१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘त्यो बर्बरता सम्झन पनि सक्दैनौँ’

कपन राम मन्दिर वरपर टहरैटहरा देखिन्छन् । राजधानीको विभिन्न स्थानका सुकुम्बासी टोलजस्तै लाग्ने यो बस्तीमा भने नेपाली सुकुम्बासी बस्दैनन् । त्यहाँ भेटिन्छन्, म्यान्मारबाट लखेटिएर आएका रोहिन्जा शरणार्थी ।

३६ वर्षीय मोहम्मद यैयास म्यान्मारबाट भागेर आउनेमध्ये एक हुन् । उनी करिब तीन वर्षअघि बंगलादेश हुँदै भारत छिरेका थिए । भारतीय भूमिबाट उनीहरू खुला सीमा पार गरी नेपाल आइपुगे । उनीसँग अहिले न आफ्नो भन्ने कुनै देश छ, न त कुनै मुलुकको नागरिकको परिचय नै । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसिआर)ले बनाइदिएको टहरामा उनी परिवारसहित बसेका हुन् । म्यान्मार सरकार र सरकार संरक्षित बौद्ध समुदायले अल्पसंख्यक रोहिन्जामाथि दमन गर्न थालेपछि उनको परिवार बाँच्नका लागि देशै छाडेर हिँडेको हो ।

युद्धको बर्बरतालाई नांगो आँखाले देख्ने अर्की पात्र हुन्, २८ वर्षीया साजिदा । उनको आँखाअघि कति जले, कति मरे, कति घाइते भए, उनै बताउन सक्दिनन् । गाउँमा दंगा सुरु भयो, भाग्नुको विकल्प रहेन । तीन केटीसँग उनी पनि भागिन् ।

‘गाउँमा दंगा फैलियो, आफन्त हराए, घर जलाइयो,’ उनी भन्छन्, ‘आगो सल्किरहेको गाउँबाट श्रीमती–बालबच्चा बोकेर निस्किए, भाग्दाभाग्दै अरुको साथ लागेर यहाँ आइपुगेँ ।’

युएनएचसिआरको सहयोगमा कपनमा बसेका रोहिन्जा समुदायका कथा दर्दनाक छन् । दंगाका बेला उनलाई भालाले आक्रमण गरिएको थियो । भालाले रोपिएको उनको हातमा घाउको दाग अझैसम्म देखिन्छ । ‘योबाहेक कहिल्यै निको नहुने घाउ लागेको छ,’ उनी भन्छन्, ‘आफ्नै देश छाडेर हिँड्नुपर्दा कस्तो हुन्छ, तपाईं आफैँ सोच्न सक्नुहुन्छ ।’

म्यान्मारले उनीहरूलाई कहिल्यै नागरिकको व्यवहार गरेन । नागरिकता नपाए पनि घर थियो । जग्गा–जमिन थियो । खेतीपाती गरेर बस्थे उनीहरू । ‘हामीलाई नागरिक नठाने पनि जसोतसो जीवन काटिरहेकै थियौँ,’ उनी भन्छन्, ‘तर गाउँ नै तहसनहस बनाइदिएपछि त्यहाँ बसिरहनुको औचित्य रहेन ।’

ज्यान बचाउन देश छाडेर हिँडेका उनीहरूले नेपालमा पनि खासै केही गर्न सकेका छैनन् । उनीहरूलाई युएनएचसिएले गुजाराका लागि पैसा दिने गरेको छ । तर, काठमाडौंको महँगीमा गुजारा गर्न मुस्किल छ । ‘सबै मिलेर भाडा तिरेर बसेका छौँ, काम पनि गर्न पाएका छैनौँ,’ उनी भन्छन् ।

म्यान्मारदेखि भागेर काठमाडौं आइपुगेका रोहिन्जा शरणार्थीलाई आफ्नोभन्दा बालबच्चाको भविष्यले सताएको छ । टहराका आँगनमा हाँसेर खेलिरहेका बालबालिकाको भविष्य कस्तो हुने हो, कुनै ठेगाना छैन ।

ज्यान जोगाएर भागेका लाखौँ संख्याका रोहिन्जा समुदाय भारत, बंगलादेश, मलेसिया, पाकिस्तान, थाइल्यान्ड आदि देशमा शरण लिएका छन् । नेपालमा पनि सयौँका संख्यामा छन् ।

४७ वर्षका दिल मोहम्मद दुई वर्षअघि नेपाल आएका थिए । उनको कथा पनि यैयासकै जस्तो छ । म्यान्मारबाट भागेर बाँचेका उनले भारतमा समेत चरम यातना भोगे । भारतमा गैरकानुनी रूपमा प्रवेश गर्दा उनलाई जेल हालियो । उनको परिवार नै भारतीय जेलमा दुई वर्षसम्म बस्नुप¥यो । भारतीय जेलबाट छुटेपछि उनी जसोतसो नेपाल आइपुगे । 

उनको परिवारका केही सदस्य तीन महिनाअघि मात्र नेपाल आइपुगेका छन् । ‘अरु नातेदारको अवस्था के छ भन्ने कुनै अत्तोपत्तो छैन,’ उनी भन्छन्, ‘गाउँमा एउटा घर पनि बाँकी राखेका छैनन्, कहिलेकाहीँ फर्केर जाउँजस्तो लागे पनि सम्झदा आँत सुकेर आउँछ ।’

कपन शिविरका रोहिन्जालाई नेपाल अरु मुलुकभन्दा सहज  लागेको छ  । ‘यहाँ त धेरैले राम्रै गरेका छन्,’ लामो सुस्केरा हाल्दै उनले भने, ‘म्यान्मारमा बौद्धमार्गीले यो तेरो देश होइन भन्दै लखेट्छन्, यहाँ त्यस्तो छैन,’ नेपाली बोल्न नजान्ने उनले टुटेफुटेको हिन्दीमा भने ।

उनले म्यान्मारमा आफ्नै आँखाअगाडि नवजात शिशुलाई समेत टुक्राटुक्रा पारेको र युवतीलाई बलात्कार गरेको देखे । ‘नेपालमा त त्यस्तो नहुने थाहा पाएर हामी १६ जना सँगसँगै आएका थियौँ,’ उनले भने ।

०००

केही महिनादेखि दाइ, भाउजू, श्रीमती र छोरासँग बसिरहेका ३० वर्षीया सबी आलमलाई म्यान्मार छाड्नुअघिको एउटा घटनाले सधैँ सताइरहन्छ । उनले आफ्नै छोराको उमेरका बच्चालाई जलाएर मारेको देखेका थिए । ‘मुस्लिम देख्नै हुँदैन, हामी शरणार्थी जति छौँ, सबै भाग्यले बाँचेर आएका हौँ ’ उनले भने, ‘एक स्कुलमा एक केटीलाई चक्कुले हानेर मार्दै थिए, मेरै आँखाअगाडि ।’

बल्लतल्ल उनी भारतीय सिमाना हुँदै नेपाल आइपुगे । उनका बाबु भने उतै छन् । फुपू छिन् तर उनको कुनै खबर छैन ।

बर्माको कुरा सम्झेर उनीहरू अहिलेसम्म रातभर निदाउन सक्दैनन् । यातना र चरम हिंसाबाट भाग्यले बाँचेर आएका रोहिन्जाहरू विगतबाट मुक्त हुन सकिरहेका छैनन् । दिल मोहम्मद त्यस्तै एक पात्र हुन् ।

‘नेपाल आएर अलि शान्ति मिले पनि टिक्न सकेन । सिमेन्ट बोक्ने काम गर्थें । कम्मर दुख्न थालेपछि छाडेँ,’ उनले भने, ‘डाक्टरलाई देखाउँदा मिर्गौलामा समस्या छ भन्यो । सिमेन्ट बोक्ने काम पनि छाडेँ ।’

२३ वर्षे नुर जहानले त्यस्तै आक्रोश पोखिन्, ‘मेरो देशमा यतिसम्म निच मानिस छन्, १२ वर्षीयालाई समेत बाँकी राख्दैनन् । घरबाट तानेर लैजान्छन्, बलात्कार गर्छन् र मारिदिन्छन् ।’

म्यानमारमा उनको खान पुग्ने जग्गा–जमिन थियो । अहिले उनी एउटा टहरामा बसेका छन् । उनी आफ्नो देश सम्झन्छन्, ‘त्यहाँ घृणा नै घृणा मात्र छ । मुस्लिमलाई देखिसहँदैनन् । एकजना मुस्लिमलाई पनि छोड्दैनन् । मुस्लिम परिवारमा जन्मनु नै हाम्रो अपराध भयो । भन्नका लागि त मुसलमानलाई स्वतन्त्रता दिइएको छ तर बोलीमा मात्र ।’

चरम गृहयुद्धका कारण अहिले म्यानमारले संसारभरिको ध्यान तानेको छ । नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुची चौतर्फी आलोचित बनिरहेकी छन् । म्यान्मारका रोहिन्जा समुदायका कति गाउँ जलिरहेका छन् ।

कपनको सेल्टरमा मात्रै तीन सयभन्दा बढी मुस्लिम शरणार्थीका रूपमा बसेका छन् । युएनएचसिआरले  पाँच वर्ष उमेर माथिकालाई एक वर्षको १७ हजार रुपैयाँ दिन्छ ।

म्यानमारबाट भागेर आउने अर्का पात्र हुन्, रफिक आलम । सन् २०१३ मा उनी भारतीय सिमाना हुँदै नेपाल भित्रिएका थिए  । उनको कथा केही फरक भए पनि दुःख समान छ । रफिक भन्छन्, ‘बर्मामा दश कक्षासम्म पढेँ तर केही काम भएन ।’

उनको पनि घरमा जलाइएको थियो । उनी श्रीमती र दुई छोरासहित नेपाल आएका हुन् । फोनमा आफ्नो देशको अवस्थाबारे बुझ्दा उनलाई दिक्क लाग्छ । उनीहरुलाई लिएर आउने एजेन्टलाई समातेर भारतले जेलसम्म हालेको उनले बताए ।

उनले बुबाआमा बंगलादेश आइपुगेको मात्रै थाहा पाएका छन् ।  ‘दश दिनअगाडि आतंक चरम भएपछि बुबाआमा पनि भाग्नुभएछ त्यहाँबाट,’ उनले भने ।

जंगल र समुद्रको कष्टपूूर्ण यात्रा उनले सम्झिरहन्छिन् । आर्मी पुलिस देख्दा अझै पनि उनको मन डराउँछ ।

यी शरणार्थीलाई संयुक्त राष्ट्र संघले के गर्छ भन्ने थाह छैन । तर, देश राम्रो भए फर्किनुपर्ला भन्ने आस उनीहरूलाई अझै छ । यहाँ कसैलाई शरणार्थी कार्ड नमिलेको उनीहरूको गुनासो छ । त्यसैले पनि नेपालमा कति रोहिन्जा शरणार्थी छन् भन्ने यकिन भएको छैन । 

नेपालमा शरणार्थीको सूची लामो छ । महिला र पुरुष बराबर छन् । बच्चाबच्ची र महिला सबैभन्दा पीडित छन् । भनिन्छ, युद्धमा सबैभन्दा पहिले क्षति हुने बालबालिकाको अबोधपन हो । यहाँ पनि त्यस्तै छ । त्यस्तै, युद्धमा दोस्रो सबैभन्दा प्रभावित हुने महिला हुन् । २५ वर्षीया उमेरिया बेगम श्रीमान्, दुई बच्चा र एक आफ्नी बहिनीसँग भाग्दै थिइन् । सिमानामा एक प्रहरीले उनकी बहिनीलाई जबर्जस्ती तानेर लगे र बलात्कार गरे । ‘उनको अहिलेसम्म केही अत्तोपत्तो छैन,’ उनले भनिन् । अहिले उनकी बहिनी कहाँ छिन्, उनलाई केही खबर छैन । आत्मसम्मान हराए पनि ज्यान हराइसकेको थिएन । बेगमलाई न त माइतीबारे केही थाह छ, न त नातेदारबारे । बेगम नेपाल आएर बसेको चार महिना भयोे ।

युद्धको बर्बरतालाई नांगो आँखाले देख्ने अर्की पात्र हुन्, २८ वर्षीया साजिदा । उनको आँखाअघि कति जले, कति मरे, कति घाइते भए, उनै बताउन सक्दिनन् । गाउँमा दंगा सुरु भयो, भाग्नुको विकल्प रहेन । तीन केटीसँग उनी पनि भागिन् । तीनमध्ये एकको सिमानानजिक आउँदा खुट्टा भाँचियो । ‘अर्की केटीलाई मेरो आँखाअगाडि नै जिउँदै जलाइदिए । म आफ्नो बच्चा च्याँपेर बल्लबल्ल ज्यान बचाएर भागेँ,’ उनी भन्छिन्, ‘जिउभर घाउ भएको छ । के भएको थाह छैन । खुट्टा भाँचिएकी केटी कहाँ गइन्, त्यो पनि थाह छैन ।’

उनी दुई महिनादेखि शरणार्थी शिविरमा दिन गुजारिरहेकी छन् । उनका श्रीमान् कहीँ काम खोज्न जान्छन् तर पैसा पाँउदैनन् । अहिले शिविरमा पानी बिजुली सबै भाडा तिर्नुपर्छ । खाना पनि एक छाक खाएर गुजारा गरिरहेको उनी सुनाउँछिन् ।

दुई छोरा र एउटी छोरी लिएर उनीहरू जसोतसो बसेका छन् । उनको सानिमाका छोराहरूलाई उनकै आँखाअघि गोली हानेर हत्या गरियो । उनका धेरै नातेदार यसैगरी मारिए । कति नातेदार अपांग भएका छन् । उनीहरू न भाग्न सक्छन्, न त बसिरहन । ‘हामीलाई पनि ज्यानको र बालबच्चाको माया छ,’ उनले रुँदै सुनाइन्, ‘जमिन थियो, खेतीपाती गथ्र्यौं, जसोतसो जीवन चलिरहेकै थियो, अहिले यसरी बस्नुपरेको छ ।’ उनीहरूले हाँस्न पनि बिर्सिसकेका छन् । बर्माको आतंक आँखाभरि नाच्छ । रातमा निद्रा लाग्दैन । साजिदाले खोलातिर देखाउँदै भनिन्, ‘अहिले पनि प्रहरी आर्मीको भेषमा यहाँ आइपुग्यो भने हाम्रो मुटु काम्न थाल्छ ।’

शिविरमा बस्नेलाई आफ्नो देशप्रति घृणा मात्र होइन, आफ्नो ज्यानको पछि पर्नेलाई आक्रोश पोखिरहन्छन् । २३ वर्षे नुर जहानले त्यस्तै आक्रोश पोखिन् । ‘मेरो देशमा यतिसम्म निच मानिस छन्, १२ वर्षीयालाई समेत बाँकी राख्दैनन् । घरबाट तानेर लैजान्छन्, बलात्कार गर्छन् र मारिदिन्छन् ।’ केटी मात्र होइन, केटालाई पनि लगेर घाँटी काटेर मार्ने गरेको उनले बताइन् । 

‘हामी त उनीहरूका लागि कीरा–फट्यांग्राजस्ता हौँ । बच्चालाई टुक्रा–टुक्रा पारेको यहीँ आँखाले देखेकी छु । बूढाबूढी, बच्चाको के दोष छ र यसरी मार्नुपर्ने ? हाम्रो के दोष छ ?’ उनी प्रश्न गर्छिन् ।  अहिले सम्झँदा उनी आँसु थाम्न पनि सक्दिनन् । ‘सम्झँदा त आँसु आएको छ, त्यहाँ हाम्रो हालत के थियो होला ? आफैँ अनुमान गर्नुस्,’ उनले भनिन्, ‘रोहिन्जा पढ्न जान नपाउने, बाहिर कतै जान नपाउने, बाहिर निस्क्यो भने फर्केर घर आइन्छ वा आइन्न केही थाह हुँदैनथ्यो । राति आर्मी आउँथे । कुट्थे ।’

उनकी आफ्नै नन्द त्यसै गरी बेपत्ता भइन् । कहाँ गइन् केही थाह छैन । नन्दको सासूससुरा सबै मारिए । दुई बच्चा थिए तर बच्चासहित उनी बेपत्ता छन् । ९० वर्षीया पनि बेपत्ता छन् । ‘मेरा श्रीमान्का मामालाई काटेर फालिदिए । उहाँको परिवार कहाँ छ, दुइटा भाइ कहाँ छन्, केही थाह छैन,’ उनले भनिन्  ।

सबै आफ्नो ज्यान बचाएर भागेका हुन् । ‘आमाको हातमा बच्चा देख्यो भने पनि थुतेर लैजान्थे । अनि, आमालाई बलात्कार गर्थे, अनि पेट्रोल छर्केर जलाइदिन्थे । यो सबै मैले आफ्नै देखेकी छु,’ उनले भनिन् ।

साजिदालाई अहिले मानसिक पीडा छ । उताको यादले धेरै सताउँछ । एक्लै बस्दा आत्तिन्छिन् । ‘बच्चाले समेत त्यस्ता घटना देखेका छन्, उनीहरूको दिमागमा के असर परेको होला ?’ उनले भनिन्, ‘हामी पाकाले त सपनामा पनि मरेका लास र शरीरका टुक्रा देख्छौँ !’

प्रकाशित: २१ आश्विन २०७४ ०४:०५ शनिबार

त्यो बर्बरता सम्झन सक्दैनौँ