१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

निर्वाचनमा भोट दिएर बस रिजर्भ गरी बेसीसहरबाट काठमाडौं फर्किदै मनाङका बासिन्दा। तस्बिर: किसान संगीत नेपाली

लमजुङ-  मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन्।

निर्वाचनमा भोट दिनकै लागि राजधानी काठमाडौं, पोखरा, चितवन, बेसीसहर लगायतका सहरबाट जिल्ला पुगेका स्थानीय बासिन्दा जाडो छल्न निर्वाचन लगत्तै जिल्लाबाट फर्किएका हुन्। विगत भन्दा यसवर्ष चाँडै चिसो बढेकाले उनीहरु निर्वाचनमा भोट खसालेर फर्किन थालेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेले बताए। भोट दिएर प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना प्रतिनिधि पठाउने उत्साहका साथ विभिन्न स्थानबाट ठूलो संख्यामा मतदाताहरु जिल्ला भित्रिएका थिए । भदौ ५ गते सम्म १८ वर्ष पुगेका युवा देखि ८६ वर्षसम्मका वृद्ध–वृद्धाहरु मतदान गर्न गाउँमा पुगेका काठमाडौं बस्दै आएका पिसाङका ङिमा गुरुङ बताउँछन् । उनीहरुले नासोङ, चामे, नेस्याङ र नारफू गाउँपालिकामा रहेका मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मनाङ लगायतका पहाडी जिल्लामा पहिलो चरणमा र अन्यमा दोस्रो चरणमा निर्वाचन हुने भएकाले विदा नपाउँदा विद्यार्थी र रोजगारीमा रहेका युवायुवती जिल्ला आउन नपाएको पनि गुरुङले बताए।

जिल्लामा विकास भित्रिएला र नयाँ पुस्ताले रोजीरोटीका लागि जिल्ला छाडेर बस्नु नपर्ला भन्ने आशाले भोट हाल्न आएको काठमाडौं फर्किदै गरेका पिसाङबजारका ८६ वर्षीय तेन्दुर्पा गुरुङले बताए । ‘हामीले धेरै दुःख पायौं, नाती नातिनीहरुले यस्तै भोग्न नपरोस्,’ गुरुङले भने, ‘यसपालि जितेर गएको प्रतिनिधिले धेरै विकास गर्न सक्छ भन्ने सुनेको छु।’

स्थानीय तहको निर्वाचनका तुलनामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्ला बाहिर रहेका मतदाताहरु धेरै भित्रिएको अनुमान चामेमा व्यवसाय गर्दै आएका खड्ग परियारले गरेका छन् । जीप रिजर्भ गरी बेसीसहर देखि स्याँगे, जगत, तालबजार, तिमाङ, चामे हुँदै माथिल्लो मनाङ र नारफु सम्मका मतदाता जिल्ला भित्रिदाँ सवारी साधनको चहलपहल नै बढी देखिएको उनको भनाई छ । १० देखि १५ जनासम्म यात्रु अट्ने जीपले झण्डै तीनहजार बढी यात्रु ओसार्दा सवारी चाप निकै बढेको तालबजारका मिनरासी गुरुङले बताए ।

कूल ५ हजार ८ सय ८१ मतदाता रहेको मनाङमा यो निर्वाचनमा ४ हजार ३ सय ३८ अर्थात् ७३.७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । हिमाली जिल्ला भएकाले सँधै चिसो भईरहने हुँदा त्यहाँका अधिकाँश बासिन्दा जिल्ला बाहिर नै बस्छन् । आर्थिकरुपमा सम्पन्न व्यक्तिले घरमा हेरालोको व्यवस्था गर्ने र अन्यले रित्तै छाडेर बाहिरै बस्ने गर्दछन्।

 

 

प्रकाशित: १३ मंसिर २०७४ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App