१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दीप दिल्ली डियरडेभिल्समा

काठमाडौं – एक वर्ष अवधिमा चितवन क्रिकेट एकेडेमीको नेटबाट यु–१९ हुँदै राष्ट्रिय टोलीसम्म स्थान बनाउन सफल लेग स्पिनर सन्दीप लामिछानेको तीव्र गतिले करियर सुरु गरेको तेस्रो वर्षमै आइपिएलको सनसनीपूर्ण गन्तव्य भेट्टाएको छ ।

इन्डियन प्रिमियर लिगमा सहभागी दिल्ली डेयरडेभिल्सले आइतबार उनलाई आधार मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गर्यो । दिल्लीले उनलाई आधार मूल्यमा लिने इच्छा देखाउँदा अन्य कुनै पनि टिमले भाउ नलगाएपछि सन्दीप दिल्लीसँग अनुबन्धित भएका हुन् ।यसबाट चितवन क्रिकेट एकेडेमीमा सन्दीपलाई पहिलो पटक प्रशिक्षण गराएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको खुसीको सीमा छैन । ‘आज मेरो खुसीको सीमा छैन । गुरु भनेको पनि बाबुआमाजस्तै हो । एउटा गुरुले आफ्नो चेलाबाट बाबुले छोराबाट जस्तै सपना देखेको हुन्छ । सन्दीपले यस्तो ऐतिहासिक उपलब्धि हासिल गरेर देशको नाम राख्दा प्रशिक्षकको नाताले म खुसी हुनु स्वाभाविक हो,’ खड्काले नागरिकसँग भने ।

बुवा भारतीय रेल्वेमा कार्यरत भएकाले उनले भारतमा हुँदा हल्काफुल्का क्रिकेट खेल्ने गरेका थिए । पछि नवलपरासीको रजहरमा आएपछि पनि क्रिकेट खेल्ने उनको इच्छामा कुनै कमी आएन । ‘हाम्रो एकेडेमीका बारेमा थाहा पाएपछि सन्दीप आए । उनी निकै मिहिनेती थिए । सुरुआती दिनमा टर्न राम्रो भए पनि बलिङमा स्पिड थिएन’, खड्काले भने, ‘मैले स्पिड बढाउन सल्लाह दिएँ । अहिले ऊ सानै उमेरमा पनि परिपक्व क्रिकेटर बनिसकेको छ ।’सन्दीप दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएको आइतबारको दिनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटका लागि सुनौलो दिनका रुपमा बयान गरे । ‘नेपाली जनता, क्रिकेट खेलाडी, समर्थक र नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई बधाई छ । नेपाली क्रिकेट खेलाडीका लागि आज गौरवशाली दिन हो । सन्दीपलाई स्वागत छ,’ पारसले ट्विट गरेका छन् ।

लामो समयदेखिको विवादले अन्तर्राष्ट्रियस्तरमा निलम्बनमा पु¥याएको नेपाली क्रिकेटलाई निकास दिने उद्देश्यका साथ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टोली नेपालमा सरोकारवालासँग छलफलमा व्यस्त भइरहेका बेला दिल्ली डेयरडेभिल्सको रोजाइमा परेर सन्दीपले आशाको किरण देखाएका छन् । ‘यो सिजनको आइपिएलमा दिल्ली डेयरडेभिल्सको खेलाडीका रुपमा अनुबन्ध हुन पाउँदा निकै खुसी छु । मलाई यसको लायक देख्ने सबैप्रति विशेष धन्यवाद दिन चाहन्छु,’ सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यहाँबाट यात्रा सुरु भएको छ ।’

 

प्रकाशित: १५ माघ २०७४ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App