१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छोटिँदो पदमार्ग

झण्डै १० वर्षअघि अन्नपूर्ण राउन्ड ट्रेकिङ रुटको यात्रा गर्न तीन हप्ता लाग्थ्यो । त्यतिबेला पर्यटकलाई यो रुटको यात्रा गराउन तीन हप्ता लागेको ट्रेकिङ गाइड सर्की शेर्पा सम्झन्छन् । अहिले भने उनी त्यो यात्रा १० दिनमै पूरा गराइदिन्छन् । 
त्यसको एउटै कारण हो– पदमार्ग पछ्याउँदै सडक निर्माण गरिनुु । सडक निर्माणसँगै पदमार्ग मासिँदै गएका छन् । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा देखिएको सर्कीको अनुभव छ । ‘पहिला तीन हप्ता लाग्ने रुटमा अहिले डेढ हप्तामात्रै लाग्ने गर्छ,’ सर्कीले भने, ‘अर्को ग्रुप आए घुमायो नत्र त्यतिकै बस्नुपर्छ ।’

पहिला अन्नपूर्ण राउन्ड ट्रेकिङ रुट लमजुङको बेसीसहरबाट सुुरु हुन्थ्यो । अहिले मनाङको चामेसम्मै गाडी पुग्छ । पर्यटक पनि त्यही गाडी पछ्याउँदै चामे पुग्छन् । त्यसपछि मात्रै ट्रेकिङ सुरुवात गर्छन् । यसले सबैभन्दा बढी असर कामदारमा पर्ने गरेको सर्कीले बताए ।

‘सडक पुगेपछि पर्यटक हिँड्नै मान्दैनन्,’ अर्का टे«किङ गाइड वाङ्दा शेर्पा भन्छन्, ‘गाडीमा गएपछि त टे«किङ दिन घट्ने नै भयो । यसले पर्यटकको बसाई र खर्च पनि त घट्यो नि ।’ उनका अनुसार सडक बनेपछि अन्नपूर्ण मात्रै होइन, अन्य रुटको पनि दूरी छोटिएको छ । यसले पदयात्रा गराउने कामदार, पत्रमार्ग आसपासका व्यापारी मारमा परेको वाङ्दाको बुझाइ छ ।

सडक बनेपछि अन्नपूर्ण मात्रै होइन, अन्य रुटको पनि दूरी छोटिएको छ । यसले पदयात्रा गराउने कामदार, पत्रमार्ग आसपासका व्यापारी मारमा परेको वाङ्दाको बुझाइ छ ।  

सडक बनेपछि यो रुट धेरै छोटिएको छ । ट्रेकिङ एजिन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव कर्ण लामाका अनुसार अन्य रुटमा पनि सडकले प्रभाव पारे पनि अन्नपूर्ण रुटको जस्तो छैन । ‘सडकले अन्नपूर्णको त सबै रुटको पदयात्रा समय घटाइदिएको छ,’ उनले भने, ‘सडक पुगेपछि धुलो, फोहोर पनि पदयात्रामा उतिकै बढेको छ । व्यवसायमा असर त पर्ने नै भयो ।’ उनका अनुसार सडक डिजाइन सही तरिकाले नगरेकाले पदयात्रा रुटमा समस्या भएको हो । ‘सडक डिजाइन गर्दै पदमार्ग रुट ख्याल गरिएको भए समस्या हुँदैनथ्यो,’ उनले भने, ‘पदयात्रालाई पछ्याउँदै सडक खनेपछि रुट मासिनुका साथै धुलो, फोहोर भएको हो ।’

सडककै बनेपछि छोटिएको अर्काे रुट हो– एभरेस्ट ट्रेकिङ रुट । दोलखाको जिरीबाट सगरमाथा आधार शिविरको यात्रा तय हुन्थ्यो । अहिले रामेछापको शिवालयबाट यात्रा तय हुन्छ । तर, एभरेस्ट ट्रेकिङमा जाने अधिकांश पर्यटक लुक्लासम्म हवाई यात्रा र त्यसपछि पदयात्रा गर्छन् ।

पदमार्गमा सडक बनेपछि पदयात्रा आसपासका होटेल व्यवसायमा पनि असर देखिएको छ। धेरै होटल व्यवसायी विस्थापित भएका छन् । यसले पर्यटकको बसाई अवधि पनि घट्दै गएको टानकै प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ बताउँछन् । ‘सडक निर्माणले स्थानीयको जीवनशैली सहज भए पनि रोजीरोटीमा समस्या देखिएको छ,’ उनी भन्छन्, ‘त्यसैले अन्नपूर्ण क्षेत्रका व्यवसायी र स्थानीयले सडक आवश्यक नभएको भन्न थालेका छन्।’ 

पदयात्रा घटेर पर्यटकको नेपाल बसाई अवधि छोटिने तथा व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउने सम्भावना देखेपछि टानले त्यसलाई रोक्न भूमिका खेलिरहेको जनाएको छ । ‘विकास निर्माण रोक्ने अर्थात सडक बनाउन हुँदैन भन्न त मिल्दैन,’ टानका महासचिव लामाले भने, ‘तर, हामीले पर्यटकको बसाई लम्बाउन त्यहाँ पर्यटकीय गतिविधि बढाउन सक्छौं ।’ यसो गरेको खण्डमा पर्यटकीय व्यवसाय पनि सञ्चालन गर्न सकिने टानको अनुमान छ । त्यसैले टानले स्थानीय संघसंस्था तथा सरकारसँग मिलेर सडकले खुम्चाएका पदयात्रा आसपासमा क्यानोनिङ, होमस्टेलगायत पर्यटकीय गतिविधि सञ्चालन अघि बढाएको लामाले जानकारी दिए। 

प्रकाशित: ११ कार्तिक २०७४ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App