१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तनावले बढाउँदै सडक दुर्घटना

काठमाडाैँ – पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै ।
मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडकछेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिषद्का प्रहरी निरीक्षक सीताराम हाछेथूले भने। 

‘देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् । सोध्दा एक्कासि अँध्यारो देखें भन्छन्,’ उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने । कतिपयको कारण देखिँदैन, अनुसन्धान गरेमात्र पत्ता लाग्न सक्ने खनाल बताउँछन् । ‘यसबारेमा मनस्थितिको अध्ययन भएको छैन तर मानसिक तनाव या उच्च रक्तचापको कारणले दुर्घटना भएको देखिन्छ,’ उनले भने। 

पछिल्लो समय तनाव, कानमा जडान गरेका मोबाइल ब्लुटुथ, बढी सिसीका मोटरसाइकल सडक दुर्घटनाका मूल कारण हुन् ।

चालक तनावमा देखिने, कसैको उच्चरक्तचाप भएर बेहोस हुने र कोही भने छारे रोगले बेहोस हुनाले दुर्घटना भएको देखिएको  प्रहरी उपरीक्षक हाछेथूले बताए । ‘बाटो राम्रै हुन्छ, एक्कासि बिजुलीको खम्बामा पुगेर ठोक्किएको हुन्छ, यस्ता दुर्घटनामा चालक बेहोस भएको पाइन्छ,’ हाछेथूले भने। 

उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले यस्ता ट्राफिक प्रहरीले सीधै वस्तुगत कमजोरीमात्र खोज्ने भएकाले यस्ता दुर्घटनाको तथ्यांक विश्लेषण हुन नसकेको बताउँछन् । ‘दुर्घटना भइसकेको हुन्छ, हामी तत्कालै घाइतेलाई छिटो उपचार गर्न लैजान्छौं, त्यति बेला कारण सोध्नतिर लाग्दैनौं,’ प्रवक्ता रञ्जितकारले भने । उपकरणले नापजाँच गरेर पत्ता लाग्ने गल्तीको तथ्यांक ट्राफिकले राख्ने गरेको उनले बताए । ‘यस्ता दुर्घटना चालकको लापरबाहीभित्र परेका हुन सक्छन्,’ उनले भने, ‘हामी दुर्घटनालाई वस्तुगतरूपमा मात्र हेरेका हुन्छौं।’ 

सडकमा ट्राफिकलाई छल्न सिधै कानमा जडान गरेका मोबाइल ब्लुटुथ, बढी सिसीका मोटरसाइकल सडक दुर्घटनामा नयाँ कारण हुन् । यस्ता दुर्घटनामा पर्नेमा सार्वजनिकभन्दा निजी सवारीसाधन बढी छन्।

उपत्यका ट्राफिक कार्यालय महाशाखाको डेढ वर्षको तथ्यांकमा कार र मोटरसाइकलको दुर्घटना संख्या बढी देखिन्छ । २०७३ वैशाखदेखि २०७४ असोज मसान्तसम्म पाँच हजार दुई सय ६७ कार तथा जिप दुर्घटना भएका छन् । सोही अवधिमा दुर्घटना भएका सवारीसाधनमध्ये मोटरसाइकल दोस्रो स्थानमा देखिएको छ । मोटरसाइकल दुर्घटनाको संख्या पाँच हजार तीन सय ५२ छ । सोही अवधिमा चालकको लापरबाहीका कारण भएको दुर्घटना संख्या आठ हजार तीन सय ४२ देखिन्छ । महाशाखाको तथ्यांकअनुसार प्रति दुई दिनमा उपत्यकामा सवारीदुर्घटनाका कारण मृत्यु हुन्छ । 
ट्राफिक प्रहरीले तनाव, रोग या मोबाइल डिभाइस, तीव्र गति र कच्चा चालकलाई लापरबाहीको दुर्घटनाभित्र समावेश गरेको छ । ‘हामीले त्यस्ता दुर्घटनाको लागि छुट्टै तथ्यांक तयार पारेका छैनौं, त्यस्ता दुर्घटना लापरबाहीभित्रै पर्छन्,’ महाशाखा प्रमुख खनालले भने। 

मानिसको जीवनशैली फेरिएका कारण राति अबेरसम्म नसुत्ने र बिहान हतारहतार उठ्ने, प्रतिस्पर्धी जीवनशैली, उच्च रक्तचाप भएका व्यक्तिले सवारीसाधन चलाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ । ‘आँखा सडकमा हुन्छ भने मन व्यापार, घरझगडा, बेवास्ता गरेकी पे्रमिकामा हुन्छ, त्यही बेला दुर्घटना भइसकेको हुन्छ’, प्रहरी निरीक्षक हाछेथूले भने। 

तनाव सहन नसकेकै बेला यस्ता दुर्घटना तथा अन्य गल्ती हुने मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी बताउँछन् । उनले भने, ‘दुव्र्यसनी, डिपे्रसन, चिन्ताका मनोरोगीले तनाव सहन नसकेका बेला दुर्घटना हुन सक्छ ।’ यस्ता समस्या भएका व्यक्तिलाई सवारीसाधन चलाउन नदिएर दुर्घटनाबाट बचाउन सकिने हाछेथू सुझाव दिन्छन् । ‘पहिला उपचारमा लैजाने, सामान्य अवस्थामा फर्केपछि मात्र सवारीसाधन चलाउन दिने,’ हाछेथूले भने । त्योभन्दा बढी आफ्नै जीवनशैली सामान्य बनाउनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । 

प्रकाशित: ११ कार्तिक २०७४ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App