१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक दशकमा चार हजार सात सयलाई स्तन क्यान्सर

भरतपुर-  भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्याङ्क अनुसार देशभरका विभिन्न सातवटा अस्पतालमा यो अवधिमा क्यान्सर लागेर उपचारका लागि आउने विरामीको संख्या चार हजार ७२९ रहेको छ ।

यो संख्या भरतपुर क्यान्सर अस्पतालसहित धरानको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौंको बिर अस्पताल, महाराजगञ्जको त्रिबि शिक्षण अस्पताल, कान्ती बालअस्पताल र पोखराको मनिपाल शिक्षण अस्पतालमा समेत उपचार गराउन आएका विरामीको पनि हो । अहिले थप पाँचवटा सहित १२ अस्पतालको तथ्याङ्क राख्न थालिएको छ ।

                सन् २००३ मा सातवटै अस्पतालमा गरेर स्तनक्यान्सर हुने विरामीहरु २८४ जना थिए । त्यसपछि क्रमशः बढ्दो अवस्थामा नै रहेको बिरामीको संख्या सन् २०१२ मा ६६२ पुगेको थियो । एक दशकमा क्यान्सरका कुल ५६ हजार १३ बिरामी फेला पर्दा स्तन क्यानसर हुनेहरु मात्रै आठ दशमलब चार प्रतिशत अर्थात चार हजार ७२९ पुगे ।

                सन् २०१४ मा स्तन क्यान्सर भएर उपचारका लागि देशको मुख्य अस्पताल पुगेका विरामीहरुको संख्या ८४८ रहेको छ। माथिका पुराना सातसहित थप पाँचवटा नयाँ अस्पताल बिरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, परोपकार अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका विरामीहरुको समेत संख्या यसमा जोडिएको छ ।

सन् २०१४ मा कुल १२ अस्पतालमा उपचारका लागि नौ हजार ३६ जना क्यान्सर रोगीहरु पुगेका थिए । स्तन क्यान्सर हुने विरामीको प्रतिशत नौ दशमल ३८ रहेको प्रधानाङ्गले जानकारी दिए । सन् २०१५ मा भरतपुर क्यान्सर अस्पतालमा मात्रै उपचार गराएका स्तन क्यान्सरको बिरामीको संख्या चार सय १४ थियो । कुल क्यान्सरका विरामीमध्ये यो संख्या नौ प्रतिशत रहेको उनले बताए ।

पत्ता लगाउन सजिलो, उपचार पनि सहज

आमा, दिदी, बिहिनी, छोरी वा नजिकको नातेदारहरुमा स्तन क्यान्सर देखिएको छ भने त्यस्ता व्यक्तिलाई स्तनक्यान्सर हुने सम्भावना बढी हुन्छ । ३० वर्षपछि बच्चा जन्माउने महिलाहरु, बच्चा नजन्माएका महिलाहरु, स्तनपान नगराउने महिलाहरु, स्तनमा पहिलादेखि नै गाँठा, गुँठी वा पुराना समस्याहरु भएका तथा एउटा स्तनमा क्यान्सर भएका महिलाहरुलाई पनि अर्को स्तनमा क्यानस्र हुने खतरा प्रवल रहने चिकित्सक डा. विश्वराम पौडेलले बताए।

                यस्तो अवस्था रहेका महिलाहरु विषेश सर्तक रहनु पर्ने हुन्छ । स्तनमा गिर्खा फेला पर्नु, आकार परिवर्तन हुनु, रगत वा पीप मिसिएको दुध निस्कनु, स्तनको छालाको रंग सुन्तालाको सुकेको बोक्रा झै हुनु, स्तनको मुन्टो गाडिनु, स्तनमा आएको घाउ लामो समयसम्म निको नहुनु भनेको स्तन क्यान्सरका लक्षणहरु भएको डा.पौडेलले बताए ।

                ‘सुरुकै अवस्थामा उपचारका लागि आए स्तन क्यान्सर मात्रै होइन सवै क्यान्सर पुर्ण निको हुने गर्छ । तर हामीकोमा दोस्रो वा तेस्रो अवस्थामा पुगेपछि मात्रै उपचार गराउन आउनेहरु धेरै छन्’ डा.पोडेलले भने । आफ्नो स्तनको आफैले परीक्षण गरेर पनि क्यान्सरको सम्भावनालाई बेलैमा पत्ता लगाउन सकिन्छ ।

डा.पौडेलका अनुसार महिनावारी भएको सात दिनपछि महिलाले स्तन हेरेर र छामेर स्थनमा भएको गिर्खा र परिवर्तनका बारेमा थाहा पाइ राखे रोग पत्ता लगाउन सहज हुन्छ । गिर्खा भेटेमा वा स्तनको रंग र अवस्था अस्वभाविक रुपमा परिवर्तन भएमा स्वास्थ्य संस्थामा जानु पर्ने हुन्छ ।

                स्तन क्यान्सर उपचारमा संलग्न चिकित्सक डा.विश्वराम पौडेलका अनुसार यो रोगले ४० वर्षभन्दा माथि ५०/५५ उमेरसम्मका व्यक्तिलाई बढी सताएको छ । सो अस्पताला सन् २०१५ मा उपचार गराउन आएका स्तन क्यान्सरका विरामीको तथ्याङ्क हेर्दा १९ वर्षभन्दा कम र ९० वर्षभन्दा बढीका उपचारका लागि आउनेमा एकजना पनि छैनन् ।

पुरुषलाई पनि स्तन क्यानसर

                स्तन क्यान्सर महिलालाई मात्रै नभएर पुरुषलाई पनि हुन्छ । महिलालाई जस्तै देखिने लक्षणहरु पुरुषलाई पनि देखा पर्छन्। पुरुषको काखीमा गिर्खा देखिएमा पनि स्तन क्यानसरको सम्भावना रहन्छ । त्यसैले महिला मात्रै नभएर पुरुषहरु पनि यो विषयमा सजग हुनु पर्ने डा.विश्वराम पौडेलले बताए । ‘पुरुषहरु पनि ज्यादै नै दुख्यो भन्दै छटपटी दै आउँछन् । उनीहरुलाई स्तन क्यान्सर भइसकेको हुन्छ’ पौडेलले भने।

                वीपी कोइरला मेमोरियल क्यानसर अस्पतालमा सन् २०१५ मा स्तनक्यान्सर भएकामध्ये २९९ जनाको शल्यक्रिया भएको थियो । जमिध्ये चारजना पुरुषहरु रहेको डा.पौडेलले जानकारी दिए । सो अस्पतालको स्तनक्यान्सर युनिटको बहिरंग विभागमा परीक्षणका लागि आठ हजार २८२ जना आएका थिए । जसमध्ये १९८ जना पुरुषहरु रहेका थिए।

 

 

 

प्रकाशित: २८ आश्विन २०७४ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App