१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

दाङ- गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा ३३ प्रतिसत महिला सहभागिता पु¥याउन समानुपातिक कोटाबाटै महिला सांसद चयन भए । प्रत्यक्षतर्फका ५२ र समानुपातिकतर्फका गरी ३५ गरि ८७ कुल सांसद चुनिएको यो प्रदेशमा समानुपातिकबाटै महिला सहभागिता ३३ प्रतिशत पु¥याइएको छ । कुल ८७ को ३३ प्रतिशतले यो प्रदेशसभामा २९ महिला सांसद चुनिएका छन् । प्रत्यक्षबाट २ महिला मात्रै निर्वाचित रहेको र समानुपातिक  थप २७ महिला सांसद चुनिएका छन् ।   
महिलाहरूको प्रतिनिधित्व ३३ प्रतिशत, तर यो प्रदेशमा महिला मत भने झण्डै ५४ प्रतिशत खस्यो । ‘महिलाहरूको मत निर्णायक बन्दा पनि महिलाको प्रतिनिधित्व जम्मा ३३ प्रतिशत त्यो पनि समानुपातिक कोटाबाट पूर्ति हुनु सुहाउँदो कुरा होइन,’ बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित कृष्णा केसीले भनिन्, ‘प्रत्यक्षतर्फकै उम्मेदवार चयनमा ३३ प्रतिशत पु¥याइन्न यो बिडम्बना हो ।’ पचास प्रतिशत प्रतिनिधित्वको माग गर्दै आवाज उठाइरहेको भए पनि ३३ प्रतिशतसमेत कार्यान्वयन नहुनु दुःखद रहेको उनले बताइन् । ‘ठूलो लडाइँबाट ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार ल्यायौँ, तर प्रत्यक्षतर्फ नै महिलाहरूको ३३ प्रतिशत खोई ?’ उनले भनिन्, ‘तर हामीहरू पचास प्रतिशत अधिकारको कुरा गर्दैछौँ ।’ पचास प्रतिशतको अधिकारको माग भन्दा पनि अहिले संविधानले व्यवस्था गरेको ३३ प्रतिशतको कार्यान्वयनका लागि जोडबल गर्नु आवश्यक रहेको उनि बताउँछिन् । उनले प्रदेशसभाबाट यसको कार्यान्वयनका लागि आफूले दबाबमूलक कार्य थालनी गर्नेसमेत उनको योजना छ । ‘पहिला त संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टीसहितको कार्यान्वयन भएको हुनुप¥यो,’ उनले भनिन्, ‘संविधानले यसको व्यवस्था गरे पनि अहिलेको निर्वाचनमा त्यो देखिएन, त्यसैले अब प्रदेशसभाबाट यसको पूर्ण कार्यान्वयनका लागि मैले दबाबमूलक भूमिका निर्वाह गर्नेछु ।’ महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार दिइएको भए पनि निर्वाचनमा भने महिला मत निर्णायक बन्यो । यो प्रदेशभरको मत हेर्ने हो भने महिलाको मत पुरुष मत भन्दा १ लाख ३६ हजार १ सय २६ ले बढी छ । प्रतिशतमा हेर्ने हो भने यो प्रदेशमा महिलाको मत झण्डै ५४ प्रतिशत छ भने पुरुष मत ४६ प्रतिशत छ । यो प्रदेशका १२ जिल्लामा कुल खसेको मत १८ लाख ८० हजार ८ सय २९ हो । यसमध्ये महिला मत १० लाख १२ हजार ९ सय ७७ छ भने पुरुष मत ८ लाख ७६ हजार ८ सय ५२ मात्रै रहेको निर्वाचन आयोगको तथ्यांक छ । यसैगरी २५ तेस्रोलिंगीको मत  छ ।  ‘स्वाभाविकै रूपमा महिलाको मत बढी भैहाल्छ,’ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले नागरिकसँग भने, ‘कामको सिलसिलामा पुरुषहरू नै बढी बाहिर हुने भएकाले उनीहरू मत हाल्नका लागि आउन सक्ने कुरा हुँदैन, यसर्थ महिलाभन्दा पुरुषको उपस्थिती कम भैहाल्छ ।’
 

कुन जिल्लामा महिला मत कति ?
दाङमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा २ लाख ३२ हजार ९ सय ५२ मत खस्यो । निर्वाचन आयोगको तथ्यांकअनुसार कुल खसेको मतमध्ये महिलाको मत १ लाख २८ हजार ५ सय २७ मत रह्यो भने पुरुषको मत १ लाख ४ हजार ४ सय २५ रहेको छ । महिला मत पुरुषको भन्दा २४ हजार १ सय २ ले बढी हो ।  
आयोगका अनुसार ३ लाख ९० हजार ६ सय १० मत खसेको रूपन्देहीमा ११ हजार ५ सय ५७ बढी मत महिलाको छ ।  २ लाख १ हजार ८२ मत महिलाको छ भने पुरुषको मत १ लाख ८९ हजार ५ सय २५ रहेको छ । यसैगरी कपिलवस्तुमा महिला मत ९४ हजार ३ सय २५ महिला मत भने झण्डै दुई सय कम ९४ हजार १ सय ५१ मत पुरुषको छ । यो जिल्लामा कुल खसेको मत १ लाख ८८ हजार ४ सय ८४ हो ।
यसैगरी प्यूठानमा पुरुषभन्दा महिला मत १६ हजार ८ सय ८९ ले बढी छ । यो जिल्लामा कुल खसेको ८९ हजार ८ सय ८४ मतमध्ये ५३ हजार ३ सय ८६ मत महिलाको छ भने ३६ हजार ४ सय ९७ मत पुरुषको छ । यसैगरी बाँकेमा पनि महिलाको मत ९ हजार ९ सय २८ ले बढी छ । १ लाख ९४ हजार ८ सय ४८ कुल खसेको मत मध्ये १ लाख २ हजार ३ सय ८४ मत महिलाको छ भने ९२ हजार ४ सय ५६ पुरुष मत छ ।
यसैगरी पाँच नम्बर प्रदेशको अर्को जिल्ला बर्दियामा पनि महिला मत पुरुषको भन्दा २७ हजार ९ सय ५६ ले बढी छ । १ लाख ९० हजार ७ सय ६२ कुल खसेको मतमध्ये महिला मत १ लाख ९ हजार ३ सय ५५ मत छ भने पुरुषको मत ८१ ह्जार ३ सय ९९ मात्रै छ । नवलपरासीमा भने महिलाको मत पुरुषको भन्दा कम देखिएको छ । १ लाख ८८ हजार ४ सय ८४ कुल खसेको मतमध्ये पुरुषको मत ८५ हजार ८ सय ६२ मत पुरुषको छ भने महिला मत ८४ हजार २ सय ४९ छ । यहाँ महिलाको भन्दा पुरुष मत १ हजार ६ सय १३ ले बढी छ ।
यसैगरी अर्घाखाँचीमा भने महिला मत १० हजार ६ सय ८ ले बढी छ । ८७ हजार ८ सय ३४ कुल मतमध्ये ४९ हजार २ सय २१ महिलाको छ भने ३८ हजार ६ सय १३ मत पुरुषको छ । यसैगरी पाल्पामा १६ हजार ६ सय ७७ ले महिलाको मत बढी छ । १ लाख २३ हजार ४० कुल मतमध्ये महिला मत ६९ हजार ८ सय ५८ मत महिलाको छ भने ५३ हजार १ सय ८१ म्त पुरुषको छ । यसैगरी गुल्मीमा महिला मत १६ हजार ९ सय ४३ बढी छ । १ लाख २२ हजार ९ सय ४६ कुल मतमध्ये यहाँ महिला मत ६९ हजार ९ सय ४४ छ भने पुरुष मत ५३ हजार १ मात्रै छ । यसैगरी सबैभन्दा थोरै मतदाता रहेको पूर्वी रुकुममा पनि महिलाको मत १ हजार २२ ले बढी छ । १८ हजार ३४ कुल मतदाता रहेको यहाँ महिलाको मत ९ हजार ५ सय २८ खस्यो भने पुरुषको मत ८ हजार ५ सय ६ रहेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी रोल्पामा महिला मत ५ हजार ९ सय १५ ले बढी रह्यो । ७० हजार ३ सय २१ कुल मतदाता रहेको रोल्पामा महिलाको मत ३८ हजार १ सय १८ छ भने पुरुषको मत ३२ हजार २ सय ३ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशको कुल मतमध्ये महिला र पुरुषको मतान्तर हेर्ने हो भने यो प्रदेशमा महिला मत निर्णायक रहेको निर्वाचन आयोगले जनाएको छ । ‘बहुमतीय प्रक्रियाअनुसार हेर्ने हो भने जसको बढी मत छ त्यो नै निर्णायक भैहाल्छ,’ आयोगका सूचना अधिकारी अर्यालले भने, ‘यसको मूल कारण महिलाको तुलनामा पुरुष बढी बाहिरी मुलुकमा रहनु नै हो ।’ यसैगरी महिलाको संख्या बढी हुनु अर्को कारण रहेको उनले बताए । ‘पछिल्लो जनगणनाको तथ्यांक हेर्ने हो भने पनि महिलाको जनसंख्या ५१ र पुरुषको संख्या ४९ प्रतिशत देखाएको छ,’ उनले भने, ‘महिलाको जनसंख्या बढी हुनु पनि मत बढी हुनुको अर्को कारण मान्न सकिन्छ ।’   
यसैविच प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पाँच नम्बर प्रदेशमा २५ जना तेस्रोलिंगीको मत रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । यसअनुसार सबैभन्दा बढी बाँके र बर्दियामा ८÷८ जना तेस्रोलिंगीको मत रहेको आयोगले जनाएको छ । यसैगरी रूपन्देही र नवलपरासीमा ३÷३ मत छ भने प्यूठान, पाल्पा र गुल्मीमा १÷१ मत तेस्रोलिंगीको रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित: २३ पुस २०७४ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App