१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवारी दर्ता उत्साहपूर्ण

काठमाडौं- संघीय संसद् तथा प्रदेशसभाका लागि हिमाली र पहाडका ३२ जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि विभिन्न राजनीतिक दलले नाराजुलुस र बाजागाजासहित उम्मेदवारी दर्ता गराए ।
चिसो बढेपछि चुनाव गराउन कठिन हुने भन्दै निर्वाचन आयोगले हिमाली तथा पहाडी जिल्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव गराउन लागेको हो ।  
पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दल र स्वतन्त्र गरी ३ सय २० जनाले उम्मेदवारी दर्ता गराएको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिए । त्यसैगरी प्रदेशसभाका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । ‘अबेरसम्म प्रारम्भिक सूचना मात्रै प्राप्त भएको छ । पूर्ण विवरण भोलि (सोमबार) मात्रै दिन सकिन्छ,’ ढकालले भने ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी रहेका छन् । त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले वामपन्थी गठबन्धन बनाएका छन् । केही जिल्लामा पार्टीका आधिकारिकविरुद्ध विद्रोहीले उम्मेदवारी दिएका छन् ।
मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न निर्वाचन हुनेछ । दोस्रो चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सिटका लागि चुनाव हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया असोज २९ गतेबाटै सुरु भइसकेको छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्षतर्फ र १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था छ । सात प्रदेशसभामा प्रत्यक्षतर्फबाट ३ सय ३० र समानुपातिकतर्फबाट २ सय २० सदस्य निर्वाचित हुनेछन् ।
आयोगले उम्मेदवारी दर्ता गर्दा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपमा विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट दिएको छ । पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही क्षेत्रका मतदाता हुनुपर्ने व्यवस्था रहेका छ ।

‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आज (आइतबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण र राजनीतिक दलको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ’, निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘यसबाट सार्वभौम संघीय संसद् र प्रदेशसभा निर्माण प्रक्रिया सुरु भएको छ । पहिलो चरणका लागि आवश्यक मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।’
पहिलो चरणमा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङमा निर्वाचन हुनेछ । त्यसैगरी प्रदेश ३ का रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ, प्रदेश ४ को गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, बाग्लुङ, म्याग्दी, प्रदेश पाँचका पूर्वी रुकुम र रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा तथा प्रदेश ७ का चार जिल्लाका दार्चुला, बझाङ, बाजुरा र बैतडी पनि पहिलो चरणमा निर्वाचन हुनेछ ।
जिल्लास्थित निर्वाचन कार्यालयहरूले आइतबार नै उम्मेदवारको नाम प्रकाशित गरेका छन् । सोमबार उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, मंगलबार मनोनयनपत्र र उजुरीमा जाँचबुझ गरी निर्णय गर्ने, बुधबार उम्मेदवारको नामावली प्रकाशन  गर्ने, बिहीबार उम्मेदवारी फिर्ता लिने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रकाशित: ६ कार्तिक २०७४ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App