केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

बिहिबार, २६ असोज २०७४, ११ : १९ देवेन्द्र बस्नेत


दाङ- स्थानीय तह निर्वाचनताका विभिन्न दलहरूबीच भएको चुनावी तालमेलले राजनीतिक वृत्तमा तरंग ल्यायो । प्रमुख दलहरू कुनै न कुनै दलसँग साँठगाँठ गरेर महानगरपालिकादेखि वडा तहसम्मको नेतृत्वका लागि चुनावमा होमिए । पार्टी सिद्धान्त र विचार फरक भए पनि कार्यकर्तालाई जबरजस्ती एकढिक्का बनाउने दलीय प्रयास पूर्णतः विफल देखियो ।

गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’

जसको प्रतिबिम्बन मतपरिणामबाट भयो ।  चितवनको भरतपुर महानगरपालिमा कांग्रेस–माओवादी गठबन्धनको कठिन परिस्थिति होओस् वा एमाले राप्रपाको गठबन्धन बनेको काठमाडौं महानगरपालिकामा एमालेले प्रमुखमा जित्नु र उपप्रमुखमा राप्रपाले झन्डै दोब्बर मतले हार्नु यसका बलिया दृष्टान्त हुन् । त्यतिमात्रै हैन, राप्तीकै पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्युठानमा भएका दर्जनभन्दा बढी तालमेल पनि सफल हुन सकेनन् । यी जिल्लामा माओवादी– कांग्रेस, कांग्रेस–एमाले, माओवादी–एमालेबीच तालमेल भएको थियो ।  
सल्यान कांग्रेसका एक नेताले तालमेल विफल भएपछि प्रतिक्रिया दिएका थिए, ‘यो तालमेलले विगतका लागि गतिलो पाठ सिकायो, हामीहरू ले ठूलै गल्ती गरेछौं ।’  
स्थानीय तह निर्वाचनको त्यो परिणामले प्रस्ट पा¥यो कि शीर्ष नेताहरू मिल्दैमा स्थानीय तहका कार्यकर्ताले फरक दलका व्यक्तिलाई नेता मान्न चाहँदैनन् ।’ पार्टी नेताबाट नभई मतदाता आफ्नै विवेकबाट सञ्चालित हुन्छन् भन्ने उदाहरण पनि यो निर्वाचन परिणामले देखाइदियो । विश्लेषक विनोद पोख्रेल भन्छन्, ‘मस्तिष्कमा कुनै व्यक्तिलाई नेता मानिरहेका कार्यकर्ताले अपर्झट अर्को व्यक्तिलाई नेता मान्न सक्दैनन, यो ध्रुव सत्य कुरा हो । यहाँ विफल भएको तालमेलको प्रमुख कारण पनि त्यही नै हो ।’
स्थानीय तह निर्वाचनपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा पनि अहिले देशको राजनीतिक वृत्त तालमेलको झनै चर्को रापले तातेको छ । एकातिर आसन्न निर्वाचनका लागि वाम तालमेललाई बलियो शक्तिका रूपमा आकलन गरिएको छ भने यो शक्तिको ‘काउन्टर’ मा लोकतान्त्रिक गठबन्धनलाई उभ्याइँदैछ ।
पार्टी एकताको प्रारम्भिक चरणका रूपमा हेरिएका अहिलेको तालमेलले पनि उही आशंका जन्माएको छ, ‘यो कतिसम्म सम्भव छ ?’ गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भोट हालुँ ?,’ माओवादीका एक स्थानीय कार्यकर्ताले भने, ‘बरु भोटै हाल्नु नपरोस् ।’ एमालेका कार्यकर्ताबाट उस्तै धारणा आउँछ, ‘हँसिया हथौडा मेरो पार्टीको चुनाव चिह्न हैन भने मैले कसरी फरक पार्टीलाई भोट हाल्ने ?’ केन्द्रीय तहबाट भएको वाम तालमेललाई जिल्ला तहका नेताले सहज वा बाध्यकारी अवस्थामा स्वीकार गरे पनि तल्लो तहका कार्यकर्ताले भने यसलाई स्वाभाविक मानेका छैनन् । स्थानीय तह निर्वाचनमा दाङमा हाबी भएको एमाले अब हुने निर्वाचनका लागि माओवादीसँग मिल्न जानु दुखद भएको टिप्पणी स्थानीय कार्यकर्ताले गर्ने गरेका छन् । ‘स्थानीय तह निर्वाचनमा धेरै सिट जितेको पार्टीले अब हुने निर्वाचनमा जित्न सक्दैनथ्यो र ?,’ एक कार्यकर्ताले भने, ‘आफ्नो सहज जित हेर्न खोजेर अरूसँग तालमेल गर्न केही जरुरी थियो ?’ पार्टी एकीकरणको प्रारम्भिक चरणका रूपमा अहिलेको चुनावी तालमेललाई नेतृत्व तहले उल्लेख गरेको भए पनि कार्यकर्ता तहमा नेतृत्वप्रति नै पत्यार छैन । न त उम्मेदवारका आकांक्षी नै गठबन्धनमा समाहित फरक दलबाट भोट पाइनेमा विश्वस्त नै छन् । प्रदेशसभाको उम्मेदवारका आकांक्षी एमालेका एक नेताले प्रत्यक्ष वा समानुपातिक कसरी उम्मेदवार बन्नेमा अनभिज्ञ रहेको सुनाए । ‘प्रत्यक्षतर्फ चुनाव लड्दा तालमेलको सपोर्ट पूरै पाइन्छ भन्ने ग्यारेन्टी के ?,’ उनले नागरिकसँग भने, ‘आफू सुरक्षित हुनका लागि पनि समानुपातिकमा जाने कि भन्ने योजना बनाएको छु ।’  यद्यपि स्थानीय तहमा एमालेको पक्षमा पहिलो मतपरिणाम आएको दाङमा तेस्रो शक्ति माओवादीसँग गठबन्धन हुनुले वाम गठबन्धनको विजय सुनिश्चित नै हो । तर, गठबन्धन बने पनि फरक दलबाट पूरै सहयोग पाइएला भन्नेमा नेताहरू समेत विश्वस्त छैनन् ।  
प्रतिनिधिसभा सदस्यका लागि तीन निर्वाचन क्षेत्र भएको दाङमा वाम गठबन्धनको प्रभाव सकारात्मक बन्ने वा नबन्नेमा झनै ठूलो आशंका देखिएको छ । यहाँको मुख्य केन्द्रका रूपमा रहेको दुई नम्बर निर्वाचन क्षेत्रले जिल्लाभर नै वाम तालमेलको प्रभाव सकारात्मक वा नकारात्मक भन्ने निर्धारण गर्ने देखिएको छ । यो चुनावी क्षेत्र माओवादी नेता कृष्णबहादुर महराको रोजाइको क्षेत्र हो भने एमाले नेता शंकर पोख्रेल आफ्नो यो पुरानो क्षेत्रबाट कुनै पनि हालतमा बाहिरिने मनस्थितिमा छैनन् । यसले चुनावी परिणाममा असर पर्ने एमाले कित्ताबाट आवाज आउन थालेको छ । अहिले यी दुई नेताहरूबीच यो क्षेत्रको टिकटका लागि रस्साकस्सी नै चलेको छ । ‘यहाँको दुई नम्बर चुनावी क्षेत्रकै कुरा गर्ने हो भने टिकटको यत्रो प्रतिस्पर्धा चलिरहेका बेला एकले अर्कोलाई कसरी सहयोग गर्न सक्छन् ?,’ विश्लेषक पोख्रेल भन्छन्, ‘अहिलेको वाम तालमेलको नतिजा हेर्न अन्यत्र कतै जानु पर्दैन, दुई नम्बर क्षेत्रकै परिणामले यसको यथार्थ देखाइदिने छ ।’ एउटा निर्वाचन क्षेत्रमा मात्रै हुने अन्तरघातले जिल्लाभर नै प्रभाव राख्ने उनको बुझाइ छ ।
त्यसो त केही दिनअघि घोराहीमा भएको एक कार्यक्रममा एमाले नेता पोख्रेलले दिएको अभिव्यक्तिलाई लिएर माओवादीभित्रै केही चिसो पसेको छ । विभिन्न आन्दोलनबाट विफल हुँदै आएको माओवादी एमालेमा सामेल बन्न आइपुगेको अभिव्यक्ति दिएको भन्दै माओवादी कित्ताबाट पोख्रेलको आलोचना भएको थियो । पोख्र्रेलको त्यही भनाइप्रति लक्षित गर्दै महराले समेत सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए । ‘एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको चुनावी तालमेल र ध्रुवीकरणको अर्थ एमालेकरण वा माओवादीकरण वा एक अर्कामा विलय नभई देशमा समाजवाद स्थापना गर्ने उद्देश्यमा आधारित महाअभियान हो,’ महराले फेसबुकमा लेखेका छन् । उनले ध्रुवीकरणमा आएकाहरूले आफ्नो पुरानै आधारमा नसोच्न सुझावसमेत दिएका छन् ।  
गठबन्धनका दलहरूले उम्मेदवार चयनले तालमेलको प्रभाव निर्धारण गर्ने बताउँछन् । माओवादी केन्द्रका स्थानीय नेताहरूले उम्मेदवार चयनपछि तालमेलको उपलब्धि निर्धारण हुने भएकाले अहिले नै तालमेलको नतिजाका बारेमा भन्न नसकिने बताउँछन् । ‘उम्मेदवारको सेटिङ कसरी मिलाउने भन्ने प्रमुख कुरा हो,’ माओवादी नेता निर्मल आचार्यले भने, ‘यसले निर्वाचनको प्रभाव निर्धारण गर्नेछ ।’ उम्म्मेदवार चयन सही ढंगले हुन सके कम्युनिस्ट सिद्धान्त सबै एकै ठाउँमा उभिने पनि उनले दाबी गरे । माओवादीले दुई नम्बर क्षेत्रमा नेता महराले नै टिकट पाउनु पर्नेमा जोड दिइरहेको छ । तर, पोख्रेल आफ्नो क्षेत्र दुई नम्बरबाहेकबाट निर्वाचन नलड्ने एमालेको धारणाले पनि यो निर्वाचनमा वाम तालमेलको प्रभाव सकारात्मक नहुने आकलन गरिएको छ ।   
वाम गठबन्धन हुनुपूर्व यी दुई दलले एकले अर्कोलाई ‘विद्रोही’ का रूपमा हेर्ने शैलीले पनि यो निर्वाचनमा प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । वाम गठवन्धन हुनुपूर्व भएको कडा आरोपप्रत्यारोप भोगेका कार्यकर्ताहरूमा एकले अर्कालाई हेर्ने दृष्टिकोण निकै नकारात्मक बन्यो ।  ‘विगतमा दुई दलबीच तिक्तता अत्यधिक भयो, कार्यकर्ताले एकले अर्कोलाई दुश्मनकै नजरले हेर्ने वातावरण बनिदियो,’ वाम विश्लेषक सुशील गौतम भन्छन्, ‘अहिले गठबन्धनपश्चात् पनि त्यो मनोभावको अन्त्य भैसकेको छैन तर निर्वाचन अवधिसम्म एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा फेरबदल हुन सक्ने बलियो सम्भावना पनि रहन्छ ।’ भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेसले सुरुमा सहयोग नगरेको माओवादीलाई निर्वाचनका बेलामा सहयोग गरेको स्मरण गराउँदै उनले थपे, ‘आक्रोश र असन्तुष्टि मत्थर हुँदै जाने कुरा हो ।’ तर, लामो समयदेखि केन्द्रका नेताहरूले कार्यकर्ता तहमा स्थापित मानसिकता तोड्न त्यति सहज नरहेको गौतमको टिप्पणी छ । ‘कि त कार्यकर्ता पंक्तिलाई विगतका कुरा बिर्साउँदै नयाँ गठबन्धनका बारेमा तयार पार्न सक्नुपथ्र्यो,’ उनले भने, ‘माथिका नेताहरु मिल्दैमा तल्लो तहका कार्यकर्ता पनि यसैमा सहमत हुन्छन् भन्ने विश्वास गर्न सकिँदैन ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...

विप्लवको ‘अभिजित’

कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११...