१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सम्पत्ति विवरण

नेता सरकारमा गएपछि उनीहरुले जनतालाई दिने एउटै मात्र वस्तु हो, आफ्नो सम्पत्ति विवरण । अरु केही दिँदैनन् । विडम्बना हेर्नुस्, उनीहरू यतिबेला त्यही सम्पत्ति विवरणसम्म पनि दिन सकिरहेका छैनन् । अरु योगदान दिने त कुरै छोड्नुस् । मन्त्रीहरूको के कुरा, स्वयं देउवाकै सम्पत्ति विवरण पनि अहिलेसम्म आएको छैन । मानिसहरू प्रश्न गरिरहेका छन्–  देउवाको सम्पत्ति विवरण किन नआएको ? देउवाले किन अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको ? सम्पत्ति विवरण नबुझाउनुको कारण के हो ?
वास्तवमा यसो हेर्दा हो जस्तो पनि लाग्छ । देउवाले सम्पत्ति विवरण नबुझाउनु गल्ती नै हो । सम्पत्ति विवरण त उहाँले टाइममै बुझाउनुपर्छ । आफ्नै सम्पत्ति विवरण नबुझाउने मान्छेले अर्काको सम्पत्तिबारे कसरी छानबिन गर्ने ? प्रश्न त यस्तो पनि आउन सक्छ । यथार्थ के हो भने केवल प्रश्न मात्र गरेर सम्पत्ति विवरण आउने भने होइन । सम्पत्तिजस्तो कुरा, त्यसै यसको विवरण त आउँदैन नि । त्यसमाथि शेरबहादुर देउवाको सम्पत्ति । कहाँ एकैछिनमा विवरण बनाउन सकिन्छ र ? तपाईं हाम्रो सम्पत्ति हो र बिहान बनाएर बेलुकी तयार हुनलाई ? उहाँको सम्पत्ति विवरण भनेको दुई–चार दिनमा तयार गर्न सकिने कुरै होइन । दश–बाह्र वर्ष अघि हो भने सायद तयार गर्न सकिन्थ्यो पनि होला । अहिले सम्भव छैन । चार–चारपटक त उहाँ प्रधानमन्त्री बनिसक्नुभयो । चार–चारपटक प्रधानमन्त्री बनिसकेको मान्छेको सम्पत्ति विवरण कसरी एकैछिनमा आउँछ हँ ?
त्यसमाथि सम्पत्ति विवरण भनेको अरु विवरणजस्तो पनि होइन । यो त पूरा त्यो यथार्थ पनि हुनुप¥यो । आज विवरणमा नदेखिएको सम्पत्ति भोलि देखियो भने कसरी आयो, कहाँबाट आयो भन्ने प्रश्न उठ्न सक्छ । त्यसैले सम्पत्तिमा जे छ, त्यो अहिले नै प्रस्ट लेख्नु आवश्यक छ । सायद देउवा अहिले त्यही स्पष्ट विवरण लेख्ने प्रयासमै हुनुहुन्छ होला, जसकारण विवरण आउन ढिलाइ भइरहेको छ । यतिबेला देशको स्थिति नै यस्तो अवस्थामा छ कि उहाँको स्पष्ट सम्पत्ति विवरण निकाल्नै मुस्किल छ । उहाँले आफ्नो सम्पत्ति भनेर आज जो विवरण निकाल्नुहुन्छ, त्यो भोलि नहुन पनि सक्छ । अथवा, आज जो होइन भनेर छोड्नुभएको हो, त्यो भोलि हुन पनि सक्छ । उहाँको खास सम्पत्ति के हो, अथवा के होइन, अहिले भन्न मुश्किल छ ।
अब हेर्नुस्, आयलको जग्गा खरिदसम्बन्धी काण्ड । चार लाखको जग्गा १२ लाखमा किनेको छ । कुल मिलाएर भन्नुपर्दा एक अर्बभन्दा बढीको घोटाला छ । र, जसले घोटाला गरेको हो, त्यसलाई अहिलेसम्म कारबाही गरिएको छैन । यस्तो अवस्थामा  सम्पत्ति विवरण कसरी निकाल्न सकिन्छ ? यो घोटालाको घटना जसरी अगाडि बढ्छ वा पछाडि धकेलिन्छ, सम्पत्ति पनि त्यसरी नै तल पुग्छ वा माथि उक्लिन्छ । उहाँको सम्पत्ति कति छ भन्ने कुरा यो घटनाको पटाक्ष कसरी हुन्छ भन्ने कुरामा निर्भर रहन्छ । अतः अहिले नै सम्पत्ति विवरण निकाल्न अलि गाह्रो नै छ ।
त्यस्तै राजधानीमै ८८ किलो सुन भेटियो । बाटोमा ८८ किलो सुन भेटिनु सानो कुरा होइन । त्यसपछि पनि कहिले १५ किलो, कहिले २० किलो सुन भेटिई नै रहेका छन् ।  यसरी बेला न कुबेला भेटिएका सुनको मात्राले पनि उहाँको सम्पत्ति विवरणलाई प्रत्यक्ष प्रभावित गरिरहेको हुन्छ । सुन ल्याउने भरिया समातियो । तर मालिक अहिलेसम्म समात्न सकिएको छैन । यदि मालिक समातियो भने सम्पत्ति विवरण एक खालको हुन सक्छ, समातिएन भने फेरि अर्को खालको हुन सक्छ । सुन काण्डको फाइल बन्द नहुन्जेल सम्पत्ति विवरण तयार गर्न असम्भवजस्तै छ ।
योभन्दा केही समयअघि मात्रै कर फस्र्योट आयोगका प्रमुख पनि पक्राउ परे । उनले गरेको भ्रष्टाचार पनि अर्बौंकै थियो । भनिन्छ, यो नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार हो । तर प्रमुख प्रकाउ त परे, पछि सजिलै छुटे । सम्पत्ति विवरण कस्तो हुन्छ, त्यो पनि भन्न गाह्रो नै छ । आयोगका प्रमुखज्यू पुनः जेल जानुहोला वा घर जानुहोला । यसले पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमाथि प्रत्यक्ष असर गरिरहेको हुन्छ ।
यी त भए पुराना कुरा । देशमा हालै केही नयाँ कुरा पनि घटित भएका छन्, जसबाट प्रधानमन्त्रीको सम्पत्ति विवरण पूराका पूरा नै प्रभावित हुने सम्भावना छ । देउवा भारतबाट फर्केलगत्तै पञ्चेश्वर परियोजनाको डिपिआर बनाउने काम सुरु भयो । उता अरुण तेस्रोको अड्चन पनि फुकेको समाचार आयो । देशका यी यस्ता ठूला परियोजना हुन्, जो लागू भएमा वा भएनन् भने पनि प्रधानमन्त्रीको सम्पत्ति विवरण प्रभावित हुन सक्छ । यी परियोजना के हुन्छ, त्यो अहिल्यै भन्न सकिने अवस्था छैन । अतः प्रधानमन्त्रीको सम्पत्ति विवरण के हुन्छ, त्यो पनि अहिल्यै भन्न सकिने अवस्था छैन ।
अब देशको अवस्था यस्तो छ । अर्थात् अवस्था नै यस्तो छ कि यस्तो अवस्थामा प्रधानमन्त्रीको सम्पत्ति विवरण तयार गर्ने अवस्थै छैन । यस्तो अवस्थामा सम्पत्ति विवरण बुझाएन भनेर प्रधानमन्त्रीको आलोचना मात्रै गर्नुको कुनै तुक त हुन्न होला !  

प्रकाशित: ३१ भाद्र २०७४ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App