१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

को को बन्दैछन् कांग्रेस प्रदेश संसदीय दलको नेता ?

काठमाडौं– नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छनोट प्रक्रिया अघि बढाएको छ। कुनैपनि प्रदेशमा पार्टी नेतृत्वमा सरकार गठनको सम्भावना नभएपनि कांग्रेसले फागुनको पहिलो साताभित्र सबै प्रदेशमा दलको नेता छनोट प्रक्रिया सुरु गरेको हो।

दलको नेता छनोटका लागि पार्टीले खटाएको केन्द्रीय प्रतिनिधिले आन्तरिक छलफललाई तीब्र बनाएका छन् भने प्रदेश दुईमा सर्वसहमतिबाट कांग्रेसले नेता चयन गरेको छ । पूर्व महामन्त्री एवं प्रदेश नम्बर दुईका केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थीतिमा सोमबार जनकपुरमा बसेको बैठकले धनुषाका पूर्व जिल्ला सभापतिसमेत रहेका रामसरोज यादवलाई दलको नेता चयन गरेको हो। त्यहाँ कांग्रेसको प्रत्यक्षमा र समानुपातिक गरी १९ सांसद् छन्।

अन्य प्रदेशमा पनि दलको नेता छनोटका लागि केन्द्रीय प्रतिनिधिहरुले छलफल सुरु गरेका छन्। प्रदेश नम्बर एक र तीनका केन्द्रीय प्रतिनिधिले मंगलबार छलफल राखेका छन् । दलको नेता छनोटका लागि कांग्रेसले प्रदेश एकको छलफल बिराटनगरमा राखेको छ। प्रत्यक्षतर्फ र समानुपातिक गरी २१ जना सांसद् रहेको कांग्रेस संसदीय दलको नेताका लागि राजीव कोइराला, हिमाल कार्की, केदार कार्कीसहितका नेता आकांक्षी छन्। तर, सुनसरीका नेता कोइराला प्रदेश एकको दलको नेता बन्ने सम्भावना छ।

त्यस्तै, प्रदेश तीनको संसदीय दलको नेता छनोट गर्ने मंगलबार २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल राखेको केन्द्रीय प्रतिनिधि महालक्ष्मी उपाध्यायले जानकारी दिइन्। ‘दलको नेता छनोटका लागि भोलि पहिलो चरणको छलफल छ,’ उनले भनिन्, ‘सबैको सुझाव लिएर अर्को बैठकबाट दलको नेता टुंगो लगाउने योजना छ।’ प्रत्यक्ष र समानुपातिक गरी २१ सांसद् रहेको कांग्रेसले मकवानपुरका जिल्ला सभापतिसमेत रहेका पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ दलको नेता बन्दैछन्।

त्यस्तै, प्रदेश चारमा प्रत्यक्ष र समानुपातिक गरी १५ सांसद् रहेको कांग्रेसले कृष्णचन्द्र नेपालीलाई दलको नेता बनाउने आन्तरिक तयारी छ भने प्रदेश पाँचमा डिल्ली चौधरीको सम्भावना छ। १७ जना प्रदेशसभा सदस्य रहेको त्यहाँ चौधरीलाई दलको नेता बनाउने आन्तरिक सहमति भएको स्रोतको दाबी छ। पार्टीले त्यहाँ नेता बालकृष्ण खाँणलाई केन्द्रीय प्रतिनिधि तोकेको छ।

त्यस्तै, प्रदेश छबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही दलको नेता बन्ने छन्। छ सांसद् रहेको प्रदेश छमा शाही मात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन। ‘हामी कहाँ कुनै समस्या छैन,’ पार्टी केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि ह्दयराम थानीले भने, ‘ राष्ट्रियसभा निर्वाचनपछि (२६/२७गते) बसेर टुंगो लगाउँछौ।’

प्रदेश सातमा कर्ण बहादुर मल्ल र राना बहादुर रावल आकांक्षी छन् । प्रत्यक्ष र समानुपातिक गरी १२ सांसद् रहेको कांग्रेसले पहिलो चरणको छलफल धनगढीमा राखेको थियो । ‘पार्टी नेतृत्वमा प्रदेश सरकार गठन हुनेसम्भावना छैन,’ केन्द्रीय सदस्य एवं प्रदेश सातका प्रतिनिधि एनपी साउदले भने, ‘कसरी अघि बढ्ने भन्ने प्रक्रियामा सहमति भइसकेको छ। सरकार गठनसम्म दलको नेता टुंगो लगाउँछौ।’

कांग्रेसले प्रदेश संसदीय दलको विधानको मस्यौदा तयार गरेको छ। पार्टी केन्द्रीय सदस्य मीनेन्द्र रिजाल नेतृत्व समितिले मस्यौदा तयार गरेपनि केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्न भने बाँकी छ।

प्रदेश संसदीय दलको नेता छनोटका लागि केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धीत प्रदेशमा छलफल जारी राखेको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘विधान तयार भएको छ । फागुन पहिलो साताभित्र सर्वसहमतिबाटै दलका नेताहरु टुंगो लगाउने प्रयास भइरहेको छ।’

 

प्रकाशित: २२ माघ २०७४ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App