१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

नयाँ दिल्ली – सुविधाजनक सम्पत्ति विकासका भारतीय लगानीकर्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरसँग ‘छलफल र डिनर’ गर्ने मौकाको प्रस्ताव गरिएकोमा आलोचना भएको छ । राजधानी नयाँ दिल्ली नजिकै ट्रम्प टावर विकासका लागि भारतीय व्यापारीलाई ‘छलफल र डिनर’ को प्रस्ताव गरिएको विज्ञापन प्रकाशन गरिएपछि जुनियर ट्रम्प आलोचित भएका हुन्।  

भारतको अधिकांश पत्रिकामा आइतबार छापिएको पूरा पृष्ठ विज्ञापनमा ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरको फोटोसहित ‘ट्रम्प यहाँ आइपुगेका छन् । तपाईंलाई निमन्त्रणा गरिएको छ? र ‘ट्रम्प आइपुगेका छन् । तपाईं नि?’ भन्ने विवरण प्रकाशन गरिएको छ ।
यसरी विज्ञापन गरिनुलाई आलोचकहरुले ट्रम्प परिवारका सदस्यले राष्ट्रपतिको नामसँग खेलिरहेको आरोप लगाएका छन् । तर ट्रम्प जुनियरले भने आफूले भारतसँगको सम्बन्ध स्थापना गर्नका लागि कैयौं वर्षदेखि काम गरिरहेको बताएका छन् । ट्रम्प जुनियरको विज्ञापनलाई लिएर आलोचना गर्नेमध्येमा इतिहासविद् प्याट्रिक फ्रेन्च पनि रहेका छन् । भारतको राजधानी नयाँ दिल्ली नजिकै रहेको गुरागाउँमा ट्रम्प अर्गनाइजेसन र स्थानीय साझेदारले ४७ तले ट्रम्प टावर निर्माण गरिरहेका छन् । जुनियर ट्रम्पले यसै सातादेखि भारतको भ्रमण गर्दैछन्।

अमेरिकी राष्ट्रपति पदमा आउनु अघि डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको ट्रम्प अर्गनाइजेसन रियल स्टेट व्यापारसहित सयौं व्यापारमा लगानी गर्ने छाता कम्पनी हो । हाल उनका छोरा जुनियर ट्रम्प उक्त कम्पनीका कार्यकारी निर्देशक रहेका छन् ।
अमेरिका बाहिर उक्त समूहको ठूलो सम्पत्ति बजार भारतमा रहेको छ । सन् २०१६ मा भारतमा गरेको विभिन्न लगानीबाट मात्रै ट्रम्प परिवारले रोयल्टीस्वरूप तीस लाख अमेरिकी डलर आम्दानी गरेको फाइनान्सियल डिस्क्लोजर रिपोर्टले जारी गरेको विवरणमा जनाइएको थियो।

जर्ज डब्ल्यु बुस प्रशासनका बेला अमेरिकाको विदेश मन्त्रालयका दक्षिण एसिया नीतिका लागि काम गरेका ड्यानियल एस मार्केले भारतीय व्यापार सम्झौतामा ट्रम्प जुनियरको संलग्नताले आफूलाई आश्चर्यचकित पारेको बताएका छन् । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा नै बहाल रहेका बेला उनका छोरा भारत गएर राष्ट्रपतिको ब्रान्डलाई प्रयोग गर्नु र भारतसँगको विदेश सम्बन्ध तथा रणनीतिक महत्वलाई व्यवस्था गर्नु जंगली प्रवृत्ति भएको उनले न्युयोर्क टाइम्सलाई बताएका छन्।

वासिङ्टनस्थित एक दबाब समूह, ‘द सिटिजन्स फर रेस्पोन्सिबिलिटी एन्ड इथिक्स’ ले भारतमा ट्रम्पको नाम राखेर व्यवसायिक फाइदाका लागि गरिएको प्रोमोसनका कैंयौं उदाहरण आफूहरुसँग रहेको बताएको छ।

‘द गार्जियन’सँग गत साता दिएको अन्तर्वार्तामा डोनाल्ड ट्रम्प जुनियरले भारतमा सम्बन्ध विस्तार गर्नका लागि आफूले करिब दश वर्ष खर्च गरेको र हाल कम्पनीले त्यस प्रयासको प्रतिक्रिया पाउन थालेको बताएका थिए । उनले आफ्नो यात्रा स्वच्छ राजनीतिले परिचालन भएको बताएको पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राजनीतिज्ञ र केही भारतीय उच्च तहका व्यापारीसमेत सहभागी हुने विश्वव्यापी व्यापार सम्मेलनमा उनलाई प्रमुख वक्ताको सूचीमा राखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदको शपथ लिएपछि आफ्नो व्यापारिक साम्राज्यको नेतृत्व जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र एरीक ट्रम्पलाई हस्तान्तरण गरेका थिए । तर त्यसबेला अमेरिकी सरकारी नैतिकताको कार्यालयका निर्देशकले राष्ट्रपति ट्रम्पले आफ्नो व्यापारको नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरे पनि उनको राजनीति र व्यापारबीचमा स्थार्थ बाझिदैन भन्न नसकिने बताएका थिए । राष्ट्रपतिका रूपमा ह्वाइट हाउसको जिम्मेवारी सम्हालेसँगै राष्ट्रपति ट्रम्पले उनको पारिवारिक व्यापारबाट फाइदा लिइरहेको विभिन्न आलोचकहरुले आलोचना गर्ने गरेका छन् । उनीहरुले ट्रम्पको परिवारले ह्वाइट हाउससँगको सम्बन्धलाई प्रयोग गरेर आफ्नो व्यापारिक सम्झौतालाई प्रभावित पारिरहेको आरोपसमेत लगाउने गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेद कुस्नरको कम्पनीले गत वर्षको मे महिनामा चीनमा रियल स्टेट व्यापारको थालनी गरेको थियो।
 

 

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App