१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लेडी बाइक राइडर

कतिपयलाई बुलेट बाइकको चर्को आवाज मन पर्दैन । सडकमा ‘भ्वाँ–भ्वाँ’ गर्दै बाइक आउँदा कान थुन्नेहरू पनि छन् । सामाखुसीकी दिव्या थापा (२२)लाई भने त्यही बुलेटको आवाज मन पर्छ । आफ्ना साथीहरू र दिदीले समेत सुस्तरी स्कुटर चलाइरहेका बेला दिव्या भने बुलेट ‘भ्वाँ–भ्वाँ’ पारेर तिनलाई तर्साउँदै हिँड्छिन् । 
मानविकी संकाय स्नातक तहमा अध्ययनरत दिव्या ‘बाइक राइडर’ हुन् । त्यसैले त उनी अधिकांश नेपाली युवतीभन्दा फरक छन्। 

उनी बुलेट गुडाउँदै एक सहरबाट अर्को सहर पुग्ने मात्र होइन, विभिन्न कार्यक्रममा बाइक गुडाउने कला देखाएर दर्शकलाई मोहितसमेत पार्छिन् । उनी विभिन्न ‘बाइक स्टन्ट’ र ‘बाइक रेस’मा समेत सहभागी भइसकेकी छन् । केही प्रतियोगितामा उपाधि समेत जितिसकेकी उनले ‘केटी पनि यस्तो गर्न सक्छन् र ?’ भन्नेहरूलाई चकित पारिसकेकी छन्। 

दिव्यालाई ‘बाइक राइडर’ बन्ने इच्छा भने आफ्नै दिदीप्रतिको इखले जन्माएको हो । उनी ११ वर्षकी हुँदा दिदीले स्कुटर चलाउन थालिसकेकी थिइन् । दिदीले स्कुटर चलाएको देख्दा उनलाई पनि चलाउन मन लाग्यो । उनले दिदीलाई सोधिन्, ‘दिदी स्कुटर कसरी चलाउने हो ?’ दिदीले फ्याट्ट भनिदिइन्, ‘तँ जस्ता बच्चाले स्कुटर चलाउन सक्दैनन् ।’ 
दिदीको जवाफले उनलाई निकै घोच्यो । अनि मनमनै सोचिन्, ‘पख तलाईं म स्कुटर उडाएर देखाइदिन्छु ।’ त्यही इखले उनलाई ‘बुलेटवाली दिव्या’ बनाएको हो। 

‘सानोमा म छुच्ची थिएँ, दिदीले गाली गरेपछि स्कुटर कुदाएरै देखाउँछु भन्ने इख जाग्यो,’ उनी भन्छिन्, ‘त्यही इख र रिसले मलाई बाइक राइडर बनायो।’ 

दिदीले स्कुटर चलाउन नदिएपछि दिव्याले बाबालाई फकाइन् । ‘एक दिन बाबा, म र भाइ बसिरहेका बेला बाबालाई कसरी बाइक चलाउने भनेर सोधेँ,’ उनले भनिन्, ‘बाइक चलाउँदा दायाँ हातमा एक्सिलेटर र बायाँमा क्लज हुन्छ । बाबाले विस्तारै क्लज छोड्दै चलाउने हो भनेर सिकाई दिनुभयो ।’ केही समयपछि उनलाई घरको बाइक चलाउने मौका मिल्यो । तर, बाइक चलाउन भने सकिनन्। 

‘बाइकमा चाबी लगाएर बाबाले भनेजस्तै गरेपछि बाइक स्र्टाट मात्र भयो, गुडेन,’ हाँस्दै उनले भनिन्, ‘बाइक न्युट्रलमा रहेछ त्यो बेलामा । गियरबारे केही थाहै भएन, अहिले कुरा सम्झँदा हासो पो लाग्छ।’ 

बाइक कुदाउने सपना साकार नभएपछि बाबालाई फकाएर चलाएको उनी बताउँछिन् । ‘बाबाले गियरबारे बताउनु भएपछि एक पटक पनि नलडी चलाएँ,’ उनले भनिन्। 

उनले आर एक्स हन्ड्रेड बाइक सिकिन् । केही समयपछि उनका बाबाले नयाँ बाइक किन्नुभयो, एक सय ५० सिसीको पल्सर । त्यसपछि उनले पल्सर पनि चलाइन् । पल्सरपछि भिआर बाइक चलाएको उनी बताउँछिन् । तर, त्यो बाइक चलाउँदा आफू धेरै दुर्घटनामा परेको र परिवारले गाली गरेपछि बेचेको उनले बताइन् । त्यसपछि भाइको आर वन फाइभ बाइक चलाएको उनी बताउँछिन् । अहिले भने उनी बुलेट चलाउने गरेकी छिन्। 

उनले नेपालका केही बाइक रेस प्रतियोगिता समेत जितेकी छिन् । ‘परिवारको साथ र सहयोगले नै मेरो इच्छा पूरा गर्न पाएँ,’ उनले भनिन्, ‘आफूमा म सक्छु भन्ने विश्वास हुनुपर्छ, अनि हरेक कुरा गर्न सकिन्छ ।’ उनी मुख्यरूपमा सुरक्षाका कुरामा ध्यान दिन जरुरी रहेको बताउँछिन्। 

चापागाउँकी सुनिता देशार होन्डाको सेफ्टी राइडिङ ट्रेनिङ सेन्टरकी महिला प्रशिक्षक हुन् । बाइक चलाउन सिकेपछि पहिलो पटक बाइक रेस प्रतियोगितामा भाग लिँदा तेस्रो भएको उनी बताउँछिन् । ‘बाइक रेसमा लडेर पनि तेस्रो भएँ । पछि थप हौसला बढेको हो,’ उनले भनिन्। 

परिवारलाई बुझाउन सकियो भने कुशल बाइक राइडर हुन सकिने उनले बताइन् । आफ्नो ट्रेनिङ सेन्टरमा पहिलेको तुलनामा महिलाको संख्या बढ्दो रहेको उनी सुनाउँछिन् । ‘इच्छाशक्ति छ भने केही गाह्रो हुँदैन,’ उनले भन्छिन् । इच्छाशक्तिले गर्दा नै आफू बाइक राइडर भएको उनले बताइन्।

बाइक राइडर बन्न कोसिस गर्नुपर्ने उनको सुझाव छ । ‘बाइक ह्याभी हुन्छ । सिक्ने क्रममा लडिन्छ, तर लडियो भनेर छाड्नु भने हुँदैन । प्रयास गरिरहनु पर्छ,’ उनले भन्छिन्। 

दाइले बाइक चलाउन सिकाएको उनले बताइन् । उनीसँग पनि थुप्रै बाइक रेस प्रतियोगितामा भाग लिएको अनुभव छ । भविष्यमा कुशल ‘स्टन्ड ओम्यान’ बन्ने योजना रहेको उनले बताइन्। 

परिवारसँगै समय व्यवस्थापन गर्न सकेकाले नै यो उपलब्धि पाएको उनको भनाइ छ । सुरुमा आफूलाई बाइक रेस प्रतियोगिता हुने थाहा नभए पनि इन्टरनेटबाट जानकारी पाएको उनले बताइन् । ‘बाइक रेस प्रतियोगिताबारे पहिला थाहै थिएन, तर पनि भाग लिएँ,’ हास्दै उनले भनिन् । प्रतियोगितामा तेस्रो स्थान भएपछि निकै खुसी लागेको उनले अनुभव सुनाइन् । ‘प्रतियोगितामा बाइकबाट लडेर चोट नै लागेको थियो, अझैसम्म जिउ दुख्छ,’ उनले भनिन्। 

छाउनीकी बिन्जु श्रेष्ठ पनि लेडी बाइक राइडर हुन् । सुरुमा स्कुटर र त्यसपछि बाइक सिकेको उनले बताइन्।
आफन्त दिदीलाई स्कुटर चलाउन सिकाइदिन अनुरोध गरेपछि स्कुटर सिक्न गएको उनले सुनाइन्। 

‘स्कुटर सिक्दा चौरमा धेरै केटाहरू थिए । एक जनाले तिमी नेवार हो ? भनेर सोध्यो, मैले हो भनेपछि उसले नेवारले त स्कुटर चलाउन सक्दैन भन्यो । त्यसपछि त्यसैलाई देखाउनकै लागि नै स्कुटर सिकेँ,’ उनले भनिन्। 

स्कुटर चलाउन सिकेको केही समयपछि उनले लाइसेन्स पनि बनाइन् । ‘लाइसेन्स पाएपछि मलाई स्कुटर चलाउन नसक्ने भन्ने केटालाई देखाउन कति दिन घाँटीमा झुण्डाएर हिँडेकी थिएँ,’ उनले आफ्नो रमाइलो घटना सुनाइन् । 
सानैदेखि केटीभन्दा केटा साथीसँग नै धेरै मिल्ने गरेको उनले सुनाइन् । ‘सबैले केटाको संगत गरेको भनेर गाली गर्नुहुन्थ्यो,’ उनले त्यतिबेलाको घटना सुनाइन्।

स्कुलको पढाइ सकेपछि परिवारसँग झुट बोलेर केटा साथीसँग बाइक चलाउन सिक्न गएको बताउँछिन् । बाइक चलाउन सिके पनि जानकारी नहुँदा गाह्रो भएको उनको अनुभव छ। 

इन्टरनेटमार्फत बाइक रेस, स्टन्ड गर्नेबारे जानकारी पाएपछि साथीसँग मिलेर सिकेको उनी बताउँछिन् । आफूलाई स्टन्ड गर्न मन लागे पनि समय व्यवस्थापन गर्न नसकेकोमा उनी दुःखी छिन् । ‘अहिले आफ्नै कारणले समय दिन पाएकी छैन,’ उनी भन्छिन्। 

परिवारसँग झुट बोलेर उपलब्धि पाए पनि अहिले भने परिवारको साथ रहेको उनी बताउँछिन् । तर, अहिले अरुले कुरा काट्ने गरेकोमा उनलाई दुःख लाग्ने गरेको छ । आफू सही बाटोमा भएकाले अरुले जेसुकै कुरा गरे पनि पछि नहट्ने उनको दृढ विश्वास छ । ‘केटाहरूको बिचमा तँलाई गाह्रो हुन्न ? सम्म भन्थे आफन्तहरूले,’ उनले दुखेसो सुनाइन् । परिवारलाई विश्वास दिलाउन सके असम्भव केही नहुने उनको भनाइ छ।

लेडी बाइक राइडरका लागि विभिन्न जानकारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन्, मेरिना श्रेष्ठ । ‘हाम्रो कार्यक्रममा देश विदेशबाट विभिन्न महिलाहरू सहभागी हुन आउँछन्, जुन हाम्रा लागि गौरवको कुरा हो,’ उनले भनिन् । उनले नेपालका धेरै महिला बाइक राइडर आफ्नै उत्पादक रहेको बताइन्। 

उनी बाइक राइडरले मानसिकरूपमा तयार हुनुपर्ने सुझाउँछिन् । अध्ययनका लागि चार वर्ष जर्मनी बसेकी उनी अहिले राइडर सेग्निफाइडमा संलग्न छिन्। 

उनी महिला बाइक राइडरको शारीरिक सुरक्षा, रोड सेफ्टी, गियर, बाइकको बारेमा जानकारी दिन विभिन्न कार्यक्रम गर्दै आएको बताउँछिन् । महिला बाइक राइडरले खाना, आफ्नो बाइक तथा सुुरक्षामा निकै ध्यान दिनुपर्ने उनको सुझाव छ। 

प्रकाशित: १३ माघ २०७४ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App