२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

विजयको उन्माद र सुझबुझ

एक हदसम्मको युद्ध, द्वन्द्व, कटुतापूर्ण प्रतिस्पर्धा, तालमेल, गठबन्धन हुँदै पार्टी एकताको संघारसम्म आइपुग्दा एमाले र माओवादीबीचको सम्बन्धका विभिन्न आयाम रहेका छन् । अब यी दुई पार्टीको सम्बन्ध र त्यसको असर केवल दुई पार्टीमा सीमित रहेन । चुनावमा अभिव्यक्त जनमत र राज्य हाँक्नका लागि प्राप्त जनादेश सृजित गहनता र उत्तरदायित्वले यी दुई दललाई अघि बढ्ने अनुमति छ तर पछि हट्नलाई आदेश छैन । किनकि, इतिहास यस्तो निर्मम र अररो हुन्छ कि जसले मागेको बेला गज दिँदैन, नमागेको बेला थान सुम्पिदिन्छ र गज दिन नचाहनेबाट थान असुल्ने गरिदिन्छ।

नेकपा (माओवादी केन्द्र) को सहयोगबेगर नेकपा(एमाले) को सिंहदरबार पुनः प्रवेश असम्भव थियो । निर्वाचन प्रणाली र समीकरणको व्रmूर खेलका कारण जनताको सह्रानीय साथ र सहानुभूतिका बाबजुद पनि एमाले आफ्नो एक्लो बलबुताले यो हैसियतमा पुग्न कम्तीमा एक वा आधा दशक लाग्ने थियो । लोकतन्त्र, राष्ट्रियता, स्वाभिमान र समृद्धिको मुद्दामा अब्बल भए पनि समीकरणको खेलमा कमजोर देखिएको एमालेले चुनावअघि एकाएक ‘यु’ टर्न मोड लिन सक्यो । माओवादी केन्द्रसँग चुनावी तालमेल, गठबन्धन संस्कृतिको विकास हुँदै पार्टी एकताको संघारमा आइपुग्दा कांग्रेसलाई अस्तित्व रक्षाको महासंकटमा पार्दै एमाले आज राष्ट्रिय राजनीतिको मियो बनेको छ।

भविष्यमा कांग्रेस तंग्रिएछ भने वामपन्थीहरूको विजय उन्माद, बेमेल, विचार शून्य राजनीति, भड्किलो र अपारदर्शी जीवनशैली, अनियमितता र मनमौजीजस्ता कमजोरी र अकर्मण्यताले नै तंग्रिने हो।

प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा एमालेसँग तालमेल नगरेको भए माओवादी केन्द्रको हालत आजको नेपाली कांग्रेसको भन्दा पनि नाजुक हुने पनि निश्चित थियो । नेपाली कांग्रेससँगको अप्राकृतिक गठबन्धन तोडेर एमालेसँगको प्राकृतिक गठबन्धन कस्ने एउटै सही निर्णयले माओवादीलाई उठाइदियो । एमालेसँगको सहकार्यको आडमा माओवादीले आफ्नो आँगनमा हुन थालेको औँसीको अवतरणलाई कांग्रेसी आँगनतिर ठाउँ सारी गर्न सक्यो । समग्रमा दुई ठूला वाम घटकका लागि फुटको निरन्तरताको व्रmमभंग वरदान साबित भएको छ भने वामपन्थीहरूलाई फुटाएर भैँसीको मासु सिँगको अचानो गर्न पल्केको कांग्रेस जीवनबाट हात धुन विवश देखिँदैछ । गणेशमान सिंह, वृmष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाजस्ता विशाल वटवृक्षको छहारीबिनाको आजको कांग्रेसले भोग्नुपरेको यो करारी हारले कृष्णको मृत्युपछिका यदुवंशीहरूले भोग्नुपरेको महाविनाश लीला स्मरण गराउँछ भने आफ्नै कमजोरी, असफलता र अनुभवबाट पाठ सिक्तै यहाँसम्म आइपुगेका वामपन्थीहरूको पोल्टामा परेको उत्थान र उत्कर्षमा टुहुराको पनि दिन आउँछ भन्ने नेपाली उखान चरितार्थ भएको छ । सँगसँगैको सत्य के पनि हो भने केवल एउटा चुनावको परिणाम हेरेर कांग्रेसको पुनरुत्थानका सबै सम्भावनाहरू टरिसके र वामपन्थीहरूका संकट र चुनौतीहरू सदाका लागि सकिए भन्ने निष्कर्षमा पुग्नु सुरुवाती गल्ती हुनेछ । यस प्रकारको सुरुवाती गल्तीबाट वाम गठबन्धन जोगिनु वा नजोगिनुमा नेपालको राजनीति निर्भर हुनेछ।

सत्तारूढ दलको आन्तरिक जीवन जनादेश र जनमतसँग जोडिएको विषय हो । जनता र राष्ट्रको मुटुको धमनीजस्तो संवेदनशील यस मुद्दालाई विगतमा उत्कर्षको बेला एमाले, कांग्रेस, माओवादी, राप्रपा र फोरम सबैले हल्का रूपमा लिएको इतिहास छ । भाइ छुटिए जस्तो वा श्रीमान् र श्रीमतीले पारपाचुके गरेजस्तो वा पारिवारिक पुनर्मिलन जस्तो सपाट मुद्दा होइन, पार्टीकोे एकता र विग्रह । काँधमा हिमालयभन्दा गरौँ बोझ छ भन्ने सत्यलाई हर पल र हर घडी हृदयंगम गर्ने चेत र विवेक भएको दलले मात्र जनताको जनादेशको कदर र सदुपयोग गर्ने सामथ्र्य राख्छ । विगतमा कांग्रेस बारम्बार यसमा चुकेकै हो । एमाले र माओवादी केन्द्र इतिहासको यस मागलाई सम्बोधन गर्न चुक्नुको मूल्य यी दुई दललाई निकै महँगो पर्नेछ । त्यसको प्रत्यक्ष लाभ नेपाली कांग्रेसको पोल्टामा पर्नेछ । यसबाट एकातिर वामपन्थ संसारमा असफल भएको नजीर बस्नेछ र अर्कोतर्फ पुनरुत्थानका सबै सम्भावनाहरू कमजोर रहेको कांग्रेस फेरि उठ्नेछ र कांग्रेसबिना देश चल्न सक्तैन भन्ने भ्रम पुनः सबल भएर आउनेछ । यदि भविष्यमा कांगे्रस तंग्रिएछ भने वामपन्थीहरूको विजय उन्माद, बेमेल, विचार शून्य राजनीति, भड्किलो र अपारदर्शी जीवनशैली, अनियमितता र मनमौजीजस्ता कमजोरी र अकर्मण्यताले प्रदान गर्ने मैदान भएरै तंग्रिने हो।

खँदिलो एकता र विचार राजनीतिको जादुबिना कुनै पनि दल जनताको दिलमा बस्न सक्तैन । राजनीतिमा जनताको दिलमा बस्न नसक्नुको अर्को नाम नै भीरको डिलमा पुग्नु हो वा पतनलाई वरण गर्नु हो । आफू र आफ्नो दललाई जनताको सेवक र देशको सच्चा सौन्दर्यकर्मीका रूपमा वचन र व्यवहारले उभ्याउन सक्ने र जनतालाई अनुभूति दिलाउन सक्ने नेतृत्व, जनताको हित, जीविका, स्वाभिमान, समृद्धि र एकतालाई सर्वस्व ठान्ने सचेत, संगठित र लक्ष्यवर्ती कार्यकर्तापंक्ति भएको दल मात्र आधुनिक राष्ट्र राज्यको नायकत्वको हकदार हुन्छ । यसको उल्टो कार्यकर्तापंक्ति, सहकर्मी, पार्टी, राष्ट्र र जनतालाई आफ्ना सौन्दर्यकर्मी ठान्ने नेतृत्व र उसैको ताबेदारी गरी रहलपहलमा राल काडेर लुछाचुडीमा हात धोएर लाग्ने आत्मसुरक्षाको भावनाले ग्रस्त सहयोगी पंक्ति भएको दल ढिलो चाँडो जनताको कोपको भागेदार हुन्छ । अहिले एमाले र माओवादी जनताको कठोर अग्निपरीक्षामा छन् । यो समय यी दुई दलका लागि मूलतः आफ्नो इमान र औकात पुष्टि गर्नुपर्ने दुर्लभ र अन्तिम अवसर पनि हो । बेइमानी गर्न सक्ने ठाउँमा पुगेर पनि बेइमानी नगर्नेले मात्र इमानदारको प्रमाणपत्र पाउँछ । अहिले जनता जनार्दनले वामपन्थी शक्तिलाई ठूलो अनुकम्पा गरेर लोकतन्त्रप्रतिको अटल निष्ठा प्रमाणित गर्ने ठाउँमा पुर्याएका छन् । जनताको विकर्षण र कोपबाट जोगिन सक्ने कलाको अर्को नाम नै लोकतान्त्रिक व्यवहार हो । लक्ष्यवर्ती राजनीति नै कुनै पनि दलका लागि रक्षाकवच हो । पार्टीको आन्तरिक जीवनको संवेदनशील घडीमा संयम, प्रतिपक्षमाथि सहिष्णु, विरोधका स्वर सुन्न सक्ने धैर्य, जनताप्रति उत्तरदायी, जनताबाट नियन्त्रित र परीक्षित रहेसम्म वामपन्थीहरू मुलुकको मियो बनिरहनेछन्।

विकसित हुँदै गएको सहकार्यको राजनीति र चाँडै हुन थालेको एकीकृत पार्टीका मुहान भनेका आजका एमाले र माओवादी नै हुन् । मुहान सङ्लो भए मात्र चुहान सङ्लो हुन्छ । तुलनात्मक रूपले अहिले बढी धमिलो एमालेकै भँगालोमा देखिन्छ । ठूलो आकार, बहुधु्रवीय नेतृत्वसहितको आन्तरिक जीवन, भुसभुसे र गनेगने प्रकृतिकै सही जबज र जबज विरोधी मतको अस्तित्वसहितको वैचारिक मतभेद र जनताको बहुदलीय जनवादका वंशज र झट्केला समर्थकको बीच बहसको लामो परम्पराका कारणले एमाले माओवादीको तुलनामा बढी विवादग्रस्त भएको हो । वैचारिक भिन्नता  र तुषको मौजुदीका कारण भोलि बन्ने पार्टीको टाउको दुखाइको विषय एमालेमा ल्याउन खोजिएको कृत्रिम वैचारिक भिन्नता र उत्तराधिकारको प्रश्न हुने देखिन्छ । यही बीचमा वामपन्थीहरूको उत्थान र उत्कर्ष नचाहने बाह्य शक्तिको चलखेल तीव्र छ । पार्टीभित्रको अन्तरसंघर्षमा तल परेकाले धमिलो पानीमा माछा मार्न खोज्नु वा पकड जमाएकाले थप बलियो हुन खोज्नु पनि द्वन्द्ववादको नियम संगतकै कुरा हो । जसरी पनि एकता टुटिहाल्ने तत्व र जसरी पनि एकता गर्नुपर्छ भन्ने दुई थरी अतिवादको बीचमा सिद्धान्तनिष्ठ भावनात्मक एकता समाधान सूत्र हो । नुनबिनाको अचार र सर्जामबिनाको नुन उपयोगी हुँदैन । सत्य जहिले पनि बीचमा हुन्छ । एकताको सट्टामा विचार फ्याँकिहाल्ने वकालत गर्नु, स्थापित सिद्धान्त, मूल्य र मान्यतालाई फाटेको चप्पल जस्तै त्याज्य ठान्नु, एकतासँग विचारको अंगभंग, बिव्रmी वा विस्थापन गर्ने दाउ हेर्नु निष्ठाको राजनीति होइन।

प्रतिकूलतामा होस् वा उत्कर्षको अवस्थामा विचार राजनीतिको औचित्य सदाबहार प्रकृतिको हुन्छ । जननेता मदन भण्डारीले समृद्ध पार्नुभएको विचार राजनीतिको वैतर्णीको उपादेयता अहिल्यै सकिसकेको निष्कर्षमा पुग्नु एमालेका लागि विनाशकाले विपरीत बुद्धि हुनेछ । लोकतन्त्र, अग्रगमन, स्वाभिमान र समृद्धिको खुला ध्वजाका रूपमा रहेको जनताको बहुदलीय जनवाद हालै सम्पन्न चुनावमा अभिव्यक्त जनमतको ढुकढुकी हो । महाभारतमा महाप्रस्थानको बेला युधिष्ठिरले साथमा रहेको कुकुरका लागि स्वर्गको ढोका नखुल्ने हो भने एक्लै स्वर्ग प्रवेश गर्न इन्कार गरेजस्तै जस्तासुकै अवसरको मूल्यसँग एमालेले जबज त्याग्नु छैन।

प्रकाशित: २२ माघ २०७४ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App