१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

औषधी पसलेको भरमा गर्भपतन गराउँदा महिलामा जटिल समस्या

काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ। औषधी पसलको भरमा औषधी प्रयोग गरी गर्भपतन गराउन खोज्ने धेरै महिलाहरुले जटिल समस्यामा परेको पाइएको छ।

परिपक्कव परीक्षण र परामर्श बिना सिधै औषधी पसलबाट किनेर औषधीको भरमा गर्भपतन गराउन खोज्नेहरु बिभिन्न स्वास्थ्य समस्यामा परेर अस्पताल आईपुगेको  सम्वन्धित अस्पतालहरुले जनाएका छन् ।

प्रसुति गृह थापाथलीका अनुसार मासिक ५० देखि ६० जना औषधी पसलेबाट औषधी किनेर खानेहरु जटिल समस्या लिएर आउँछन् । ‘धेरै जसो औषधी पसलबाटै किनेर गर्भपतन गराउनेहरु छन्’प्रसुति गृहका  निर्देशक डा. जागेश्वर गौतमले भने। औषधी पसलकै भरमा गर्भपतन गराउनेहरु नै समस्या देखिएको टिचिङ अस्पताल प्रसुति तथा स्त्रीरोग बिभाग प्रमुख डा.गीता गुरुङले बताइन् ।‘ सामान्य समस्या भएका आकस्मिक कक्षमै व्यवस्था हुन्छ धेरै जटिल भए भर्ना गर्छौं’डा गुरुङले भनिन्।

तालिम र अनुमति दुवै नपाएका औषधी पसलले जथभावी औषधी बिक्री गर्नाले समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।  ‘गर्भपतन गराउन मात्र हैन बेच्न पनि नपाउनेले गम्भिर औषधी बेचेको पाइयो’ डा.गौतमले भने।

अस्पतालका अनुसार जथाभावी औषधी सेवन गर्नेहरुमा उपत्यका भित्रकै विपन्न तथा अशिक्षित महिलाहरु छन् । ‘औषधी डाक्टर र तालिम प्राप्त स्वास्थ्य कर्मीले दिने कुरा हो भन्ने थाहा नपाएका विपन्न र मध्यम बर्गका महिलाहरु छन् ’निर्देशक गौतमले भने ।

गर्भपतनका लागि प्रयोग गरिने ती औषधीहरु पसलेले बिभिन्न चोरी मार्गको माध्यमबाट लिएर अवैध रुपमा बिक्री गर्नाले समस्या बढिरहेको  चिकित्सकहरुले बताए । ‘भारतीय र नेपाली कम्पनीका औषधीहरु जुन औषधी व्यवस्था बिभागले अनुमति समेत दिएको छैन,ती औषधी पसलेले बेच्ने गरेको हुन्छन् ’प्रसुति गृहका निर्देशक गौतमले भने । ‘हामी कहाँ आउने गुनासो हेर्दा औषधी पसलेले अनुमति नपाएका औषधी समेत बेचेर गर्भपतन गराएको देखिन्छ’स्वास्थ्य बिभाग परिवार स्वास्थ्य महाशाखाका डाक्टर झलक गौतमले भने।

सर्वोच्च अदालतको निर्णयपछि २०५९ सालमा पहिलो पटक मूलुकी ऐनमा सुरक्षित गर्भपतनले वैधता पाएको थियो । त्यही ऐनमा आधारित रहेर सरकारले  ‘सुरक्षित गर्भपतन राष्ट्रिय नीति २०६०’ जारी गरेको थियो । गर्भपतन सेवा कार्यक्रम कार्य संचालन निर्देशिका २०६८ मा जारी भएको थियो ।

 

यो नीति जारी भएपछि यता सरकारले मूलुकभर ७५ जिल्लामा सर्जिकल गर्भपतन(औजार प्रयोग गरी गरिने गर्भपतन) र ४२ जिल्लामा मेडिसिन गर्भपतन(औषधी खुवाएर गरिने गर्भपतन)सेवा उपलब्ध छ । सुरक्षित गर्भपतन अन्तर्गत नीति अनुसार नेपाल सरकारबाट अनुमति पाई सूचीकृत भएको स्वास्थ्य संस्था र व्यक्तिले मात्र गर्भपतन गराउन पाउने प्रावधान छ । जस अनुसार औषधी प्रयोग गरेर ९ हप्ताभित्रको गर्भको हकमा मात्र प्रयोग गर्न सकिन्छ भने औजारको माध्यमबाट १२ हप्ताभित्रको गर्भपतन गराउन सकिन्छ । औषधी खुवाएर गर्भपतन गराउँदा ९ हप्ता भन्दा बढी भएमा औषधीले काम नगर्ने चिकित्सक बताउँछन् । हाल नेपालभर ८ सय भन्दा बढी सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन पाउने व्यवस्था छ ।

औषधी पसलले गर्भपतन गराउन सिधै औषधी बिक्री गर्नु गैरकानुनी भएको सरोकारवालाहरुले बताए।‘गैरकानुनी काम हो नै ,तालिम बिनाको ब्यक्तिले दिंदा महिलाको ज्यान समेत जान सक्ने जोखिम हुन्छ’डा.गौतमले भने ।

 

चिकित्सकका अनुसार दुवै प्रकारका गर्भपतन आफैमा जोखिमपुर्ण भएकोले सकेसम्म गर्भपतनको अवस्थासम्म नजान चिकित्सक सुझाव दिन्छन् । गरिहाल्नु परेमा चिकित्सकसंग राम्रोसंग परिक्षण गराएर मात्र गर्न सझुाव छ ।

सिधै औषधी पसलेबाट औषधी किनेर प्रयोग गर्दा महिलाहरुको गर्भको अवधिको जाँच हुन नसक्ने,औषधीको सही प्रयोग नजान्नाले जटिलता उत्पन्न हुन्छ । चिकित्सकका अनुसार बिधि नपुगी औषधीद्दारा गर्भपतन गराउँदा गर्भपतन नहुने ,रक्तश्राव हुने , अपुरो गर्भपतन भई भित्र संक्रमण बढ्ने,रक्तश्राव बढी भएर बेहोस भएर ज्यान जान सक्ने,पाठेघर फुट्न सक्ने,बाँझोपना आउन सक्ने,पछि संधैभरि तल्लो पेट दुखिरहने जस्ता समस्या आउन सक्छ ।

 

यी स्वास्थ्य समस्याका जोखिमबाट बच्न गर्भपतन गराउन सरकारबाट अनुमति पाएका स्वास्थ्य संस्थाहरु जहाँ देखिने गरी प्रमाणपत्र राखेको ठाउँमा मात्र पुगेर सेवा लिन महाशाखाका डा.गौतमको सुझाव छ । सरकार औषधी व्यवस्था बिभागले अहिलेसम्म गर्भपतनका चार औषधीलाई मात्र अनुमति दिएको छ । ती हुन् मेडावोन,एमटीपी,मेरिप्रिष्ट,प्रिग्नोकिट हुन् । यी औषधीहरु सूचीकृत स्वास्थ्य संस्थाले मात्र दिन पाउने प्रावधान छ ।

 चिकित्सकको सुझाव अनुसार औषधी खुवाएर गर्भपतन गराउने बिधिमा जम्मा पाँच वटा चक्की हुन्छन् ।  ती मध्ये एक चक्की  मिफेप्रिस्टोन मुखबाट खुवाइन्छ । यो खाएको  २४ घण्टापछि  मिजोपोष्ट्रोल (२०० सय माइक्रोग्रामको चार चक्की)लाई महिलाको ईच्छा अनुसार जिब्रोमुनि र योनीमा आधा घण्टा राखिन्छ । जिब्रोको मुनि राखिएको छ भने चार घण्टापछि बाँकी रहेको औषधी निल्ने । योनीमा राखिएमा केही गर्नु पर्दैन ।

दोस्रो औषधी प्रयोग गरिएको चार घण्टापछि तल्लो पेट दुख्ने र चोक्टा सहितको रगत गएमा गर्भ गएको बुझ्नु पर्छ । यसपछि सातदिनसम्म केही रगत बग्छ । त्यो भन्दा बढी बगेमा भने स्वास्थ्य संस्थामा जानु पर्ने चिकित्सक बताउँछन् ।

यो औषधी पनि एलर्जी,मुटुरोगी,मिर्गौला रोगी,रगत जम्ने रोग भएकाहरुको हकमा प्रयोग गर्न नहुने चिकित्सकको सुझाव छ । औषधी प्रयोग गर्दा प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा गर्नु पर्छ । औषधी प्रयोग गरेको चौध दिनपछि पुन स्वास्थ्यकर्मीकोमा पुग्नु पर्छ ।

जथाभावी औषधीबाट गर्भपतन गराउँदा हुने समस्याहरु

– रक्तश्राव भई ज्यान जान सक्ने

–बढी रगत बगेर रक्तअल्पता हुने

–पाठेघर फुट्ने

–गर्भ नगई उस्तै रहन सक्ने

–गर्भ राम्रोसंग नगएर पेटमा समस्या आउने

–बाँझोपना आउन सक्ने

– पाठेघरमा घाउ हुन सक्ने

– पछि गएर संधै तल्लो पेट दुख्ने

प्रकाशित: २३ श्रावण २०७३ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App