१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लालकिशोरको लामो राजनीतिक अनुभव

आफ्ना निकटतम प्रतिद्वन्द्विसँग दस हजार बढी मतान्तरले विजयी भएपछि जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले ठूलो राजनीतिक जितको अनुभव महसुस गरे । जब सपथ ग्रहण गरी कार्यभार सम्हाल्न पुगे अनि दस वर्षदेखि निरन्तर जारी रहेको राजनीतिक यात्रामा अल्पविराम लागेको सम्झना भयो । अहिले राजनीतिभन्दा नगर क्षेत्रको विकासमा परिवर्तन देखाउने चुनौतीले उनी आफू चेपिन पुगेको अनुभव गरिरहेका छन् ।
विद्यार्थीकालदेखि सक्रिय राजनीतिमा लागेका उनले दस वर्षअघि कांग्रेस छाडेर मधेस आन्दोलनमा होमिए । त्यसयता आन्दोलन हाँक्दै एक दसक बितेपछि उनी आन्दोलन–राजनीतिमै अभ्यस्त हुन पुगे । पछिल्लो स्थानीय निर्वाचनले नगर प्रमुखको पदीय जिम्मेवारी पाएपछि राजनीतिक यात्राको ट्र्याक परिवर्तन भएको उनी सुनाउँछन् ।
त्यसो त प्रजातन्त्र पुनर्बहालीपछि भएको पहिलो स्थानीय निर्वाचनबाट पनि लालकिशोर जनकपुर नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए । त्यसबेलाको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा काम गर्दाको अनुभव फरक पाएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘त्यसबेला कर्मचारीमा इमान्दारिता थियो । जनतामा संयमता थियो र युवा वर्गमा अनुशासन थियो ।’ अहिले भने कर्मचारी छाडा भएको र समाजका युवावर्ग कुलतमा फँसेको देखेर निकै चिन्ता लागिरहेको उनले बताए ।
मेयर निर्वाचित भएपछि साहले आफ्नो पहिलो प्राथमिकता जनकपुरलाई ‘जनकपुरधाम’ बनाउनु रहेको सुनाए । ‘जनकपुरलाई जनकपुरधाम बनाएर सोही अनुरुपको धार्मिक, ऐतिहासिक धरोहरको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने जरुरी छ,’ उनले भने । तर ‘धाम’ नामाकरण गर्नुअघि जनकपुरको सफाइ र सौन्दर्य क्षेत्रमा समान्य परिवर्तन ल्याउनै पर्ने र सोही कार्यमा लागिरहेको साहले बताए ।
उपमहानगर पालिकाकी उपमेयर रीता झाले २० वर्षसम्म जनप्रतिनिधि नभएर नगरपालिका ‘नरकपालिका’ मा रुपान्तर भएको बताउँछिन् । ‘नगरपालिकामा चुनौतीका चाङ छन्,’ उपमेयर झा भन्छिन्, ‘नयाँ संरचना र फेरिएको नियम कानुनबारे कतिपय जिम्मेवारीबारे हामी आफैँलाई पनि थाहा छैन ।’ उपमेयरको अधिकार क्षेत्रबारे इन्टरनेटबाट खोजीखोजी अध्ययन गरिरहेको बताउँदै उनले गर्नुपर्ने काम र नीति नियमबारे सिक्न केही महिना लाग्ने उल्लेख गरिन् ।
दुई दसकपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदा जनतामा परिवर्तनको ठूलो अपेक्षा रहेको तर सोअनुसार तत्कालै काम नहुँदा असन्तुष्टि पनि व्याप्त रहेको झाको बुझाइ छ । ‘जनताले तत्कालै परिवर्तन देख्न चाहन्छन् तर काम गर्नेक्रममा धेरै चुनौती र स्पष्ट ऐन, कानुनको अभावले ढिला हुनु स्वभाविक हो,’ उनी भन्छिन् ।

जनताको चाहना विकास
राजनीतिक हिसाबले उर्वर भूमि मानिएको जनकपुर विकास निर्माणको क्षेत्रमा भने निकै पछि परेको छ । राजनीतिक फाइदा लिन जस्तोसुकै हर्कत देखाउन तयार हुने नेताहरुको विकासप्रति उदासिनताकै कारण यहाँका मतदाता कहिल्यै स्थिर बस्न नसकेको पछिल्ला निर्वाचनका परिणामले देखाएका छन् । दलीय संगठनको हिसाबले नेपाली कांग्रेस मजबुत रहे पनि पछिल्लो एक दसकदेखि कांग्रेसले निरन्तर हार व्यहोर्नु परिरहेको पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
२०६४ सालमा भएको प्रथम संविधान सभाको निर्वाचनमा तात्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सञ्जय साहले चुनाव जिते । निकटतम प्रतिद्वन्द्वि एमालेका रघुवीर महासेठ भए भने कांग्रेसकी लीला कोइराला धेरै पछि परिन् । २०७० को चुनावमा पार्टी फेरेर सद्भावनाको प्रतिनिधि भए पनि सञ्जय साहले नै जिते । निकटतम प्रतिद्वन्द्वि कांग्रेसका रामसरोज यादव भए, एमालेका श्रीप्रसाद साह निकै पछि परे ।
भर्खरै सम्पन्न स्थानीय चुनावमा राजपाका लालकिशोर साह फराकिलो मतान्तरले विजयी भए । यस पटक पुनः कांग्रेस निकटतम प्रतिद्वन्द्विका रुपमा रह्यो । यी तीनवटै चुनावको नतिजाले जनकपुर क्षेत्रमा दललाई भन्दा उम्मेदवारको व्यक्तित्वलाई मतदान गरिरहेको देखिन्छ ।
तर ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानलाई चरितार्थ गर्ने नेताहरुले जनताको चाहनाअनुरुप कहिले काम गर्न सकेका छैनन् या गर्न चाहेका छैनन् । जहिले पनि विकासकै मुद्दा देखाएर राजनीतिक रोटी सेक्ने नेताहरुले विकास भइदिए आफ्नो मुद्दा नै हराउने संकीर्ण सोचका साथ प्रस्तुत हुने गरेको आरोप स्थानीयको छ ।
‘अहिलेकै चुनाव र त्यसपछिको अवस्था हेर्नुस्,’ जनकपुरका युवा अगुवा दीपेन्द्र ठाकुर भन्छन्, ‘चुनावका बेला रातारात जनकपुरलाई स्वर्ग बनाउने वाचा गर्दै प्रचारप्रसारमा कस्सिएका नेताहरु आज कता गए ?’ जितेकाले पाँच वर्षका लागि ढुक्क भएको ठानेको र हारेकाले जनताले नै भोट नदिएपछि किन चिन्ता गरिराख्ने भन्ने सोचले ग्रस्त रहेको आरोप उनको छ ।

एजेन्डा पुरानै तर जाँगर चलेन
जनकपुरका नवनिर्वाचित मेयर लालकिशोर साहले चुनावी प्रचारको क्रममा उठाएकै एजेन्डा अहिले पनि प्राथमिकतामा रहेको दाबी गर्छन् तर किन विकास कार्यले गति लिन सकेन भन्ने जिज्ञासामा उनी काम गर्ने बेला थरिथरिका बाधा अवरोधले जाँगर नै सुस्त बनाइदिएको बताउँछन् ।
जनकपुरको जीर्ण सडकलाई मर्मत सम्भार गर्ने, ढल निकासको उचित बन्दोबस्त मिलाउने, लामखुट्टे नियन्त्रण गर्ने र सडक फराकिलो तथा नगर सौन्दर्यीकरणका कार्य अहिले पनि आफ्नो प्राथमिकतामा रहेको उनी बताउँछन् । यसका लागि आफू निरन्तर सक्रिय रहेको दाबी गर्दै उनले वर्षौंदेखि अलपत्र नगरलाई व्यवस्थित गर्न केही समय लाग्ने चलनचल्तीकै जवाफ पर्काए ।
लामो राजनीतिक संक्रमण र लगातार दस वर्षसम्म भएको मधेस आन्दोलनले स्थानीय निकाय दुरावस्थामा पुगेको उल्लेख गर्दै उनले कर्मचारीतन्त्र, नगरबासी सर्वसधारण र युवा तथा बौद्धिक वर्गबीच अन्तक्र्रियाको माध्यमले समाजलाई सुशासनको बाटोमा अग्रसर गराउनुपर्ने प्रमुख आवश्यक्ता भएको बताए । यसका लागि उनले सबै पक्ष र निकायसँग सहयोगको अपिल पनि गरे ।

को हुन् मेयर लालकिशोर
२०१५ साल माघ २ गते महोत्तरी, मटिहानी ८ मा जन्मेका लालकिशोर साह पलट साह र सियादेवीका चार छोरा र तीन छोरी मध्येका कान्छा छोरा हुन् । उनले कक्षा १ देखि ७ सम्म भारत, बिहारको सीतामढीस्थित शिशु विकास अंग्रेजी विद्यालयमा अध्ययन गरे । ८ देखि १० कक्षासम्म महोत्तरी, जलेश्वरस्थित लचमुमो उच्च माविमा अध्ययन गरेका साह स्नातकसम्मको पढाइ जनकपुरको राराब क्याम्पसबाट पूरा गरे ।
प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत रहँदा नै नेविसंघको इकाइ सभापति भएका उनी त्यहीँबाट राजनीतिक यात्रा सुरु गरे । २०२९ सालमा नयाँ शिक्षा योजनाविरुद्ध भएको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका उनी त्यसयता विभिन्न आन्दोलनमा सहभागी हुँदै जनकपुर उपमहानगर पालिकाको मेयर पदमा निर्वाचित भएका हुन् ।
२०४९ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछिको पहिलो स्थानीय निर्वाचनमा पार्टीले टिकट नदिएपछि कांग्रेसको बागी उम्मेदवारका रुपमा उनले जनकपुर नगरपालिकाको उपमेयर पदमा निर्वाचित भए । नगरको उपमेयर छँदै नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष भएका उनी २०६४ सालसम्म सोही पदमा रहेर कांग्रेसको सिपाहीको रुपमा काम गरे । त्यसबीचमा २०५४ को निर्वाचनमा पुनः बागी भएरै जनकपुर नगरपालिकाको मेयर पदमा लडे । तर कांग्रेसकै अर्का बागी उम्मेदवार बजरंगप्रसाद साहसँग पराजित भए ।
साह २०३३, २०३६ र २०४२ को आन्दोलनमा गरी पटक पटक पक्राउ परी पाँच वर्षसम्म कैदी जीवन बिताएका हुन् । २०६२/६३ को दोस्रो जनआन्दोलन र २०६४ को पहिलो मधेस आन्दोलनमा टे«ेड युनियन कांग्रेसकै झण्डा बोकेर सक्रियता देखाएका उनले पहिलो संविधानसभा निर्वाचनताका  सद्भावना पार्टीमा प्रवेश गरेका थिए । त्यसयता सद्भावना र अन्य मधेसवादी दलहरु दर्जनौँ टुक्रामा विभाजित भए पनि सद्भावना संस्थापन पक्षमै अडेका साह पछिल्लो स्थानीय तहको निर्वाचनमा राजपा नेपालबाट जनकपुरको मेयर निर्वाचित भएका हुन् ।
एक दसकसम्म चलेको मधेस आन्दोलन तराई–मधेसका जिल्लाहरुमा ग्रामीण भेगमा खासै प्रभाव कायम राख्न सकेन । केही जिल्लाका सदरमुकामसहित जनकपुर क्षेत्रमा मधेस आन्दोलन जहिले पनि केन्द्रित भइरह्यो । यसले मतदातामा मधेसी दलप्रति एकप्रकारको लगाव जोडेर राखेको थियो भने प्रतिस्पर्धी दलहरुबाट तुलनात्मक रुपमा कम राजनीतिक अनुभव भएका र कान्छा उम्मेदवारलाई अघि सारिएकाले पनि साहलाई अत्यधिक मतान्तरले विजयी हुन सहयोग पुगेको स्थानीयको आँकलन छ ।
जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि २५ वर्षअघि नै उपमेयर भइसकेका साहलाई राजपाले उम्मेदवार बनाउँदा कांग्रेसले पार्टीकै कनिष्ठ नेता जनकपुर नगरका सभापति मनोज साह, एमालेले जिल्ला कृषि सेवा कार्यालयका अधिकृत लक्ष्मीनारायण भगत, माओवादीले खासै सक्रिय नरहने शेखर साह, संघीय फोरमले हार्डवेयर व्यवसाय सञ्चालन गर्ने र आन्दोलनमा सक्रियता देखाएका विष्णुदेव साहलाई उम्मेदवार बनाएका थिए । उमेर, राजनीतिक अनुभव र विगतको राजनीतिक क्रियाशीलता आधारमा खासै लोकप्रियता आर्जन गर्न नसकेका उम्मेदवारबीच साह अधिकांश मतदाताको रोजाइमा परे ।

प्रकाशित: १६ कार्तिक २०७४ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App