१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

ढुंगा ओछ्याइयो, अरु काम शून्य

पुरातात्विक महत्त्वका मन्दिर, पाटी, देवल, सत्तल र घाट लथालिंग देखिन्छन् । केही सम्पदा पूर्णरूपमा भत्किएका छन्, केही ढल्नै लागेका छन् । जताततै फोहोर र दुर्गन्ध छ भने ढल पनि अस्तव्यस्त देखिन्छ। 

टेकुस्थित बाग्मती–विष्णुमती दोभानदेखि थापाथली कालमोचन घाटसम्मको अवस्था हो यो । काठमाडौं महानगरपालिकाको योजनाअनुसार काम भएको भए अहिले यो क्षेत्र सफासुग्घर मात्र हुने थिएन, पर्यटकीय केन्द्र बनिसकेको हुने थियो । करिब साढे दुई किलोमिटर लामो सडक रहेको यस क्षेत्रमा छुट्टै पैदलमार्ग र साइकल लेन, अपांगमैत्री संरचना, चौतारी, व्यायामस्थल, फुटबल मैदान र आकर्षक मन्दिर बनिसकेका हुने थिए । 
महानगरले तीन वर्षअघि यस सडकखण्डलाई सम्पदामार्ग (हेरिटेज वाक–वे) बनाउने योजना अघि सारेको थियो । त्यसबेला सम्पदामार्गको ‘डिजाइन’समेत सार्वजनिक गरेको महानगरले योजनाको पूर्ण कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रको रूप फेरिनुको साटो अझ बिग्रँदै गएको छ । ०७१ भदौमा महानगरपालिकाले सम्पदामार्गको अवधारणा अघि बढाएको हो। 

काठमाडौं महानगरपालिकाको योजनाअनुसार काम भएको भए अहिले यो क्षेत्र सफासुग्घर मात्र हुने थिएन, पर्यटकीय केन्द्र बनिसकेको हुने थियो । करिब साढे दुई किलोमिटर लामो सडक रहेको यस क्षेत्रमा छुट्टै पैदलमार्ग र साइकल लेन, अपांगमैत्री संरचना, चौतारी, व्यायामस्थल, फुटबल मैदान र आकर्षक मन्दिर बनिसकेका हुने थिए । 

पुराना सम्पदा संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न र स्वच्छ क्षेत्र निर्माणका लागि भन्दै महानगरले योजना अघि बढाएको थियो । एक वर्षभित्रै सम्पदामार्ग निर्माण गरिसक्ने योजना अघि बढाइएको भए पनि विभिन्न कारण काम गर्न नसकेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की स्विकार्छन् । ‘विविध कारण काम गर्न नसके पनि सम्पदामार्गको योजना प्राथमिकतामै छ,’ उनले भने। 

सम्पदामार्गको योजना अघि बढाइएको क्षेत्रमा ढुंगा ओछ्याउने कार्य भने सकिएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा प्रस्तावित सम्पदामार्गमा ढुंगा ओछ्याइएको हो । ढुंगा ओछ्याउन मात्र करिब ६ करोड रुपैयाँ खर्च भएको महानगर आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरज शाक्यले बताए।

महानगरले यस क्षेत्रमा छुट्टै पैदलमार्ग, साइकल लेन, ह्विलचेयर गुडाउन मिल्ने बाटो, थकाइ मार्ने चौतारी, व्यायामस्थल, फुटबल मैदान र मन्दिर बनाउने गरी डिजाइन तयार पारेको छ । सम्पदामार्गको घाट व्यवस्थित गर्दै त्यस क्षेत्रका ग्यास डिपो, कार्पेट सोरुम, मोटरसाइकल वर्कसप लगायतलाई अन्यत्र सार्ने योजना महानगरको छ । ढल व्यवस्थापन र सौर्यबत्ती जडान गर्ने र यो क्षेत्रलाई नै वातावरणमैत्री स्थानका रूपमा विकास गर्ने महानगरको योजनामा उल्लेख छ । तर, महानगरले अघि बढाएको योजना कार्यान्वयन हुन सकेको छैन।  

प्रस्तावित सम्पदा क्षेत्रमा पुराना घाट, मन्दिर, पाटी, देवल, सत्तल तथा हिन्दू र बौद्ध समुदायका मठ–मन्दिर छन् । सम्पदा संरक्षण गर्दै योजना कार्यान्वयन गर्न सके सर्वसाधारण हिँडडुल र आराम गर्न यसै क्षेत्रमा आउन सक्नेछन् । यसैगरी, यो क्षेत्र सम्पदा अध्ययनका लागि पनि महŒवपूर्ण हुनुका साथै पाटन–काठमाडौं जोड्ने माध्यम समेत बन्नेछ। 

‘सम्पदामार्ग बनाउनु अत्यन्तै आवश्यक छ,’ प्रवक्ता कार्कीले भने, ‘यसको महत्त्व धेरै रहेकाले महानगरले जसरी पनि योजना अघि बढाउनेछ ।’ पुराना सम्पदा संरक्षण र बाग्मती आसपास पैदलमार्ग बनाउन सम्पदामार्ग निर्माणको अवधारणा ल्याइएको उनले बताए। 

महानगर सम्पदा प्रमुख अर्चना शाक्य सम्पदामार्ग बनाउने योजना अघि सारिए पनि बजेटको व्यवस्था नहुँदा समस्या भएको बताउँछिन् । प्रवक्ता कार्की भने यसका लागि छुट्टै बजेट व्यवस्था नगरिए पनि सम्पदाका लागि छुट्ट्याइएको बजेटबाटै काम अघि बढाउने दाबी गर्छन्। 

उनका अनुसार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य पनि सम्पदामार्ग निर्माणमा सकरात्मक छन् । यद्यपि जनप्रतिनिधि आएपछि भने कर्मचारीले बनाएको डिजाइन फरक हुन सक्ने कार्कीको अनुमान छ ।
‘यसअघि जनप्रतिनिधि नहुँदा सम्पदामार्ग ओझेलमा परिरहेको थियो,’ कार्की भन्छन्, ‘जनप्रतिनिधि आइसकेको अवस्थामा अब सम्पदामार्गको निर्माण रोकिँदैन ।’ उनी यसै आर्थिक वर्षभित्र सम्पदामार्गले रूप लिने बताउँछन् । 
सम्पदामार्ग निर्माणका लागि टेकु दोभान–कालमोचन घाट संरक्षण तथा प्रवद्र्धन समिति गठन भएको थियो । समितिका संयोजक हिरालाल तण्डुकार थिए । उनी अहिले प्रस्तावित सम्पदामार्ग  रहेको क्षेत्र समेत पर्ने काठमाडौं महानगरपालिका– ११ का वडाध्यक्ष भएका छन् । ‘सम्पदामार्गको विकासबारे मैले पहिल्यैदेखि चासो देखाउँदै आएको हुँ,’ अध्यक्ष तण्डुकारले भने, ‘सबैजनाले चासो नदिँदा सम्पदामार्ग बनाउन ढिलाइ भएको हो।’ 

प्रस्तावित सम्पदामार्ग क्षेत्रमा सन् १८६८ मा जंगबहादुर राणाले आफ्ना पत्नीहरूको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर समेत पर्छ । जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको इतिहासकारको दाबी छ। 

यसै क्षेत्रमा जंगबहादुरले बनाएका तीन आश्रम पनि छन् । महानगरका अनुसार दाजु जंगबहादुर युरोप भ्रमणमा जाँदा राजकाज सम्हालेका बमबहादुरले बनाएको शिव मन्दिर, पचली भैरवको मन्दिर पनि यसै क्षेत्रमा छ । ऐतिहासिक सम्पदाको स्वरुपलाई जस्ताको तस्तै राखेर सम्पदामार्ग बनाउनुपर्ने चुनौती महानगरलाई छ।

प्रकाशित: १९ कार्तिक २०७४ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App