५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीको गोलीले ‘टोलेगुण्डा’ घाइते

काठमाडौं- प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

महाशाखाका एसएसपी दिवेस लोहनीले पेप्सीकोलामा रहेको पुलनजिक आपराधिक गतिविधिमा सक्रिय समूह भेला भएको सूचनाका आधारमा महाशाखाको टोली खटिएको र प्रहरीको टोलीलाई ताकेर २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि गोली चलाउँदा गौतम घाइते भएको दाबी गरे ।
गोली गौतमको दाहिने घुँडामुनि लागेको छ । प्रहरीका अनुसार गोली चलाउनेहरू भने उम्किएका छन् ।
गौतम काठमाडौं उपत्यकाको आपराधिक गतिविधिमा नयाँ नाम भए पनि एसएसपी लोहनीले उनी पछिल्लो समय सबैभन्दा धेरै सक्रिय रहेको दाबी गरे । लोहनीका अनुसार उनी चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य हुन् ।
प्रहरीको रेकर्डमा उनी पटके अपराधी रहेको देखिएको र पटकपटक पक्राउ पर्दै छुट्दै आएको र भदौ महिनामा मात्र ४ वटा आपराधिक घटनामा उनको संलग्नता देखिएको लोहनीको दाबी छ । ‘गौतमले भदौमा मात्र ४ वटा आपराधिक घटना घटाएको सूचना प्रहरीसम्म आएको छ,’ लोहनीले भने, ‘उसको पृष्ठभूमि केलाउँदा पटके अपराधी रहेको खुलेको छ ।’

महाशाखाको इन्काउन्टर शृंखला
पछिल्ला ४ वर्षयता अपराध महाशाखाको नेतृत्व परिर्वतन भएपिच्छे काठमाडौंमा गोली चल्ने गरेको छ । लोहनी अगाडिका तीनजना महाशाखा प्रमुखका कार्यकालमा तीनजना मारिए । एक महिनाअगाडि महाशाखामा आएका लोहनीको कार्यकालको प्रारम्भमा घाइते मात्र भए ।
चार वर्षअगाडि महाशाखाको टोलीको गोली लागेर काठमाडौंमा कहलिएका गुन्डा नाइके दिनेश अधिकारी चरी मारिएका थिए । प्रहरीको खोजीसूचीमा रहेका उनी लामो समय भारतमा लुकेर बसेका थिए । काठमाडौं आएको सूचनाका आधारमा प्रहरीले पछ्याउँदा उनी मारिएका थिए । अधिकारीको इन्काउन्टरताका पुष्कर कार्की महाशाखा प्रमुख थिए ।
कार्कीको सरुवापछि महाशाखा प्रमुखमा आएका सर्वेन्द्र खनालको कार्यकालमा अर्का गुण्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिएका थिए । ५ महिना अगाडि महाशाखामा दिनेश अमात्य प्रमुख भएर आएका थिए । डेढ महिनाअगाडि ललितपुरको कुसुन्तीमा महाशाखाको टोलीले चलाएको गोली लागेर प्रवीण खत्रीको मृत्यु भएको थियो ।
चरी र घैंटे उपत्यकामा संगठित अपराधमा कहलिएका गुण्डा नाइके थिए । त्यसपछिका इन्काउन्टर र गोली लागेर घाइते भएकाको पृष्ठभूमि उनीहरुझैं संगठित देखिँदैन ।
डेढ महिनाअगाडि मारिएका खत्री लागूऔषधको कारोबारी रहेको प्रहरीको दाबी थियो । अनुसन्धानमा उनी सामान्य प्रयोगकर्ता रहेको खुल्यो । शुक्रबार गोली लागेका गौतम टोले गुण्डा हुन् । अपहरणको अभियोग पुष्टीपछि उनी ५ वर्ष जेल बसेर ६ वर्ष अगाडि रिहा भएपछि पनि पटक पटक पक्राउपर्दै आएका थिए ।
तयारी जवाफ ‘जवाफी फायरिङ’
प्रायः हरेक घटनामा प्रहरीले जवाफी फायरिङमा गोली चल्दा मृत्यु या घाइते भएको दाबी गर्ने गरेको छ । नुवाकोट हिँडेका चरी मारिएपछि महाशाखाले पक्राउ गर्न पछ्याएको टोलीलाई गोली हानेकाले जवाफमा गोली चलाउँदा उनी मारिएको दाबी गरेको थियो । आफ्नै घरअगाडि मारिएका घैंटेको केसमा समेत प्रहरीले यही दाबी गरेको थियो । खत्रीको केसमा घरबाट दुवै हातमा पेस्तोल लिएर प्रहरीतिर सोझ्याएर गोली चलाएकाले प्रहरीले जवाफी कारबाही गरेको दाबी गरिएको थियो ।
शुक्रबारको गौतमको घटनामा समेत एसएसपी लोहनीले जवाफी कारबाहीमा गोली लागेको दाबी गरे । लोहनीको दाबीअनुसार भेला पेप्सीकोला पुलनजिकै प्रहरी पुगेलगत्तै समूहमा रहेकाहरूले २ राउन्ड गोली चलाएपछि प्रहरीले गोली चलाएको हो ।
‘उनीहरुले गोली चलाएपछि प्रहरीले सुरक्षाका लागि गोली चलाएको हो,’ उनले भने, ‘गोली चलाउनेहरू भने भागे, खोजी गरिरहेका छौं ।’

प्रकाशित: ७ आश्विन २०७४ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App