१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दरबार क्षेत्रमा अवैध पसल

पाटन दरबार क्षेत्र प्रवेशद्वारसँगै जोडेर करिब ५० वटा पसल चलाइएका छन् । यी पसलमा विभिन्न सामान किन्ने, कफी पिउने, साँझका बेला टहलिने र दिउँसो घाम ताप्नेको भीड लाग्छ। 

रमाइलो गर्न यी पसलमा आउने अधिकांशलाई यी पसल अवैध रूपमा चलेका छन् भन्ने हेक्का समेत रहँदैन । कतिपय विकसित मुलुकमा यसरी अवैध रूपमा चलेका पसलमा ग्राहकहरू सामान किन्न समेत जाँदैनन् । तर, पाटन दरबार क्षेत्रका यी अवैध पसलबारे न ग्राहकलाई चासो छ, न त सरकारलाई नै। 

औपचारिकताका लागि पुरातत्व विभाग र ललितपुर महानगरपालिकाले पटक–पटक पसल बन्द गराउन पत्र काटे पनि हालसम्म पसल बन्द भएका छैनन्। 

रमाइलो गर्न यी पसलमा आउने अधिकांशलाई यी पसल अवैध रूपमा चलेका छन् भन्ने हेक्का समेत रहँदैन । कतिपय विकसित मुलुकमा यसरी अवैध रूपमा चलेका पसलमा ग्राहक सामान किन्न समेत जाँदैनन् । तर, पाटन दरबार क्षेत्रका यी अवैध पसलबारे न ग्राहकलाई चासो छ, न त सरकारलाई नै । 

पाटन दरबार आसपासमा सञ्चालित यी पसल कवलको भाडा समेत एकदमै न्यून छ । यी पसलले मासिक पाँच सय रुपैयाँ हाराहारी भाडा तिर्छन् । यही भाडा पनि गुठी संस्थानले वर्षौंदेखि उठाउन सकेको छैन। 

सम्पदा क्षेत्रका व्यावसायिक पसल हटाउन गत पुस ९ गते पनि गुठी संस्थान, महानगरपालिका र पुरातत्व विभागले संयुक्त पत्र काटेका थिए । पत्रमा १५ दिनभित्र पसल हटाउनुपर्ने उल्लेख भए पनि हालसम्म कुनै पसल हटेका छैनन्। 

सम्पदा क्षेत्रमा जथाभावी पसल सञ्चालन गरेर दरबार क्षेत्र कुरूप र फोहोर पारेको भन्दै यस्तो निर्देशन जारी गरिएको पुरातत्व विभाग ललितपुरका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए। 

यस क्षेत्रमा करिब सय वर्षदेखि व्यवसाय  गर्दै आएको भन्दै व्यवसायीले पसल हटाउन नमानेको उनले बताए । १९९० सालको भूकम्पका बेलादेखि यहाँ पसल सुरु गर्नेले पुस्तेनी रूपमा पसल सञ्चालन गरिरहेको उनले जानकारी दिए।  

‘धेरैजसो व्यवसायीले सय वर्ष अघिदेखि यही ठाउँमा पसल थापेर बसेको भन्दै हटाउन अटेरी गरेका छन्,’ उनले भने, ‘यसरी सम्पदा क्षेत्रका व्यापार गर्दा सम्पदाको महत्व कम हुन्छ।’

दरबार परिसरका र अवैध पसल हटाउने काम  गुठी संस्थान ललितपुर शाखा भएको उनले बताए । गुठी संस्थानले पसल हटाउने सम्बन्धमा कुनै कदम नचालेको उनको आरोप छ । ‘व्यवसायीलाई यहाँबाट हटाउनु भनेर धेरैपल्ट गुठी संस्थानलाई आग्रह पनि ग¥र्यौं,’ उनले भने, ‘हालसम्म यो विषयलाई संस्थानले गम्भीर रूपमा लिएन।’ 

गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेल पसल हटाउने काम पुरातत्व विभाग र महानगरपालिकाको रहेको भन्दै पन्छिए । उनले भने, ‘पसलको बहाल कर उठाउने जिम्मा हाम्रो हो, हटाउने निकाय विभाग र महानगर नै हुन् ।’ उनले व्यवसायीले १५ वर्षदेखिको बहाल कर समेत तिर्न अटेरी गरेको सुनाए । ‘पुर्खौंदेखि यस क्षेत्रमा पसल थाप्दै आएको भन्दै व्यवसायीले हट्न मान्दैनन्,’ उनले भने, ‘माथिल्लो निकायले आदेश दिने हो भने हामी हटाउन सक्छौँ।’ 

गुठी संस्थानका पूर्वप्रमुख बैकुण्ठ आचार्य आफ्नो कार्यकालमा सम्पदा क्षेत्रका अवैध पसल हटाउन धेरै कोसिस गर्दा पनि नसकेको बताउँछन् । ‘अवैध पसल हटाउने भनेर हामीले दुई वर्षअघि सबैलाई पत्र काटेका थियौँ,’ उनले भने, ‘तर, अदालतले नहटाउन अन्तरिम आदेश जारी गरेपछि हटाउन सकेनौँ।’ 

उनी दरबार क्षेत्रमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढेको बताउँछन् । अहिले व्यवसायीले कब्जा गरेको जग्गाको क्षेत्रफल करिब चार रोपनी छ । त्यो जग्गा सरकारी र गुठीको स्वामित्वमा छ । ‘यहाँ दुई पैसा र आनामा बनेका धेरै पुराना टहरा छन्,’ उनले भने, ‘सबै जोड्दा दरबारको चार रोपनीभन्दा बढी जग्गा व्यापारीले कब्जा गरेको देखिन्छ ।’ उनले अहिले मन्दिरको पेटी आसपासमा समेत व्यवसायीले जबर्जस्ती पसल सञ्चालन गरेको बताए। 

भूकम्पले भत्किएको हरिशंकर मन्दिरको छेवैमा पनि पसल चलाइएको छ । पसल राखेको टहरो बनाउँदा मन्दिरको पेटी मिचिएको छ । मन्दिर पुनर्निर्माण सुरु गर्न थालेपछि पुरातत्व विभागले टहरो हटाउन निर्देशन जारी गरे पनि अझै हटेको छैन। 

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नगरपालिका एक्लैले समस्या समाधान गर्न नसक्ने बताए । नगरपालिका नबन्दै दरबार क्षेत्रमा व्यवसायीले पसल सञ्चालन गर्दै आएकोे भए पनि उनीहरूलाई हटाएरै छाड्ने उनले जानकारी दिए । ‘हामीले यसअघि हटाउन पनि खोजका थियौँ,’ उनले भने, ‘पुर्खाैंदेखि यसरी नै व्यवसाय गर्दै आएको भन्दै धेरैले हट्न मान्दैनन् ।’ उनले यसअघि पुरातत्व विभाग र नगरपालिकाले पत्र काटे पनि व्यवसायीले अटेरी गरेको दाबी गरे।

पुराना पाटीभित्र पसल
पाटन क्षेत्रमा स्थानीय बूढापाकाका अनुसार अहिले दरबारभित्र धेरै पसल राखिएको भवन पहिले पाटी थियो । पुरानो पाटीलाई स्थानीयले आफ्नो कब्जामा लिएर पसल सञ्चालन गर्न थालेको गुठी संस्थानका पूर्वप्रमुख आचार्यले बताए। 

उनले आफूले सुनेअनुसार पाटन दरबारको मुख्य प्रवेशद्वार नजिकै रहेको पसल मल्लकालीन पाटी बारेर बनाइएको हो । ‘यो कुरा धेरैलाई थाहै छैन,’ उनले भने, ‘हामीले सोधिखोजी गर्दा पहिले आराम गर्ने पाटी भएको पायौँ।’ 

यस्ता खाले व्यावसायिक पसल सुन्दरी चोक अगाडि, हरिशंकर मन्दिरको दक्षिण र पश्चिम, लगनखेल हुँदै मंगलबजार छिर्ने बाटो र दरबारको बीच भागमा छन् ।  पसल सञ्चालन गर्दा सम्पदाको महत्व घटेको स्थानीय श्याम ताम्राकारले जानकारी दिए । ‘सम्पदा क्षेत्रको पसल पनि भाडामा लगाउने साहु छन्,’ उनले भने, ‘बहाल कर तिर्दैनन्, अर्को व्यक्तिलाई लाखौँमा भाडामा लगाएका हुन्छन्।’

प्रकाशित: १९ माघ २०७४ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App