१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कहिले खोल्ने विमानस्थलको थुनिएको कलभर्ट ?

ड्रेन थुनिदा बाहिरिएको भलपानीको कटानका कारण भासिएको खानीडाँडा विमानस्थल। तस्बिर सौजन्य : राजेन्द्र राई

खोटाङ– भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा सरोकारवालाको चासो पुग्न सकेको छैन। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भए पनि यसको स्थायी रोकथामका लागि ध्यान पुगेको छैन।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित बिमानस्थलको रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीका कारण बिमानस्थलको १०/१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगेको छ। कटानका कारण विमानस्थलको रन–वेभन्दा २/३ मिटर नजिकसम्मको भाग भासिए पनि थुनिएको ड्रेन खुलाउनमा हालसम्म कसैको ध्यान पुग्न सकेको छैन । जमिन भिजेर माथिबाट खसेको स्ल्यावले ड्रेनको मुख थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले बिमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको छ । पुन: वर्षा याम सुरु हुन लाग्दा समेत थुनिएको कल्भर्ट खोल्नमा नेपाल नागरिक उड्यान प्राधिकरणको चासो नपुग्दा थप क्षती हुने खतरा बढेको छ।

वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा विमानस्थल कटान भएको यो दोश्रो पटक हो। यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साल साउनमा पनि धावनमार्गमाथिबाट बगेको भलपानीले विमानस्थलको डिल कटान गरेको थियो। थुनिएको ड्रेन अस्थायीरुपमा खोलिए पनि स्थायीरुपमा नखोल्दा वर्षायाममा थप क्षती पुग्ने अवस्था कायम रहेको नेपाल बायु सेवा निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले बताए । ‘बिमानस्थलको ड्रेन अस्थायीरुपमा खोल्ने काम भएको छ,’ स्टेशन ईन्चार्ज राईले भने, ‘तर, यो समस्याको दिर्घकालिन समाधानमा सबैको ध्यान जान जरुरी छ।’

भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले विमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको छ। कलभर्ट थुनिएपछि धावनमार्गहुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको स्थानीय राजेन्द्र राईले बताए । कलभर्ट थुनिएपछि अहिले बिमानस्थलमुनीबाट निकासा हुनुपर्ने भलपानी सिधै धावनमार्गहुँदै विमानस्थलको छेउबाट बाहिर निकासा हुने बाटो बनेको छ । तत्काल कलभर्टको माटो हटाएर भलपानीलाई कलभर्टमार्फत निकासा गर्ने व्यवस्था नगरे बिमानस्थल पहिरोको उच्च जोखिममा पर्ने अवस्था देखिएको विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष घिमिरेले बताए।

स्थानीयले निशुल्क उपलब्ध गराएको जग्गामा २०६० बैशाख २० गतेबाट निर्माण शुरु गरिएको विमानस्थलमा २०६२ सालमा नेपाली सेना र नेपाल एयरलाइन्सले परीक्षण उडान भरेको थियो। जिल्लाका लामीडाँडा, थामखर्क सहित तीन वटा बिमानस्थलहरुमध्ये दूरीका हिसावले खानीडाँडा बिमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ। दिक्तेलबाट बढिमा डेढघण्टा पैदल दुरीमा रहेका कारण अधिकांश बिरामीलाई अस्पताल लैजानकालागि खानीडाँडा विमानस्थलको उपयोग हुने गरेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७४ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App