१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेतृत्व नयाँ पुस्तामा, विरासत पुरानै

राजविराज- ३५ वर्षीय शैलेशकुमार साहको परिचय फेरिएको छ । केही दिनअघिसम्म उनी ‘रामबाबु’ का छोरा भनेर चिनिन्थे ।
सप्तरीमा ‘रामबाबु’ को नामले परिचित नवलकिशोर साह राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष हुन् । जिल्लाको हनुमाननगर क्षेत्रमा साह परिवारको राजनीतिक वर्चस्व पहिलादेखिकै हो ।

पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएका युवासँग एकातिर पारिवारिक विरासत जोगाउने बाध्यता छ भने अर्कोतिर जनअपेक्षाअनरूप काम गरेर देखाउने चुनौती ।

पछिल्लो संविधानसभा चुनावमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएपछि उनको राजनीतिक साख कमजोर भएको टप्पणी हुने गथ्र्यो । तर, गृहनगर हनुमाननगर कंकालनी नगरपालिकाका मेयर पदमा छोरा शैलेश निर्वाचित भएपछि नवलकिशोरको राजनीतिक साख मात्रै जोगिएको छैन, उनले राजनीतिक विरासत धान्ने उत्तराधिकारीसमेत पाएको सर्वसाधारणको भनाइ छ ।
मेयरमा निर्वाचित भएपछि शैलेशले एकातिर स्वतन्त्र पहिचान पाएका छन् भने अर्कोतिर युवा मेयर पाएपछि नगरवासी उत्साहित र आशावादी देखिएका छन् । ‘नयाँ पुस्ताले नगरको नेतृत्व पाएपछि हामी निकै उत्साहित छौं’, स्थानीय अजय भगतले भने, ‘युवा नेतृत्वले पक्कै पनि विकास गतिविधिलाई गतिशीलता दिनेछ ।’
सप्तरीको पुरानो सदरमुकाम पनि हो हनुमाननगर । कोसीको कोपभाजनले हनुमाननगरबाट सदरमुकामको दर्जा मात्रै खोसिएन, दुरवस्थाको सिकार पनि भयो । भारदहदेखि रम्पुरा मल्हनियाँसम्म रहेको यो नगरपालिकाका झन्डै आधा दर्जन बस्ती कोसीलगायतका नदीका कारण बर्सेनि डुबानमा पर्नुका साथै यहाँका भौतिक संरचना क्षतविक्षत हुने गर्छन् ।
‘हनुमाननगर कंकालनी नगरपालिकाको समग्र विकासका साथै नदी नियन्त्रण र डुबानको समस्या समाधान गर्ने मुख्य अजेन्डाका साथ मैले चुनाव लडें र जितें पनि’, नवनिर्वाचित मेयर साहले भने, ‘जनताका घरदैलोमा भोट माग्न जाँदा मैले उठाएका अजेन्डा नै मेरो प्राथमिकता हुनेछ ।’
पारिवारिक विरासतका कारण राजनीतिमा संलग्न भएको उनको ठम्याइ छ । ‘निकै अघिदेखि नै मेरो परिवार समाजसेवामा लागेकाले म पनि यसतर्फ लागेको हुँ’, उनले भने, ‘परिवारप्रतिको जनविश्वास जोगाउँदै यो नगरपालिकालाई आधुनिक विकासको मूल बाटोमा लग्ने प्रयासमा सधैं लागिरहनेछु ।’

तेस्रो पुस्तामा नेतृत्व  
३० वर्ष पार गरेका आतेसकुमारसिंह यादव संघीय समाजवादी फोरम नेपालको टिकटबाट सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयरमा निर्वाचित भएका छन् । उनी पनि पारिवारिक विरासतकै धरातल टेकेर आफ्नो गृहनगरका मेयर बनेका हुन् । आतेसका बुवा अनिरुद्धप्रसाद सिंह यादव संघीय फोरमका केन्द्रीय सदस्य हुन्, काका मृगेन्द्रकुमार सिंह यादव राजपाका केन्द्रीय उपाध्यक्ष । आतेसका हजुरबुवा शत्रुघनप्रसाद सिंह यादव पनि ठूलै नेता थिए । यस क्षेत्रको राजनीतिमा यादव परिवारको तीन पुस्तादेखिको वर्चस्व छ ।
पछिल्लो संविधानसभा चुनावमा मृगेन्द्र र अनिरुद्ध दाजुभाइ एकअर्काको प्रतिद्वन्द्वीका रूपमा फरक–फरक दलका टिकटमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट लडेका थिए र दुवैजना पराजित भएका थिए । यद्यपि दुई दशकपछि भएको स्थानीय तह निर्वाचनको परिणामले यादव परिवारको राजनीतिक वर्चस्व जोगिएको छ भने यस परिवारले आफ्नो राजनीतिक विरासत अघि बढाउन आतेसका रूपमा तेस्रो पुस्ताका उत्तराधिकारी पाएका छन् ।

पुराना जमिनदार, व्यवसायीदेखि गाउँपालिका अध्यक्षसम्म
विकासका दृष्टिले निकै पिछडिएको तर सप्तरीको राजनीतिमा निकै प्रभाव राख्ने तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित सतिशकुमार सिंह राजपा केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंहका छोरा हुन् । उमेरले चार दशक पनि पार नगरेका सतिश निकै क्षमतावान् र ऊर्जावान् युवा नेताका रूपमा परिचित छन् । उनी राजपा सप्तरीका अध्यक्षसमेत हुन् ।
    पछिल्लो संविधानसभा चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट बुवा शेखरकुमार सिंह पराजित भएपछि सिंह परिवारमा पनि राजनीतिक वर्चस्व जोगाउने ठूलै चुनौती थियो । यद्यपि सतिशको विजयपश्चात् सिंह परिवारको राजनीतिक वर्चस्व जोगिनुका साथै सिंह परिवारले पनि नयाँ पुस्ताका राजनीतिक उत्तराधिकारी पाएका छन् ।
    सिंह परिवारमात्रै हैन, तिलाठी कोइलाडी गाउँपालिकाका सर्वसाधारण पनि सतिशसँग निकै अपेक्षा राखेका छन् । बाढी र डुबानले पीडित भारतीय सिमानासँग जोडिएको यस गाउँपालिकाका जनता सतिशको नेतृत्वमा विकास र समृद्धि आउने आशा लिएका छन् । ‘परिवर्तन र विकासका लागि युवा नेतृत्वको खाँचो हुन्छ’, स्थानीय आशिष मिश्रले भने, ‘पूर्वाधार विकासका दृष्टिले पिछडिएको यो गाउँपालिकाको कायापलट गर्न युवा नेतृत्वको खाँचो थियो ।’
    चुनावी प्रतिबद्धताको पालनाका साथै आफ्नो परिवारको साख जोगाउने कार्यलाई आफूले चुनौतीका रूपमा लिएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष सिंह बताउँछन् । उनले भने, ‘पाँच वर्षपछिको तिलाठी कोइलाडीले सबैलाई लोभ्याउनेछ ।’

सदरुलपछि हिमायुँ
खड्क नगरपालिकाका नवनिर्वाचित मेयर हुमायुँ हक दिवंगत पूर्वसभासद् सदरुल मियाँ हकका छोरा हुन् । पहिलो संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर सप्तरीको क्षेत्र नम्बर पाँचबाट निर्वाचित सदरुलको दोस्रो संविधानसभाअघि हत्या भएको थियो । यस क्षेत्रमा सदरुल परिवारको राजनीतिक वर्चस्व रहँदै आएको छ । जसले गर्दा उनी स्वतन्त्र उम्मेदवारका हैसियतमा पनि पहिलो संविधानसभामा पुगे ।
    सदरुलको हत्यापछि उनको व्यवसाय र राजनीतिक वर्चस्व बिस्तारै हराउँदै गएको थियो । तर पनि स्थानीय तह निर्वाचनमा हिमायुँले संघीय फोरमबाट टिकट पाए र मेयरमा निर्वाचित भए । हिमाँयुको विजयले सदरुल परिवारले मात्रै हैन, यस भेगका मुस्लिम समुदायले समेत राजनीतिक उत्तराधिकारी पाएको छ ।
    पारिवारिक राजनीतिक विरासतकै सिँढीबाटै निर्वाचित भएकासहित सप्तरीका १८ मध्ये अधिकांश स्थानीय तहमा युवा अनुहार प्रमुखमा निर्वाचित भएका छन् । युवा अनुहार पाएपछि सर्वसधारण विकास, सुशासन र समृद्धिप्रति निकै आशावादी देखिएका छन् । यसले जनचाहनाअनुरूप काम गरेर देखाउने चुनौती नयाँ नेतृत्वमाथि थपिएको छ ।
पारिवारिक राजनीतिक विरासतबाट आएकालाई झनै चुनौती रहेको जानकारको बुझाइ छ । स्थानीय बद्रीनारायण झा भन्छन्, ‘पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आएका युवासँग पारिवारिक विरासत जोगाउने बाध्यतासँगै जनअपेक्षाअनुरूप काम गरेर देखाउने चुनौती पनि छ ।’

प्रकाशित: १० आश्विन २०७४ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App