२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

परम्परागत हाकुपटासीमा उद्यमको रङ

नेपाल उद्यमी महिला संघ भक्तपुरको मंगलबार तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनमा परम्परागत थैली देखाउँदै स्थानीय महिला उद्यमी । तस्बिर : उपेन्द्र-नागरिक

भक्तपुर – भक्तपुर ब्यासीकी चन्द्रलक्ष्मी प्रजापती केही वर्ष अघिसम्म घरधन्दामै सीमित थिइन् । नेवारी परम्परागत पहिरन हाकुपटासीमा सजिएर जात्रा पर्वमा रमाउँथिन् । मंगलबार भने उनी नेपाल महिला उद्यमी संघको कार्यक्रममा परम्परागत पहिरनमै सजिएर आइन् । त्यो पनि आफ्नै घरमा बुनेको कपडाबाट निर्मित ।

‘एक दशकअघि सुरु गरेको ह्यान्डिक्राफ्ट उद्योगले बजार राम्रो पाउन थालेको छ,’ उनले भनिन्, ‘हामीले आफैंले मात्र प्रयोग गर्ने सामान अरुलाई बेच्न थालेका छौं ।’ नेपाल महिला उद्यमी संघ, भक्तपुर शाखाकी सदस्यसमेत रहेकी उनले संघमा आवद्ध भएपछि थप आत्मविश्वास पलाएको सुनाइन् ।
‘रातो र कालो रङको यो पहिरनमा आत्मविश्वासको रङ पनि थपिएको छ,’ लक्ष्मी ह्यान्डिक्राफ्टकी उनले भनिन्, ‘यसले हाम्रो मनोबल बढाएको छ ।’ आफ्नो घरमा रहेको कारखानामा चार महिला र दुई पुरुषले रोजगारी पाएको उनले सुनाइन् ।

उनीमात्र हैन, परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएर घरधन्दा तथा जात्रापर्वमा रमाउने भक्तपुरका नेवार महिला उद्यमतर्फ पाइला सार्दैछन् । नेपाल महिला उद्यमी संघमा आवद्ध भएर अघि बढेका उनीहरु अहिले सामूहिक रुपमा अवसरका ढोका ढक्ढक्याउँदै छन् । यसले उनीहरुको आर्थिकस्तर सुधार्नुका साथै समाजमा पहिचान बनाएको छ ।‘पहिला घर–परिवारको र श्रीमानको भरमा बस्नुपथ्र्यो,’ अर्की महिला उद्यमी मन्दिरा सिल्पकार सुनाउँछिन्, ‘अहिले आत्मनिर्भर भएर अरुलाई रोजगारी दिने अवस्थामा पुगेका छौं ।’ परम्परागत व्यवसायलाई आधुनिकीकरण गरेर अघि बढ्दा त्यसले प्रगतितर्फ लैजाने उनको बुझाइ छ ।

यस्तै बुझाइ भएका ४३ उद्यमी अहिले संघमा समेटिएका छन् । उनीहरुका कारण पाँच सयले प्रत्यक्ष रोजगारी पाएका छन् । आठ सयलाई अप्रत्यक्ष रोजगारी मिलेको उद्यमी रिता अवालले जानकारी दिइन् । हस्तकलाका सामग्रीदेखि तरकारी खेतीसम्मलाई उनीहरुले नयाँ रुप दिएका छन् । परम्परागत काष्ठकलादेखि ब्युटी पार्लरसम्म सञ्चालन गरेका छन् । ‘अझै धेरैलाई समेट्ने हाम्रो योजना छ,’ उनले थपिन्, ‘यस अभियानमा हामी लागेका छौं ।’

नेपाल महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष शारदा रिजाल पनि समाजमा लुकेर रहेका उद्यमीलाई बाहिर ल्याउनुपर्ने बताउँछिन् । ‘बजार अनुसार सामान उत्पादन गर्दै अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘त्यसो भए समाज परिवर्तन हुन्छ ।’संघकी तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले स्थानीय महिलालाई समयको व्यवस्थापन गर्दै अघि बढ्न सुझाइन् । ‘घर म्यानेज गर्नेले समाज र देशको समेत म्यानेज गर्न सक्छन्,’ उनले भनिन्, ‘उद्यमशीलताले आफूलाई सक्षम बनाई महिला अघि बढ्नु जरुरी छ ।’ उद्यमशीलताको माध्यमबाटै महिलाले समाज परिवर्तन गर्न सक्ने उनले सुनाइन् ।

बजारको मागअनुसार उत्पादन गरे आर्थिक रुपमा अघि बढ्न सक्ने उनको बुझाइ छ । ‘केन्द्रले अहिले उत्पादित सामान बिक्रीको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा बजारको खोजी समेत गरेको छ,’ ज्ञवालीले भनिन्, ‘त्यसको लागि उपयुक्त सामग्री उत्पादन गर्नु जरुरी छ ।’ मार्च २२ देखि २६ सम्म अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना हुन लागेको जानकारी दिँदै उनले यसबाट आफ्ना सामानको प्रवद्र्धन गर्न सकिने बताइन् । केन्द्रले २९ ठाउँमा शाखा खोलिसकेको जानकारी गराउँदै नौ स्थानमा प्रक्रिया अघि बढेको पनि ज्ञवालीले बताइन् ।उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतीले महिलाले उद्यमशीलतातर्फ बढाएको पाइला नरोकिऊन् भन्दै यसको लागि आफ्नो संघले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
 


 

प्रकाशित: १७ माघ २०७४ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App