जीवन यात्रा

सामन्तबाट कमनर

सोमबार, १६ असोज २०७४, १० : ४७ विश्वमणि पोखरेल


अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको चर हाल्ने हिमालय समसेर जबरालाई ९० वर्षका किशोर भन्दा फरक पर्दैन । यो उमेरमा पनि उज्यालो अनुहार, उस्तै ऊर्जा र सक्रियता देखेर उनलाई नजिकबाट चिन्नेहरु छक्क पर्छन् । राजा त्रिभुवन र महेन्द्रसँग रक्सी खाएर सँगै नाचेको स्मृति उनीसँग छन् र उनैले महेन्द्रका अनेक नाटक भोगेका छन् । हिमालयसँग विकासे जागिरदेखि बैंकरसम्मका अथाह कथा छन् ।

उनलाई आफ्नो जीवनयात्रा अलिक लामै जस्तो लाग्दैछ । उनीसँगैका साथीहरूको गुँड छुटिसक्यो । पत्नी विजयलक्ष्मी सात वर्षदेखि क्यान्सरसँग जुझ्दैछिन् । नौ दशक लामो यात्रामा उनले भोग्न सुख र दुःख अब केही बाँकी छैन कि भन्ने गम्छन् कहिलेकाहीँ ।
उनी पुरानो जमानाको मान्छे । बिहान पत्रपत्रिका पढ्छन्, रेडियो सुन्छन् । लतको नवीनतम प्रविधि इन्टरनेट चलाएका छैनन् । मोबाइल फोन अत्यावश्यक भएपछि मात्र बोक्न थालेको ३÷४ वर्ष भयो । उनी बिहान ६ः३० सम्म उठिसक्छन्, १० बजेपछि राति सुतिसक्छन् । नाति, नातिनाले दिने पुस्तक उनी रुचि लिएर पढ्छन् ।
विज्ञान पढ्न मन लागेन
वि.सं. १९८४ साल पुसमा जन्मिएका हिमालयकी आमा सानै उमेरमा बितेकाले सानिमासँग उनको बाल्यकाल बित्यो । दरबार हाइस्कुलमा उनले सुरुवाती शिक्षा लिए, त्यसपछि त्रिचन्द्र कलेजबाट आइए पास गरे । खासमा उनका बुबा लक्ष्मण सम्सेरलाई उनी विज्ञान पढून् भन्ने चाहना थियो । तर उनलाई आर्ट्स पढ्न मन थियो । त्रिचन्द्रबाट आइएको सर्टिफिकेट बोकेर उनी भारतको मुम्बईमा पढ्न त्यता लागे । त्यसबेला अहिले जस्तो बाटाघाटो र यातायातका साधन थिएनन् । काठमाडौँबाट भीमफेदीसम्म पैदल, घोडा वा कल्कीमा चढेर जानुपथ्र्यो । त्यहाँबाट सानो रेल चढेर रक्सोल जाने र रक्सोलबाट ठूलो रेल चढेर उनी मुम्बई (त्यो बेलाको बम्बे) पुगे ।

‘साइन्स नपढ्ने भए, कमर्स पढ्नू’, बुबा लक्ष्मण सम्सेरको आदेश थियो । त्यसैले त्यहाँको प्रसिद्ध कमर्स कलेज साइडेनमा भर्ना हुने इच्छाले उनलाई मुम्बई पु¥याएको थियो । त्रिचन्द्रमा पढेको आइएबाट कमर्समा बिकम गर्न नपाइने भन्ने त्यहाँ पुगेर मात्र उनले चाल पाए । बडो अन्योलग्रस्त अवस्थामा उनले सेन्ट जेभियर कलेजमा भर्ना भए र अनर्स गरेर नेपाल फर्किए ।
सन् १९४२/४३ ताका पद्म सम्सेर श्री ३ महाराज थिए । त्यस बेलाको चलनअनुसार कतै पढेर आएपछि श्री ३ मा दाम चढाउनु पथ्र्याे । दाम राखेर दर्शन गरेपछि पद्म सम्सेरले सोधे, ‘तिमीले के पढेको ?’
‘अंग्रेजीमा अनर्स,’ मेरो जवाफ थियो ।
उहाँले थप्नुभयो, ‘त्यो काम लाग्दैन । देशलाई अघि बढाउन इकोनोमिक्स पढ्नुपर्छ । जाऊ, त्यही पढेर आऊ ।’
यो आदेश नै उनको जिन्दगीको पदमार्ग बन्न पुग्यो । उनलाई त्यही पढाइले बाटो लगायो ।
सामन्तबाट कमनर
पद्म सम्सेरको आदेशपछि उनी अर्थशास्त्रमा एमए गर्न उनी पुनः बम्बैतर्फ लागे । त्यसबेला राणा परिवारका छोराछोरी भारतका इलाहाबाद, दिल्ली, बम्बै लगायतका स्थानमा पढ्न जान्थे । फ्ल्याट लिएर नोकर–चाकरसहित बस्ने गर्थे । बम्बेमा भने फ्ल्याट पाउन एकदमै समस्या थियो । त्यसैले उनले बम्बै स्कूल अफ इकोनोमिक्स एन्ड सोसियल साइन्स भर्ना भएर र होस्टल बसी पढ्ने निर्णय गरे । होस्टलमा अरूहरूसँगै बस्नुपर्ने, दक्षिण भारतीय खानपिनमा चित्त बुझाउनुपर्ने, बस चढेर कलेज आउजाउ गर्नुपर्ने भएपछि काठमाडौँको राणाजी सामन्तबाट उनी सर्वसाधारणजस्तै बन्नपुगे । उनलाई यतिबेला एउटा सामान्य नागरिक जीवन अनुभव भयो । होस्टल, कलेजका सहयोगीहरू भने नमनका साथ ‘साहेब क्या चाहिए’ भनेर सोधिखोजी गर्थे ।
त्यसबेला भारतमा स्वतन्त्रता आन्दोलन उत्कर्षमा थियो । दिनदिनै जसो सहरमा इन्कलाब जिन्दाबादका नारा घन्कन्थे । समाजको प्रगतिका लागि परिवर्तन आवश्यक छ भन्ने उनलाई लाग्न थाल्यो । भारतमा स्वतन्त्रता आन्दोलन सफलताउन्मुख भइरहेको बेला नेपालमा जहानिया राणा शासन अन्त्य हुनुपर्छ भन्ने आवाजहरू घनिभूत थियो । परिवर्तनको यस संघारमा उनी एमएको सर्टिफिकेट लिएर बम्बैबाट कलकत्ता पुगे । त्यहाँ सुवर्ण सम्सेर  नेपालमा क्रान्ति गर्ने योजना बुनिरहेका थिए ।
‘म राणा शासक वर्गको परिवारमा हुर्किएको मान्छे, सुवर्णसँगको भेटपछि क्रान्तिमा लाग्ने स्थितिमा पुगेँ,’ माइतीघरस्थित हिमालयको निवासमा एक बिहान गफिँदै भने, ‘२००५ सालमा मैले प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएँ । कांग्रेसको  गोप्य सदस्यता र एमएको सर्टिफिकेट लिएर म काठमाडौँ आएँ । त्यसपछि म पनि भित्रभित्रै जहानिया राणा शासनको अन्त्यका लागि क्रान्तिमा लागेँ ।’
राणा शासनको अन्त्य गरेर संवैधानिक राजतन्त्र स्थापना गर्ने कुरा त्यसबेला राजद्रोह ठहरिन्थ्यो । तापनि जोशिलो त्यस उमेरमा कलकत्ताबाट आउँदा उनले टाइप राइटर र डुप्लिकेट गर्ने लिथो मेसिन लुकाएर ल्याए । ‘काठमाडौँ आएपछि हामीहरू क्रान्तिमा लाग्यौँ । मेरी सानी आमा गीता राणाले पर्चाहरू टाइप गर्नुहुन्थ्यो, म लिथो गरेर धेरै कपी निकाल्थेँ । गोप्य रुपमा मेसिन चलाउनुपर्ने, चलाउन पनि राम्ररी नआउने । मसि लतपतिने, बिग्रने हुन्थ्यो । धेरै कागज नाश हुन्थ्यो । लतपत भएको र बिग्रिएको कागज फाल्न पनि समस्या हुन्थ्यो ।’
त्यो अप्ठेरो समयावधि पार गर्दै जाँदा जनक्रान्तिले स्वरुप पनि लिन थाल्यो । हुँदाहुँदा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा प्रवेश गरेको र दिल्ली गएको खबर सुनेपछि उनलाई पक्का भयो, अब देशमा प्रजातन्त्र पक्का आउनेछ ।
भारदारी सभामा नोट अफ डिसेन्ट

राजा र भारतलाई ‘देखाइदिन’ सत्तासीन राणाहरुले सिंहदरबारमा भारदारी सभा बोलाएर बालक ज्ञानेन्द्रलाई राजा बनाउने निर्णय गरे ।


राजा त्रिभुवनले राजदरबारै छोड्छन् भन्ने जानकारी त उनलाई थिएन तर केही महङ्खवपूर्ण राजनीतिक घटना हुँदैछ भन्ने संकेतसम्म उनी र अन्य कार्यकर्ताले पाएका थिए ।

उनी र सुवर्ण सम्सेरबीच गोप्य किसिमले सांकेतिक भाषामा सूचनाहरू आदान–प्रदान हुन्थे । राजा त्रिभुवनले आफ्नो परिवारका सबै सदस्य साथमा लिएर दिल्ली पुगेका थिए । राजपरिवारका सदस्यमध्ये ज्ञानेन्द्र मात्र नेपालमा छुटेका थिए ।
राणाहरुको भेला बस्यो । ज्ञानेन्द्रलाई राजाका रुपमा नियुक्त गरिएको भन्दै त्यहाँ उपस्थित सबैलाई हस्ताक्षर गर्न भनियो । यस्तो अवस्थामा हिमालय सम्सेर, उनका बुबा लक्ष्मण सम्सेर, वसन्त सम्सेर लगायत अन्य सात जनाले हस्ताक्षर गरेनन् । सत्तापक्षीय राणाहरूले आँखा तरे तर केही गर्न सकेनन् । ‘भाइभारदारको सभामा हाम्रो त्यस्तो निर्णयले ठूलै हल्लीखल्ली मच्चियो, हामीहरू एकाएक राणा शासनविरोधी भनेर चिनियौँ,’ उनले त्यो क्षण सम्झँदै भने, ‘राणा शासन लामो समयसम्म टिकेन, त्यसको केही महिनामै नेपाली कांग्रेस, राणाहरू र भारतबीचको सहमतिमा राजा त्रिभुवन नेपाल फर्किनु भयो । त्यो दिन नै मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।’
२०१७ सालमा भने राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेको क्षण सबैभन्दा नराम्रो लागेको र त्यस दिनलाई उनी कालो दिनका रुपमा मान्ने बताउँछन् ।
अर्थ मन्त्रालयको जग
सात सालको दिल्ली सम्झौतापछि नेपालका कांग्रेस, राणाहरूको संयुक्त सरकार बन्यो । ‘२००७ सालको परिवर्तनपछि नेपाल नयाँ युगमा प्रवेश ग¥यो,’ हिमालय भन्छन्, ‘केही गरौँ भन्ने समय थियो त्यसबेला । मलाई लाग्छ, इतिहासको त्यो संयोग, जहाँ केही गरौँ भन्ने भावना प्रवल थियो र मुलुकलाई स्थायी संस्थाहरू चाहिएको थियो । त्यस्तो समयमा अर्थ मन्त्रालय स्थापना भयो ।’ त्यस बेला सुवर्ण सम्सेर अर्थमन्त्री थिए । उनले अर्थ मन्त्रालय हाँक्न अर्थशास्त्र र कमर्समा एमए गरेकाहरूलाई उपल्लो पद दिलाए । उनीसहित लीलाप्रसाद लोहनी, परिक्षित नर्सिंङ राणा र कृष्णराज राजभण्डारीले अर्थ मन्त्रालय सम्हाले ।
एमएको अध्ययन, जहाँनिया राणा शासन विरुद्धको आन्दोलनमा लागिपरेको उनलाई समयले अर्थ मन्त्रालयको जग बसाउने जिम्मेवारी दियो । सुवर्ण सम्सेरले अर्थमन्त्रालयको जुन जग हालेका थिए, अहिले पनि सोही जगमा उभिएको छ । त्यसैबेला विविध आर्थिक निकायहरू गठन भए । अन्तशुल्क विभाग गठन भयो, आन्तरिक राजस्व विभाग अस्तित्वमा आयो, भंसारलाई आधुनिक बनाउने कामहरू भए । यी सबैमा हिमालयले मिहिनेत गरेका थिए । अहिले त्यसैको जगमा नयाँ–नयाँ संरचना बनेका छन्  ।
उनलाई गज्जब लाग्ने चाहिँ कर्मचारीको तलबमान नै हो । सामान्य मेसेन्जरको मासिक १० रुपैयाँ तलब थियो भने सचिवले २ सय तलब र २ सय भत्ता गरेर महिनाको चार सय रुपैयाँ पाउँथे । राणा शासनताका आम्दानीको हिसाब किताब राख्ने मुलुकी खाना थियो भने खर्चको लेखा राख्ने काम कौषी तोपखानाले गथ्र्यो । खर्च कटाएर बाँकी रहेको आम्दानी प्रधानमन्त्री आफैँले लिने चलन थियो । जनताको पैसा अर्थात् सरकारी कोषको पैसा यसरी प्रधानमन्त्रीको खल्तीमा जान्थ्यो । अर्थ सचिवको हैसियतमा उनले ५ वर्ष काम गरे । उनकै पालामा प्रधानमन्त्रीलाई जाने रकम सरकारी कोषमा जम्मा गर्ने नियम बनाइयो । २००७ सालको परिवर्तन पछि छिटोछिटो सरकार परिवर्तन भए पनि सचिव परिवर्तन गरिएन । त्यसले गर्दा राम्रोसँग काम हुन पायो भन्ने उनलाई अझै पनि लाग्छ । ‘राजनीतिक परिवर्तन हुनेबित्तिकै प्रशासनमा परिवर्तन गर्नु राम्रो होइन,’ उनको टिप्पणी छ, ‘त्यसो गर्दा ब्युरोक्रेसीले काम गर्न सक्तैन ।’
त्यसैबेलादेखि वार्षिक बजेट ल्याउने परम्परा सुरु भयो । त्यस बेला आएका चार वटा बजेटमा उनको भूमिका अर्थ सचिवका रुपमा थियो । पहिलो बजेट अर्थमन्त्री सुवर्ण सम्सेर जारी गरे । त्यो ३ करोडको थियो । पूरै आन्तरिक स्रोतमा आधारित ।
नेपाली रुपैयाँको चलन
हिमालय अर्थ सचिव भएकै समयमा नेपाल राष्ट्र बैंक ऐन पास भयो । त्यसपछि उनको सरुवा नेपाल राष्ट्र बैंकको गर्भनरका रुपमा भयो । उनी नेपालको पहिलो गर्भनर बनाइए । ‘राष्ट्र बैंकको जग बसाउने काममा भूमिका निर्वाह गर्न पाएकोमा मलाई खुसी र गर्व लाग्छ,’ उनी भन्छन्, ‘नयाँ संस्था सिर्जना गर्ने काम सहज थिएन । म र मेरो टिम रातो दिन खट्थ्यो ।’
खटाइ नपरोस् पनि कसरी ? त्यसबेला  नेपालको तराई क्षेत्रमा नेपाली रुपैयाँ चल्दैनथ्यो, भारतीय रुपैयाँको कारोबार हुन्थ्यो । सरकारी कामकाजमा पनि भारतीय रुपैयाँ लिइन्थ्यो । भारतसँग भाषा, भेष, लवाईखवाई मिल्ने, पढाइ पनि उता जसरी नै हुने र पैसा पनि उत्तैको चल्थ्यो । त्यस्तो अवस्थामा तराईदेखि पहाडका कुनाकाप्चामा नेपाली रुपैयाँ पु¥याउन आवश्यक थियो । अप्ठेरा धेरै थिए, तीमध्ये प्रमुख अहिलेको जस्तो यातायात थिएन । न त हवाई न त सडक सुविधा नै थियो । बाकसमा पैसा राखेर काठमाडौंबाट भीमफेदी अनि त्यहाँबाट सानो रेलमा रक्सौलसम्म र रक्सौलबाट भारतीय भूमिमा रेलबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पैसा पठाउनुपथ्र्यो । त्यसलाई तोडा चलान भनिन्थ्यो । राष्ट्र बैंक स्थापना भएपछि मुलुकभर आफ्नै रुपैयाँ चलाउनुपर्छ भन्ने नीति लिएर तोडा चलान गर्ने काम त्यति सजिलो थिएन ।
काठमाडौँबाट पैसा यताउता लग्न भारतीय सहयोग चाहिन्थ्यो, त्यस्तो सहयोग नियमित र निरन्तर थियो । नेपाली रुपैयाँ मात्र चलनचल्तीमा ल्याउन दुइटा काम आवश्यक थियो । एउटा नेपाली बाहेकको पैसा नचल्ने सरकारी निर्णय र अर्को नेपाली र भारतीय रुपैयाँको विनिमय दर । विनिमय दर कसरी तोक्ने ? ‘त्यसका लागि विनियम दरको नीति तय गर्नुपर्ने सबैभन्दा महङ्खवपूर्ण काम थियो,’ हिमालय सम्झन्छन्, ‘त्यसका लागि पूर्वको इलामदेखि दार्चुलासम्मको अध्ययन आवश्यक थियो । पैसाको कारोबार कसरी भैरहेको छ भन्ने जानकारी लिन राष्ट्र बैंकले मुलुकका विभिन्न स्थानमा डिपो खोल्यो, शाखाहरू खोलिए र नेरु–भारुको कारोबार र चलन चल्तीको विवरण लिने काम गरियो । अन्त्यमा १६० नेपाली बराबर १०० भारुको विनिमय दर लागू गरियो ।’
त्यसबेला अर्थमन्त्री सुवर्ण राजा महेन्द्रसँग विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री बिपीले १०१६ चैत मसान्तका दिन सरकारी सूचना दिएका थिए । २०१७ वैशाख १ देखि नेपालभर नेपाली पैसा मात्र कारोबार गर्न पाइने व्यवस्था गरियो भने भारु साट्न पाइने बन्दोबस्त पनि गरियो । यो काम आकस्मिकजस्तै लाग्थ्यो । केही सीमितबाहेक सबै नेपालीका लागि यो खबर आश्चर्यजनक थियो । ‘सरप्राइज वर्क, लाइक स्विस वाच भनेझैँ नेपाली रुपैयाँ मुलुकभर प्रचलनमा आयो,’ त्यसबेलाको आश्चर्य आँखामा झल्काउँदै हिमालय भन्छन्, ‘नेपाली र भारतीय मुद्राको विनिमय दर अहिले पनि १६० छ । त्यसबेला अध्ययन गरेर कायम गरेको सिद्धान्त अहिले पनि अद्यावधिक छ । राजालाई खुसी पार्न र मेरो विरोध गर्नेहरूले केही समय १४५ को दररेट नराखेका होइनन् तर त्यो टिकेन ।’
हिमालयलाई अझै पनि के लाग्छ भने नेपाली रुपैयाँको प्रचलनले तराईमा नेपाली  हौँ भन्ने भावना विकसित गर्नमा ठूलो भूमिका खेलेको छ ।
हिमालयन भूल
नेपाली रुपैयाँ हिमाल, पहाड, तराई जताततै प्रचलनमा आयो । नेपाली र भारु सटहीको सहज नियमले जनतालाई समस्या परेन । राष्ट्र बैंक स्थापना भएर नेपालभर आफ्नै रुपैयाँ चल्तीमा आउनुलाई ठूलो उपलब्धि थियो त्यसबेला । ‘मैले पनि मुलुकलाई ठूलो योगदान गरेको ठानेको थिएँ तर त्यस वर्ष पदक घोषणा हुँदा मेरो नाम कतै थिएन,’ उनलाई ठेस लागेको अनुभूति बाँड्दै भने, ‘असारमा गोरखा दक्षिण बाहु घोषणा भएको थियो । मैले यत्रो ठूलो काम गरेँ भन्ने लागेका बेला आफ्नै नाम नदेख्दा नमीठो लाग्यो । मलाई लागेको थियो, म त दोसल्ला ओढाइनुपर्ने, सम्मान गरिनुपर्ने । अनि मैले प्रधानमन्त्री बिपीसमक्ष आफ्नो गुनासो राखेँ । उहाँ अचम्भित हुनुभयो र भन्नुभयो– ओहो, यो त हिमालयन भूल भयो, म सच्याउँछु । बिपीले ‘म पदक दिलाउँछु’ भन्नु भएको थियो तर राजा महेन्द्रले उनैलाई ‘कू’ गरे ।’
गर्भनर हुनेबित्तिकै विवाह
देशको अर्थतन्त्र हाँक्ने हिमालयको बिहे भने ढिला भयो । उनले प्रेम विवाह गरे । त्यस समय प्रेम विवाहलाई सामान्य मानिदैनथ्यो । वि.सं. २००६ देखि १२ सालसम्म नयाँ–नयाँ काम गर्नुपर्ने भएकाले उनी अति व्यस्त थिए । त्यसै बेला एउटा विवाह उत्सवमा विजयलक्ष्मी र उनको देखभेट भयो । एकअर्काले मन पराए  तर उनी त्यही समय ज्ञानबुद्धि हासिल गर्न फेलोसिपमा अमेरिकामा पढ्न गए, हार्वर्ड चहारे । त्यत्ताबाट फर्किएपछि उनी राष्ट्र बैंकको गर्भभर भए । अनि लगत्तै विवाह भयो । ‘मेरो विवाह बडो सामान्य तरिकाले भयो,’ बिहेको ६० वर्षपछि उनले सम्झदै भने, ‘विवाह गर्दा गहना–गुरिया केही थिएन, चार वटा सारी लगेको थिएँ । अहिले पनि कहिलेकाहीँ श्रीमतीको गुनासो हुन्छ, तामझामसँग विवाह गर्न पाइएन भनेर ।’
उनका २ जना छोरा र २ वटी छोरी छन् । छोरा अशोक राणा हिमालयन बैंकको प्रमुख कार्यकारी छन्, बुहारी चन्दा थापा वातावरण क्षेत्रमा काम गर्छिन् । कान्छा छोरा अमर राणा र बुहारी शारदा राणासँग हिमालय बसेका छन् । छोरी प्रतिमाको विवाह पृथ्वीबहादुर पाण्डेसँग भयो भने अर्की छोरी संगीताको सुनिल थापासँग । सबै छोराछोरी सक्षम भएकामा उनी सन्तुष्ट छन् ।

मेरो जेठो घर
दसैँ आउँदैछ । उनी परिवारको सबैभन्दा जेठो भएकाले सबै जना उनैकहाँ जम्मा हुन्छन् । खानपिन र रमाइलो हुन्छ । दसैँ मात्र होइन, जनै पूर्णिमा, तिहार, साउने संक्रान्ति, माघे संक्रान्तिमा सबैजसो चाडमा उनको परिवारजन भेला हुन्छ ।
उनी सानो छँदा आफन्तको घरघरमा दसैँमा टीका थाप्न जानुपथ्र्यो । उनलाई त्यस बेला पनि रमाइलो लाग्थ्यो । अहिले आफू सबैभन्दा जेठो भएकाले सबै उनीसँग टीका थाप्न आएको देख्दा अति खुसी लाग्छ । घरघर गएर टीका थाप्ने चलन हेर्दाहेर्दै हरायो । जेठो घरमा जम्मा हुने र टीका थाप्ने चलन पनि उनलाई निको लागेको छ ।
महेन्द्रको नाटक
राजा महेन्द्र आफ्ना पिता त्रिभुवनले तय गरेको प्रजातान्त्रिक बाटो अख्तियार गरेनन् । उनले २०१७ साल पुस १ गते बिपी नेतृत्वको सरकार अपदस्थ गरे । शासन आफ्नै हातमा लिए र प्रजातन्त्र ‘कू’ गरे । त्यस बेला उनी राष्ट्र बैंकको गर्भनर थिए । केही समयपछि त उनीलगायत धेरैजना बर्खास्तगीमा परे । राजाले जागिर खोसेका कतिपय बिन्तिपत्र हालेर पुनः जागिर खान थाले । उनले भने त्यसो गरेनन् । उनी लोकतन्त्रको पक्षधर भएको र विद्रोही स्वभावको भएकाले पनि त्यसो गर्न उनको मनले मानेन । गर्भनर खोसुवामा परेपछि दरबारमा सन्देश पठाउँदा भेट गर्छु, कुराकानी गर्छु भनेर जवाफ आउँथ्यो र लामो समयसम्म दरबारले अल्झाइरह्यो । गर्भनर पद खोसिएपछि उनी संयुक्त राष्ट्र संघको सेवामा जान चाहन्थे । त्यसका लागि उनले पत्राचार गरे, आवेदन दिए तर राजा महेन्द्र चाहिँ अहिले नजाऊ, पछि भेटूँला, कुरा गरुँला भनेर खबर पठाउँथे । लामो समयसम्म त्यस्तो आश्वासन आएपछि तर नौ महिनासम्म कार्यान्वयन नभएपछि संयुक्त राष्ट्रसंघको जागिर खान निस्किए । उनी जहाजमा उडेको भोलिपल्ट घरमा राजाले भेट्न चाहेको भन्दै चिठ्ठी आइपुग्यो । ‘यो सब नाटक हो, राजा महेन्द्रको,’ हिमालय सम्झन्छन्, ‘मसँग भेटघाट गर्न त्यति ठूलो कुरा हो र ? मैले त राजा त्रिभुवनसँगै रक्सी खाएको छु, नाचेको छु । राजा महेन्द्रसँग पनि राम्रै हिमचिम थियो । उनीहरु पनि हाम्रै नातागोता त हुन् ! रानी रत्न हाम्रै फुपू हुन् । यी सबै हुँदा पनि महिनौँसम्म भेट नगर्ने अनि विदेश उडेको भोलिपल्ट घरमा चिठ्ठी पठाएको नाटक गर्ने ?’
युएनको जागिरले घरजम
राष्ट्र बैंकको गर्भनर पद खोसिएपछि उनी संयुक्त राष्ट्र संघमा आबद्ध भए । विकासविद्का रुपमा उनले त्यहाँ २४ वर्ष काम गरे । त्यसबेला संयुक्त राष्ट्रसंघमा माथिल्लो तहमा पुग्ने नेपाली उनी नै थिए । उच्च अधिकारीका रुपमा उनले अफगानिस्तान, बर्मा, श्रीलंका, इन्डोनेसियाजस्ता देशमा विभिन्न पदमा काम गरे । श्रीलंकामा आवासीय प्रतिनिधि भए । उनी युएनमा आबद्ध रहेर अफगानिस्तानमा काम गर्दा राजा जाहिर खान थिए । कार्यपालिकामाथि संसद्को अनावश्यक दबाबका कारण त्यहाँ काम गर्न र गराउन निकै गाह्रो देखेका थिए । पछि राजाको सत्ता कम्युनिस्टहरूले कब्जा गरे, कम्युनिस्टहरूलाई अघि सारेर रसियाले हस्तक्षेप ग¥यो । मलाई लाग्छ, अफगानिस्तानको शासन गर्न निकै अप्ठ्यारो देश हो । कारण, त्यहाँ मुस्लिमहरूमै ठूलो जातीय विभाजन छ । पस्तुन, सिया, सुन्नीमा विभाजित उनीहरू एक आपसमा मिल्न सक्तैनन् । खासमा अफगानिस्तान एकीकरण नै हुन नसकेको उनलाई लाग्छ ।
श्रींलका त्यो समय राम्रो देश थियो । प्रजातान्त्रिक व्यवस्थामा अगाडि बढिरहेको देशमा पछि जातीय विद्रोह भयो । ठूलो धनजनको क्षति भयो तमिल आन्दोलनका कारण । अहिले श्रीलंका आफ्नै गतिमा अगाडि बढ्दैछ ।
बर्मामा काम गर्दा उनको बेग्लै अनुभव छ । बर्मेली सरकारको नीति विदेशीलाई काम गर्न नदिने थियो । संयुक्त राष्ट्रसंघलाई काम गर्न नदिने नीति त थिएर तर उनीहरूको व्यवहार काम गर्नु निकै चुनौतीपूर्ण थियो । उनी बर्मा सरुवा भएपछि संयुक्त राष्ट्रसंघले काम गर्न सक्ने वातावरण बनाए । त्यहाँ खेलेको भूमिकालाई लिएर युएनमा उनको प्रशंसासमेत भयो । काम गर्न नसकिने देशमा समेत उनले राष्ट्रसंघलाई उल्लेखनीय रुपमा विस्तार गरे । बर्मामा राम्रो काम गरेको भन्दै उनलाई ठूलो देश इन्डोनेसिया पठाइयो । त्यसपछि पाकिस्तानमा कार्यरत रहँदा जियाउल हक राष्ट्रपति थिए । उनको हत्यापछि बिग्रिएको त्यहाँको राजनीति अझै सङ्लिसकेको छैन ।
संयुक्त राष्ट्रसंघको जागिरका क्रममा विभिन्न ओहदामा विभिन्न देशहरू घुमे । सँगसँगै राम्रो आर्थिक उपार्जन पनि भयो । आर्थिक रूपमा उनी सक्षम भए । ४ वटा छोराछोरीलाई विदेशमै राम्रो शिक्षा दिन पाए । थापाथलीस्थित उनका बुबाबाट प्राप्त पुस्तैनी थलोमा संयुक्त राष्ट्रसंघमा काम गर्दा कमाएको पैसाले घर बनाए ।
अवकाश लिने सोच
युएनको जागिरपछि अवकाशप्राप्त जीवन बिताउने उनको इच्छा थियो । तर ८/९ महिनापछि नै उनलाई के गरौं, कसो गरौं खटपट हुन थाल्यो । सक्रिय जीवनपछिको अवकाश त उनलाई बोरिङ पनि हुन थाल्यो ।
गोरखा ब्रुअरी र हिमालयन बैंक
अवकाशको छोटो अवधिमै मोहन गोपाल खेतानसँग मिलेर गोर्खा बु्रअरी खोल्ने निर्णय भयो । २०४६/४७ मा गोर्खा ब्रुअरी खोलेर स्थापना भएपछि पनि मन त्यत्तिमै चित्त बुझेन । त्यसपछि ब्रुअरी छोडेर बैंक खोल्ने योजना बन्यो । ‘मेरो ग्रुप, भीमबहादुर पाण्डेको ग्रुप, नर्सिङ बहादुर श्रेष्ठको गु्रप, मोहन गोपाल खेतान समूह र पाकिस्तानको हबिब बैंक मिली हिमालयन बैंक खोल्यौँ,’ बैंक स्थापनाको कथा सुनाउँदै हिमालयले भने, ‘अहिले हिमालयन बैंक नेपालका कमर्सियल बैंकहरूमा अगुवा मध्येको बनेको छ । बंैक स्थापनापछि सुरुका ८ वर्षसम्म मैले बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेँ । अहिले म बैंकको बोर्डको प्रमुख सल्लाहकारको भूमिकामा छु ।’
बोर्ड बैठकहरुमा बेलाबेलामा भाग लिने गरेको उनले बताए ।
राजा र काग्रेसको द्वन्द्व/कांग्रेस–एमाले द्वन्द्व
नेपालको राजनीतिक क्रान्तिहरु जस–जसले मिलेर गरेका थिए, पछि ती परिवर्तनकारी शक्ति आपसी द्वन्द्वमा फँसेकाले राजनीतिक गतिरोध देखिएको र त्यसले मुलुकको आर्थिक–सामाजिक विकासमा असर पारेको उनको बुझाइ छ । २००७ सालमा राजा, कांग्रेस र भारत मिलेर यहाँको जहानियातन्त्र हटाए तर क्रान्तिपछि राजा र कांग्रेसबीच द्वन्द्व बढ्यो । राजाले कांग्रेसलाई कमजोर बनाउन खेल खेले भने कांग्रेसले पनि राजा महेन्द्रको सत्ताआकांक्षालाई सम्बोधन गर्न सकेन । राजाले कांग्रेसलाई लिएर शासन गर्नुको सट्टा टंकप्रसाद आचार्य, केआई सिंहजस्ता विकल्प रोजे । क्रान्ति गर्ने शक्तिहरू आपसमा लड्डालड्दै २०१७ सालमा प्रजातन्त्र नै खोसियो । २०१५ सालको चुनावबाट आएको बिपीको सरकारमा राम्रा मानिस थिए, मुलुकमा केही गर्नैपर्छ भन्ने अठोट देखिन्थ्यो त्यसबेला तर महङ्खवाकांक्षी राजा महेन्द्रले काम गर्न दिएनन् भन्ने उनको विश्लेषण छ ।
यस्तै २०४६ सालको आन्दोलन कांग्रेस र कम्युनिस्टले गरेका हुन् तर आन्दोलन सकिएपछि यी शक्ति मिल्न सकेनन् । आन्दोलन पछिको पहिलो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको एक महिना नपुग्दै एमालेले सदनदेखि सडकसम्म आन्दोलन गर्यो । त्यसैबेला धमिजा काण्ड, टनकपुर काण्डहरू सतहमा आए । जे गर्दा पनि आन्दोलन गर्ने परिपाटी बन्यो र यही पृष्ठभूमिमा माओवादी सशस्त्र द्वन्द्वमा मुलुक फस्यो । उनलाई लाग्छ, ‘क्रान्ति गर्ने राजनीतिक शक्ति क्रान्तिपछि पनि मिलेर अगाडि जानसक्यो भने राजनीतिक स्थायित्व हुन्छ । फलस्वरुप देशमा आर्थिक सामाजिक विकास पनि हुन्छ ।’
माओवादी आन्दोलनताका माओवादीलाई पेलेर जाने सोचहरू थिए । सशस्त्र द्वन्द्वका कारण नेपालीले राम्रोसँग दसैँतिहारजस्ता चाडबाड मनाउन पाएका थिएनन् । वार्ताबाट समाधान खोजिनुपर्छ भनेर अपिल निकाल्नेमा उनी पनि थिए । उनी सम्झँदै भन्छन्, ‘मैले त्यसबेलाका प्रधानमन्त्री, गृहमन्त्रीहरूसँग वार्ताबाट समाधान निकाल्न आग्रह गर्थें र माओवादीलाई पनि विभिन्न सूत्रमार्फत त्यस्तो अनुरोध गर्थें । सरकार र माओवादीबीच वार्ता गराउने मेरो प्रयास लामो समयसम्म सफल हुन सकेन ।’
उनले एक पटक विजय कुमारसँगको टेलिभिजन वार्ता सम्झँदै भने, ‘म र पूर्व सेनापति सच्चिद सम्सेरको कार्यक्रममा सच्चिद शम्सेर, सेनाको संख्या १ लाख २० हजार पु¥याउने र माओवादीलाई शक्तिकै बलमा ठेगान लगाउने विचार व्यक्त गर्नुभयो । मैले भने सेना लगाएर नियन्त्रण गर्दा ठूलो मानवीय र आर्थिक क्षति हुने तर्क गर्दै वार्तामा जोड दिएको थिएँ ।’
लामो समयको द्वन्द्वपछि वार्ताबाट समस्या समाधान भयो । माओवादी नेताहरू सार्वजनिक भएपछि उनीहरूले भेट्ने तेस्रो, चौथो व्यक्तिमा हिमालय सम्सेर राणा पनि थिए ।

राजा महेन्द्रले प्रजातन्त्र कू गरेपछि विथोलिएको राजनीतिको बाटो तीन वर्षअघि संविधानसभाले संविधान बनाएपछि सङ्लिन थालेको छ । अब विस्तारै मुलुकको राजनीतिले सही बाटो लिनेमा उनी विश्वस्त छन् ।


आशावादी छ समय
चुनावहरू भएपछि राजनीति अगाडि बढ्ने, आर्थिक क्रियाकलाप सहज हुने अवस्था उनी देख्छन् । हिजोजस्तै टेड युनियनका समस्या अहिले देखिएका छैनन् । अनेक सहजता थपिएको छ र पनि गणतन्त्रको व्यवस्थापन गर्दै अगाडि बढ्न अझै सजिलो नभएको हिमालयको विश्लेषण छ । उनी भन्छन्, ‘गणतन्त्र त त्रिभुवनले उसैबेला दिएका थिए, हामीले सम्हाल्न सकेनौँ । अहिले गणतन्त्र छ, संविधान छ तर बहुभाषी, बहुजातीय देशमा एकताबद्ध भएर जान थुप्रै चुनौती छन् ।’
अधिकारै अधिकारको प्रयोगात्मक संविधानले समानुपातिक चुनावी प्रणालीबारे  सोच्न आवश्यक देख्छन् उनी । समानुतिक चुनाव प्रणालीबाट देश अगाडि बढ्ने कुराको निकै कम उदाहरण देखिएका छन् । ‘यसो भनेर ९० प्रतिशत सभासदले अनुमोदन गरेर ल्याइएको संविधान फेल पार्नुपर्छ भन्ने होइन, मुलुकका समस्याहरू संविधानमै रहेर सम्बोधन गर्दै जानुपर्छ,’ उनको सुझाव छ ।
बद्लियो जमाना, बदलिनुपर्छ सोच
काठमाडौँमा मात्र परिवर्तन आएर नपुग्ने उनी देख्छन् । हुन त २००/३०० वर्षदेखि चलेका कुरा सहजै हट्दैनन् । ‘पश्चिम पहाडमा छाउपडी अहिले पनि छँदैछ, तराईमा दहेजप्रथा कायमै देखिन्छ अनि छुवाछुतका कुरा अझै सुनिदैछन्,’ देशका चुनौती गन्दै उनी भन्छन्, ‘७०/ ८० वर्षअघि जस्तो जातपातका कुरा छैनन्, ठूलो सानोको भेद पनि त्यत्ति सारो छैन तर अझै पनि मानसिकतामा परिवर्तन आवश्यक छ । आवश्यकता छ समानतामूलक समाजको, समानतामूलक शासन प्रणालीको ।’
मेधावी रोक्ने र थेग्ने नीति
नेपालमा अहिले राम्रो शिक्षादीक्षा दिने संस्थाहरू छन् । यहाँका ठूलो संख्याका स्कूल–क्याम्पसहरूले राम्रा विद्यार्थी उत्पादन गर्छन् तर राम्रा मेधावी युवा मुलुकमा बस्न नचाहेको देख्दा उनलाई उदेक लाग्छ । कतिपय विधामा विदेशमा दाम र मान पाएका नेपाली छन् । नेपाली अहिले भारत, चीनलगायत विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियतमा पुगेका छन् तर त्यस्ता विशेषज्ञ, प्रतिभाशाली, मेधावी युवालाई मुलकभित्रै काम दिने, उनीहरूलाई यहीँ बसेर काम गर्ने वातावरण बनाउने काम गर्न ढिला भइसकेको हिमालयको आकलन छ । सरकारी संयन्त्रमा राम्रो पढेलेखेका मानिसहरू जाने वातावरण बनाउने, प्रतिभाशाली नयाँ पुस्तालाई मुलकमै आकर्षित गर्ने र उनीहरूलाई थेग्ने नीतिको बनाइनुपर्ने आवश्यकता उनी देख्छन् । ‘प्रतिभाशाली नयाँ पुस्तालाई हरेक क्षेत्रमा ग्रहण गर्नसक्ने नीति अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘हाम्रो प्रशासन प्रणालीमा प्रतिभाशाली मानिसहरू आउने र काम गर्ने वातावरण बन्नुपर्दछ । यसका लागि सरकार, निजी क्षेत्र र  समग्रमा नेपाली समाज अग्रसर हुन ढिला भइसक्यो ।’

(नागरिक परिवारबाट साभार)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...