१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोलम्बोबाट फर्काइए सात महिला

काठमाडौं- श्रीलंकालाई ट्रान्जिट बनाएर प्रतिबन्धित देशमा रोजगारीमा जान लागेका सात नेपाली महिलालाई त्यहाँको सरकारले शनिबार फिर्ता पठाएको छ। भारतीय बाटो हुँदै कोलम्बो पुगेका उनीहरू शनिबार बिहान नेपाल आइपुगेका हुन्।

अवैध बाटो कोलम्बो पुगी तेस्रो मुलुक जाने तयारीमा रहेका महिलालाई श्रीलंकाली सरकारले नियन्त्रणमा लिई स्वदेश फिर्ता पठाएको अध्यागमन विभागले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार फिर्ता गरिएका सबैको स्वास्थ्य कमजोर अवस्थामा पाइएको छ। माइती नेपालका प्रतिनिधिले उनीहरूलाई उपचारका लागि भन्दै विमानस्थलबाटै बुझेर लगेका छन्।

फिर्ता गरिएका महिलाको राहदानीमा नेपालबाट उडेर गएको कुनै विवरण नभेटिएको कार्यालयप्रमुख यज्ञराज कोइरालाले जानकारी दिए। फरकफरक जिल्लाका उनीहरू स्थलमार्गबाट भारत पुगी त्यहाँबाट श्रीलंका गएको हुन सक्ने उनले बताए।

'शनिबार बिहान विमानस्थलमा ओर्लिएका उनीहरूलाई तत्कालका लागि माइती नेपालका प्रतिनिधिको जिम्मामा छोडिएको छ, उनीहरूलाई स्वास्थ्योपचार र परामर्श आवश्यक देखिन्छ,' कोइरालाले भने।

फिर्ता गरिएका महिलामा बागलुङकी धनकली थापा, दोलखाकी मन्दली तामाङ, झापाकी शान्ता बस्नेत, सल्यानकी मीना पुन, सुनसरीकी अमृता राई र रसुवाका रोशना तामाङ र याल्मो घले छन्। कार्यालयका उपसचिव उद्धव भट्टराईका अनुसार उनीहरूलाई तत्कालका लागि उपचार र बसोबास व्यवस्था गर्नुपर्ने भएकाले माइती नेपाल पठाइएको हो।

महिला कामदारका लागि सरकारले प्रतिबन्ध लगाएका खाडी देश लैजाने प्रयोजनले ती महिलालाई एजेन्टले एक महिनादेखि कोलम्बोमा लुकाएर राखेको सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएलगत्तै अरू महिला पनि श्रीलंकामा फसिरहेको जानकारी आएकाले श्रीलंका प्रहरी र नेपाली दूतावासमार्फत उद्धारको प्रयास भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार श्रीलंकाबाट फर्किएकी मनमाया दनुवारको बयानअनुसार एकै स्थानमा ९० जनाभन्दा बढी महिला राखिएको छ।

कोलम्बोका विभिन्न स्थानमा गरी तीन सय हाराहारी नेपाली महिला अलपत्र परेको हुन सक्ने सुरक्षास्रोतको प्रारम्भिक अनुमान छ। महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले श्रीलंकामा कोलम्बो महानगरीय प्रहरी र इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरोको सहयोगमा बिहीबारदेखि खोजतलास र उद्धारकार्य जारी राखिएको जानकारी दिए। 'हामीले सम्भावित स्थान र व्यक्तिका विषयमा यताबाट सूचना दिइरहेका छौं, त्यसैका आधारमा श्रीलंका प्रहरी खोजतलास तथा उद्धारमा खटिएको छ, इन्टरपोलको सहयोग पनि लिएका छौं,' उनले भने।

महाशाखाको मानव बेचबिखन तथा ओसारपसार सेलका डिएसपी मुकुन्द मरासिनीका अनुसार श्रीलंका प्रहरी र कूटनीतिक प्रतिनिधिमार्फत त्यहाँका विभिन्न स्थानमा लुकाएर राखिएका महिलाको 'लोकेसन ट्र्याक भइरहेको छ। 'श्रीलंका प्रहरीले थप केही स्थान पहिचान गरी उद्धारका लागि प्रयास गरिरहेको छ,' उनले भने।

तत्कालका लागि श्रीलंका बन्द

श्रीलंका सरकारले तत्कालका लागि श्रीलंका भएर तेस्रो मुलुक आउजाउ गर्ने नेपालीलाई कडाइ गर्ने भएको छ। शंकास्पद गतिविधि दर्साउने नेपालीलाई आउजाउ प्रतिबन्ध गर्ने उसको तयारी छ। स्रोतका अनुसार एक व्यक्तिसँग १० देखि २५ जनासम्मको महिला समूह रहे तस्करी हुन सक्ने सम्भावनाका आधारमा  उनीहरूको आवतजावत रोकी नियन्त्रणमा लिने काम भइरहेको छ।

कोलम्बोमा अझैं सयौं नेपाली महिलालाई लुकाएर राखिएको सूचनापछि यस्तो तयारी गरिएको हो। नेपाल सरकार र श्रीलंका सरकारबीच सबै महिलाको उद्धार नुहँदासम्म श्रीलंका भएर नेपालीको अवातजावत रोक्न निर्णयको तयारी भइरहेको स्रोतले जानकारी दियो।

श्रीलंका ट्रान्जिट

अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहले श्रीलंकालाई नयाँ ट्रान्जिटका रूपमा प्रयोग गर्दै १ हजार ४ सयभन्दा बढी नेपाली युवायुवती तस्करी गरिसकेको यसअघि सरकारी टोलीको श्रीलंका भ्रमणमा खुलेको थियो। नेपालबाट स्थलमार्ग हँुदै भारतको मुम्बई तथा दिल्ली र त्यहाँबाट जल तथा हवाई मार्ग भएर श्रीलंकाबाट मानव तस्करी हुने गरेको खुलेको हो। केही दिनअघि मानव तस्करी र वैदेशिक रोजगारीमा गएका नेपालीको समस्याका विषयमा अनुसन्धान गर्न गएको सरकारी टोलीले श्रीलंका ट्रान्जिट बनाएर तस्करीको नयाँ रुट अत्यधिक प्रयोग भइरहेको पत्ता लगाएको हो।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नेपालीका लागि श्रीलंकामा रहेको भिसा सुविधालाई तस्कर गिरोहले अवसर बनाएको बताए। सरकारी टोलीका सदस्य रहेका खनालले श्रीलंका मानव तस्करको नयाँ रुट भएको तथ्यसँगै नियन्त्रणका लागि श्रीलंकाका समकक्षी र सरकारी टोलीसँग छलफल भएको बताए।

नेपाल भएर अमेरिका, युरोपका विभिन्न देश र प्रतिबन्धित खाडी देश जाने युवतीको संख्या ह्वात्तै घटेपछि अनुसन्धान निकायको ध्यान नयाँ रुटमा केन्द्रित भएको हो। नेपालमा वैदेशिक रोजगारी र ठगीसम्बन्धी उजुरीको क्रम नरोकिएपछि महाशाखाले मानव तस्करीको सञ्जाल र प्रयोग भइरहेको रुटका विषयमा छानबिन थालेको हो। नेपालीका लागि अनअराइभल भिसा रहेको र नेपालबाट श्रीलंका घुम्न जानेको संख्या बढेको तथ्यपछि सरकारी टोली कोलम्बो पुगेको हो।

प्रकाशित: २३ श्रावण २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App