१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बढ्दै चितुवाको सन्त्रास

अर्घाखाँची-

-   २०७० साउन २८ गते साबिकको नुवाकोट गाविसका ३ वर्षीय नारायणबहादुर नेपालीको चितुवाले ज्यान लियो ।
-   २०७० असोज २२ गते घरको आँगनमा खेलिरहेका ६ वर्षीय उमेश नेपाली चितुवाको आक्रमणमा परे । खोजतलासपछि उनको शव घरमुनिको जंगलमा फेला प¥यो ।
-   २०७१ वैशाख ४ गते साबिकको किमडाँडा गाविसका डेढ वर्षीय युवराज मरासिनीलाई घरबाटै चितुवाले थुत्यो ।
-    २०७४ भदौ २७ गते सन्धिखर्क नगरपालिका भालुखोलाका ४ वर्षीय मनीष केसीको बाघको आक्रमणबाट ज्यान गयो ।
-    २०७४ असोज १६ गते प्रसन्न नेपाली पनि उसैगरी चितुवा आक्रमणमा परे । दुई दिनपछि उनको शव फेला प¥यो ।
अर्घाखाँचीमा केही वर्षयता भएका चितुवा आक्रमणका घटना हुन् यी । जिल्लाका चार स्थानमा चार वर्षभित्र चितुवाले दस बालबालिकाको ज्यान लिएको छ । सन्धिखर्क नगरपालिकाको कुर, नुवाकोट, किमडाँडा, भालुखोलामा चितुवाको बिगबिगी छ । चितुवाको आक्रमण बढेपछि स्थानीयमा सन्त्रास बढेको छ । घरबाट बाहिर सहजै निस्कन सक्ने अवस्था छैन ।

बालबालिकामाथि पटकपटक चितुवाको आक्रमण भइरहँदा जिम्मेवार निकाय भने यस विषयमा खासै गम्भीर देखिएको छैन । जिल्लामा वन्यजन्तु नियन्त्रण र वन हेरचाह गर्ने निकाय जिल्ला वन कार्यालय हो । तर कार्यालयले हालसम्म चितुवाको आक्रमणबारे कुनै समाधान गर्न खोजेको देखिन्न । सन्धिखर्क नगरपालिका कुरमा स्थानीय श्याम विकले गृह प्रशासन र जिल्ला वन कार्यालयलाई बाघ नियन्त्रणका लागि पटकपटक पहल गर्दा पनि चासो नदिएको गुनासो गरे । ‘चितुवाको सन्त्रास बढेपछि हामीले जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई धेरैपल्ट निवेदन पनि पेस ग¥यौं,’ उनले भने, ‘तर कार्यालयले यस विषयलाई गम्भीर रूपमा लिएन ।’ उनले चितुवाको आक्रमण बढेकाले बालबालिकालाई घरबाहिर र स्कुलसम्म पनि पठाउन नसकिने बताए ।
केही समयको फरकमा भएका आक्रमणमा परेका घाइतेका उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनका अनुसार चितुवाले २०७० साल साउनबाट आक्रमण गर्न सुरु गरेको थियो । ‘चितुवाले आक्रमण गर्न थालेको धेरै समय बितेको छ,’ उनले भने, ‘यसलाई तुरुन्तै नियन्त्रणमा नलिने हो भने थप घटना हुँदैनन् भन्न सकिन्न ।’ उनले आफूले प्रमुख जिल्ला अधिकारीको पद सम्हालेको केही दिनमात्रै भएकाले पनि यस विषयमा सशक्त भएर लाग्न नसकेको बताए । ‘हामीले जिल्ला वन कार्यालयलाई चितुवा नियन्त्रणका लागि पहल गरेका छौं,’ उनले भने, ‘सबै मिलेर सक्दो चाँडो चितुवा नियन्त्रणमा लिन्छौं ।’ उनका अनुसार सोमबार बेलुकी अर्को आक्रमणको घटना भएपछि मंगलबार जिल्लाको सुरक्षा क्षेत्र, प्रशासन क्षेत्र, जिल्ला वन कार्यालय र स्थानीयबीच चितुवा नियन्त्रणको उपायबार छलफल गर्न बैठक बसेको थियो । बैठकमा बल प्रयोग गरेरै भए पनि चितुवा नियन्त्रणमा लिने निर्णय भएको प्रमुख जिल्ला अघिकारीले भुसालले जानकारी दिए ।
‘चितुवा धपाउन चितवनबाट बुधबार विशेष टोली आउँदैछ,’ उनले भने, ‘अहिले जिल्लाका घना जंगलमा सयभन्दा बढी नेपाली सेना र नेपाल प्रहरी परिचालित छन् ।’
चितुवाले धेरैजसो आक्रमण बेलुकीकै समयमा गर्दै आएको छ । उक्त समयमा बाजा, झ्याली बजाउने, वनजंगल फाँड्ने जस्ता कार्य पनि भइहरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत दीपक ज्ञवालीले स्रोतसाधनको कमी र अन्य निकायको साथ नभएकाले चितुवा नियन्त्रणमा लिन कठिन भइरहेको बताए । उनले भने, ‘पछिल्लो समय लगातार भएका घटनापछि धेरैले चितुवा धपाउनुपर्छ भनिरहेकाले पनि अब छिट्टै चितुवा नियन्त्रणमा हामी लाग्छौं ।’ उनले चितुवाको बढी आक्रमण भइरहने क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।
यसैबीच चितुवा नियन्त्रणमा लिन भन्दै पीडितका आफन्तले मंगलबार केही समय जिल्ला वन कार्यालयमा तालाबन्दी गरेका थिए । नाराबाजीसहित वन कार्यालयमा उत्रिएका आफन्तले तुरुन्तै चितवन नियन्त्रणमा नलिए कार्यालय नै तोडफोड गर्ने चेतावनीसमेत दिएका थिए ।

प्रकाशित: १९ आश्विन २०७४ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App