१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अन्तुको निम्तो

अन्तु पाेखरी ।  तस्बिर : भीम चापागाईं

आकाश छ्यांग खुलेर इलाम बजारमा कोठाको झ्यालबाटै झुल्केघाम मनमोहक देखिन थालेपछि मनमा लाग्यो– यतिबेला अन्तुडाँडाको सूर्याेदय झन् कति सुन्दर देखिएला ! 

अन्तु घुम्न जाने सल्लाह मिल्यो कोकिलासँग । यात्रा रमाइलो हुने त थियो नै । त्यही रमाइलोमा साथीहरू थप्न पाए अझ गज्जब होला भन्ने लाग्यो । दिउँसो दाइ सटेन्द्रलाई प्रस्ताव गरें । उहाँमात्रै होइन, भाउजू माया र सानी छोरी सकुमसमेते जाने हुनुभो ।

अर्का साथी ख्यामलाई अन्तुको योजना सुनायौं । ख्यामले सीतालाई पनि सँगै लैजाने भए । त्यही मेसोमा आइपुग्नुभयो रोहित दाई । दाई झनै रौसे । पहिला नै अन्तुको योजना बनाउने हामी चाहिँ जोडी–जोडी भइसकेका थियौं । 

कमला भाउजू जागिरको सिलसिलामा सदरमुकाम बाहिर भएकाले रोहित दाईले फोन गरेर आफू एक्लै अन्तु जाने अनुमति माग्नुभो क्यार । अनि, सँगै लैजाने हुनुभयो सानी छोरी शिखालाई । किरण, भगिरथ, कौशिला र मनकुमारले पनि सँगै जाने इच्छा नगरेका होइनन् । जाऔं पनि भन्यौं । तर, टिममा जान लागेका अरूको नाम सुनेपछि सायद सोचे होलान्– हामीजस्ता सिंगलको यो टिममा चान्स छैन । 

हाम्रै टिममा थपिए तुलसी सर र मुन्नाभाइ पनि । अपराह्न ३ बजेतिर सदरमुकामको जिरो किलोमिटरबाट ५ मोटरसाइकलमा साना नानीहरूसहित ११ जना अन्तुको बाटो लागियो । इलाम सदरमुकामबाट बढीमा २ घण्टा मोटरसाइकल यात्रापछि अन्तु पुगिन्छ । त्यसदिन घुम्दै–घुम्दै साँझ अन्तुडाँडा पुग्ने, होम–स्टेमा बस्ने, बिहान सूर्याेदय हेर्ने, अन्तुपोखरीमा डुंगा चढ्ने, चियाबारी घुम्ने योजना बनाइसकेका थियौं । 

अन्तुमा २ हजारभन्दा बढी पर्यटक एकै रात अटाउन सक्छन् । तर, हरेक शुक्रबार चाहिँ शनिबारको सूर्याेदय हेर्न क्षमताभन्दा बढी पर्यटक यहाँ पुग्छन् । होमस्टेमा बस्नेले अगाडि नै बुक गर्नु पर्छ । हामीले श्रीअन्तुका रुद्र घिमिरेलाई पहिल्यै सम्पर्क गरी होमस्टेमा बस्ने चाँजोपाँजो मिलाइसकेका थियौं । 

फिक्कल पुगेपछि साथी सोम पनि थपिए । चिसो निकै भएकाले छिपिटारको एउटा पसलमा चिया खान मात्र के पसेका थियौं, रुद्रले फोनमै होमस्टेको मेन्यु रोज्न लगाए, ‘लोकल कुखुरा, तोङ्बा, सुकुटी, ब्रोइलर, पर्क, स्यालोस्की अरू केही ?’ 

अरू त जति पनि पाइने रहेछ तर उनलाई लोकल कुखुरा चाहिँ गाउँमै नपाउने चिन्ताले फोन गरेका रहेछन् । होमस्टेमै पुगेपछि मात्रै खानपिनको बन्दोबस्त गर्न सल्लाह दियौं । र, चिया खाएर लाग्यौं छिपिटारको ओरालो । साँझ परेकाले मोटरसाइकलले हेडलाइट खोजिसकेको थियो ।

मेची राजमार्गको कन्यामबाट श्रीअन्तुको भञ्ज्याङछेउसम्म कालोपत्रे सडक पुगेकाले रातिको यात्रा असहज भएन । अन्तुपोखरीको डिलैडिल रुद्रको घर पुगियो । चिसो भगाउन उनले अघि नै हामीलाई आँगनमा आगो बालिदिएछन् । उनले अग्र्यानिक चियाले स्वागत गरे ।  

उनले डिनरबारे सबैलाई सोधे । एक–एक गरेर सबैको इच्छा सुन्दा ज्यादै रमाइलो भयो । हाम्रो टिममा मन मिल्ने १०–१२ जना मात्रै थियौं तर जिब्रो र सांस्कृतिक विविधतामा भने निकै धनी रहेछौं । कोही पोर्क र स्यालोस्कीबिना भागै नबस्ने, कोही ती दुवै खान्कीतिर फर्केरसमेत नहेर्ने, कोही लोकल कुखुरा हेर्दै नहेर्ने कोही त्यही कुखुराबिना अन्तुको बसाइको अर्थै नसम्झिने । अनि, कोही पशु–पन्छीलाई माथिबाट काटेर मारेको मासु नखाने, कोही तलबाट रेटेको मासुमात्रै खाने व्यक्ति पनि हुन्छन् भन्ने सुन्दै नसुनेका । एक–अर्काको खान्की इच्छाले सबैलाई औधी हसायो । रुद्र पनि तीन छक्क परे होलान् ।

होमस्टेको विशेषता होटलमा जस्तो अर्डर गर्दैमा आफ्नो मेन्यु टेबुलमा आउने होइन । होमस्टेमा आफूले चाहेको खाना आफैं बनाएर खानुमै बढी मज्जा आउँछ । सटेन्द्र दाइले अन्तुको स्यालोस्की बिर्साउने तीनपाने साथीहरूका लागि घरबाटै लगिदिनुभएको थाहा पाएपछि केही साथी यति हौसिए कि, तीनपानेलाई चाहिने पोर्कको सितन थाहै नपाई तयार गरिहाले । रुद्रले गाउँभरी खोजेर लोकल कुखुरासमेत भेला पारेछन् । तर, उनले हाम्रो साथीहरूको इच्छाअनुसार ३ किलो ब्रोइलर पनि राति नै ल्याइदिए । 

करिब १ घन्टामा आ–आफ्नो भोजन तयार भयो । इच्छाअनुसार मनैले खाएको भोजन । आँगनमा आगो ताप्दै ११ बजाउँदासम्म खाने–पिउनेक्रम रोकिएको थिएन । रुद्र पनि खुबै रमाइला रहेछन् । स्थानीय विशेषताबारे बताएर थाकेनन् । अन्तुको पर्यटन प्रवद्र्धनदेखि मुखैमा आएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अड्कलबाजीमा लामै भलाकुसारी भयो ।

करिब १२ बजे खाना खाइसकेपछि रोहित दाईले राति नै अन्तु घुम्ने गर्ने प्रस्ताव ल्याउनुभो । हामीमध्ये धेरैजनालाई निद्रा लागिसकेको थियो । तर, दाइलाई चाहिँ पोखरी फन्को नलाई चित्त बुझेनछ । घुमेर फर्किनुभयो ।

बिहान ५ बजे रुद्रले हामीलाई उठाए । ग्रिन टी पिएर सूर्याेदय हेर्न अन्तुडाँडाँतिर लाग्यौं । पैदलै जाँदा पनि उनको घरबाट करिब आधा घण्टा लाग्नेरहेछ । तर, हामी मोटरसाइकलमा अन्तुडाँडा पुग्दा भ्युटावर र वरिपरि सबै पर्यटकले खचाखच थियो । तराईमा हुस्सु लागेकाले सूर्याेदयको सुन्दर दृश्य देखिने सम्भावना कम थियो । तर, कोही हतास थिएनन् । अन्तु पुग्नुको मज्जा सूर्याेदय दृश्यावलोकन मात्रै थिएन । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देख्दै आनन्द लाइसकेको थियो । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं देख्दा नरमाउने कोही थिएन । सबैजना तस्बिर, सेल्फी खिच्न व्यस्त थिए । 

झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी भएकाले यसको चर्चा धेरैतिर हुनेगर्छ । पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, २–४ रात बिताउँछन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो लाग्छ । नेपालकै पश्चिमी जिल्ला र बंगालबाट बढी पर्यटक आउँछन् । 

खचाखच पर्यटकले चित्ताकर्षक सूर्याेदयको दृश्य हेर्न नपाए पनि अन्तु आउँदा रमाइलो लागेको सुनाए । बेलुका अन्तुमै बास बसेका मात्र होइन, यहाँबाट निकै टाढा पर्ने इलामकै जमुनाको एक टिम बिहान उठेर अन्तु आईपुगेको देखेर चकित प¥यौं । 

‘बिहान १ बजे घरबाट हिँडेको ४ बजेतिर यहाँ आइपुग्दा कोही आएको थिएन,’ भ्युटावरछेउमा भेटिएका जमुनाका गिरिजा भट्टराईले सुनाए, ‘आज दिनभर अन्तुमै घुमेर साँझ घर फर्किन्छौं ।’ 

त्यसपछि अन्तुपोखरीमा डुंगा चढ्न लाग्यौं । आसपास तस्बिर खिचेर हामी पोखरी पुग्दा केही साथी डुंगा चढिवरी ओर्लेर नजिकैको चिया बगानमा सुस्ताउँदै रहेछन् । हामी पनि डुंगा चढ््यौं । डुंगा सञ्चालन गरिरहेका खगराज घिमिरेले सुनाए, ‘अस्ति कात्तिकमा एकै दिन डुंगा चढ्न भन्दै करिब ३७ पाहुना आएका थिए, सुरक्षित रूपमा उनीहरूलाई डुंगा चढाउन नसकेर थन्क्याउनुप¥यो ।’ उनले त्यसबेला भ्युटावर चढ्ने टिकटले पनि नपुगेर पाहुनालाई निःशुल्कै सेवा दिएको सुनाए ।

अन्तुपोखरी र वरिपरिको चियाबारी एकछिन घुमेपछि पुनः रुद्रकैमा पुगियो । रेणु भाउजूले हामीलाई फापरको रोटी तयार गरिदिनुभएछ । मह र फापरको रोटी खुबै मीठो । अघिल्लो दिनको लोकल सितन अलिकति उब्रिएकाले फापरको रोटीको साथी त्यही बन्यो । बियर पिउने ठूलो ग्लासमा अन्तुको चिनीबिनाको रातो अग्र्यानिक चिया एक–एक ग्लास पुनः सोड्क्याएपछि जिउ तात्यो । 

इलाम फर्किने तरखर गर्दागर्दै आइपुगेछन् शिक्षक अम्बिका पोख्रेल । उनले हामीलाई अलि तलको सिंहबाहिनी भगवती नपुगी बिदै नदिने भए । हतारमा हुने साथीहरू घर फर्किने भए पनि रोहित दाइ, कोकिला र म चाहिँ पोख्रेलको पछि लाग्यौं । सिंहवाहिनी पुग्ने बेला स्थानीय बैकुण्ठ दाइले सुनाउनुभो–अन्तुपोखरीको परिपरि अहिले निकै घरले ढाकिसक्यो, वरिपरि घरैघर भए भने त अन्तुपोखरीको सौन्दर्यमा असर पर्छ कि !

सिंहवाहिनी आकर्षक धार्मिक पर्यटकीयस्थल बन्न सक्ने रहेछ । अहिलेसम्म अन्तुमा धार्मिक गन्तव्य पहिचान हुन बाँकी थियो । सिंहवाहिनीमा रहेको मानिस र सिंहको अनुहार देखिने ढुंगा ओझेलमा रहेछ । पोख्रेलले सुनाए, ‘स्वामी एकदेव साधुले पत्ता लगाएको यो सिंहवाहिनी भगवतीमा मानिस र सिंहको अनुहार तथा मानिसका पाइला देखिन्छन् । यो थाहा पाए कति पर्यटक यहाँ आउने थिए होला ।’ यहाँ मानिसको पाइलाजस्तो देखिने ढुंगा पनि रहेछ, नजिकै देवीस्थान पनि । 

कन्यामबाट अन्तु जाँदा चौरस्ता भन्ने स्थानबाट करिब आधा किलोमिटरको मोटरबाटो गएपछि सिंहदेवी भगवती र सिंहदेवी देवीस्थान पुगिने रहेछ । असोज र चैत सुरु हुनेबित्तिकै सूर्याेदय र सूर्यास्त हेर्न अन्तुडाँडामा पर्यटक धुइरिन्छन् । फिक्कलनजिकै छिपिटारबाट सय रुपैयाँ भाडा तिरेपछि जिपले अन्तु पु¥याउँछ ।

पर्यटकका लागि घर–घरमा होमस्टे छन् । सामान्यतः सादा खाना १ सय ३० र मासु खाना १ सय ८० देखि २ सय ५० रुपैयाँ पर्छ । सुतेको सयदेखि १ हजार रुपैयाँसम्म लिने गरिएको रहेछ । तर, यहाँ सामूहिक नभई निजी होमस्टेमात्रै भएकाले सबै घरमा खाने–बस्ने दर एकै छैन । 

एक दिनको अन्तु बसाईलाई निकै आनन्दित र रमाइलो मानेर सबैजना इलाम फर्कियौं । अन्तुको रमाइलोका तस्बिर फेसबुक र सामाजिक सञ्जाल छ्याप्छ्याप्ती देखेर भोलिपल्टदेखि नै साथीहरूले हामीलाई खबरै नगरी गएको भन्दै पछुताउने बनाए । पर्यटनका ज्ञाता एवं अगुवा पत्रकार धर्मसर समेतले भन्नुभयो, ‘हामीलाई त खबरै नगरी सुटुक्क अन्तु गइएछ नि !’ 

प्रकाशित: १६ मंसिर २०७४ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App