१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हरेक स्थानीय तहमा एउटा नमुना विद्यालय

काठमाडौं  – प्रत्येक अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने लक्ष्यसहित सरकारले नमुना विद्यालय बनाउने योजना अघि सारेको छ।

नमुना  विद्यालय छनोट र गुरुयोजनाका लागि ९८ करोड ६२ लाख रकम सरकारले खर्च पनि गरिसकेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय बनाउने योजना देश संघीयतामा गएसँगै परिवर्तित भएर प्रत्येक स्थानीय तहमा एउटा नमुना विद्यालय बनाउने रणनीति तय भएको हो।

शिक्षा मन्त्रालयले गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको पाँचवर्षे विद्यालय क्षेत्र सुधार कार्यक्रमले प्रत्येक स्थानीय तहमा कम्तीमा एक नमुना विद्यालय बनाउन देशभरिका २ सय २२ सरकारी विद्यालयलाई छनोट गरेको छ ।
नमुना विद्यालय बनाउन सरकारले ७२ करोड ५५ लाख खर्च गरिसकेको छ भने यो वर्ष विद्यालय सुधार गुरुयोजनाका लागि २६ करोड ७ लाख विनियोजन भएको छ।

अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउन नमुना विद्यालय बनाउने सरकारको तयारी

शिक्षा मन्त्रालयले नमुना विद्यालय व्यवस्थापन निर्देशिका, २०७४ अनुसार विद्यालयलाई गुरुयोजना बनाउन निर्देशन दिएको छ । शिक्षा विभागका अधिकृत अर्जुन ढकालले यो वर्ष छनोट भएका नमुना विद्यालयलाई गुरुयोजना तयार पार्न प्रतिविद्यालय १५ लाखको दरले रकम उपलब्ध गराइने जनाए । ‘गत वर्ष छनोट भएका विद्यालयमा विज्ञान प्रयोगशाला, आइसिटी ल्याब, पुस्तकालयलगायतका पूर्वाधार निर्माणका लागि साढे २९ लाखको दरले बजेट उपलब्ध गराइएको थियो,’ ढकालले नागरिकसँग भने, ‘यो वर्ष नमुना विद्यालय सुधार गुरुयोजना बनाउन प्रतिविद्यालय १५ लाख उपलब्ध गराइनेछ ।’
१० अर्ब लागतको विद्यालय क्षेत्र विकास कार्यक्रमको अवधि ७ वर्ष हो । तर नेपाल सरकारले गत वर्ष ६ अर्ब लागतको ५ वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको विभागका निर्देशक दीपक शर्माले जनाए । उनले सरकारले प्रत्येक अभिभावक र व्यक्तिको पहिलो रोजाई नमुना विद्यालय बनाउने  अवधारणाअन्तर्गत योजना कार्यान्वयनमा ल्याएको जनाए ।

‘विद्यालय गुरुयोजनाको ढाँचामा उल्लेख गरिएका चरणहरू पुरा गरी निर्माण गरिएको अन्तिम मस्यौदा नमुना विद्यालय व्यवस्थापन निर्देशिका, २०७४ मा व्यवस्थाअनुसार स्थानीय तहमा स्वीकृत गराई कार्यान्वयन गरिने हो,’ निर्देशक शर्माले भने, ‘सरकारको मुख्य उद्देश्य नै छनोट भएका सामुदायिक विद्यालयलाई नमुना बनाएर सबै व्यक्तिको पहिलो रोजाइ नै सामुदायिक विद्यालय बनाउने हो ।’ उनले आवश्यताअनुसार आवासीय सुविधा, खेलकुद, पौडीपोखरी, फुलबारी लगायतको सेवा सुविधासहितको नमुना विद्यालय बनाउने सराकारी योजना रहेको बताए । निर्देशक शर्मा भन्छन्, ‘नमुना विद्यालयमा कक्षा  ११  र १२ मा अनिवार्य विज्ञान विषय चलाएको हुनुपर्छ ।’ उनले विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत सात वर्षभित्र देशभरिका एक हजार सामुदायिक विद्यालयलाई नमुना बनाइने सरकारी लक्ष्य रहेको जनाए।

छनोट गरिएका २ सय २२ नमुना विद्यालयमध्ये काठमाडौं उपत्यकामा मात्र ८ छन् । विश्व निकेतन, जनसेवा मावि पांगा, कंकाली मावि पुरानो नैकाप, मंगल मावि कीर्तिपुर, शान्तिनिकुञ्ज भगवतीबारी, तिलंगाटार मावि, कालीदेवी मावि  र आदर्श मावि भद्रवास रहेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७४ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App