१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फोटोमार्फत ‘गोक्यो री लेक’को प्रवर्द्धन

गाेक्याे री लेक । तस्बिर : दावा लामा

काठमाडौं – सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ‘गोक्यो री लेक’ (५३६० मिटर) का ३३ वटा फोटो शुक्रबारदेखि प्रदर्शनी गर्ने भएको छ । साहसिक युवा पर्यटनकर्मी तथा फोटोग्राफर दावा लामाले गोक्यो क्षेत्रको पर्वतारोहण ट्रेकिङ रुटको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा तस्बिर प्रदर्शनी गर्न लागेका हुन्। 

टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा साहसिक पर्यटनकर्मी लामाले ‘गोक्यो री लेक’ सम्बन्धी एकल फोटो प्रर्दशनी गर्न लागेका हुन्। 

टानका पर्वतारोहण विभाग प्रमुख समेत रहेका लामाले गोक्यो री लेकबाट सगरमाथासँगै, मकालु, चोयु र ल्होत्से हिमालको दृश्य हेर्न सकिने बताए । ‘सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोक्यो री लेक आफैंमा पर्वतीय रुट हो । नाम्चेबाट यहाँ पुग्न तीन दिन लाग्छ । यस क्षेत्रका  सन् २०११ देखिको तस्बिर प्रदर्शनीमा राखेका छौं,’ उनले भने, ‘यसका लागि नेपाल पर्यटन बोर्डले सहकार्य गरेको छ ।’

गोक्यो री लेक आसपासमा खिचिएको पहिलो फोटो प्रर्दशनी भएकाले पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटक गरी १० हजार दर्शकले अवलोकन गर्ने लामाको भनाइ छ। 

दसैं र तिहारको बिदामा नेपालीलाई समेत सो स्थान भ्रमण गर्न उपयुक्त समय मानिन्छ । काठमाडौंबाट लुक्ला प्लेनमा गएर १० दिनमा काठमाडौं फर्कन सकिन्छ । सगरमाथा आधार शिविरमा धेरै पर्यटक गए पनि गोक्यो री लेकको प्रचारप्रसार हुन नसकेको टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले बताए। 

‘पर्यटन व्यवसायी लामाले व्यवसाय मात्रै नगरेर यस क्षेत्रको प्रवद्र्धन गर्न फोटो प्रदर्शनीइको कन्सेप्ट राख्नु आफैंमा रचनात्मक भूमिका हो ।’ अध्यक्ष रिजालले भने, ‘आर्थिक स्रोतमात्र जुटाउने होइन । सामूहिक पर्यटन प्रवद्र्धनका लागि युवा पुस्ताले नयाँनयाँ अभियान सुरु गर्नु प्रशंसनीय छ।’ 

प्रदर्शनीमा राखिने तस्बिरहरूको मूल्य १६ हजारदेखि ४० हजार रूपैयाँसम्म रहेको टानले जनाएको छ । उक्त फोटो प्रदर्शनी विभिन्न देशका कुटनीतिक प्रतिनिधि र नेपालका लागि राजदूतहरूले समेत अवलोकन गर्ने कार्यतालिका तय गरेको टानका महासचिव कर्ण लामाले बताए । फोटो प्रर्दशनी निःशुल्क अवलोकन गर्न सकिने नेपाल पर्यटन बोर्डले जनाएको छ । शुक्रबार सुरु हुने प्रदर्शनी असोज १३ गतेसम्म हुनेछ। 

आन्तरिक तथा बाह्य पर्यटकलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ दसैंको अवसरमा आयोजित फोटो प्रर्दशनीबाट उठेको रकम सनमन प्राथमिक विद्यालयलाई हस्तान्तरण गरिने छ । तिमाल गाउँपालिकाको काभ्रे टेकनपुर–८ तिमालमा रहेको विद्यालयलाई प्रदान गरिने लामाको भनाइ छ । उनका अनुसार करिब एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षकको अभावमा पठनपाठन प्रभावित भइरहेको छ । युवा पर्यटन व्यवसायी लामाले भूकम्पपछि आफ्नै नेतृत्वमा टेकनपुरमा ६५ वटा घर बनाएका थिए । 

साहसिक युवा पर्यटनकर्मी दावा लामा
१५ वर्षदेखि पर्वतारोहण पर्यटन क्षेत्रमा क्रियाशील छु । गएको सात वर्षदेखि ट्राभल टाइम्स ट्रेक्स सञ्चालन गर्ने क्रममा पर्वतीय क्षेत्रमा खिचेका तस्बिरहरु संग्रह गरेको थिएँ ।  भरिया भएर काम गर्दा विदेशीले हिमाल, पहाड र छाँगा र नागबेली बाटोको तस्बिर खिच्दा खुबै रमाइलो लाग्थ्यो । यही समयदेखि तस्बिर संकलन गर्न लागेको थिएँ । पछिल्लो समय पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय छु । यही क्रममा सगरमाथा क्षेत्रमा धेरै तस्बिर लिएको छु । प्रोफसनल फोटोग्राफर नभए पनि सोख छ । यसैले पर्यटन क्षेत्रमा तस्बिरमार्फत नयाँ अभियान सुरु गरेको छु– गोक्यो री लेक ।
यस क्षेत्रबाट देखिने ताल, हिमशृंखला र दृश्यले धेरैको मन तान्ने गरेको छ । एकपटक, एक वर्ष र एक सिजन मात्रै होइन । हरेक सिजन र वर्ष यो क्षेत्र पर्यटकीय दृष्टिले सदाबहार छन् । फोटोबाट उठेका पैसा गाउँको प्राथमिक विद्यालयलाई सहयोग गर्नेछु । 

 

प्रकाशित: ५ आश्विन २०७४ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App