१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बाल — शोषण

- शोभा ज्ञवाली

यस समाजमा नखुलेका, नसुनेका, दबिएका धेरै पाटा हुन्छन् । आधुनिकता अनि व्यस्तताले धेरै कुरामा समयमै ध्यान नदिँदा पछुताउनुबाहेक अन्य कुनै उपाय बाँकी रहँदैन । त्यसैले हामीले हाम्रो परिवार र समाज सबै प्रतिको दायित्व निर्वाह गर्दै जाँदा कतै परिवार नै नछुटोस् भनेर बुझ्न आवश्यक हुन्छ । संसारका कुरा सुन्दा आफ्नो घर र परिवारको कुरा सुन्ने, तिनका भावना बुझ्ने प्रयास गर्नुपर्छ । यसै ‘नागरिक परिवार’ म्यागजिनको ७ औँ अंकमा अभिभावक व्यस्त हुँदा किशोरकिशोरीमा देखिने मनोरोगको संक्षिप्तमा टिप्पणी लेखेकी थिएँ । यसपालि पनि मैले संक्षिप्तमा बालबालिकामाथि हुने शोषणबारे केही शब्द लेख्ने प्रयास गरेकी छु । बालबालिकाको शोषण अहिले हाम्रो समाज तथा गाउँघरमा बग्रेल्ती देखापर्न थालेको छ । त्यसो त पहिला यस्ता घटना नहुने होइनन्, हुन्थे । ती घटना छोपिन्थे, दबाइन्थे र बाहिर प्रकाशमा त्यति धेरै आउँदैनथे । त्यसो पहिला पहिला नैतिक मूल्य मान्यतामाथि बढी नै जोड दिइने हुनाले त्यस्ता घटना निकै कम हुन्थे ।
हिजोआज भने नैतिक मूल्य, आदर्शजस्ता कुरामा ठूलो ह्रास आएको छ । त्यसैले सडक बालबालिका होऊन् या घरैमा उनीहरु शोषणमा पर्ने, पीडित हुने घटनामा क्रमशः वृद्धि हुँदै जान थालेको विभिन्न तथ्यांकले देखाउन थालेको छ ।

आजका बालबालिका भोलिका कर्मठ नागरिक हुन् । ती बालबालिका परिवारका मेरुदण्ड पनि हुन् । त्यसैले हामीले परिवारको मेरुदण्डलाई हुर्काउँदा धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ । हाम्रो समाजमा बालबालिकाले धेरै शोषण झेलिरहेका छन् । जबसम्म समाज शिक्षित हुँदैन तबसम्म यस्तो कार्य भइनैरहन्छ । परिवार र समाजले पनि बच्चाको शोषण, तिनीहरुमाथि यौन शोषण पनि हुन्छ र भन्ने ठान्छन् । ठूलाले त आफूमाथि भएको शोषणलाई प्रतिवाद गर्न सक्छन्, विरुद्धमा बोल्न सक्छन् तर बालबालिकाले त आफूमाथि शोषण भइरहेको समेत चाल पाउँदैनन् । आफूलाई अप्ठेरो परेको कुरा अरुलाई गुनासो पनि गर्न सक्तैनन् । गुनासो गरे पनि पत्याइदिने व्यक्ति कोही हुँदैनन् । तथ्यांकअनुसार बालबालिकाहरुले पाएको शोषण; मानसिक शोषण, शारीरिक शोषण आदि ५/६ वर्षदेखि १० /१२ वर्षसम्मका देखिएका छन् । यिनीहरु आफूले भोगेको यातना, शोषण र पीडा कसैसँग पनि भन्न सक्दैनन् भन्दा पनि अभिभावकले उल्टै गाली गर्ने मात्र होइन, सुनेको नसुन्यै गर्ने गर्छन् ।

शोषण विविध किसिमको हुन्छ । यहाँ त्यसबारे केही शोषणका बारेमा टिप्पणी गर्न चाहन्छु ।
मानसिक शोषण : ठूलोले सानोलाई शोषण गर्ने अभिभावकले थाहा पाउँदा पनि यो कुनै ठूलो कुरा होइन, आफैँ मिलिहाल्छन् भन्ने ठान्छन् तर अभिभावकले त्यसो गर्नु हुँदैन । बालबालिका भावनात्मक रुपले आफ्ना सन्तान शोषित भइरहेका हुन्छन्, यो कुरा अभिभावकलाई नै थाहा हुँदैन । जसले गर्दा बालबालिकाको क्रियाकलापमा धेरै नकारात्मक असर परिरहेको हुन्छ ।
शारीरिक शोषण : बालबालिकाहरु स्वाभावैले चञ्चल हुन्छन् । उनीहरुको चञ्चलतालाई ठूला भनिएका अभिभावकले रुचाउँदैनन् । शान्तिसँग बस्ने उपदेश दिन्छन् । त्यति गर्दा पनि मानेनन् भन्ने ठाने भने अभिभावकले पिट्ने, कोठामा थुनिदिने, खाना खान नदिने, हातखुट्टा बाँधेर राखिदिने आदि गर्छन् । यस्तो गर्नु भनेको बालबालिकाको नजरबाट आफू गिर्नु त हुँदै हो, भविष्यमा घरमै एउटा विद्रोही पाल्नु पनि हो । खासगरी हाम्रो गाउँघरमा यस किसिमको शोषण भइरहेको देखिन्छ ।

यौन शोषण : सामान्यतः यौन शोषण भन्नेबित्तिकै बालिकाहरुमाथि हुने शोषण बुझिन्छ तर बालकहरु पनि यौनिक रुपमा उत्तिकै शोषित हुन्छन्, हुने गरेका छन् । युनिसेफले गरेको एउटा अनुसन्धानअनुसार हाम्रो समाजमा बालिकामाथि हुने यौन शोषण भने निकै डरलाग्दो छ । घरपरिवारकै र आफन्तले नै यस्तो काम गरिरहेका हुन्छन् । बच्चाहरुलाई लोभ्याएर, कुनै सामानको लाभ देखाएर, तर्साएर, धम्क्याएर बच्चाको गोप्य अङ्गमा छुने आदि विभिन्न घृणित कार्य गरी शोषण गरिरहेका हुन्छन् । बच्चाले नबुझ्ने गरी बच्चाका इच्छाविपरीत तथा बच्चालाई बेफाइदा हुने कार्य सबै शोषण कार्य हुन् । यस्ता कुराहरु बच्चाले आफ्ना अभिभावकहरुसँग भन्न खोजेमा हामीले तिनका कुरालाई ध्यानपूर्वक सुन्नु पर्छ । उनीहरुलाई यस प्रकारको शोषण भयो भने कसरी त्यसबाट उम्कने, मुख खोल्ने आदिको शिक्षा पनि दिनुपर्छ । सकेसम्म बच्चाहरुलाई एक्लै छाड्नु हुँदैन । बच्चाले यो मान्छेसँग बोल्दिनँ, म एक्लै घरमा बस्दिनँ भनेर प्रतिक्रिया जनाएमा हामीले यसको संकेत बुझ्नु पर्छ । स्कुलमा वा स्कुल बसमा वा घरमा एक्लै काम गर्नेसँग बस्न नखोजेमा अभिभावकले जबरजस्ती गर्नु पनि हुँदैन । धेरै बालिका यस्तै बेला शोषित भएका छन् । ऊ मामा हो, ऊ काका हो वा हेल्पर हो भने पनि यदि बालिकाहरुले मन नपराएको संकेत पायौँ भने अभिभावक सतर्क हुनुपर्छ । उनीहरुको मनोभाव बुझ्नु पर्छ । यस्तो अवस्था के कारणले हुन्छ भनी बुझ्नुपर्छ । कतै त्यहाँ बालिकामाथि जबरजस्ती त गरिएको छैन ? कतै उनीहरु बलात्कृत त भएका छैनन् ? शंका गर्नुपर्ने हुन्छ । अभिभावकले त्यस्ता आशय नबुझ्दा हाम्रो समाजमा शोषण र बलात्कारका धेरै घटना भएको देखिएको छ ।

त्यसैले बालबालिकाका कुरा सुन्नुहोस् । उनीहरुका आशयलाई बुझ्ने प्रयास गर्नुहोस् । आफन्तहरुसँग झ्याम्मिनुपर्ने बेलामा किन टाढिन खोजिरहेका छन् ? किन संगत मन पराइरहेका छैनन् ? लाउने–खाने–खेल्ने उमेरमा पनि उनीहरु किन एकान्त खोजिरहेका छन् बुझ्ने प्रयास गर्नुहोस् । कतै यस्तो नहोस्, समय गुज्रिसकेपछि तपाईंले छाँगाबाट खसेजस्तो हुने समाचार सुन्नुपरोस् ।
त्यसैले बढीभन्दा बढी समय आफ्ना सन्तानलाई दिने, उनीहरुका कुरा सुन्ने गर्दा अभिभावकलाई आफ्ना सन्तानले विश्वास गर्छन् । उनीहरुले नयाँ कुरा सुनाउँछन्, पीडाका कुरा सुनाउँछन् । त्यसलाई चाख दिनुस् । उनीहरुमाथि चाख दिनु मात्र भयो भने पनि तपाईंले धेरैजसो समस्या समाधान गरिसक्नु भएको हुनसक्छ ।

प्रकाशित: २ आश्विन २०७४ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App