आउने तीन महिनालाई मानेर काम देखाउँदै पास भने हुनुपर्छ अब ।
अहिलेको अवस्थाले हामीलाई राजनैतिक रूपमा केही फाइदा त होला तर हाम्रो सोच पार्टीको सीमित दायराभन्दा माथि उठ्ने भएकाले काठमाडौँलाई जे कुराले दश वर्ष पछाडि धकेल्छ त्यसले राजनीतिक लाभ भए पनि हामी खुसी हुन्नौँ । म पनि काठमाडौँबासी भएकाले काठमाडौँ पछि पर्दै गर्दा म पनि पछि पर्छु । तसर्थ, म यही लेखमार्फत काठमाडौँका मेयरलाई भन्न चाहन्छु, ‘तपाईं सफल हुनुहोस्, म र मेरो संगठनले कसरी सहयोग गर्न सक्छ, त्यसमा हामी सधैँ तयार, तत्पर, इच्छुक अनि प्रतिबद्ध छौँ ।’ 

काठमाडौँबासीलाई एक आग्रह गर्दै बिट मार्न चाहन्छु । तपाईंहरूले जे कारणले विद्यासुन्दरजीलाई जिताउनुभएको भए पनि उहाँ हुर्केबढेको राजनीतिक संस्कार भने दोहनकारी रहेछ भन्ने त उहाँका गतिविधि तथा निर्णयहरूले देखाइसके । फेरि दुइटा निर्वाचन आउँदै छन् र त्यसमा त अरू उम्मेदवारहरू हुन्छन् उनीहरूले त राम्रो परिणाम ल्याउलान् नि भनेर सोच्नुभयो भने फेरि पनि पछुताउनुबाहेक विकल्प तपाईंहरूसँग हुन्न । अहिलेको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनहरूमा सुसंस्कृत राजनीतिलाई अवलम्बन गर्दै आएका उम्मेदवार तथा पार्टीहरूलाई जिताउनु नै एक मात्रै बाटो हो । यसमा तपाईंहरू यसपटक खरोरूपमा उत्रनुहुनेछ भन्ने मेरो विश्वास छ । 

(लेखक विवेकशील साझा पार्टीकी नेता हुन्)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘मिस युनिभर्स’मा नग्मा

‘मिस युनिभर्स’मा नग्मा

अमेरिकाको लसभेगासमा आगामी २६ नोभेम्बरमा आयोजना हुन लागेको ६६ औं संस्करणको ‘मिस युनिभर्स’मा नेपालबाट नग्मा श्रेष्ठले सहभागिता जनाउने भएकी छन्...

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

कँडेललाई ‘मदन’, वात्स्यायनलाई ‘जगदम्बाश्री’

मदन पुरस्कार गुठीले ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेललाई वर्ष २०७३ को ‘मदन पुरस्कार’ प्रदान गरेको छ भने व्यंग्य चित्रकार...

सोलमा सुनिँदै नेपथ्य

सोलमा सुनिँदै नेपथ्य

प्रसिद्ध सांगितक ब्यान्ड नेपथ्य दक्षिण कोरियाको राजधानी सोलमा गुञ्जिने भएको छ । नेपथ्य ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा आगामी असोज...

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर

केही महिना अघि राजधानीमा भएको एक कार्यक्रममा अभिनेता रमेश उप्रेतीले आत्मआलोचना गर्दै आफू कलाकार हुँदा निर्मातालाई हरेक कुरामा दिएको दुःख...