१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अलगयात्री : जीवन रूपान्तरण अभियन्ता नरबहादुर

नरबहादुर कार्की दूरदराजका गाउँ डुलिरहन्छन् । बाजुरा, बैतडी, लमजुङ, कञ्चनपुर, डडेल्धुरा लगायत दर्जनौँ जिल्लाका सयौँ गाउँमा पुगेका छन्, कार्की । यतिबेला सुर्खेतका गाउँमा छन् उनी ।
यसरी गाउँगाउँ पुग्ने कार्कीको उद्देश्य हो, बालविवाहका बेफाइदाबारे सन्देश फैलाउनु । सानै उमेरमा विवाह भएका छोरी देख्दा उनको मन दुख्न थाल्छ । यही दुखाइले त गाउँगाउँमा पु¥याएको छ उनलाई ।
अहिले उनी बालविवाहविरुद्ध राष्ट्रिय महाअभियानमा छन् ।

‘विकट गाउँमा ३०-३५ वर्षका महिला पनि हजुरआमाजस्ता देखिन्थे,’ उनले भने, ‘त्यसको कारण त त्यो उमेरमै चार–पाँचवटा बच्चा जन्मिदो रहेछ । यो सबैको कारण बालविवाह हो ।’


‘छोरीहरूको बाल्यकालमा विवाह हुन्छ,’ ४३ वर्षीय उनले भने, ‘जसकारण जिम्मेवारीमा बाँधिएर शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक हिसाबमा अघि बढ्नै पाउँदैनन् ।’
त्यसैले त उनी छोरीको उमेर २५ वर्ष नपुग्दासम्म विवाह गर्न हुँदैन भन्ने सन्देश बाँड्दै गाउँमा पुग्छन् । अभियानले नै परिर्वतन जन्माउँछ भन्ने बुझेका कार्की घरघर पुग्छन् र छोरीको बारेमा बोल्ने व्यक्ति तयार गर्छन् ।
अभियानमा हिँड्न केही साथीको सहयोगबाहेक केही लिएका छैनन् उनले । खाने, जाने सबै खर्च उनी आफैँ जोहो गर्छन् । विनापैसा सामाजिक अभियान सम्भव छ भनेर देखाउने सपना पनि छ उनीसँग । ‘मेरा लागि फाइदा भनेकै समाज परिवर्तन होस् भन्ने हो,’ उनले भने, ‘अभियानमा लागेपछि एक दिन परिवर्तन हुनेमा विश्वस्त छु ।’
आफ्नो अभियानमा दृढ छन्, गर्न नसकिएला भन्ने कुनै संकोच छैन उनीमा । केही गर्न सकिएन भनेर निराश भएका अनुहारमा आशाको दियो बाल्दै हिँड्ने प्रशिक्षक हुन् उनी ।
उनी प्रत्येक मान्छेलाई आफ्नै सपनाको मालिक ठान्छन् । ‘जीवनको ढाँचा बल्दन गाह्रो छैन,’ उनी भन्छन्, ‘जीवनको पुनर्लेखन सम्भव छ ।’ उदाहरण धेरै छन् उनीसँग । केही सकिएन भनेर मर्न हिँडेको मान्छेलाई उनले प्रगतिको पथमा पु¥याएका छन्, जीवन जिउन सिकाएका छन् । प्रशिक्षणमार्फत मान्छेको सोच बदल्न सक्छन् उनी । अमेरिकाको एकडेमी फर कोचिङ एक्सिलेन्ट स्कुलबाट उनले एक वर्षको जीवन रूपान्तरण कोर्स प्राप्त गरेका छन् । जुन अन्तर्राष्ट्रिय प्रशिक्षक महासंघद्वारा मान्यता प्राप्त स्कुल हो ।
सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षकमध्येका कार्की भन्छन्, ‘झन्डै आठ सय मान्छेलाई नयाँ गारेटोमा हिँडाएर जीवनकथाको पुनर्लेखन गरिदिएको छु ।’ यति मात्र होइन, नेपालमा अधिकांश ठाउँमा पुगेर उनी जीवन जिउने कलाको प्रशिक्षण दिने गर्छन् ।
‘विगतलाई बिर्सेर वर्तमानलाई जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘जीवन बदल्न कुनै गाह्रो छैन ।’ जीवन रूपान्तरण अभियानमा पनि उनी पैसा लिँदैनन् । ‘संस्थाले बोलाएर गराएको कार्यक्रममा पारिश्रमिक लिने गरेको छु,’ उनले भने, ‘व्यक्तिले बोलाएर दिएको प्रशिक्षणमा भने शुल्क लिएको छैन ।’
जीवन रूपान्तरणको प्रशिक्षण दिन उनी नेपाल मात्र नभएर विदेश पनि पुग्छन् । अफगानिस्तान सरकार र युनिसेफको निमन्त्रणमा अफगानिस्तानको काबुलमा करिब डेढ वर्ष प्रशिक्षण दिएर आएका उनी पछिल्लो समय बालविवाहविरुद्धकै अभियानमा छन् । छोरीको संरक्षर्ण गर्नु राज्यको दायित्व भए पनि राज्यले गर्ला भनेर पर्खन नहुने उनको बुझाइ छ । यसैले उनी नागरिक तहबाट स्वतन्त्र रूपमा अभियान लिएर गाउँगाउँमा पुगिरहेका हुन् । सरकारलाई नजितासहित परिवर्तन देखाउने लक्ष्यमा छन् उनी । ०६८ को जणगणनाअनुसार ३४ लाख छोरीहरू १० देखि २० वर्ष उमेर समूहका छन् । यही जनसंख्यालाई लक्षित गरेर काम गरिरहेका छन् उनी ।
पूर्ण खोप अभियानमा पनि उनले काम गर्ने मौका पाएका थिए । यो बेला उनी गाउँगाउँमा पुगे । ‘विकट गाउँमा ३०–३५ वर्षका महिला पनि हजुरआमाजस्ता देखिन्थे,’ उनले भने, ‘त्यसको कारण त त्यो उमेरमै चार–पाँचवटा बच्चा जन्मिदो रहेछ ।’ यसको कारणबारे उनले अध्ययन नै गरे । अध्ययनबाट थाहा पाए, यो सबैको कारण बालविवाह हो । उनले त्यहीबेला सोचेका थिए, बालविवाहविरुद्ध अभियान एक दिन चलाउनेछु । अहिले उनी सोही अभियानमा देश घुमिरहेका छन् ।
जीवन रूपान्तरण तथा समाज परिवर्तनको अभियान बोकेर हिँडेका कार्कीले आफूलाई पनि ठूलै परिवर्तन गराएका छन् । जाजरकोटको निम्न वर्गीय किसान परिवारका हुन् उनी । आठ घन्टा पैदल हिँडेर विद्यालय जान्थे । ‘एसएलसीपछि रित्तो हात राजधानी छिर्दा कहिल्यै सोचिनँ, केही नसकिएलाकी भनेर,’ उनले सुनाए, ‘मलाई सानैदेखि सकिन्न, हुन्न भन्ने त केही लाग्दैनथ्यो ।’ त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र बंगलादेशमा पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन् उनले । ‘आफैँले कमाएर विदेश गएर पढेको हुँ,’ उनले भने, ‘राजधानी छिरेदेखि नै आत्मनिर्भर बन्न सिकेँ ।’

प्रकाशित: २९ भाद्र २०७४ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App