सलाम धुर्मुस–सुन्तली !

बिहिबार, २५ माघ २०७४, ०८ : ४७ सम्पादकीय


समय चेतनामा सबैभन्दा पछि परेको आजको हाम्रो नेपालमा एक जोडी कलाकारले १ सय १४ दिनमा नमुना बस्ती निर्माण गरेर सबैलाई चकित पारेका छन् । आफूले गर्न खोजेको काम पटक–पटक समयमा पूरा गरेर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संकल्पशक्ति हुने हो भने असम्भव केही पनि छैन भन्ने देखाइदिएका छन् । एकातिर मुलुकमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले थालनी गरेका भूकम्पपीडित बस्तीका काम असरल्ल छन् । अर्कोतिर यो अनुपम कलाकार जोडीले सुरु गरेको काम समयमै फत्ते गरेर मुलुक कसरी पछि परिरहेको छ भन्ने उदाहरण पनि प्रस्तुत गरेका छन् । यो मुलुकमा बहाना गरेरै थालेका काम पूरा नगर्ने प्रवृत्ति छ । हुँदाहुँदा बाटो समयमा किन कालोपत्रे भएन भनेर प्रश्न गर्दा तापक्रम नपुगेको भन्ने समेत बहाना गर्ने गरेको सुनिन्छ । त्यसो हुँदो हो त अहिले संसारभरि शून्यभन्दा तल तापक्रम रहेका धेरै मुलुक सडकबिनै रहने थिए । धेरैले तिब्बतमा रेल पु¥याउन सकिँदैन भन्थे, तर चीनले त्यो पनि सम्भव गरेर देखाइदिएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले यस्ता नमुना बस्ती बनाउन थालेको यही नै पहिलो होइन । स्रोतसाधनले समेत नपुग्ने कलाकारले समेत गर्न सक्ने काम राज्यले किन गर्न सक्दैन भन्ने प्रश्न बारम्बार उठ्न पनि थालेको छ । त्यति मात्र होइन, काम गर्न सक्नेलाई जिम्मेवारी दिए न त्यो पूरा हुन्छ । भूकम्पपछिको राष्ट्रिय पुनर्निनिर्माणको जिम्मेवारी दिने गरी अधिकारसम्पन्न पुनर्निर्माण प्राधिकरण गठनसमेत भएको छ । त्यो प्राधिकरणमा प्रत्येकजसो सरकारले आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिँदै आएका छन् । सरकार फेरिएपछि त्यसका प्रमुख कार्यकारी अधिकृत परिवर्तन गर्ने हतार जहिल्यै हुन्छ । त्यसैले धुर्मुस–सुन्तली अभियानको शिक्षा के हो भने काम गर्नेका लागि स्रोतसाधन र शक्ति बाधक हुँदैन संकल्पशक्तिको मात्र आवश्यकता हुन्छ। 

धुर्मुस–सुन्तलीले थोरैथोरै जमिन भएका स्थानीय विपन्न व्यक्तिको जमिनलाई ‘ल्यान्डपुलिङ’ विधिबाट उपयोग गरी सबैका निम्ति उस्तै किसिमका सुविधाजनक घर, घरका बीचमा खाली जमिन र आवश्यक अन्य पूर्वाधारसमेत तयार पारेको देखिएको छ । देशभरि बस्ती विकास गर्न यस्तो विधि अपनाउन सकिनेछ।

रौतहटको सन्तपुरको चारैतिर हिलो र गन्धले भरिएको बस्तीलाई आज धुर्मुस–सुन्तलीको सिर्जनाले सुवास छरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भव्य समारोहबीच बस्ती उद्घाटन गरेर तिनको कामको मुक्तकण्ठले प्रशंसासमेत गरेकी छन् । राष्ट्रपति भण्डारीलाई पक्कै पनि मनमनै लाग्यो होला, धुर्मुस–सुन्तलीजस्तै सुपात्रलाई जिम्मेवारी दिएको भए आफैंले उद्घाटन गरेको रानीपोखरी आज खण्डहरमा परिणत हुने थिएन होला । अति राजनीतिकरण र योग्यलाई जिम्मेवारी दिन नसकेका कारण यो मुलुकमा कुनै पनि काम समयमा पूरा हुन नसक्ने अवस्था देखिएको छ । धुर्मुस–सुन्तलीले चार महिना समय पनि खर्च नगरी सन्तपुरको मुसहर बस्तीमा ४७ परिवारका लागि पक्की घर निर्माण गरेका छन् । बस्तीभित्र १२ कठ्ठा जग्गामा ५ करोड ९५ लाख रुपैयाँमा निर्माण भएका दुई तले घर, सामुदायिक भवन, मन्दिर, प्राथमिक विद्यालय, भ्युटावरलगायत ५० भन्दा बढी संरचना छन् । यी विपन्नप्रति धुर्मुस–सुन्तलीजस्ता उदारमना व्यक्तिको दृष्टिकोण नपरेको भए कहिल्यै पनि यस्तो सुखद आश्चर्य घटित हुने थिएन । वास्तवमै देशभित्र आउने विदेशी सहायता, गरिबी निवारण कार्यक्रम, विकास निर्माणका सपना आदिमा भइरहेको स्रोतको दोहनलाई हेर्ने हो भने देशका सबै ठाउँका विपन्नको अवस्था सन्तपुरमा जस्तै भइसक्नुपर्ने थियो । धुर्मुस–सुन्तलीले रौतहटभन्दा अघि तीनवटा एकीकृत बस्ती निर्माण पूरा गरिसकेका छन् । काभ्रेको डाँडागाउँस्थित एकीकृत नमुना पहरी बस्तीका ३० परिवार, सिन्धुपाल्चोक गिरानचौरस्थित गिरानचौर एकीकृत नमुना बस्तीका ६६ परिवार र महोत्तरी एकीकृत नमुना मुसहर बस्तीका ५३ परिवार उनीहरूको सत्कर्मबाट लाभान्वित भइसकेका छन् । प्रत्येक नयाँ निर्माणपछि उनीहरूको काममा परिष्कारसमेत आएको छ। 

उनीहरू सामुदायिक बस्ती विकासमा अनुभवी सिद्ध भइसकेका छन् । आफूले कलाकारिता गरेर र सहृदयी व्यक्तिहरूले दिएको रकमबाट समेत यसरी सदुपयोग गरी सामुदायिक बस्ती बनाउन सम्भव रहेछ भने राज्यकै साथ हुने हो भने यो सुखद स्थिति देशैभरि फैलिन सक्छ । गरिबका नाममा यो मुलुकमा भइरहेको खर्च र राष्ट्रिय ढुकुटीको दोहनलाई कुनै अर्थमा पनि कम मान्न सकिन्न । उपचार खर्चका नाममा समेत अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । ६ करोड रुपैयाँभन्दा कम लागतमा रौतहटकोजस्तो सुन्दर बस्ती निर्माण हुन्छ भने देशैभरि गरिब बस्तीको विकासको यस्तो पारिलो घाम लाग्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ । एकीकृत बस्ती आफैंमा विकास निर्माणको एउटा नमुनाका रूपमा रहन सक्छ । त्यसो हुने हो भने राज्यले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सजिलै काम समेत गर्न सक्छ । धुर्मुस–सुन्तलीले थोरै थोरै जमिन भएका स्थानीय विपन्न व्यक्तिको जमिनलाई ‘ल्यान्डपुलिङ’ विधिबाट उपयोग गरी सबैका निम्ति उस्तै किसिमका सुविधाजनक घर, घरका बीचमा खाली जमिन र आवश्यक अन्य पूर्वाधारसमेत तयार पारेको देखिएको छ । यसैगरी देशभरि बस्ती विकास गर्न यस्तो विधि अपनाउन सकिनेछ । त्यति मात्र होइन, पुनर्निर्माणको काममा प्रमुख दलहरूले सहमति गरेर यो कलाकार जोडीलाई ठूलै जिम्मेवारी दिए हुने देखिन थालेको छ । जिम्मेवारी दिएर पनि काम गर्न नसक्नेहरूका ठाउँमा यो अनुभवको उपयोग किन नगर्ने ? सरकारी संयन्त्रमा खुट्टा तान्ने प्रवृत्ति देखिएको छ । खासगरी कर्मचारीले काम नगर्ने प्रवृत्ति देखिएको छ । सरकारले गर्न खोजेको कामको अनुगमन गर्ने निकायसमेत सक्रिय हुन सकेका छैनन् । आज विपन्न बस्तीका बासिन्दाका निम्ति यी कलाकार जोडीले गरेको कामपछि त्यहाँ आशाको सञ्चार भएको छ । तिनले यो जोडीलाई ईश्वरकै उपस्थितिको रूपमा लिन थालेका छन् । अठार पुराण लेखिसकेपछि व्यासले भनेका छन्– परोपकारः पुण्याय (पुण्य प्राप्त गर्न परोपकार गर्नुपर्छ) । सरकारहरू लोकप्रिय हुने र विपन्नको आशीर्वाद लिने हो भने धुर्मुस–सुन्तली पथलाई अपनाउनु उचित हुनेछ। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...