१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

अन्तरपार्टी महिला सञ्जालद्वारा राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन । तस्बिर :नागरिक

काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचनमा ठूला दलहरुले नै ऐनअनुसार महिला उम्मेदवार नदिएकामा अन्तरपार्टी महिला सञ्जालले आपत्ति जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले सो आपत्ति जनाएको हो। 

नेपालको सशस्त्र युुद्ध र जनआन्दोलनमा महिलाको सक्रिय भूमिका रहेको, संविधान तथा ऐनमा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था भए पनि दलहरू ऐनविपरीत उभिएको सञ्जालले जनाएको छ । ‘सञ्जालले निरन्तर सचेत गराए पनि ठूला पार्टीले बेवास्ता गरेका छन् । पहिलो चरणको निर्वाचनको मनोनयन दर्तामा महिलाको संख्या अत्यन्त कम छ,’ सञ्जालकी महासचिव यशोदा सुवेदीले भनिन्। 

स्थानीय तहमा ५० प्रतिशत, प्रदेशसभामा ४० र प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलले उदासीनता देखाएको सञ्जालको ठहर छ। 

पत्रकार सम्मेलनमा सञ्जालका सबै पदाधिकारी पार्टीहरूप्रति आक्रोशित देखिए । प्रत्यक्ष निर्वाचनमा महिलाका बीचमै प्रतिस्पर्धा गराएर महिलाको जित सुनिश्चत गर्न सकिनेमा पार्टीले हार्ने क्षेत्रबाट मात्र महिलालाई उम्मेदवार बनाएको उनीहरूले आरोप लगाए । ‘दलहरूले स्थानीय तह चुनावमा पनि लुप होलबाटै महिला सहभागिता घटाए,’ सुवेदीले भनिन्, ‘बाघ र बाख्राबीच प्रतिस्पर्धा भएको छ।’ 

स्थानीय तहमा ५० प्रतिशत, प्रदेशसभामा ४० र प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दलले उदासीनता देखाएको सञ्जालको ठहर छ। 

ती दुवै तहका निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवार बन्नै नचाहेको राजनीतिक दलको प्रस्टीकरणप्रति पनि सञ्जालको आपत्ति छ । महिलाको सहभागिता सुनिश्चित गर्न महिलामात्रै उम्मेदवार हुने गरी निर्वाचन क्षेत्र तोकिनुपर्ने सञ्जाल पदाधिकारीहरूको भनाइ छ । दलहरूले प्रत्यक्षबाट महिला आउन नसकेको सिट प्रतिशत समानुपातिकबाटै भए पनि पूर्ति गर्नुपर्ने उनीहरूको आग्रह छ। 

सञ्जालका पदाधिकारीहरूले ती निर्वाचनमा महिला सहभागिता सुनिश्चित हुने गरी उम्मेदवार छनोट नगरिए चुनाव बहिष्कारसम्मको आन्दोलन गरिने चेतावनी दिए। 

संविधानको धारा ४२ उपधारा (१) मा  समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा महिला सहभागिता सुनिश्चित गरेको छ । पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा कांगे्रसबाट २, एमालेबाट २, माओवादी केन्द्रबाट ३, राष्ट्रिय जनता पार्टीबाट २, संघीय समाजवादी फोरमबाट २, नयाँ शक्तिबाट २ र साना दलबाट एक–एक जनाको दरले ८ गरी जम्मा १८ जना महिला उम्मेदवार छन् । जुन कुल संख्याको ५ प्रतिशतमात्र हो। 

प्रकाशित: ११ कार्तिक २०७४ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App