१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विपक्षीभन्दा वर्षा चुनौती

क्वालालम्पुर- दीपेन्द्रसिंह ऐरीले पहिलो पटक कप्तानी सम्हालेको खेलमा सानदार सफलता हासिल गरेको नेपालले बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

नेपालका लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । तर, यहाँ हरेक दिन पर्ने वर्षाले नेपालको नतिजालाई असर पार्ने सम्भावना हुन्छ । त्यसैले नेपालका प्रशक्षिक विनोद दास र कप्तान दीपेन्द्रसिंह ऐरी जतिसक्दो चाँडो खेल सक्ने रणनीतिमा छन् । सोमबार पनि नेपालले थाइल्यान्डलाई १० ओभरमै अलआउट गरेपछि वर्षाले खेल बिथोलिन सक्ने सम्भावनाबाट बचेको थियो ।

समूह चरणबाट नेपाल विजेता बन्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीले नोभेम्बरमा मलेसियामै हुने यु–१९ एसिया कप खेल्ने पाउँछन् । नेपालले फाइनलमा स्थान बनाए दक्षिण एसियाली टेस्ट राष्ट्रसँग आफ्नो वास्तविक स्तरलाई मापन गर्ने मौका पाउनेछ ।

नेपालले सोमबार थाइल्यान्डलाई २ सय ५५ रनको फराकिले नतिजा निकाल्दै आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ । साउनमा थाइल्यान्डमा सम्पन्न यु–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले ब्याटिङमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यसैले प्रतियोगिता सुरु हुनुअघि ब्याटिङलाई लिएर टोली केही दबाब थियो । तर, थाइल्यान्डविरुद्ध ब्याट्सम्यानले स्वाभाविक प्रदर्शन गर्दै गरेपछि टोलीको मनोबल बढेको छ । अनिलकुमार शाहले ९१, प्रनित थापामगरले ५०, सन्दीप सुनारले ३२ रन बनाएर नेपालको ब्याटिङ कमजोर नभएको सन्देश प्रवाह गरेका छन् ।

प्रशिक्षक विनोद दासले ब्याट्सम्यानलाई कम्तीमा २० रन बनाएर फर्किन सुझाएका छन् । प्रशिक्षकको योजनाअनुरूप ब्याट्सम्यानले पनि आफ्नो जिम्मेवारी पूरा गरे ।

‘अग्रपंक्तिका खेलाडीले २० रनभन्दा माथि स्कोर बनाउनुपर्छ । त्यसपछि २, ३ खेलाडीले शतक वा अर्धशतक बनाउने कोसिस गर्नुपर्छ,’ नेपालका प्रशिक्षक दासले भने, ‘पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरे । हाम्रा ब्याट्सम्यानले प्रतियोगिताभर कम्तीमा ३ सय रन बनाउनुपर्छ ।’

नेपाली युवा टोलीको बलिङ र फिल्डिङमा प्रशिक्षक दासलाई कुनै चिन्ता छैन । राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दीप लामिछानेले ४ ओभरमा ६ रन दिएर ७ विकेट लिँदै सबैको ध्यान आफूतर्फ तान्न सफल भएका छन् । बलिङमा सन्दीपको विश्वासिलो प्रदर्शनले नेपाललाई थप बलियो बनाएको छ ।

नेपालका प्रशिक्षक दासले विपक्षी कस्तो छ भनेर हेर्नु भन्दा आफ्नो खेलमा सुधार गर्न ध्यान केन्द्रित गरेको बताउँछन् । ‘भुटानले हामीलाई राम्रो टक्कर दियोस्् भन्ने चाहन्छौं । हामी प्रत्येक खेलमा सुधार गर्दै अगाडि बढ्न चाहन्छौं । अहिल्यै हामीले धेरै अगाडि सोचेको छैनौं । भोलि भुटानलाई जित्नेमै हाम्रो ध्यान केन्द्रित छ । तथापि हाम्रो अन्तिम  लक्ष्य च्याम्पियन बनेर एसिया कप खेल्ने नै हुनेछ ।’

भुटान पहिलो खेलमा सिंगारपुरसँग ९ विकेटले पराजित भएको थियो । टस हारेर ब्याटिङ गरेको भुटानले ४४.३ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । भुटानी धेरै रन जोड्नुभन्दा कसरी क्रिजमा धेरै समय टिकेर पूरा ओभर खेल्ने रणनीतिमा थिए । २२ रन बनाएका भुटानका यु दोर्जी टोलीका लागि सर्वाधिक रन जोड्ने खेलाडी हुन् । १ सय १३ रनको लक्ष्य सिंगापुरले १४.३ ओभरमै १ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले थाइल्यान्डविरुद्ध पूरा ५० ओभर खेलेर ७ विकेटको नोक्सानीमा २ सय ८१ रन जोडेको थियो । जबाफमा नेपालले थाइल्यान्डलाई १० ओभरमै अलआउट ग¥यो । नेपालले ५ मिनेट मात्र खेल सकाउन ढिला गरेको भए सोमबार खेलमा दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्थ्यो ।

राष्ट्रिय टोलीमा प्रभावशाली प्रदर्शन गरिसकेका कप्तान ऐरीको यु–१९ टोलीमा कप्तानी डेब्यु पनि सुखद बन्यो । शान्त स्वभावका दीपेन्द्र मैदानबाहिर भन्दा भित्र धेरै चलाख खेलाडी मानिन्छन् । क्रिकेट बुझन सक्ने क्षमता उनीमा धेरै भएको बताउँछन्, सहायक प्रशिक्षक कलाम अली ।

नेपालका प्रशिक्षक दासजस्तै कप्तान ऐरी पनि च्याम्पियन बनेर एसिया कप खेल्न चाहन्छन् । ‘हामी जुन ठाउँमा छौं । त्यहाँबाट अगाडि बढेर भविष्य खोज्न जरुरी छ । हामी च्याम्पियन बनेर एसिया कपमा छनोट हुनुपर्छ,’ कप्तान ऐरीले थपे, ‘भुटानबारे मलाई धेरै थाहा छैन । तर, हामी आफ्नो खेलमा विश्वास गर्छौं । हामीले स्तरअनुसार खेले प्रतियोगिता जित्न हामीलाई कठिन हुदैन ।’

राष्ट्रिय टोलीबाट खेलिसकेका सन्दीप लामिछानेले ४ ओभरमा ६ रन दिएर ७ विकेट लिँदै सबैको ध्यान आफूतर्फ तान्न सफल भएका छन् । बलिङमा सन्दीपको विश्वासिलो प्रदर्शनले नेपाललाई थप बलियो बनाएको छ ।

 

प्रकाशित: २८ भाद्र २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App