१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अण्डा खान मान्दैनन् युवती

चितवन- कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । विश्व अण्डा दिवसका दिन शुक्रबार भरतपुरमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।
‘खास गरेर १७ देखि २५ सम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । कसै कसैका बाबुआमाले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइ दिनुप¥यो भन्नुहुन्छ । निकै प्रष्टसँग फाइदाका बारेमा कुरा राखेपछि एकाध बल्ल तयार हुन्छन्,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षसमेत रहेका चिकित्सक डा. भोजराज अधिकारीले भने ।
यो उमेरका युवायुवतीलाई अण्डाले झन निकै फाइदा गर्छ । ‘तर मोटाइन्छ भन्ने त्रासले खाँदैनन् । बरु खाएमा मोटाइने चटपट, चाउचाउ लगायत फास्टफुड खाँदै हिँडेको देखिन्छ तर शरीरलाई फाइदा गर्ने अण्डा खान नमान्ने रहेछन्,’ डा. अधिकारीले भने । यो उमेरका युवायुवतीलाई अण्डा खादा हुने फाइदाका बारेमा बmुभाए उपभोग बढ्ने उनले बताए ।
‘अण्डामा काब्रोहाइड्रेड नहुने होइन, हुन्छ तर बोसो बढाउने काब्रोहाईड्रेट हुँदो रहेनछ,’ डा. अधिकारीले भने । त्यस्तै अण्डामा हुने प्रोटिन र हाम्रो शरीरमा हुने प्रोटिन मिल्ने भएकाले अण्डा खानु फाइदाजनक भएको उनले बताए । त्यस्तै हाम्रो शरीरलाई चाहिने तर शरीरभित्र नबन्ने १० वटा अमाइनो एसिड पनि अण्डामा हुने उनले बताए ।
अण्डामा फाइने प्रोटिनमा कोलिन भन्ने तत्व हुने र यसले दिमागलाई राम्रो गर्ने उनले बताए । अण्डाको पहेलो भागमा फ्याट अर्थात चिल्लो पदार्थ हुने भएपनि यसले शरीरलाई र खास गरेर मुटु र रक्तसञ्चारलाई फाइदा गर्ने डा. अधिकारीले जानकारी दिए । उसिनेको अण्डा खानु निकै हितकर हुने उनले बताए ।
अण्डा फुटाएर लामो समय राखेमा त्यसमा संक्रमण हुने खतरा रहने डा. अधिकारीको भनाइ थियो । त्यसैले शरीर र स्वास्थ्यका लागि घातक मानिने अन्य परजीवीको संक्रमण नहोस भन्नका लागि अण्डा उसिनेर खानु राम्रो हुने उनले बताए । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कार्यक्रम आयोजना गरेको थियो ।
संघका महासचिव त्रिलोचन कँडेलका अनुसार सन् १९९६ मा भियनामा सम्पन्न अन्तर्राष्ट्रिय एग कमिसनको सम्मेलनले हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार अण्डा दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा भने यो वर्ष नै पहिलोपटक अण्डा दिवसको औपचारिक कार्यक्रम आयोजना भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए ।
नेपालमा हाल दैनिक २१ लाख गोटा अण्डा उत्पादन हुने गरेको अध्यक्ष केसीले जानकारी दिए । तीन वर्षअघि दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुन्थ्यो । नेपालमा खपत हुने अण्डा नेपालमै उत्पादन हुन्छ । बाहिरबाट ल्याउनु पर्दैन ।
‘हामी यो व्यवसायमा आत्मनिर्भर छौं । उपभोग बढाउन सक्ने सम्भावना पनि प्रशस्तै छ । त्यसैले दिवस मनाएर चेतना बढाउँन खोज्दै छौं,’ अध्यक्ष केसीले भने । नेपालमा प्रतिव्यक्ति ४३ वटा अण्डा उपभोग हुने तथ्यांक छ । विश्वमा तीन सय ३५ गोटाभन्दा धेरै अण्डा उपभोग हुने गरेको छ । त्यसैले खपत बढाउन विविध योजना बन्नुपर्ने अध्यक्ष केसीले बताए ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App