१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानको टेलिभिजनमा हमला

आतंकवादी आक्रमणपछि संसद टेलिभिजनको परिसरबाट सुरक्षित रुपमा उद्दार गर्दै अफगान सुरक्षाकर्मी । तस्बिर : एजेन्सी

बुल– अफगानिस्तानको राजधानी काबुको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी संसद टेलिभिजन स्टेशनमा प्रहरीको भेषमा आएका बन्दुकधारीहरुले मंगलबार आक्रमण गर्दा हमलाकारी सहित पाँच जनाको मृत्यु भएको छ।

मृतकमा सुरक्षा गार्ड, एक जना महिला कामदार र दुई आक्रमणकारी रहेको बताइएको छ । मृतक एक जनाको भने पहिचान खुल्न नसकेको बताइएको छ । आक्रमणमा २१ जना अन्य घाइते भएका बताइएको छ । घाइतेमध्ये केही सञ्चारकर्मी तथा चारजना बारुद नियन्त्रण अधिकारी रहेका अफगान प्रहरीले एक वक्तव्य जारी गरी जानकारी गराएको छ।

‘‘यो सञ्चारमाध्यमको स्वतन्त्रतामाथिको आक्रमण हो । तर उनीहरुले हामीलाई चुप गराउन सक्दैनन्’’

प्रहरीको भेषमा आएको आक्रमणकारीले टेलिभिजनको भवनमा शरण लिई सुरक्षाकर्मीको संकट व्यवस्थापन एकाईका अधिकारीमाथिसमेत आक्रमण गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। 

आक्रमणको सूचना पाएलगत्तै घटनास्थल पुगेको सुरक्षाकर्मीको समूहले करिब तीनघण्टापछि स्थितिलाई नियन्त्रणमा लिएको थियो । अर्को समूहबीच गोली चलेपछि अन्ततः सुरक्षाकर्मीले दर्जनौं सञ्चारकर्मी तथा टेलिभिजन कार्यालयका कर्मचारीलाई उद्धार गरेका थिए । टेलिभिजन स्टेशनमा अफगानिस्तानको विशेष सुरक्षा फौजले खानतलासी सकेपछि संसद टेलिभिजनले आफ्नो प्रसारण जारी राखेको थियो।

संसद टेलिभिजनको भवनमा आक्रमण गर्नु अघि आक्रमणकारीले ग्रिनेड फ्याँकेका थिए । 

आक्रमणका क्रममा एक सुरक्षा गार्डको ज्यान गएको पुष्टि भएको छ भने घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

तथाकथित इस्लामिक स्टेट (आइएस) ले आक्रमणको जिम्मेवारी लिएको बिबिसीले उल्लेख गरेको छ  । पछिल्ला केही महिना अफगानिस्तानको राजधानी काबुल निरन्तर रुपमा आतंकवादी संगठन तालिवान र आइएसको निशानामा बारम्बार परिरहेको छ। 

‘यो सञ्चारमाध्यमको स्वतन्त्रतामाथिको आक्रमण हो । तर उनीहरुले हामीलाई चुप गराउन सक्दैनन्,’ संसद टिभीका समाचार निर्देशक अबिद एहशासले तोलो न्यूज टेलिभिजन च्यानललाई बताए । उक्त टेलिभिजन परिसर प्रवेश गर्न अफगानिस्तानको विशेष फौजले टेलिभिजन च्यानललाई घेरेको पक्की पर्खाल विस्फोट गरी भत्काउनु परेको थियो ।

आतंककारीको आक्रमण हुँदा संसद टेलिभिजन परिसर मै रहेकी एक महिला पत्रकारकी आमाले आक्रमण भएको घण्टौं भइसक्दा पनि आफ्नो छोरीको बारेमा केही जानकारी प्राप्त नगरेको बिबिसीलाई बताएकी छिन् । आक्रमण भएपछि संसद टेलिभिजनका अन्य कर्मचारी भने छिमेकी भवन हुँदै बाहिरिएका थिए। 

संसद टिभीले समाचार र समसामयिक गतिविधि लगायत विभिन्न प्रकारका कार्यक्रमहरु स्थानीय पस्तो भाषामा प्रसारण गर्दछ।    

संसद टेलिभिजन बिबिसीको एक साझेदार टिभी स्टेशन पनि हो । ‘मेरा केही सहकर्मीहरु मारिएका छन् र केही घाइते भएका छन्,’ संसद टिभी च्यानलका एक संवाददाताले बिबिसीलाई बताए। 

अफगानिस्तान पत्रकार तथा संचारकर्मीहरुका लागि विश्वमै सबैभन्दा खतरनाक देशमध्ये एक मानिन्छ । अफगानिस्तानमा सन् २०१७ को पहिलो ६ महिनामा पत्रकारहरुका विरुद्ध भएका हिंसात्मक घटनामा वृद्धि भएको छ।

स्थानीय पर्वेक्षक संस्था ‘दि अफगान जर्नलिस्ट सेफ्टी कमिटी’ले ७३ वटा त्यस्ता घटनाहरु बारे विवरण संकलन गरेको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । गत मे महिनामा अफगानिस्तानको राजधानी काबुलमै भएको एउटा भयानक आत्मघाती विस्फोटमा एक सय ५० भन्दा बढी मारिएका थिए । मारिनेमध्ये एक जना बिबिसीका सवारी चालक पनि रहेका थिए । गत वर्ष एउटा निजी टेलिभिजन स्टेशन तोलोमा तालिवानी आतंकवादी समूहले गरेको आत्मघाती बम विस्फोटमा उक्त टेलिभिजनका सात कर्मचारीहरु मारिएका थिए । त्यसैगरी यस वर्ष कै मे महिनामा आइएस आतंकवादी समूहले जलालबादमा रहेको अफगान स्टेट टेलिभिजनको भवनलाई लक्षित गरेर गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको थियो। 

आक्रमणको अफगान राष्ट्रपति असरफ घानी, अफगान पत्रकार, सुरक्षा समितिलगायतले कडा शब्दमा निन्दा गरेका छन्।
 

 

प्रकाशित: २२ कार्तिक २०७४ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App