१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सडकमै पार्किङ

तस्विर : नागरिक

पुतलीसडकबाट पद्मकन्या क्याम्पसतर्फ जाँदा वागबजारको सडकमा बायाँतर्फ लहरै मोटरसाइकल पार्किङ गरेर राखिएका हुन्छन्।अर्काेतर्फ फाटफुट्ट कार पार्किङमा गरेको देख्न सकिन्छ।

ट्राफिक नियमअनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइँदैन । वागबजार पुग्दा लाग्छ, सडक नै पार्किङस्थल हो । नियमविपरीत सडकमा गरिएको पार्किङले सवारीसाधन गुडाउन मात्र होइन, पैदलयात्रुलाई हिँड्न समेत बाधा पुगेको छ ।वागबजार मात्र होइन, उपत्यकाका धेरै स्थानमा यस्तै समस्या देखिन्छ । ट्राफिक जाम कम गर्ने उद्देश्यले पछिल्ला वर्षमा विभिन्न स्थानका सडक चौडा गरिएका छन् । तर, चौडा सडकमा समेत नियमविपरीत पार्किङ जारी हुँदा जाम कम हुन सकेका छैनन्।

अहिले पनि वागबजार, खिचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ ।
सवारी चालकहरू आवश्यक पार्किङको व्यवस्था नहुँदा सडकमै पार्किङ गर्नुपरेको दाबी गर्छन् ।

ट्राफिक जाम कम गर्ने उद्देश्यले पछिल्ला वर्षमा विभिन्न स्थानका सडक चौडा गरिएका गरिएका छन् । तर, चौडा सडकमा समेत नियमविपरीत पार्किङ जारी हुँदा जाम कम हुन सकेका छैनन् ।

नियम मिचेको देख्दादेख्दै पनि ट्राफिक प्रहरीले भने कारबाही गर्ने गरेको छैन । वागबजार क्षेत्रमा सडकमै गरिएको पार्किङले हिँडडुल गर्न समस्या भएको पैदलयात्रु रमिला शाक्य बताउँछिन् । ‘वागबजारमा व्यवस्थित फुटपाथ नै छैन, सडकभर सवारीसाधन पार्किङ गरिएका हुन्छन्,’ उनले भनिन्, ‘सवारीसाधनसँग ठोक्किँदै हिँड्नुपर्ने बाध्यता छ।’

उपत्यकामा सडकपेटी छेकेर गरिने पार्किङले आउजाउ गर्न निकै समस्या भएको यातायात अधिकारकर्मी रामबहादुर थापा बताउँछन् । ‘सडकपेटी गाडी नै गाडीले भरिएका हुन्छन्, कहिलेकाहीँ त खुट्टा टेक्ने ठाउँ समेत हुँदैन,’ उनले भने, ‘अनधिकृत पार्किङ गरेका सवारीसाधन ट्राफिक प्रहरीले पनि नदखेजस्तो गरिरहेका हुन्छन्।’

महानगरीय प्रहरीवृत्त जनसेवाका प्रहरी निरीक्षक विदुरकुमार थापा भित्री सहरका व्यापारीले अन्डरग्राउन्ड पार्किङ नै भाडामा प्रयोग गरेकाले समस्या भएको बताए । ‘केही व्यापारीले अन्डरग्राउन्ड पार्किङस्थललाई कमाइखाने भाँडो बनाइरहेका छन्,’ उनले भने, ‘जसले भित्री क्षेत्रमा पार्किङस्थल अभाव भइरहेको हो । ’

चौडा सडकमा पनि उस्तै
जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै बनेको कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकमै समेत अनधिकृत पार्किङ हुने गरेको छ । पछिल्लो समय भक्तपुरमा बढ्दो जनघनत्वसँगै ट्राफिक जाम समेत वृद्धि भएको छ । त्यसमाथि सडक किनारामा गरिने पार्किङले थप समस्या निम्त्याएको छ।

‘चौडा सडक अहिले धेरैका लागि पार्किङस्थल जस्तै बनेको छ,’ पूर्वट्राफिक उपरीक्षक जगतमान श्रेष्ठले भने । उनले अहिले जताजतै सडकमै पार्किङ गर्ने गरिएको बताए । उनी ट्राफिक प्रहरीले सडक र फुटपाथमा सवारीसाधन राख्नेविरुद्ध कारबाही तीव्र पारे धेरै हदसम्म समस्या समाधान हुने बताउँछन् ।

‘स्रोत साधन छैन’ : ट्राफिक
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार उपत्यकामा सवारीसाधन पार्किङ गर्ने स्थल नभएकाले जथाभावी सडकमा नै पार्किङ हुने गरेको बताउँछन् । ‘उपत्यकामा सवारीसाधन संख्या बढेको बढ्यै छ, पर्याप्त पार्किङस्थल नै छैन,’ उनले भने, ‘जथाभावी पार्किङ गर्नेलाई जरिवाना रकम कम हुँदा अनधिकृत पार्किङ बढेको हो।’

उनका अनुसार अनधिकृत पार्किङ गर्नेलाई एक हजार रुपैयाँ जरिवाना गर्न सकिन्छ । ‘जहाँ खाली देख्यो, त्यही पार्किङ गर्ने समस्या देखिएको छ,’ उनले भने, ‘ट्राफिक नियमअनुसार सडकमा पार्किङ गर्न पाइँदैन, तर, पर्याप्त पार्किङस्थल नहुँदा समस्या भइरहेको छ ।’
२९ हजारलाई कारबाही
महानगरीय ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ३९ हजार ६ सय ११ सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५ सय ३३, जथाभावी पार्किङ गर्ने २९ हजार ८० र मापसे गरी सवारी चलाउने २८ हजार आठ सय ९६ कारबाहीमा परेका हुन्।

महाशाखाले आर्थिक वर्ष २०७२- ७३ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ४८ हजार सात सय ७० सवारीचालकलाई कारबाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरीसँग जथाभावी पार्किङ गरिएका सवारीसाधन उठाउने पर्याप्त र्‍याकर समेत छैन । काठमाडौं महानगरपालिकासँग भने अनधिकृत रूपमा पार्क गरेका मोटरसाइकल उठाउने दुईवटा गाडी छन्।

जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै बनेको कोटेश्वर–सूर्यविनायक ६ लेनको सडकमै समेत अनधिकृत पार्किङ हुने गरेको छ । पछिल्लो समय भक्तपुरमा बढ्दो जनघनत्वसँगै ट्राफिक जाम समेत वृद्धि भएको छ । त्यसमाथि सडक किनारामा गरिने पार्किङले थप समस्या निम्त्याएको छ ।
 

महाशाखासँग चारपांग्रे सवारी उठाउने एउटा र्‍याकर मात्रै छ । ट्राफिक प्रहरीसँग अनधिकृत रूपमा पार्किङ गरिएका चारपांग्रे सवारी उठाउने र्‍याकर नभएकाले ‘ह्विल लक’ गर्दै आइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

अलपत्र ‘स्मार्ट पार्किङ’ योजना
महानगरपालिकाले अघि सारेको स्मार्ट सवारी पार्किङ योजना अलपत्र परेको छ । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै महानगरले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने योजना अघि सारेको थियो ।महानगरले न्युरोडको धर्मपथमा र टेकुमा स्मार्ट सवारी पार्किङ बनाउने योजना ल्याएको हो।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले स्मार्ट पार्किङबारे अध्ययन भइरहेको दाबी गरे । ‘उपत्यकामा जताततै अव्यवस्थित पार्किङ छ, त्यसैले नीति तथा कार्यक्रममै स्मार्ट पार्किङ योजना अघि सारेका छौँ,’ उनले भने, ‘स्मार्ट पार्किङको डिजाइन भइरहेको छ, छिटै डिजाइन तयार पारेर निर्माण अघि बढाइनेछ ।’ ‘स्मार्ट पार्किङ’ बनाउन धर्मपथमा एक रोपनी ११ आना र टेकुमा सात रोपनी जग्गा उपलब्ध गराउने महानगरले जनाएको छ।

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App