१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिबी एयरवेजले किन्यो निगमको बोइङ ७५७

काठमाडाै - सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको तीन दशक पुरानो एकथान ठूलो बोइङ जहाज खरिद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब दुई वर्षदेखि ‘ग्राउन्डेड’ निगमको ‘बि७५७–२००’ सिरिजको उक्त जहाजका लागि बिबी एयरवेजले १४ लाख ६० हजार अमेरिकी डलर (१४ करोड ७४ लाख ६० हजार रुपैयाँ) मा खरिद गरेको हो । बिबीले गत असोज अन्तिम साता यो जहाजका लागि निगमलाई बैनावापत कूल मूल्यको १० प्रतिशत अर्थात एक करोड ५१ लाख ८० हजार रुपैयाँ बुझाएको थियो ।

‘बिबी एयरवेजले बाँकी ९० प्रतिशत रकमबराबरको १३ करोड २२ लाख ८० हजार रुपैयाँ चुक्ता गरेको छ,’ वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘अब यो जहाज बिबीको स्वामित्वमा गएको छ ।’

बिबीले सबै रकम चुक्ता गरेपछि निगमले उक्त जहाजको दर्ता नम्बर (कल साइन) ‘९एन–एसिए’ खारेज गर्न उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेको श्रेष्ठले जानकारी दिए । बिबीले लिएपछि जहाजको कलसाइन अर्कै हुने छ ।

 पौने १५ करोडमा किनेको जहाज नौदेखि दस महिनाभित्र मलेसिया, भारत, कतार र थाइल्यान्ड उडाउने बिबीको योजना

यता बिबी एयरवेजका एक उच्च अधिकारीले वायुसेवा निगमसँग खरिद गरिएको जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने जानकारी दिए । ‘त्रिभुवन विमानस्थलमा रहेको जहाजलाई आज पहिलो पटक निरीक्षण ग¥यौं,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘अब यो जहाज मर्मत गर्छौं र पहिलो चरणमा काठमाडौंबाट मलेसिया, भारत, कतारको दोहा र थाइल्यान्डको बैंकक उडाउने योजना छ।’
बिबी एयरवेज गैरआवासीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली (एनआरएन) संघका अध्यक्ष हुन् । बिबीले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७–२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो ।

पाँच वर्षपछि फेरि अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।गत असोज अन्तिम साता १० प्रतिशत रकम बुझाएपछि बाँकी एक साताभित्र बुझाउने प्रतिबद्धता गरे पनि दुई साताभन्दा बढी बिबी एयरवेज सम्पर्कबिहीन भएको थियो । त्यसपछि सम्पर्कमा आएको उसलाई थप ४५ दिन म्याद दिइएको थियो ।

‘यो जहाजबाट पहिलो चरणमा नियमित व्यापारिक उडान गर्ने र दोस्रो चरणमा कार्गो बोक्नमात्र प्रयोग गर्ने छौं,’ बिबीका ती अधिकारीले भने, ‘बढीमा नौदेखि दस महिनाभित्र यो जहाजलाई नियमित उडानमा प्रयोग गर्ने गरी काम अगाडि बढाउँछौं ।’

निगमले बेचेको जहाज एक सय ९० सिट क्षमतायुक्त हो । यो जहाज निगमले सन् १९८७ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘कर्णाली’ हो । यो जहाज बेच्न निगमले दुईपल्ट ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।

निगमका अनुसार उक्त जहाज जे जस्तो अवस्थामा छ त्यहीअनुसार बिक्री गरिएको हो । जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन छन् । तीमध्ये एउटा इन्जिनको आयु शून्य छ भने अर्कोको आयु जम्मा १ सय घन्टामात्र छ । जहाज खरिद गर्ने कम्पनीले उडाएर लैजान त्यति अवधि राखिएको हो ।
निगमले बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब दुई अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो ।

निगमसँग रहेको यस्तै अर्को एउटा जहाज भने उडानमा प्रयोग भइरहेको छ । निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक दुई अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो ।

त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन ।  

तीन दशक पुरानो उक्त जहाज ६ महिनादेखि लिलाम बढाबढमा बेच्न गरेको प्रयास असफल भएपछि निगम सञ्चालक समितिले जहाजको भाउ १७ लाख १० हजार डलरबाट दुई लाख १० हजार घटाएर १५ लाख डलरमा बिक्री गर्न व्यवस्थापनलाई अनुमति दिएको थियो ।  

पहिलोपटक टेन्डर आह्वान गर्दा एउटा पनि आवेदन परेको थिएन । दोस्रो पटक भने अमेरिकाको एभियन सिस्टम्स इन्कर्पोरेटेड र इजरायलको एपिएस एयरपार्ट्स, सर्भिसेस एन्ड सप्लाइज लिमिटेड तथा नेपालका हिमालया एभिएसन कन्सल्ट्यान्ट तीलगंगा, टिबिआई ग्रुप नेपाल गैरीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वरले बि७५७ जहाज खरिद गर्न आवेदन हालेका थिए ।

तीमध्ये एभियनले १० लाख डलर, टिबिआई ग्रुपले १२ लाख ५० हजार डलर र हिमालया एभिएसनले १३ लाख डलरमा जहाज किन्ने प्रस्ताव गरेका थिए । बाँकी चारजनाले भने मूल्य प्रस्ताव गरेका थिएनन् ।
टिबिआईले जापानमा साढे दुई सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । त्यसबाहेक नेपालमा वायुसेवा कम्पनी, मदिरा उद्योग, होटल, ट्राभल कम्पनी, ट्रेड, खाद्य तथा पेय कम्पनी, घरजग्गा, निर्माण कम्पनी, सञ्चारलगायत गरी करिब दुई दर्जन कम्पनीमा टिबिआईको लगानी रहेको छ ।

एनआरएन संघका अध्यक्ष भट्ट गोरखा तान्द्राङका हुन् । उनी पञ्चायतकालका पूर्वसहायक मन्त्री यदु भट्टका छोरा हुन् । सन् १९९७ मा अध्ययनका लागि जापान गएका उनी २०११ मा आइपुग्दा दुई सय रेस्टुरेन्टका मालिक भएका थिए भने लगत्तै बिबी एयरवेज सञ्चालनमा ल्याएका थिए ।

प्रकाशित: ३ माघ २०७४ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App