१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भिल्लारिएलको नतिजाले जिदानमाथि दबाब

 मड्रिड,(एएफपी)– भिल्लारिएलले शनिबार लेभान्टेमाथि २–१ को जित हासिल गरेपछि रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिँदा साबिक विजेता रियालका प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब बढेको छ ।

घरेलु मैदानमा म्यानुअल ट्रिगोरसको गोलमा २६औं मिनेटमा अग्रता लिएको भिल्लारिएलका लागि ५०औं मिनेटमा डेनिस चेरिसेभले दोस्रो गोल गरेका थिए । रोजरले इन्जुरी समयमा लेभान्टेका लागि एक गोल फर्काए पनि भिलारिएललाई ३ अंक एकतर्फी पार्नबाट रोक्न त्यो पर्याप्त भएन ।
दुई खेलाडीले रातो कार्ड सामना गरेपछि भ्यालेन्सियाले कमजोर मानिएको लस पाल्मससँग २–१ को स्तब्धतापूर्ण हार भोग्नुप¥यो । एट्लेटिको मड्रिड जिरोनासँग १–१ को बराबरीमा सीमित भएपछि शीर्ष स्थानको बार्सिलोनासामु अग्रता ११ अंकले फराकिलो पार्ने मौका मिलेको छ ।

लस पाल्मस भ्रमणमा निस्कँदा सान्ती मिनाको गोलबाट भ्यालेन्सियाले पाँचौं मिनेटमै अग्रता लिएको थियो । २०औं मिनेटमा जोनाथन भिइराले गोल गरेपछि घरेलु टोली लास पाल्मसले खेल बराबरीमा ल्यायो । तर ग्याब्रिअल पाउलिस्टाले ५२औं मिनेटमा दोस्रो पहेंलो कार्ड सामना गरेपछि मैदान छोडेर बाहिर निस्किँदा भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । पाउलिस्टाले पेनाल्टी बक्सभित्र नियतवश हातले बल छोएपछि रातो कार्ड सामना गरेका थिए । त्यही कारण विपक्षीले पेनाल्टीको मौका पाउँदा जोनाथन कालेरीले लस पाल्मसलाई २–१ ले अघि बढाए ।

समय सकिन तीन मिनेट बाँकी रहँदा रुबेन भेजोले जोनाथन कालेरीमाथि कुहिनाले प्रहार गर्दा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड सामना गरे । जसका कारण भ्यालेन्सिया ९ जनामा सीमित भयो र टोलीको पुनरागमन जनाउने लक्ष्य पूरा भएन ।सेभियाले फ्रांको भाज्क्युज, पाब्लो साराबिया र लुइस मरियलको गोलमा स्पान्योलमाथि ३–० को विजयी नतिजा निकाल्दा स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अर्को खेलमा गेटाफे र एथलेटिक बिल्बाओले २–२ को बराबरी नतिजा निकाले ।

इनाकी विलियम्सले १३औं मिनेटमै गोल गरेपछि गेटाफे भ्रमणमा निस्केको बिलबाओले अग्रता लिएको थियो । जर्ज मोलिनाले २१औं मिनेटमा गोल गर्दै गेटाफेलाई बराबरीमा ल्याए । राउल गार्सियाले ४८औं मिनेटमा प्राप्त पनोल्टीलाई गोलमा परिणत गर्दै बिलबाओलाई दोस्रो पटक अग्रता दिलाएका थिए । तर एन्जेल रोडरिग्वेजले समय सकिन १६ मिनेट बाँकी रहँदा गोल गरेर गेटाफेका लागि अंक बाँड्न सफल भए । यसबीचमा जर्ज मोलिनाले ५१औं मिनेटमा प्राप्त पेनाल्टीको मौका चुकाउँदा गेटाफे सम्भावित जितको अवसरबाट वञ्चित हुनुपरेको थियो ।

प्रकाशित: ८ माघ २०७४ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App