१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भन्सारबाटै फर्काइए अदुवा

झापाको काँकडभिट्टा भन्सार वरपर निकासी रोकिँदा अलपत्र अदुवा लोड गरिएका ट्रक । भारतीय पक्षले पास नदिएपछि सोमबार यी ट्रक व्यवसायीले अदुवासँगै घर फर्काएका छन् । तस्बिर - नागरिक

इलाम – पटक–पटक विभिन्न बहानामा नेपाली कृषिजन्य उत्पादनको निकासीमा अवरोध खडा गरिरहेको भारतले पुनः अदुवा निकासी रोकेको छ । भारतीय भन्सारले अनुमति नदिँदा पूर्वको काँकडभिट्टा नाकामा रोकिएका अदुवा लोड भएका पाँच दर्जन ट्रक साता दिन पर्खिएर पुनः नेपाल फर्काइएका छन् ।

१६ टनका दरले अदुवा लोड भएका ६० ट्रकमध्ये कुनै दुई साता र कुनै एक साताअघि मेची भन्सार कार्यालय परिसरमा पुगेका थिए । तर, भारतीय भन्सारका कर्मचारीले अकस्मात ‘माथिबाट आएको पत्रको कारण’ देखाउँदै नेपाली अदुवा मेची नदी कटाउनै नदिएपछि लोड भएका ट्रक फर्काउन बाध्य भएको व्यवसायीले बताएका छन् । ‘पटक–पटक मन्त्रालयस्तरसम्म पहल गर्दा पनि यसपटक अदुवा निकासी गराउन सकिएन,’ अदुवा व्यवसायी संघ अध्यक्ष नरेन्द्र खड्काले भने, ‘यतिका दिन मेची भन्सार वरपर राखेका ट्रक निकासीको कुनै उपाय नलागेर घरै फर्काउनुपर्यो ।’

उनले दर्जनौंपटक भारतले अदुवा निकासी हुन नदिएर रोके पनि भन्सार पुर्याएर घरै फर्काउनुपरेको यो पहिलो घटना भएको बताए । ‘भन्सार पुगेका लोड गाडी कहिले साता र कहिले महिना दिन पुगेपछि उतै (भारत) पठाएका घटना त अनगिन्ती छन्,’ उनले भने, ‘यसरी निकासी नै हुन नदिएर गाडी फर्काउनुपरेको घटनाले व्यवसायीमात्रै होइन, किसानलाई पनि ज्यादै दुःखी बनाएको छ ।’

इलाम र पाँचथरसहित विभिन्न जिल्लाका व्यवसायीले भारत निकासीका लागि अदुवासहितका ट्रक १४ दिनदेखि भन्सार पु¥याएका थिए । भारतीय भन्सारका कर्मचारीले नेपाली अदुवा निकासीका लागि कुनै अनुमति नभएको ‘देखावटी’ कारणले कुनै पनि ट्रकलाई पास हुन अनुमति नै नदिएको व्यवसायी बताउँछन् । ‘हामीले भारतमा पनि भन्सारभन्दा माथिल्ला सरोकारवाला निकायमा पहल नगरेका होइनौं,’ खड्काले भने, ‘तर, हाम्रो कुनै सीप चलेन । अन्तिममा एकोहोरो खर्चमा त्यहाँ पुगेका लोडगाडी दोहोरो खर्च गरेर फर्काउन बाध्य भयौं ।’

उनले भारतले नेपाली व्यवसायीलाई यसपटक चाहिँ हतास बनाएको बताए । ‘कुनै स्पष्ट कारणबिना नेपालको कृषि उपज भारतले रोक्यो,’ उनले भने, ‘सन् २०१७ मा भएको नेपाल–भारत वाणिज्य सन्धिविपरीत नेपाली कृषि उपज निकासीमा भन्सारले अवरोध गरेको छ ।’ अध्यक्ष खड्काले यसअघि चिनियाँ अदुवा मिसावट र अन्य कारण देखाइए पनि यो पटक भारतको लखनउ कमिस्नरले नै नेपाली अदुवा निकासी हुन नदिएको खबर आएको बताए । ‘भारतीय कमिस्नरले फ्रेस नेपाली अदुवा रेस्टिकेट गरेको छ,’ उनले भने, ‘यो वाणिज्य सन्धिविपरीत छ ।’

उनले वाणिज्य सन्धि पनि व्यवसायीबाट लुकाइएको बताए । ‘वाणिज्य सन्धिमा स्वतन्त्र पारवहन अधिकार भएपनि सन्धि नै व्यवसायीबाट लुकाएर भन्सारका कर्मचारीलाई नेपाली अदुवा रोक्न दबाब दिइएको हुन सक्छ,’ उनले भने, ‘भारतीय व्यापारीका एजेन्टले पनि असिस्टेन्ट कमिस्नरको निश्चित कोटाको अनुमति लिएर मात्र नेपाली अदुवा लैजाँदै थिए, अब त त्यो पनि रोकियो ।’

भन्सार पुगेका प्रत्येक गाडीमा १६ टनका दरले अदुवा रहँदा पनि करिब नौ सय ६० टन अदुवा भन्सारमा अलपत्र परेपछि फर्काउन बाध्य भएको व्यवसायी कृष्ण पौडेलले बताए । ‘बाहिर सुन्नमा आएको चाही चिनियाँ अदुवा नेपाली अदुवामा मिसिएर भन्ने छ,’ उनले भने, ‘वास्तविकता के हो पत्तो पाइएन, अदुवा बोकेका ट्रक भन्सारमा राख्दा दिनैपिच्छे खर्च झन्–झन् बढ्ने भएकाले मेरै चारवटा ट्रक फकाउनुपरेको छ ।’
यसअघि पनि पटक–पटक भारतीय भन्सारले नेपाली अदुवा निकासीमा अवरोध गरिरहेको थियो ।

तीन वर्षयता नेपाली अदुवा निकासीमा भारतले मुख्य सिजनमै अवरोध गरिरहेको छ । यसरी हुने अवरोधका कारण व्यवसायी पटक–पटक मेची भन्सार पु¥याएको अदुवा त्यहीँ कुहिएपछि फ्याँकेर घर फर्किएका थिए । ‘अहिलेको निकासीमा अवरोध समस्या निकै जटिल हो,’ अध्यक्ष खड्का भन्छन्, ‘अब यो समस्या समाधान प्रधानमन्त्रीभन्दा तल्लो तहबाट सम्भव छैन ।’ दुवै देशका प्रधानमन्त्रीले अदुवा निकासीको समस्या समाधानमा पहल गर्नुपर्ने उनले बताए । ‘हामीले वर्षाैंदेखि प्रयास गरे पनि कुनै न कुनै बहानामा भारतले अदुवा निकासी अवरोध गरिरहेको छ,’ उनले भने, ‘अब पनि समस्या नसुल्झिए अर्बाैंको नेपाली कृषि बाली अदुवाको निकासी ठप्प नै भइसक्यो ।’

यो पटक अदुवा खन्ने सिजन सकिए पनि व्यापारीसँग भएको अदुवा बेच्ने बेला निकासी रोकिएपछि व्यापारी चाहिँ बढी समस्यामा छन् । संघका अनुसार यो सिजनमा नेपालबाट करिब आठ सय ट्रक अदुवा निकासी भइसकेको छ भने दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा अझै निकासी हुन बाँकी छ । ‘एउटा गाडीमा सरदर ६ लाख रुपैयाँको अदुवा हुन्छ,’ खड्काले भने, ‘हिसाब गर्नुस्, अब कति घाटा हुन्छ होला ।’



   

प्रकाशित: ९ माघ २०७४ ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App