१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यस्तो छ सभामुख र अध्यक्षको सुविधा

काठमाडौं – प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले पाउने सुविधा एकै प्रकारको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दुवैले मासिक करिब एक लाख ३६ हजार रुपैयाँ पाउने छन्।  

सभामुख र अध्यक्ष दुवैको मासिक पारिश्रमिक ६७ हजार ३ सय २० रुपैंया छ।  विशेषभत्ता प्रतिमहिना १ हजार र बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ छ । उनीहरूले सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार, आवास सुविधाबापत २८ हजार २ सय ७५ र फर्निचर खर्चबापत एकमुष्ट १५ हजार रुपैयाँ पाउँछन् । यसैगरी, निजी सचिवालय बन्दोबस्त गर्न प्रतिमहिना २ हजार र गार्ड घरका लागि प्रतिमहिना २ हजार रुपैयाँ उनीहरू पाउँनेछन्। 

त्यस्तै उनीहरूले सवारी इन्धन प्रतिमहिना २ सय ५० लिटर पाउनेछन् । अहिले पेट्रोल प्रतिलिटर १०४ र डिजेल प्रतिलिटर ८३ रुपैयाँ छ । त्यस्तै मोबिल तीन महिनामा १० लिटर पाउने व्यवस्था मिलाइएको छ । अहिले मोबिल प्रतिलिटर ६ सय रुपैयाँ छ । यसैगरी बिजुली र धाराका लागि प्रतिमहिना बिलअनुसार रकम भुक्तानी दिइने छ । भ्रमणभत्ता प्रतिदिन ३ हजार, यात्रा बिमा प्रतिभ्रमण दस लाख, परिचारकलाई लुगाभत्ताबापत वार्षिक ४ हजार रुपैयाँ हुनेछ।

दुवैलाई स्वकीय सचिव (राजपत्रांकित) प्रथम श्रेणी (सहसचिव) १, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १, राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) १, कम्प्युटर अप्रेटर (राजपत्रअनंकित) सुब्बासरह १, सवारी चालक (प्रथम स्तर) २, कार्यालय सहयोगी (प्रथम स्तर) १, प्रिन्टसहितको कम्प्युटर १ थान, साइकल २ थान, अतिथि सत्कार प्रतिमहिना २५००, अंगरक्षक पदिक १, बिल्लादार गार्ड १, सैनिक जवान (सिपाही) १० जना उपलब्ध गराइनेछ । 

सांसद सुविधा 
संघीय संसद्का सदस्यहरूले मासिक ९५ हजार २ सय ३० रुपैयाँ पाउँछन् । सांसद्को मासिक पारिश्रमिक ५५ हजार २ सय ३० तोकिएको छ । यसैगरी विशेषभत्ताबापत प्रतिमहिना १ हजार रुपैंया र प्रति बैठकभत्ता १ हजार र सञ्चार सुविधा प्रतिमहिना ३ हजार रुपैयाँ उनीहरू पाउनेछन् । आवास सुविधाबापत प्रतिमहिना १८ हजार तोकिएको छ । फर्निचर खर्चका लागि एकमुष्ट १५ हजार रुपैंया दिइनेछ । यातायात सुविधाबापत प्रतिदिन १ हजार रुपैयाँ, बिजुली–धाराबापत प्रतिमहिना २ हजार र भ्रमणभत्ता दैनिक २५ सय रुपैंया सांसदहरूले पाउँछन् । सांसदहरूको यात्रा बिमा प्रतिभ्रमण १० लाख हुनेछ। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App