‘दारु पत्रकार’

सोमबार, २२ माघ २०७४, १७ : ५८ चिरन शर्मा  | @chiranuk


लन्डन- सन् २०१५ को अक्टोबरमा काठमाडौंस्थित अन्नपूर्ण होटलमा गैर आवासीय नेपाली संघको रात्रीभोज चल्दै थियो। देशका धनाढ्यदेखि सेलिब्रेटीसम्मको उपस्थिति थियो। तारे होटलमा आयोजित भोज, त्यो पनि एनआरएनले गरेको पार्टीमा मदिराको कमी हुने कुरै भएन। मदिरा सौखिनका लागि त्यो ठूलो मेला र अवसर जस्तै थियो। विदेशी ब्रान्डको रक्सी रोजी रोजी पिउन पाउने अवसरलाई धेरैले उपयोग गरिरहे।

महंगो कहलिएका तारे होटलमा निःशुल्क पिउने अवसर थोरै नेपालीलाई मात्र प्राप्त हुने गर्छ। मैले आफ्ना मन मिल्ने र मुलधारको पत्रिकामा काम गर्ने केही साथीलाई भेटघाट र डिनरका लागि आमन्त्रण गरेको थिए। डिनर अघि नेपालको एक राष्ट्रिय टेलिभिजनमा कार्यरत मेरा मित्रलाई शुरुमै कुन ब्रान्ड लिने भनेर मदिरा पिउन अफर गरें। हामी एकदमै मिल्ने भएकाले मैले उनलाई आज ढल्ने गरी पिउनु पर्छ है भन्दै ड्रिंक्सका लागि उक्साए। उसले सिधै भन्यो, ‘हेर साथी ढल्ने गरी होइन छाद्ने गरी पिउने हो, तर यहाँ होइन्।‘

लन्डन जानुभन्दा पहिला घरमा आऊ ढोका थुनेर पिउनुको अर्के मन्जा हुन्छ, तर आज मलाई फोर्स नगर यार, उसले सिधै भन्यो। संधै दारुमा रमाउने साथीको बानी यूटर्न देखेर मलाई अचम्म लाग्यो। उ पहिलाभन्दा धेरै जिम्मेवार र पेशाप्रति बफादर भइसकेको रहेछ।

पढ्ने र उमेर छँदै के के गरियो, तर अब पेशामा लागेपछि धेरै कुरा विचार गर्नुपर्छ। आफ् पत्रकार भएकाले सार्वजनिक स्थान र भीडभाडमा कुनै हालतमा दारु नपिउने अड्डी लियो उसले। धेरै कर गर्दा पनि उसले पिएन। कारण थियो, पत्रकार सबै दारुमा बिक्छन् भन्ने समाजको गलत सोच र हेराइको नकारात्मक दृष्टिकोण।

हप्तैपिच्छे एकत्रित हुने र रेष्टुरेन्टमा बसेर मदिरा सहितको तस्बिर पोष्ट गर्दा समाजमा कुरा काट्न सुरु भएको थियो। ‘पत्रकार विकेन्डमा सधैं जता दारु पाइन्छ, त्यतै हिंड्छन्’ भन्ने जस्ता नकारात्मक सन्देश फैलदै थियो।

त्यसको केही समयपछि मैले नेपाल पत्रकार महासंघ यूके शाखा अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ। बेलायतमा पत्रकारको संख्या धेरै भए पनि सक्रिय पत्रकारको संख्या भने न्यून छ। ती मध्ये म लगायत केही साथीहरु सप्ताहन्त भेटघाट, रमाइलो गर्ने गरिन्थ्यो। प्रायः रेष्टुरन्टमा जम्मा हुने, दारु पिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रचलन नै थियो त्यो बेला।

हप्तैपिच्छे एकत्रित हुने र रेष्टुरेन्टमा बसेर मदिरा सहितको तस्बिर पोष्ट गर्दा समाजमा कुरा काट्न सुरु भएको थियो। ‘पत्रकार विकेन्डमा सधैं जता दारु पाइन्छ, त्यतै हिंड्छन्’ भन्ने जस्ता नकारात्मक सन्देश फैलदै थियो। पत्रकार महासंघ शाखाको नेतृत्व लिएको हैसियतले तत्काल त्यसलाई रोक्ने नैतिक जिम्मेवारी मेरै थियो। शाखाका केही साथीहरुको परामर्शपछि नेपाल पत्रकार महासंघ यूकेले स्थानीय समाज सुहाउँदो आचारसंहिता जारी गर्ने निर्णय लिइयो।

आचारसंहिता शाखाको वार्षिक अधिवेशनमा पेश भयो। त्यो आचारसंहिताको एउटा महत्वपूर्ण बुँदामा कुनै पनि मदिरा पिएको तस्बिर सार्वजानिक रुपमा सामाजिक सञ्जालमा पोष्ट गर्न नपाइने भन्ने शब्द राखियो। धेरैले आचारसंहितको त्यो बुंदा नमान्ने र हलबाटै पास गराउन कठिन हुने अवस्था आयो। तर, हलमा चलाखीपूर्ण ढंगले आचारसंहिता प्रस्तुत गरेर पत्रकारले मदिरा पिएको तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने बुँदालाई अनुमोदन गरिएको थियो। नयाँ आचारसंहिताले पत्रकारलाई नैतिक रुपमा दवाव सिर्जना गरेपछि त्यो पूर्णरुपमा कार्यान्वयनमा आयो।

बेलायतको हकमा लन्डनस्थित नेपाली दूतावासमा हुने सार्वजानिक कार्यक्रममा मदिराको खोलै बग्छ। त्यसमा पनि पत्रकारहरु पूर्णरुपमा सदुपयोग गर्न पछि हट्दैनन्। बेलायत जस्तो सभ्य मुलुकमा बसेर अनुशासनको दायराभित्र रहेर सामान्य रुपमा मदिरा पिउने बेलायती संस्कृतिलाई पत्रकारहरुले पालना गर्दै गर्दा समाजको नजर भने फेरिएन।

नेपाली समाजका अगुवाको नजरमा पत्रकारलाई एक पेक दारुकै भरमा आफ्नो बनाइन्छ र उनीहरु दारुको भरमै समाचार लेख्छन् भन्ने मानसिकता यथावत छ। कसैले दुई चार पैसा दिए समाचार मेरै पक्षमा लेख्छन् भन्ने मानसिकता पनि बोकेका छन् कतिपय। जस्तैसुकै प्राज्ञिक व्यक्तित्व होस् उनको मनभित्र कहीं न कहीं पत्रकार पसलमा बेच्न राखेका आलुजस्ता हुन् जसलाई किनेरै भए पनि परिकारअनुसार सहजै प्रयोग गर्न सकिन्छ भन्ने मानसिकता छ। त्यो मानसिकतामा नेपालको प्रवुद्ध व्यक्तित्व र कुटनीतिक क्षेत्रसमेत अछुतो छैन।

बेलायतका लागि महामहिम राजदूतको एक अन्तरर्वार्ता लिनेक्रममा यस्तै अनुभव पत्रकारले गरे। राजदूतको अन्तर्वार्ताका लागि बिहान १० बजे पुगेका पत्रकारलाई दूतावासका कर्मचारीले निकै उत्साहित हुँदै आदर सम्मानका साथ स्वागत गरे। अन्तरर्वार्ताका लागि तयारी गर्दै गर्दा एकजना कर्मचारीले सुरुमै ड्रिंक्स के लिउँ हजुर वाइन कि हुस्की भन्दै आए। हामीले त्यसलाई सामान्य रुपमा लियौं र अन्तर्वार्ता रेकर्ड गरायौं। अन्तरर्वार्ता सकेपछि दूतावासभित्र भेटिएका अन्य कर्मचारीले समेत पटकपटक मदिरा पिउन आग्रह गरे। उनीहरुले गरेको सत्कारलाई अन्यथा लिनु हुँदैन तर बिहान बिहानै चिया कफी वा अन्य पेय पदार्थको सट्टा मदिरा नै अफर गरिनुको पछाडि चाहि पत्रकारहरु रक्सी र भातमा बिक्छन् भन्ने मानसिकताले काम गरेको हो भन्न हिचकिचाउनु पर्दैन। उनीहरुको अफरप्रति धन्यवाद भन्दै हामी अन्तरर्वार्ता लिएर फर्कियौं। त्यहांभित्र आयोजना हुने कार्यक्रममा प्रायः पत्रकारलाई मदिराको अफर नगर्ने मान्छे भेट्नै कठिन हुन्थ्यो। धेरैलाई ‘नो थ्यांक्यू’ भन्दै ठिक्क हुन्थ्यो।

सार्वजनिक रुपमा मदिरा पिउँदै हिंड्ने हो भने कालान्तरमा पत्रकारलाई समाजले सम्मान गर्न छाड्छ भन्ने चिन्ता हामीलाई लागिसकेको थियो। त्यसपछि दूतावासभित्र हुने भोजभतेरमा पत्रकारले मदिरा पिउन कमी गर्दै अहिले प्रायः सबैले छोडिसके।

सार्वजनिक जीवनमा मात्र होइन, अहिले बेलायतमा कार्यरत सक्रियमध्येका अधिकांश पत्रकारले मदिराजन्य पदार्थ पिउन छाडेका छन्। मदिरा छाडेपछि मानिसको जीवनशैलीमा नै क्रमिक परिवर्तन आएको पत्रकार नवीन पोखरेलको अनुभव छ।

 ‘कमिटमेन्ट र अलिक जिम्मेवार बन्यो भने मदिरा छोड्न सजिलै सकिने रहेछ, पोखरेलले सुनाए, ‘सुरुमा दुई चार दिन कसरी छोड्ने होला भन्ने लाग्यो, छोडिसकेपछि भने पहिला किन पिए होला भन्ने आत्मग्लानी हुँदो रहेछ।’ मदिरा छोड्दा एक व्यवसायिक पत्रकारका लागि फाइदै फाइदा हुने उनको बुझाइ छ। उनले भने, ‘लेख्ने पढ्ने मान्छेले मदिरा सेवन गर्न छोडेपछि धेरै सिर्जनशील काम गर्न सक्छ, लेख पढको बानी बढ्छ । अनि समाजमा राम्रो सन्देश पनि प्रवाह हुन्छ ।’ मदिरा छोड्दा पारिवारिक सम्बन्ध पनि झन् बलियो हुने उनको भनाइ छ। उनले थपे, ‘पत्रकारलाई समाजले हेर्ने नजरमा समेत परिवर्तन आउँछ। बेला बेलामा पत्रकारमाथि लाग्ने आक्षेपसमेतलाई चिर्न सहयोग पुग्छ।’ पोखरेलले मदिरा छोडेपछिका बेफाइदा कम देखेका छन्। उनले भने, ‘सोसलाइज कम हुन्छ, भेटघाट र जमघटमा पातलो उपस्थिति र साथीभाइसंग हेलमेल कम हुने भए पनि स्वास्थ्यका लागि छोडेको अति उत्तम।’

अर्का पत्रकार फडिन्द्र भट्टराई अहिले ड्रिंक्स नगर्ने ब्रेकमा छन्। उनले बेलायती कल्चरअनुरुप पत्रकारले मदिरा पिउने कुरा सामान्य भएको बताए। पेशाको मर्यादा ख्यालमा राखेर, समाजप्रतिको उत्तरदायित्व सम्झेर पिउँदा फरक नपर्ने तर्क उनको छ। भट्टराई नेपालीले निःशुल्क पाएपछि अति पिउने भएकाले त्यसो नगरि संयमित भएर पिउन सुझाउँछन्।

मेरो अनुभव पोखरेलकै जस्तो समान छ। साथीभाइको मन राखिदिन र सोसलाइज हुन यदाकदा पिउने गर्दा कतिपयले नराम्रो ठानिदिने। अहिले म यसबाट टाढा छु। हुन त बेलायती संस्कारमा जागिरेहरु लन्च ब्रेकमै एक दुई पाइन्ट बियर र हल्का वाइन पिउने गर्छन्। अरु त अरु, विश्वविद्यालय हाताभित्रै पब खोलिएको हुन्छ र बार टेन्डर पनि विद्यार्थी नै हुन्छन्। तर, नेपाली समाजको बुझाइ अलिक नकारात्मक भइदिने गरेको छ।

अहिले पोखरेलमात्र होइन, पत्रकार रुपेश सिलवाल, नरेश खपांगीमगर लगायत दर्जन बढी सक्रिय पत्रकारले मदिरा पिउन छोडेका छन्। उनको भित्री आशय भनेको पेशालाई मर्यादित बनाउने र नेपाली समुदायमाझ पत्रकारिता पेशालाई अझ सम्मानित बनाउन हो।

समाजमा भएका विसंगतिलाई जरैसंग खोतल्ने जिम्मा पाएका पत्रकारको पछिल्लो कदमले पेशाप्रतिको जनविश्वास बढ्दै गएको हुनुपर्छ। पाँच तारे होटलदेखि पश्चिमेली संस्कृतिमा रमाएका बेलायतका नेपाली सञ्चारकर्मी अहिले मदिरा सेवनको लत त्यागेर आफूलाई स्वस्थ्य र पेशाप्रति मर्यादित बनाउने होडबाजीमा उत्रेका छन्।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...