आशाबीच दुःस्वप्न

शुक्रबार, २६ माघ २०७४, ०९ : ४६ डा.सरोज धिताल


आखिर नयाँ संविधान पनि कार्यान्वयन भयो । यो देश संघीयताको बाटोमा हिँड्यो । नेपालीको जिब्रोमा ‘सामाजिक न्याय’ र ‘लोकतन्त्र’ जस्ता शब्दको उच्चारण अब त्यति अप्ठेरो रहेन । संविधानमै ‘समाजवाद’ उल्लेख छ । विकासको चर्चा छ । विकासको सपना छ । विकासका सम्भावना छन् । र, यी सम्भावना यथार्थमा अनुदित भए भने संविधानप्रतिकै कतिपय असन्तुष्टि मत्थर पनि हुँदै जालान् । सत्तासीनहरू सामाजिक न्यायसहितको समृद्धिप्रति इमानदार रहिरहने हो भने संविधानका शब्दमा भएका कमीलाई सद्व्यवहारले नै मेट्दै पनि लैजालान् । 

तर...

तर यी सुन्दर सम्भावना भन्दा संशय अझै धेरै छन् । अविश्वास अझै बढी छ । थरीथरीको डर व्याप्त छ– कसैलाई अब आउने सरकारले केही राम्रो गरेन भने लामै समय अब स्थिरता नरहने भो भन्ने पीर छ, कसैलाई भने नयाँ सरकारले साँच्चै केही राम्रो गरेछ भने हाम्रो पालो कहिल्यै नआउने भो भन्ने चिन्ता छ । चिन्ता लिनेमा अर्काथरी थोरै मानिस पनि छन् जो सत्ताको लगाम जसले समाए पनि, देश र जनताका निम्ति समयले दिएका सम्भावनाको भरपुर उपयोग गर्न सकून् र चुनौती सामना गर्न सकून् भन्ने कामना गरिरहन्छन् । कहिल्यै ¥याल काढ्दै शक्ति दरवारहरू नधाउने यिनीहरू भिन्नताबीच पनि समानताका क्षेत्र पहिल्याएर देशको भलोका निम्ति सबैको सबैसँग हातेमालो होस् भन्ने चाहन्छन्।  

विकास र समृद्धिको यति धेरै नारा लगाइसकेपछि अब बन्ने सरकार विभिन्न आर्थिक गतिविधि बढाउने प्रयत्नमा स्वाभाविकरूपमा लाग्नेछ । यो बेठीक हैन तर बेठीक त्यति बेला हुन थाल्छ जब जसरी भए पनि, जस्तासुकै मानिसलाई साथ लिएर भए पनि, जहाँ पुगिने भए पनि निर्माण र विकासका नाममा अस्वस्थ आर्थिक गतिविधि बढ्न थाल्नेछन्।

जनताले सधैँ सपना देखेका छन् । अझै पनि देखि नै रहेका छन् । स्थिर सरकार बन्छ कि भन्ने आशाले तिनका सपनामा विकास र समृद्धि झन् धेरै झुल्किन थालेका छन् । तर यी मीठा सपना छोटा हुन्छन् । तुरुन्तै लामा र डरलाग्दा दुःस्वप्नहरुको सिलसिला सुरु हुन्छ । ती दुस्वप्नहरूमा  नाफाखोर र ‘क्रोनी’ हरूको बिगबिगी देखिन्छ, ठेक्कापट्टाको आतङ्कले पोल्छ, खरबौँ खर्च भएका कमजोर संरचना ढलेर सिर्जना भएका मानवसिर्जित प्रकोप र विनाश देखिन्छन् । सांस्कृतिक सम्पदा र सार्वजनिक जमिन सैतानका सन्तानको हातमा बिलाएको देखिन्छ । जनताको अनुहारमा सुन्दर सपनाले ल्याएको छोटो सुन्दर मुस्कान दुःस्स्वप्नको लामो सिलसिला र ऐंठनले डरलाग्दो गरी विदीर्ण बन्न पुग्छ ।

यी ऐंठनकारी दुस्वप्नका कारण छन्   

विकासको बाटो कहिल्यै सरल हुँदैन तर विभिन्न कठिनाइबीच पनि सापेक्षिक हिसाबले छोटो समयमा वाञ्छित सफलता प्राप्त गर्न नभई नहुने कुरा हो– सम्यक संकल्प, सुसंस्कार र ज्ञानको भोक । अहिले यति ठूलो भारी बोक्नुपर्ने चुनौतीको सामना गर्नुपरेको वा सुअवसर पाएको वाम गठबन्धनभित्र यी तत्त्वको खडेरी छ भन्ने कुरा स्वीकारेर त्यसको निराकरण गर्ने पर्याप्त इच्छाशक्ति अझै देखिंँदैन । बरु सुन्नेका कान टट्याउन्जेल ‘हाम्रो गौरवशाली पार्टी...’ कै थेगो भट्टयाएको भने अझै सुनिइरहन्छ । यस्तै हो भने जनताका दुःस्स्वप्न झन् गाढा हुँदै जानेमात्र हैन, ती भयानक यथार्थमा परिणत हुनेछन् । 

समाज विकासका सर्वमान्य नियम भए तापनि, हरेक देशको आआफ्नै विशेषता हुन्छन्, ती विशेषतालाई समयले, इतिहासको कालखण्डले, अझै विशिष्ट बनाएको हुन्छ । यी विशिष्टताको बिल्कुलै बेवास्ता गरेर अरुका तौरतरिकालाई यान्त्रिकरूपमा ‘कपी–पेस्ट’ गर्न खोज्दा देखिने लज्जाजनक, हाँस्यास्पद मूर्खता र देशले झेल्नुपर्ने नोक्सानीका उदाहरण हाम्रो आफ्नै र संसारका अरु देशको अनुभवमा छ्यास्छ्यास्ती देख्न पाइन्छ । दक्षिण कोरियाले छोटो अवधिमा गरेको विकास र प्राप्त गरेको समृद्धिको जताततै चर्चा भएका बेला हामीकहाँ चर्चा नहुने कुरा भएन । सबैलाई थाहा भएको कुरा हो, कृषिप्रधान दक्षिण कोरियाको कमजोर उद्योगले चेबोलका रूपमा चिनिने औंलामा गन्न पुग्ने केही सामन्त र घरानियाँहरूको हातमा भए पनि सुरुदेखि नै ती निर्यातको आयतन बढाउने कुरामा प्रतिस्पर्धा गर्न थाले, हरेक उत्पादनमा नाफा बढाउने मात्रै कुरामा हैन । निर्यात बढाउने  र आयात घटाउने कुरा निश्चय नै सबै विकासोन्मुख देशले सिक्नुपर्ने कुरा हो । तर त्यो बेला पाक चुङ ही जस्तो क्रुर तानाशाहको फलामे शासन र जापानीविरुद्धको इखले पनि काम गरेको थियो भनेर हामीकहाँ पनि त्यस्तै शासनको कल्पना गर्‍यो भने के हुन्छ ? 

थाइल्यान्डको विकास देखेर पनि हामी छक्क पर्छौं । धेरै कुराले त्यहाँ काम गरेको छ जसमा भियतनाम युद्धदेखिकै अमेरिकी स्वार्थले समेत काम गरेको थियो । हामिकहाँ पनि विदेशीले त्यत्तिकै चासो राखिदिउन् भनेर चाहना राख्यो भने के हुन्छ ? पूर्वका धेरै देशमा भ्रष्टाचार हुँदाहुँदै पनि भौतिक ‘विकास’ भएको देखिन्छ । त्यसै गरी यहाँ पनि अलिअलि पैसा खाए खाउन् भनी ‘भ्रष्टाचार भए होस् तर विकासचाहिँ होस्’ भन्ने विचारले हामीलाई कहाँ पु¥याउँछ ? सामाजिक न्याय र दिगो विकासबीचको सम्बन्धलाई प्रमाणित गर्ने अनेकन् तथ्यबीच उभिएर पनि अझै ‘उदार’ भनिने अनियन्त्रित छाडा बजारले सबै कुरा सन्तुलनमा ल्याउँछ भनी ‘उदार’ बन्न थाल्यो भने के होला ?

वास्तवमा अहिले जनतालाई पिरोलिरहेको दुःस्स्वप्न र ऐंठनको कारण नै के हो भने ‘विकास’ का नाममा यी सबैखाले मूर्खताले अबका केही वर्षमा रजधज गर्लान् र त्यही देख्न चाहने विदेशी मसिहाहरूका ‘सुयोग्य शिष्य’ हरूले त्यसलाई मलजल गरि नै रहलान् भन्ने जायज डर बाँकी छ । एक किसिमको परम्परागत अतिवादी सोचको ‘धार्मिकता’ बाट निस्कनेबित्तिकै अर्को अतिवादी सोचतिर ढल्केका नेपालका कम्युनिस्ट पार्टीहरूमा ‘आधुनिक’ हुने नाममा झन् झन् बढी छाडा बजारका पक्षधरहरूको प्रभाव बढ्दो छ । चीनका तङ स्याओ फिङको ‘सेतो होस् कि निक्खर कालो, मुसा समात्ने मेरो बिरालो’ भन्ने उक्ति बिनासन्दर्भ जपिन थालेको छ । केन्जियन अर्थशास्त्रलाई समेत अपाच्य ‘उग्र वाम’ मान्न थालेका आधुनिक कमरेडहरूले चीनका विख्यात विद्वान् छन् फिङको अर्थशास्त्र र विकाससम्बन्धी धारणा बुझ्न केही समय खर्च गरे सबैको भलो हुने थियो । 

केइन्जले उहिले भनेका थिए– ‘युक्लिडको ज्यामिति जस्तो छ मूलधार अर्थशास्त्रको सोच, जबकि यथार्थ युक्लिडिय ज्यामितिभन्दा फरक छ ।’ कुनै जमानामा रेलमार्ग निर्माण गर्ने मजदूरसमेत बनेका र भौतिकशास्त्रको बाटो हुँदै अर्थशास्त्रको समेत विद्वान् बनेका बहुप्रतिभाशाली छन् फिङ भन्छन्– आजको अत्यन्त जटिल यथार्थवादी अर्थशास्त्रले पनि भौतिकशास्त्रले जस्तै अनुभवसिद्ध यथार्थपरकता र सान्दर्भिकताका आधारमा गणितीय मोडेलहरूको खोजी गर्नुपर्छ, जटिलतादेखि डराएर काम छैन । 

सोचको यो उचाइसम्म पुग्न हाम्रा नीतिनिर्माता नसक्ने कुरै छैन । तर त्यसका निमित्त केही खतरनाक अवसरवादी मन्त्रबाट मुक्त हुन र आफूभित्र केही सम्यक विचार हुर्काउन आवश्यक हुन्छ । त्याग्नैपर्ने ती खतरनाक कुमन्त्र हुन् –

 ध्येय राम्रो छ भने उपाय जस्तो भए पनि हुन्छ, साध्य ठीक छ भने जस्तोसुकै साधन चलाए पनि हुन्छ ।

 राजनीतिमा जतिबेला जे गर्न पनि तयार हुनुपर्छ, शुद्ध चित्त लिएर काम गर्ने त गुम्बामा मात्रै हो ।

 स्वामी विवेकानन्दको भूदान यज्ञजस्तो हुँदैन राजनीति । 

 साम, दान, दण्ड, भेद सबै उपाय नलगाई राजनीति चल्दैन ।

 कार्यकर्तालाई खुसी नपारी कसरी चल्छ राजनीति । 

 कुरा त ठीकै हो तर ऊ हाम्रो मान्छे हैन ।

एकछिन पनि बिर्सन नहुने कुरा हो, लोकतन्त्र भनेको मानिसको पूर्णतातर्फको अविरल यात्रा हो । यति महत्त्वपूर्ण यात्राको नेतृत्व गर्न नेतृत्व क्षमता विकास गर्नैपर्छ । असन्तुष्टिको व्यवस्थापन गर्न सिक्नैपर्छ, सम्यक श्रवण विकास नगरी हुँदै हुँदैन । 

आशा गरौँ, गर्नैपर्ने कुरामा अल्छी नमानी, गर्न नहुने कुराबाट टाढै रहेर हाम्रो लोकतान्त्रिक यात्रामा नयाँ सरकाररूपी बाहनका सारथिहरूले आफ्नो यज्ञ सम्पन्न गर्नेछन् । फेरि शुभकामना !





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...